
धरानः धरानमा प्रहरीले अटोमेटिक पेस्तोल र गोली फेला पारेको छ ।
पोको पारेको अवस्थामा बाटोको नालीमा पेस्तोल र गोली फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । धरान–१३ खानेपानी संस्थानको कार्यालय छेऊ मदन–आश्रित मार्गको नालीमा पोको पारिएको अवस्थामा पेस्तोल फेला परेको उनले जानकारी दिए । ‘शंकास्पद वस्तुजस्तो लागेपछि स्थानीयबासीले खबर गरेका थिए, हाम्रो टोली त्यहाँ पुग्दा पेस्तोल र ५ राउण्ड गोली र एकथान म्यागेजिन भेटिएको छ ।’
डिएसपी बस्नेतका अनुसार पेस्तोल कागजभित्र बेरिएको थियो र कागजलाई कपडाले बेरिएको थियो । पोकाभित्र पेस्तोल र गोली अलग्गै थिए । पेस्तोलमा थोरै खिया पनि लागेको छ ।
उनले कसले लुकाएको हुनसक्ने बताए । ‘खासमा त्यो फालिएको त पक्कै होइन, कसैले लुकाएको हुनसक्छ’, उनले भने, ‘अनुसन्धान भइरहेको छ ।’ पेस्तोलमा मेडइन युएसए लेखिए छ ।