धरानको फुस्रे बजार ब्युतिँदै

धरानमै भेडेटार, अब मनोरञ्जनको थलो, जीवन्त झल्काउने पूर्णकदका प्रतिमा (अन्तिम तयारीको तस्वीर १६ र भिडियो)


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर १५

धरानः धरानमा फुस्रे पार्क निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिरको अन्त्यसम्ममा यो पार्कको निर्माण सकिसक्ने लक्ष्यका साथ निर्माण समिति अघि बढेको छ । फुस्रेमा ऐतिहासिकता तथा जीवन्त झल्काउने पार्क निर्माण सकिन लागेको हो ।
पहिला पहिला नुन बोक्न आउने फुस्रे बजारमा अब नुन बोकेकै पनि देखिने भएको छ । भनौं, पुरानो इतिहास झल्काउने बन्दैछ अब फुस्रे बजार । फुस्रेमा ऐतिहासिकता र जीवन्त झल्काउने अर्थात् नुनको ढाकर बोकेर हिँड्दै गरेको मूर्ति हेर्न पाइने भएको हो ।
‘अहिलेका पुस्ताले पहिलाका मानिस धरान हिँडेर आउँथे, उत्पादन भएका चिज (फलफूल, जडिबुटी) ल्याउँथे, कति पैसा कमाउँथे साथै सामानमा साट्थे, बास बस्थे, सामूहिक खाना खान्थे, नुन बोकेर जान्थे भन्दा पत्याउँदैनन्’, फुस्रे सौन्दर्यकरण समितिका अध्यक्ष गौतम श्रेष्ठले भने, ‘त्यही भएर त्यतिबेलाको जीवन्त तस्वीर झल्किने गरेको पार्क बनाउन लागेका हौं । ’
उनले त्यतिबेलाका पुस्ताले नौनी घिउ, चिउरी घिउ, खारेको घिउ यहाँ ल्याउने र सामानसँग अथवा नुनसँग साटेर पनि जाने गरेको बताउँदै भने, ‘अझ भन्ने हो भने कति ढुङ्ग्रो घिउ बराबर कति नुन लिने आदि पनि हुन्थ्यो, त्यस्तो जीवन्त कुराहरु झल्काएर पर्यटक तान्ने प्रयास गरिएको हो ।’
त्यतिबेला आउने मानिसहरु नुन–तेल, मरमसला, भाडावर्तन, लत्ताकपडा, मट्टितेल खरिद गरेर लिएर जाने गरेको बताउँदै स्थानीय ७५ वर्षीय लक्ष्मण श्रेष्ठले भने, ‘त्यस्तो कुराहरु हराएको गएको महसुस गरेका छौं तर अब कम्तीमा ऐतिहासिकता र जीवन्त तस्वीर झल्किने पार्क बन्दा खुशी लागेको छ ।’
पार्कमा तराई मूलका व्यापारीले ढिक्के नुन जोखेको, पहाडी मूलका शेर्पा समुदायका महिलाले जडिबुटी ल्याउँदै गरेको साथै पछाडिपट्टि आफ्नो छोराछोरी बोकेको, भारीसहित ढाकर बोकेर हिँड्दै गरेको, सामान बेचिसकेपछि पैसा गन्दै गरेको आदि प्रतिमा राखिनेछ ।
‘पहिलाको इतिहास, झल्काउने कोसिस गरेका हौं’, वडाध्यक्ष नेत्र काफ्ले भन्छन्, ‘यसले वडा नं. १३ मा पर्यटक भित्रयाउन थप बल पुग्नेछ ।’ उनका अनुसार १३ नं. वडामा अहिले बीपी पार्कलगायतका अन्य पार्कले समेत पर्यटक तानिरहेको छ ।
सर्दुदेखि भेडेटार पनि धरानमै देखिने
अब धरानमा सर्दु जलाधार क्षेत्र र भेडेटार पनि फुस्रेमै झल्झली देख्न पाइने भएको छ । फुस्रे बजारदेखि सर्दु–जलाधार, महाभारत श्रृङ्खला हुँदै भेडेटार झल्किने ‘म्याप’ बन्नेछ । यस्तो म्याप अहिले फुस्रे बजारको बीचमा रहेको चौतारीमा बन्नेछ भने अन्य प्रतिमाहरु बजारको पश्चिमतर्फ राखिनेछ । यस्तै, प्रतिमासँगै ज्येष्ठ नागरिक विश्रामालय राखिनेछ ।
धरान–धनकुटा सडक बन्नुअघिसम्म यो ठाउँ पूर्वाञ्चलको प्रमुख व्यापारिक केन्द्र मानिन्थ्यो । धरानका तत्कालीन मुख्य बजारहरूमध्ये यो पुरानो लोकप्रिय बजार हो । झन्डै दुई दशकअगाडिसम्म त्यहाँ ढिके नुन लिन संखुवासभा, भोजपुर, तेह्रथुम, खोटाङ, धनकुटा आदि स्थानका मानिस हिँडेर आइपुग्थे ।
यसका लागि धरान उपमहानगरपालिकाले बजेट समेत विनियोजन गरेको छ । १५ लाख बजेटले फुस्रे बजारको इतिहास झल्काउने गरी प्रतिमा अर्थात मूर्ति बनाइएको वडाध्यक्ष काफ्लेले जानकारी दिए । यी मूर्तिहरुलाई युवा कलाकार धिरज राईले बनाएका हुन् ।
तस्वीरः हाम्रो कोशी आवाज

पुरानो लोकप्रिय बजार ।

अन्तिम चरणमा रहेका प्रतिमाहरु ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप