धरानका शिक्षक पीडामा

अभिभावकले शुल्क नतिर्ने, स्कुलले तलब नदिने, सरकार शुल्क नउठाउ भनिरहने ?, स्कुल लगाउन नदिने तयारीमा छौंः शिक्षक


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर १८

धरानः धरानका निजीका शिक्षकले अझै भोकै रहनुपरेको गुनासो गरेका छन् ।
धरान उपमहानगरपालिकामा डेलिगेशन समेत गएका शिक्षकले अझै तलब नपाएको गुनासो गरेका हुन् । निजी विद्यालयमा कार्यरत् शिक्षकले यसअघि डेलिगेशन गएर उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी (सुवेदी) लाई ज्ञापनपत्र पनि बुझाएका थिए । तर अझै शिक्षकले तलब नपाएको उनीहरुको गुनासो छ ।
संस्थागत विद्यालय शिक्षक, कर्मचारी युनियन (इष्टु) सुनसरीका सचिव शम्भु रेग्मीले अझै शिक्षकहरु भोकै रहनुपरेको गुनासो गरे । ‘स्कुल नलागेपनि अनलाइन कक्षा चलिरहेको छ’, उनले भने, ‘अभिभावकले शुल्क नतिर्ने, स्कुलले तलब नदिने, सरकार शुल्क नउठाउ भनिरहने ?, यही कारणले पनि हामी भोकै छौं ।’
अधिकांश विद्यालयका सञ्चालकले तलब दिइसकेको भनिएपनि अझै ऋणपानकै भरमा गुजारा चलिरहेको उनले जानकारी दिए । निजी तथा संस्थागत विद्यालय शिक्षक, कर्मचारी युनियन (प्याब्सु) सुनसरीका सचिव रोमनाथ ढुंगेलले तलब स्कुल सञ्चालक साथै स्थानीय सरकारले पनि अभिभावकको भूमिका निर्वाह नगर्नु दुःखद् भएको बताए । ‘हामी भोकभोकै छौं, खान देऊ भनेर उपमहानगरपालिकासम्म पुग्यौं तर अझै समस्याको समाधान हुन सकेको छैन ।’ उनले भने, ‘अभिभावक आन्दोलनमा जाने, धरान उपमहानगरपालिका शुल्क अहिले नउठाउ भनिरहने हो भने प्रत्यक्ष मर्का चाहिँ हामी शिक्षकलाई पर्न जान्छ ।’
अधिकांश स्कुलले वैशाखदेखि एक पैसा पनि तलब नदिएको इष्टुका उपाध्यक्ष संगीत श्रेष्ठले बताए । जिल्ला सदस्य आकाश भाटीले धरानका केही विद्यालयले तलब दिएपनि धेरैले नदिएको गुनासो गरे । निजी विद्यालयहरूले हाल शिक्षकहरूलाई तलब नदिएकै कारण युवा शिक्षकहरूमा निराशा छाएको उनले बताए ।
इष्टुका सुनसरी सचिव रेग्मीले अब शिक्षकले विद्यालय बन्द गरेर आन्दोलन थाल्ने जानकारी दिए । ‘अहिले अनलाइन कक्षा चलिरहेको छ, त्यो अनलाइन कक्षा वा विद्यार्थी, शिक्षक भौतिकरुपमै उपस्थित भएर स्कुल खुलेपनि स्कुल लगाउन नदिने तयारीमा छौं,’ उनले थपे, ‘कहिलेदेखि र कसरी बन्द गर्ने भन्नेमा छलफलकै क्रममा छौं ।’
यसैबीच धरान उपमहानगरपालिकाले अनलाइन कक्षाको शुल्क स्थानीय सरकारले निर्धारण नगरी नलिन भनेको छ । निजी विद्यालयका अभिभावकहरुले केही विद्यालयहरुले जबर्जस्ती शुल्क तोकेर बिल पठाउने गरेको र आफूहरु मर्कामा परेको भन्दै उपमहानगरमा घेराउ तथा धर्नालगायत कार्यक्रममार्फत दबाब दिएपछि उपमहानगरपालिकाले यस्तो निर्देशन दिएको हो ।
शिक्षा महाशाख प्रमुख एवं उपसचिव रत्न कटवालले सो निर्णय र निर्देशनबारे धरानका सबै निजी विद्यालयहरुलाई जानकारी पत्र पठाइएको बताए ।
उपमहानगरपालिकाका मेयर तिलक राईले हप्तादिनभित्रै समस्याको समाधान हुने बताए । ‘हप्तादिनभित्रै निजी विद्यालयको शुल्क निर्धारण हुन्छ’, उनले भने, ‘त्यसपछि समस्याको समाधान हुन्छ ।’

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप