रमेश प्रसाईंको विवाह धरानमै हुने

चर्चा भएकीसँग होइन, प्रेम सम्बन्ध रहेकी युवतीसँग हुने, रमेश र जीवन एउटै मण्डपमा


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर १७

धरानः प्रखरवक्ता रहेका रमेश प्रसाईं विवाह बन्धनमा बाँधिने भएका छन् । उनको विवाह काठमाडौंमा हुने चर्चा चुलिएपनि धरानमै सम्पन्न हुने भएको छ । झापा घर भएका उनको विशेषतः धरानमै हुर्किएर, यहीँ अध्ययन गर्दै कर्मथलो बनाएर चर्चा कमाएका उनले धरानमै विवाह गर्ने निधो गरेका हुन् । ‘खासमा काठमाडौंमा गर्ने भन्ने एक किसिमको तयारी थियो तर हुर्किएको र कर्मथलो धरान भएकोले यहीँ विवाह गर्ने निर्णयमा पुगें,’ उनले भने ।
उनले कालीकोटकी नन्दा सिंहसँग विवाह गर्न लागेको उनले जानकारी दिए । ‘चर्चा भएकीसँग होइन, प्रेम सम्बन्ध रहेकी युवतीसँग विवाह गर्दैछु’, उनले हाँस्दै भने, ‘चर्चाचाहिँ क्यामेरामा मात्रै हो, रियल लाइफमा होइन ।’
मङ्सिर २२ गते सोमबारका दिन धरानस्थित उद्योग वाणिज्य सङ्घको भवन परिसरमा उनको विवाह हुन लागेको हो । उनीहरु दुवै दृष्टिविहीन हुन् ।
रमेशका अनुसार नन्दा यसअघि समाजसेवामा नाम कमाइसकेकी युवती हुन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेको उनले जानकारी दिए । उनीहरुबीच विगत ३ वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो । इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएपछि रमेशले नै प्रेम प्रस्ताव राखेका थिए । उनको ८ महिनाको प्रेम सम्बन्ध विवाहमा परिणत हुन लागेको हो ।
एपिवान टेलिभिजनले ‘अब बोल्छ नेपाल’ भन्ने मूल नाराका साथ आयोजना गरेको राष्ट्रव्यापी खुल्ला बक्तृत्वकला प्रतियोगिता पब्लिक स्पिकर नेपाल–२ को बिजेता बनेपछि उनको चर्चा एकाएक चुलिएको थियो । ग्रान्ड फिनालेमा बिजेता बनेसँगै उनले देशभरका करिब एक हजार एक सय युवालाई पछि पारेका थिए ।
इन्द्रेणी कार्यक्रममा कहिले दोहोरी गाएर त कहिले हँसाएर चर्चामा आएका रमेश पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा छन् ।
यसैबीच रमेशसँगै हुर्किएका, अध्ययन गरेका र उनलाई अगाडि बढाउन सघाउने जीवन विष्टको पनि एकै मण्डपमा विवाह हुने पक्का भएको छ ।
उनले धरानकी जुनु तामाङसँग विवाह गर्न लागेका हुन् । ५ वर्षदेखिको प्रेम सम्बन्धलाई उनले पनि विवाहमा परिणत गर्न लागेको जानकारी दिए । उनले अन्तरजातीय विवाह मागेर गर्ने सुरसार कसेको जानकारी दिए । ‘अन्तरजातीय विवाह भागेरै गर्नुपर्छ भन्छन्, तर मैले मागी विवाह गर्दैछु’, जीवनले भने, ‘अन्तरजातीय विवाह साथै आर्य र मंगोलबीच विवाह हुँदैछ ।’
उनले जग्गेमा लामा र बाहुन एकैपटक पढाइने बताए । ‘हिन्दू र बौद्ध सहअस्तित्वमा विवाह हुँदैछ ।’ उनले भने ।
रमेश दृष्टिविहीन भएर डिग्री पढ्ने तयारी गरेका छन् भने जीवन ब्याचलर सक्ने तयारीमा छन् । ‘हामी पहिलादेखिकै साथी साथी, सँगै पढ्दै, खेल्दै हुर्कियौं, त्यही भएर एउटै मण्डपमा विवाह हुन लागेको हो’, जीवनले भने, ‘एउटै कार्ड पनि बाँड्दैछौं ।’ विवाह कार्यक्रममा बहुचर्चित सेलिब्रेटी, गन्यमान्य सबै धरान ओइरिने भएका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप