गोर्खा सैनिकले सरकारलाई झक्झक्याए

भत्ता कटौती नगर्न माग गर्दै अर्थमन्त्रीलाई बुझाए ज्ञापन, ‘भारत, बेलायत र सिंगापुर लगायतका देशमा आधा जीवन बिताएर योगदान गरेका छौं’


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर ५

धरानः भुतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूले फेरि सरकारलाई झक्झक्याएका छन् ।
उनीहरूले पेन्सन प्राप्त गोर्खा भूपू सैनिक ज्येष्ठ नागरिकका लागि ३ हजार रुपैयाँ भत्ताको सवाल नभएर राज्यको अभिभावकत्व र भूपू गोर्खा सैनिकको अधिकारसँग जोडिएको विषय भएकाले तत्काल फिर्ता लिन माग गरिएको जनाएका छन् ।
नेपाल सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती भएपछि फेरि पनि कटौती नगर्न सरकारलाई आग्रह गरेका छन् । देशका अन्य नागरिकहरुले पाएजस्तै आफूहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने नागरिक अधिकार भएकोले भत्ता कटौती नगर्न आग्रह गर्दै उनीहरुले अर्थमन्त्री विष्णु पौडेलसमक्ष ज्ञापनपत्र समेत बुझाएका हुन् ।

भारत, बेलायत र सिंगापुर लगायतका देशमा आफ्नो आधा जीवन बिताएर देशको अर्थतन्त्र उकास्न गरेको योगदानको सम्मान गर्नुपर्ने उनीहरुको भनाई छ । ब्रिटिस गोर्खाहरूले गरेको योगदानको अपमान हुने गरी सामाजिक सुरक्षा भत्ता कटौती गरी अरुलाई जस्तो दोहोरो सुविधा लिएको भन्नु गलत भएको भूतपूर्व ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका सचिव पुष्पा राणा घलेले बताए ।
अन्य किसिमको सरकारी सुविधा पाउने व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्थाका कारण ब्रिटिश गोर्खाहरुको समेत भत्ता कटौति भएकोप्रति सरकारको ध्यानाकर्षण भएको पनि अर्थमन्त्री पौडेलले बताए । अब कहिलेपनि ज्ञापनपत्र बोकेर सरकारको ढोका ढकढक्याउनुपर्ने अथवा सडकमा जानुपर्ने अवस्था नआउने गरी समस्याको समाधान गरिने प्रतिबद्धता समेत अर्थमन्त्री पौडेलले व्यक्त गरे ।
सरकारले गत असार १७ गते दोहोरो सेवा सुविधा लिइरहेकाहरुलाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेको थियो। यो निर्णयबाट भुपू गोर्खा सैनिकहरुले समेत पाउँदै आएको समाजिक सुरक्षा भत्ता कटौति भएको थियो ।
यसअघि पनि ज्येष्ठ नागरिकलाई दिंदै आएको सामाजिक सुरक्षा भत्ता कटौती गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन गोर्खा भूपू सैनिक संयुक्त संघर्ष समितिले माग गरिसकेको छ । संघर्ष समितिमा ब्रिटिश गोर्खा भूपू सैनिक, भारतीय गोर्खा भूतपूर्व सैनिक र सिंगापुर भूतपूर्व गोर्खा सैनिकहरु आबद्ध रहेका छन् ।
धरानका गोर्खा सैनिकले पनि सो निर्णय फिर्ता नलिए सातै प्रदेशमा रहेका ब्रिटिश गोर्खा भूपू सैनिक, भारतीय भूपू सैनिक र सिंगापुर भूपू सैनिकले संयुक्त रुपमा शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । भूपू गोर्खा सैनिकले पेन्सन पाएपनि अधिकांशको जीविका त्यही पेन्सनको भरमा चलेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप