धरानमा छठः घरघरमै

सुनसान बन्यो सर्दु र सेउती


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर ५

धरानः विशेष नियम र निष्ठापूर्वक आराध्यदेव सूर्यको आराधना गरी मनाइने छठ पर्वको आज मुख्य दिन । तर पनि धरानमा रौनकता छैन ।
सर्वजातीय साथै आहा कति रमाइलो भन्दै पहाडे समुदायले समेत छठ पर्व साँच्चै रमाइलो मान्दै मनाउने गर्दथे । वर्षेनी छठ मनाउन सर्दु र सेउती खोला यसवर्ष कोरोना कहरका कारण सुनसान बनेको छ । साँझपख अस्ताउँदो सूर्यको पूजाआजाका साथ सम्पन्न हुने छठको तयारी समेत छैन ।
प्रशासनले समेत दशैं, तिहार, छैठजस्ता चाडपर्व घरमै मनाउन र भीडभाड नगर्न भनेको छ । तराईको साझा साँस्कृतिको पहिचानको रुपमा मनाइने छठ पर्व कात्तिक शुक्ल चर्तुथीदेखि शुरु भई चार दिनसम्म हर्षोल्लासका साथ मनाउने गरिन्छ । तर कोरोना महामारीले गर्दा यस वर्षको छठ पूजा भव्य रुपमा मनाउन प्रशासनले रोक लगाएको छ । यसले छठपर्वको तयारी पनि प्रभावित भएको छ ।
कोरोना संक्रमण फैलन सक्ने भन्दै धरानमा मात्र होइन, तराइ मधेशका जिल्लामा पनि स्थानीय प्रशासनले नदी, ताल तलाउ, पोखरीमा छठ मनाउन प्रतिबन्ध लगाएको छ । यस वर्ष कोरोना कहरका कारण तिहार र दशैं समेत धरानेले हर्षोल्लासपूर्वक मनाउन पाएनन् ।
धरानमा यस वर्ष घरघरमै छठ मनाइने भएको छ । ‘धरानमा अन्य समुदायका मानिस समेत छठ मनाउन आइपुग्थे तर यो वर्ष कोरोना महामारीका कारण छठ पूर्णरुपमा प्रभावित भएको छ तर सरकारको नियम मान्नैपरयो’, धरानका जिमी भगतले भने । स्थानीय मनिष शर्माले धरानमा यसपटक घरघरमै छठ मनाउने तयारी भएको बताए ।
छठका दिन ब्रत बस्नेले प्रसादका रुपमा ठेकुवा, भुसवा, कसार लगायतका मिष्ठान्नहरु तयार पारी नदी, तलाउ वा जलाशयमा नुहाएर अस्ताउँदो सूर्यलाई पूजा गरी पहिलो अर्घ दिइन्छ । अस्ताउँदो सुर्यलाई अर्घ दिन साँझ र त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिन छठ घाटमा श्रद्धालु भक्तजनको भीड लाग्ने गरेको छ । सूर्यको उपासना र पूजा गर्नाले चर्मरोग नलाग्ने, सन्तान प्राप्तिका साथै सुख, समृद्धि हुने धार्मिक विश्वास रहिआएको छ । छठलाई शुद्धता, सद्भाव र आस्थाको पर्व मानिन्छ ।
तस्वीरः हाम्रो कोशी आवाज

घरमा छठ मनाउनका लागि केराको थाम तयारी गर्दै धरानका केही युवा ।

घिल्लो वर्ष सर्दु खोलामा छठ । फाइल तस्वीर

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप