भानुचोकमा साँझपख गुल्जार हुने ‘त्यो बजार’

जहाँ हुन्छ ४० भन्दा बढी व्यवसायी र परिवारको जीविका


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर १८

धरानः धरानको केन्द्र मानिएको भानुचोक । जसले हजारौंको पेट भरेको छ । भानुचोकमा गुड्ने सार्वजनिक बस, वरपर हुने व्यापार–व्यवसाय आदिले पेट भर्ने त छँदैछ, त्योसँगै भानुचोकमा राति ९ बजेसम्म चल्ने व्यवसायले ४० जनाभन्दा बढी व्यवसायीलाई पाल्ने गरेको व्यवसायी बताउँछन् । यो सस्तो बजार जहिल्यै गुल्जार रहने गरेको छ । कम आम्दानी हुने सर्वसाधारणको लागि यो बजार फलदायी बनेको उनीहरु बताउँछन् ।
जब सार्वजनिक गाडी धरानबाट गुडिसक्छन् र धरान आउने पनि रोकिन थाल्छन् तब शुरु हुन्छ– त्यहाँको व्यवसाय लत्ताकपडा र ठेलामा मःम, चाउमिन आदि । तीन बज्नुअघि नै त्यहाँ आइपुग्ने व्यवसायीले यसरी नै व्यवसाय गरेको लगभग १५ वर्ष भइसकेको छ ।
त्यहाँको पुराना व्यापारी हुन्– सम्राट गिरी । उनले यस्तो व्यवसाय गरेको १५ वर्ष भयो । त्यहाँ त्यहाँ यस्तो बजार लाग्न थालेको पनि १५ वर्ष भइसक्यो । ‘मेरो पेट पाल्ने व्यवसाय नै यही हो, पेट पाल्नकै लागि भनेर १५ वर्षअघि भुइँमा लत्ताकपडा ल्याएर बेच्थें’, उनले सम्झिए, ‘तर त्यतिबेला खासै बिक्री हुँदैनथ्यो तर अहिले ग्राहकले थाहा पाइसकेका छन् ।’ अहिले अधिकांश व्यवसायीले खाट वा कपडा झुन्ड्याउने सामग्री राखेर व्यवसाय गर्दै आएका छन् ।
‘३ वर्षजति भयो खाटमा व्यापार गर्न थालेको’, उनले सुनाए, ‘अहिले अलिक व्यवस्थित तरिकाले बेच्छौं ।’ उनका अनुसार त्यहाँ अन्य पसलमा राखिएको सामानभन्दा केही सस्तो पनि छ । उनले यो बजार रातिको ९ बजेसम्म लाग्ने गरेको सुनाए ।
सोही ठाउँमा लत्ताकपडा बिक्री गर्दै आएकी अनिता सुब्बाले गरिखाने मेला भएको बताइन् । ‘घरमा बसेर मात्रै हुँदैन, यसो व्यवसाय गरौं भन्ने सोंचेर यो व्यवसायको थालनी गरेकी हुँ’, उनले भनिन्, ‘जीवकोपार्जसम्म हुने गरेको छ ।’
उनका अनुसार सो ठाउँमा जाडो सिजनमा बढी बिक्री हुने गरेको छ । ‘जाडो सिजनमा बढी बिक्री हुन्छ, त्यही बिक्री भएको रकमले वर्षभरी खाने पुग्छ,’ उनले थपिन्, ‘गर्मीमा व्यापार हुँदैन, गर्मीमा बसिबियालो मात्रै हुन्छ, पसिना पुछ्दै बस्नुपर्छ तर जाडोमा बेचेको रकमले भरथेग गर्दै आएका छौं ।’ दिनमा एक हजारदेखि ४ हजारसम्म कमाइ गर्ने गरेको व्यवसायी बताउँछन् ।
त्यस्तै, त्यहाँ ठेलामा चाउमिन, मःम, अण्डारोललगायतका परिकार बेच्ने व्यवसायीको पनि जीविकोपार्जन हुँदै आएको छ । उनीहरुले धरान उपमहानगरपालिकालाई दैनिक कर समेत बुझाउँदै आएका छन् ।
तस्वीरः हाम्रो कोशी आवाज

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप