अन्ततः आयो स्कुल खोल्नेबारे ‘मोडालिटी’

संक्रमित शिक्षक र विद्यार्थी विद्यालय जान नपाउने


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर ३

धरानः सरकारले कोभिड–१९ संक्रमणको जोखिम नभएका अथवा कम भएका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न पाउने गरी ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि तयार गरी विद्यालय सञ्चालन गर्ने निर्णय सम्बन्धित स्थानीय तहलाई दिनेगरी कार्यढाँचा सार्वजनिक गरेको हो । मन्त्रालयका प्रवक्ता दीपक शर्माले स्थानीय तहले विद्यालयहरुलाई विभिन्न मोडालिटीमा सञ्चालन गर्न सक्ने र जोखिम बढेमा त्यसको अवस्था हेरी विद्यालय बन्द गर्ने कुरालाई कार्यढाँचाले व्यवस्थित गरेको बताए ।
उनले भने, ‘कार्य ढाँचाले विद्यालयको जोखिम नभएका स्थानहरुमा, जोखिम कम हुँदै गएका स्थानहरुमा स्थितिको आकलन समिक्षा गरेर स्थानीय तहले विद्यालयहरुलाई विभिन्न मोडालिटीमा सञ्चालन गर्न सक्ने र जोखिम बढेमा त्यसको अवस्था हेरी विद्यालय बन्द गर्ने यी दुईवटै कुरालाई व्यवस्थित गरेको छ । यसमा नेपाल सरकार मन्त्रिपरिषद्ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई कार्यढाँचा जारी गर्न निर्देश गरेको र जोखिम कम भएका नभएका स्थानहरुमा उपयुक्त मोडालिटि अपनाएर विद्यालय सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिएको सन्दर्भमा स्थानीय सरकारबाट प्राप्त भएका सुझावहरुको आधारमा स्थितिको समिक्षा गरेर स्थानीय तहबाट निर्णय हुन सक्नेगरी कार्यढाँचा जारी गरिएको हो ।’
कोभिड–१९ रोकथामका लागि सरकारले गठन गरेको ‘कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति’को गत चैत ५ गतेको निर्णयले देशै भरका शिक्षण संस्थाहरु बन्द गरेको थियो । यो अवस्थामा कतिपय विद्यालयहरुले अनलाइन माध्यमबाट अध्ययन अध्यापन सञ्चालन गरिरहेका छन् ।
तर सबै विद्यार्थीहरुको पहुँचमा अनलाइन प्रणाली पुग्न सकेको छैन । कार्यढाँचा जारी भएपछि भने अबदेखि जोखिम मूल्याङ्कन गरी स्थानीय सरकारले विद्यालय सञ्चालन गर्न दिन पाउने भएका हुन् । विद्यालय सञ्चालन गर्दा जनस्वास्थ्य एवं सुरक्षा सम्बन्धी मापदण्डहरु भने पूर्णरुपमा पालना गर्नुपर्नेछ। त्यसको अनुगमन स्थानीय सरकार आफैले गर्न सक्नेछ ।
विद्यालय सञ्चालनको कार्यढाँचामा क्वारेन्टिन, आइसोलेसन केन्द्रका रूपमा रहेका विद्यालय पुनः सञ्चालन पूर्व निर्मलीकरणलगायत जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नुपर्ने उल्लेख गरिएको छ । विद्यार्थी भर्ना, विद्यालय सञ्चालन एवं शिक्षण सिकाइ व्यवस्थापन तथा स्थगित परीक्षा सञ्चालनका सन्दर्भमा गर्नुपर्ने मूलभूत कार्यलाई व्यवस्थित बनाउन समेत आग्रह गरिएको छ ।
स्थानीय तहको निर्णयमा विद्यालय सञ्चालनमा आउनेछन् । त्यसका लागि एकै समयमा सबै कक्षा वा अलग–अलग समयमा अलग–अलग कक्षा सञ्चालन गर्न सक्नेछन् । कक्षा अवधिको समय छोट्याउने र हप्तामा केही दिन वा दिनमा केही घण्टा कक्षा सञ्चालन गर्न सकिनेछ । विद्यार्थीलाई सानो समूहमा बोलाएर मात्र कक्षा सञ्चालन गर्नुपर्नेछ । त्यसका लागि स्वास्थ्य सुरक्ष मापदण्डलाई विशेष ध्यान दिनुपर्ने प्रवक्ता शर्माले बताए ।
यसअघि सरकारले परीक्षा सञ्चालनका लागि समेत मार्गदर्शन गरेको थियो । यही मंसिर ९ गतेदेखि कक्षा १२ को परीक्षा हुँदैछ । गत वर्षको परीक्षाको ४० नम्बर प्राप्ताङ्कका लागि प्रत्यक्ष परीक्षा हुँदैछ ।
कोरोना संक्रमित विद्यार्थी वा शिक्षकले भने विद्यालयमा जान पाउने छैन । संक्रमित शिक्षक, कर्मचारी र विद्यार्थी पूर्णरूपमा निको नहुन्जेलसम्म विद्यालय नआउने वातावरण मिलाउने र सिकाइ निरन्तरताका लागि वैकल्पिक उपाय पहिले नै तय गर्नुपर्नेछ ।
विद्यार्थीको सुरक्षालाई ध्यानमा राखेर कक्षाकोठा, शौचालय लगायतको नियमित सरसफाई गर्नुपर्नेछ भने विद्यालयमा सावुनपानी तथा सेनिटाइजरको व्यवस्था गर्नुका साथै नियमित तापक्रम नाप्ने व्यवस्था गर्नुपर्नेछ ।
कुनै विद्यालय खोल्न नसकिएको खण्डमा यसअघि सञ्चालन हुँदै आएको वैकल्पिक शिक्षण अभ्यासलाई नै निरन्तरता दिनुपर्नेछ । प्रवक्ता शर्माले कोरोना महामारीका कारण कुनै विद्यालय सञ्चालनमा आउन नसकेको खण्डमा यस अघिकै विद्यार्थी सिकाई सहजिकरण अनुसार नै पठन पाठन गर्नुपर्ने बताए । केही विद्यालयहरूले भने यसअघि नै विद्यार्थीको भौतिक उपस्थितिमा नै पठनपाठन शुरू गरेका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप