इटहरीको दिशाजन्य लेदो धरानमा विर्सजन

सेउती खोला छेऊमा जथाभावी दिशाजन्य लेदो र फोहोर फालिँदा दुर्गन्धित, धरानका मेयरको टोलीद्वारा अनुगमन र ‘एक्सन’


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर ६

धरानः इटहरी उपमहानगरपालिकाले दिशाजन्य फोहोर र लेदो व्यवस्थापन जथाभावी गर्ने गरेको पाइएको छ । उपमहानगरपालिकाले धरान क्षेत्रमा पर्ने जङ्गलमा फोहोर र लेदो व्यवस्थापन गर्दै आएको पाइएको छ ।
इटहरीले अहिले फोहोर व्यवस्थापनका लागि चारकोशे नै प्रयोग गर्दै आएको छ अर्थात् झाडीमै निर्भर छ भने दिशाजन्य लेदो, फोहोर पनि सेउती पुल छेऊको जङ्गलमा व्यवस्थापन गर्ने गरेको पाइएको हो । यो क्षेत्र धरानकै क्षेत्र हो । यसरी दिशाजन्य लेदो र फोहोर फयाकिँदा वातावरण थप प्रदुषित बनेको छ । अहिले सडकमा हिँड्ने बटुवाले समेत नाक थुनेर हिँड्नुपर्ने वातावरण सिर्जना भएको छ ।
यसैबीच शनिबार धरान उपमहानगरपालिकाको एक टोलीले अनुगमन पनि गरेको छ । मेयर तिलक राईसहितको टोलीले सेउती पुल नजिकको जङ्गलमा पुगेर अनुगमन गर्दा जथाभावी विर्सजन गर्ने गरेको पाइएको मेयर राईले जानकारी दिए । ‘यसअघि पनि यस्ता दिशाजन्य फोहोर त्यहाँ ल्याएर जथाभावी फाल्ने गरेको गुनासो आएको थियो, त्यही भएर अनुगमन गर्न गयौं, अनुगमनमा पुगेकै बेला पनि झन्डै त्यहाँ विर्सजन गरियो, विर्सजन गर्न पनि एकैठाउँ गरे त हुन्थ्यो नि जथाभावी विर्सजन गरेको पाइयो’, उनले भने, ‘हामीले रोकेर फर्किएका छौं ।’
उनले इटहरीका मेयरलाई पनि फोन गरेर यस्तो कार्य नगर्न भनिसकेको बताए । ‘वातावरण नै प्रदुषित हुने गरेर यस्तो कार्य त गर्नुभएन नि भनेका छौं, उहाँले हुन्छ अबदेखि रोक्छौं भन्नुभएको छ’, उनले भने । सरकारले ढल र ठोस फोहोरको व्यवस्थापनमा लगानी गरेजस्तै दिशाजन्य लेदोको व्यवस्थापनमा पनि लगानी गर्नुपर्ने उनले बताए ।
यस्तै, टोलीले धरान खानेपानी संस्थानले चलाइरहेको डिप बोरिङको अवस्थाबारे पनि अनुगमन गरेको थियो । ‘संस्थानसँग मर्ज हुने कुरा प्रक्रियामा छ’, उनले भने, ‘अहिले भनेको डिप बोरिङको पानीको अवस्था कत्तिको दुरुस्त छ आदिबारे अनुगमन गरिएको हो ।’
अझै रोकिएन जङ्गलमा फोहोर डम्पिङको कार्य
हुन त धरान र इटहरीले नै फोहोर व्यवस्थापनका लागि दिगो रणनीतिका साथ काम गर्न सकेका छैनन् । धरान र इटहरी उपमहानगरपालिकाले फोहोर र दिशाजन्य लेदो पदार्थ व्यवस्थापनका लागि पनि खासै ध्यान दिएको नै छैन ।
अहिले चारकोशेमै धरान र इटहरीको फोहोर साथै अस्पतालजन्य फोहोर जलाउने, डम्पिङ गर्ने काम गरिन्छ तर त्यो कार्य अझै रोकिन सकेको छैन । दुवै उपमहानगरपालिकाले झाडीमै फोहोर डम्पिङ गर्दै आएका छन्, त्यो रोकिन सकेको छैन ।
चारकोशे झाडीमा फालिएको फोहोर विभिन्न ऐनहरूविपरीत भएको देखिएको छ । वातावरण संरक्षण ऐन २०५३ को दफा ७ को उपदफा १ ले वनमा फोहोर फाल्न निषेध गरेको छ । यस्तै, वन ऐन २०४९ ले त सामुदायिक वनलाई डम्पिङ साइट बन्न निषेध गरेको छ । फोहोरमैला व्यवस्थापन नियमावली २०७० ले पनि फोहोरमैला व्यवस्थापनमा धेरै कुरामा नियम बनाएको छ ।
धरानले फोहोर कोशी सडक–खण्डको सेउती पुलभन्दा सय मिटर माथि डम्पिङ गर्दै आएको छ भने इटहरीले सेउती पुल तल विर्सजन गर्ने गर्दछ । यसले वातावरणलाई दुषित बनाउने भन्दै पटक–पटक कुरा उठ्दै आएको छ ।
सञ्चालनमा आएन
धरानमा जैविक-अजैविक गरी दैनिक ३० देखि ३५ टन फोहोर उत्पादन हुने गरेको छ । धरानले वडा नं. ६, पानबारीमा फोहोरबाट ऊर्जा उत्पादनका लागि प्लान्टको निर्माण कार्य लगभग सकिएको जनाएपनि सञ्चालनमा आउन सकेको छैन । कोरोना कहरका कारण यो सञ्चालनमा आउन नसकेको उपमहानगरपालिकाले जनाएको छ । कम्पनीसँग २०७४ जेठ २५ गते सम्झौता भएको थियो ।
उपमहानगरले फोहोरमैलालाई व्यवस्थापन गर्दै बायोग्याँस उत्पादन गर्न निजी कम्पनीसँगको साझेदारीमा त्यहाँ प्लान्ट निर्माण गरिसकेको हो । प्लान्टबाट निस्किने ग्याँस पाइपलाइनबाट पानबारीका स्थानीयलाई वितरण गरिने तयारी उपमहानगरपालिकाको छ । प्लान्टबाट पहिलो चरणमा ट्याम्पोमा प्रयोग गर्ने ग्याँस उत्पादन गरिने र पूर्ण सञ्चालनपछि स्थानीयलाई वितरण थालिने जनाइएको छ ।
काठमाडौंको ‘वेष्ट टु इनर्जी’ नामक संस्थाले फोहोरबाट ‘बायो ग्यास’ (मिथेन) उत्पादन गर्दै धरानको फोहोर व्यवस्थापन गर्ने जिम्मा लिएको हो । वेष्ट टु इनर्जीले धरान उपमहानगरपालिकासँग गरेको सम्झौताअनुसार २० वर्षसम्म कम्पनीले सञ्चालन गर्नेछ । त्यसपछि धरान उपमहानगरलाई हस्तान्तरण गर्नेछ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप