धरान उपमहानगरपालिकाद्वारा शोक विदा


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर १५

धरानः धरान उपमहानगरपालिकाले शोकविदा दिएको छ ।
धरान नगरपालिका स्थापनाकालका प्रथम निवार्चित उपसभापति बनेका अग्रज साहित्यकार, समाजसेवी वाम बुद्धिजीवी कृष्णप्रसाद श्रेष्ठ (बि.ए. कृष्ण) को निधनमा शोक विदा दिइएको हो । उनको धरान–१ स्थित निवासमा ८७ वर्षको उमेरमा निधन भएको थियो ।
शोक विदामा अत्यावश्यक सेवाबाहेक नगर कार्यपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय र स्वास्थ्य कार्यालयहरु बन्द रहने वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । उनी धरान नगरपालिकाको स्थापना हुँदा प्रथम निवार्चित उपसभापति थिए ।
उनी धरानको लागि जिउँदो पुस्तकालय मानिन्छन् । उनी धरानमा पहिलोपटक एसएलसी दिने र स्नातक उत्तीर्ण पहिलो व्यक्ति हुन् । लामो समयदेखि पिसाबको समस्याबाट पीडित उनी मुटु रोगको औषधि सेवन गरिरहेका थिए । घुँडा दुख्ने समस्याबाट पीडित उनको ८७ वर्षको उमेरमा निधन भएको हो ।
आइबार दिउँसो १ः२५ बजे उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । पब्लिक हाइस्कुलबाट २००५ सालमा धरानबाट पहिलोपटक एसएलसी दिएर पहिलो श्रेणीमा उत्तीर्ण भएका उनी पछि धरानबाट स्नातक तह उत्तीर्ण गर्ने पहिलो व्यक्ति भएकोले उनलाई ‘बिए कृष्ण’ भनिएको हो ।
उनी नेकपा एमालेका नेता स्व. मनमोहन अधिकारीसँगै रसियन कम्युनिष्ट आन्दोलनमा पनि लागेका थिए । उनका दुई छोरा र तीन छोरी रहेका छन् । वाम चिन्तक उनी नेवारी समुदाय धरानका ‘इनसाइक्लोपेडिया’का रुपमा चिनिन्छन् । मृतक श्रेष्ठको आजै अन्त्येष्टी गरिने बताइएको छ ।

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप