अन्ततः धरानका स्कुल यो ‘मोडालिटी’ मा खुल्ने !

४, ५ र ८, ९, १० का विद्यार्थी भौतिकरुपमै उपस्थित हुने


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर १९

धरानः धरानमा आइतबारदेखि स्कुल खुल्ने निश्चित भएको छ ।
विशेषतः धरानका निजी स्कुलहरु खुल्न लागेका हुन् । एसिसी धरानका अध्यक्ष राजेन्द्र गुरुङले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै विद्यालय सञ्चालन हुने जानकारी दिए । अब ४,५ र ८,९, १० का विद्यार्थी भौतिकरुपमै उपस्थित हुने भएका छन् । उनले आइतबारदेखि कक्षा–८, ९, १० कक्षामा मात्रै पठनपाठन हुने जानकारी दिए । ‘मावि तह हुने स्कुलले कक्षा–८, ९, १० सञ्चालन गर्नेछन् भने प्रावि हुने स्कुलले कक्षा–४ र ५ सञ्चालन गर्न पाउनेछन् ।’ उनले भने ।
धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीलाई यसबारे जानकारी दिइएको र प्रस्ताव पनि बुझाइएको उनले जानकारी दिए ।
‘धरान उपमहानगरपालिकाले कुन मोडलमा स्कुल सञ्चालन गर्ने हो भनेर प्रस्ताव मागेको थियो’, उनले भने, ‘त्यही प्रस्ताव बुझाउन गएका थियौं, शिक्षा महाशाखामा भेटेनौं, उपमेयर मञ्जु भण्डारी सुवेदीलाई भेटेर स्कुल सञ्चालन गर्नेबारे जानकारी दियौं,’ उनले भने, ‘उपमेयरले सञ्चालन गर्दा हुन्छ भन्नुभएको छ, आइतबारदेखि स्कुल खोल्छौं ।’
एसिसी अध्यक्ष गुरुङले एउटा डेस्क–बेन्चमा दुईजना विद्यार्थी राखेर पूर्ण स्वास्थ्यको ख्याल गर्दै, स्वास्थ्य पालना गर्दै विद्यालय सञ्चालन हुने जानकारी गराए । छोटो समयको लागि मात्र विद्यालय सञ्चालन गर्ने, खाजा स्कुलमा नखाने व्यवस्था, मास्क, सेनिटाइजरको व्यवस्था, स्वास्थ्यको पूर्ण पालना साथै स्कुल बस सञ्चालन नगर्ने लगायतका विषयमा एसिसीले निर्णय गरेको पनि जानकारी दिए । ‘यो हल्का डे मो हो, सबै कक्षा चलाउनेबारे अहिले पनि केही निर्णय हुन सकेको छैन ।’ उनले भने ।
धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कटुवालले विद्यालय कुन मोडालिटीमा सञ्चालन गर्ने भनेर विद्यालयसँग प्रस्ताव माग गरिएको र शुक्रबारसम्म प्रस्ताव बुझाउने समय रहेको बताउँदै प्रस्ताव आइसकेको बताए । योसँगै धरानका सामुदायिक विद्यालय पनि खुल्ने मानसिकतामा रहेको एक सरकारी स्कुलका प्रधानाध्यापकले जानकारी दिए । ‘आइतबारै नभनौं, मंसिर २८ गतेदेखिचाहिँ खुलाउनुपर्छ भन्ने मानसिकतामा पुगेका छौं, यो बारेमा थप निर्णय उपमहानगरपालिको गर्नेछ, त्यो निर्णयको पर्खाइमा छौं ।’ उनले भने ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप