शंखधर साख्वा र नेपाल सम्वतबारे


  • जीवनकुमार शाक्य
  • २०७७ कार्तिक २९

शंखधर साख्वा एक कान्तिपुरको इलाछेंमा बस्ने मध्यम वर्गीय व्यापारी थिए । उनी एक समाजसेवी थिए । टोल छिम्कमा कसैको लागि आवश्यक परेको ठाउँमा सहयोग गर्थे । जसले तत्कालीन नेपालीलाई ऋणबाट मुक्ति दिलाएका थिए ।
उनले ई स ८७९ अक्टुबर २० मा वि. सं. ९३६मा कान्तिपुर र भादगाउँका जनताको सम्पूर्ण ऋण तिरी राजाको अनुमति लिएर ११३६ वर्ष अघि शंखधरले नेपाल सम्वत १ शुरु गर्न सफल भएका हुन् । तत्कालीन समाजमा शुद्र जातिलाई पशुपतिमा प्रवेषमा रोक लगाइएको थियो । कान्तिपुरका राजा राघवदेवले शंखधरको योगदानलाई कदर गरी शुद्र जातिलाई पशुपतिमा प्रवेश दिएका थिए ।
२०५६ मंसिर २ गते देखि शंखधर साख्वालाई नेपालको राष्ट्रिय विभूतिका रूपमा घोषणा भई नेपालका राष्ट्रिय विभूति र नेपाल सम्बतका प्रवर्तक हुन् । यिनले प्रचलनमा ल्याएको नेपाल सम्वत वि.सं.१९६० सम्म पनि नेपालको सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गरिन्थ्यो । तर तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले नेपाल सम्वतलाई विस्थापित गरी भारतबाट ल्याइएको विक्रमादित्य सम्वत लागू गरिएको हो । जो आज सम्म यथावत चलिरहेको छ ।
नेपाल सम्वत नेपालीहरुको जनजीवनमा मात्रै नभएर भारतमा समेत शुभ साइतको तीथि तथा कर्मकाण्ड सम्पन्न गर्न प्रयोगमा हुँदै आइरहेको छ । हामी नेपालीहरुले जानी नजानी यसलाई आत्मासाथ गर्दै जीवनका हरेक क्षणमा यसलाई प्रयोगमा ल्याइरहेका छौं । यद्यपि सरकारले यस सम्वतलाई चलन चल्तीमा नल्याएकै कारण जनमानसमा यो केवल नेवारहरुको सम्वत हो भन्ने मनस्थिति रहेको छ । यसो भएपनि हाम्रो जीवनको हरेक क्षण अर्थात मानिसको जन्मदेखि मृत्यु संस्कारसम्म कर्मकाण्डका पण्डितहरुले प्रयोग गर्दै आइरहेको छ ।
विश्वको इतिहासमा आफ्नै राष्ट्रको नामबाट नामाकरण गरिएको एक मात्र सम्वत भनेको नेपाल सम्वत मात्र हो । यसअर्थमा हामीले नेपाल सम्वतप्रति गर्व गर्ने ठाउँ प्रशस्तै छन् । नेपाल सम्वत चन्द्रमासअनुसार चल्ने भएकाले यसलाई प्रयोग गर्न गाह्रो भएको जनगुनासाहरु धेरै नै सुन्नमा आइरहेको छ ।
यो लुनार क्यालेण्डर अनुसार रहेको छ, जसमा एक औंसीबाट अर्को औँसीलाई एक चन्द्रमास भनिन्छ । १२ औंसीको एक वर्ष हुन्छ त्यसैले ३५४ दिनको एक वर्ष हुन आउँछ । तीन वर्षको एक चोटी अनला महिना अथवा पुरुषोत्तम महिना १३ औं महिना हुन आउँछ । त्यसबेला सूर्यले पृथ्वीलाई परिक्रमा गर्दछ भन्ने विश्वास थियो । तर पछि वैज्ञानिकहरुले पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ भन्ने प्रमाणित गरे । त्यसबेला देखि नै १२ औंसीको एक वर्ष नभई पृथ्वीले सुर्यलाई परिक्रमा गर्ने एक चक्कर समयलाई वर्षको परिभाषा दिइयो । संसारभर यही नियम लागू भयो । तर नेपालमा यातायात दुर सञ्चारको कमीले नेपाल सम्वत लागू गर्दासम्म त्यसको प्रभाव नेपालमा परेको थिएन र तिथी नै गते जस्तो प्रयोग गरी नेपाल सम्वत चलाइयो ।
महिनाको नामाकरण सो महिना अनुसार हावापानी सुहाउने र संस्कृतिकको आधारमा पहिलो अक्षर तोकी बनाइयो । जस्तौ ला भनेको महिना, छला भनेको त्यो सम्वतको पहिलो महिना हुन आउँछ ।
कछला
नेपाल सम्वतको पहिलो महिनालाई करुणामय ला भनिन्छ कार्तिक शुक्लपक्ष प्रतिपदा सूर्योदय बेला भएको दिनलाई न्हुदँ अथवा नयाँ वर्ष भनिने हुँदा अथवा नयाँ वर्ष भनिन्छ ।
थिंला
सर्ग थिंला आकाशमा धेरै ताराहरु देखिने, आकाश छर्लङ्ग हुने महिना भनिन्छ ।
पोँहेला
नेपाल भाषामा पोँ खस भाषामा असिना र हिउ पर्ने जाडो महिना भनिन्छ ।
सिला
पहिला पहिला बिफरले मानिसहरुलाई सताउँथ्यो, त्यसैले सितला माईको पूजा गरिन्थ्यो, जसबाट सिल्ला हुन गयो । सो महिनामा सरस्वतीको पूजा पनि गरिन्छ । यही दुईवटा मानीबाट सिल्ला बनेको भन्न सकिन्छ ।
चिल्ला
चिर स्वायगुला अर्थात फागु पूर्णिमा, वसन्त ऋतुको आगमन हुने महिना भनिन्छ ।
च्वला
च्वलापुन्हि, जामाच्वपुन्ही, बालाजुको मेला । त्यसैले च्व भनेको पहाडको टुप्पो हो ।
बँछला
विक्रमादित्य सम्वतको पहिलो महिना अर्थात वैशाख मानिन्छ ।
तछला
तथागतछला भन्न सकिन्छ तथागत भनेको बुद्ध हो । बुद्ध सम्वतको पहिलो महिना मानिन्छ । बुद्ध बैशाख महिनामा जन्मेको प्रमाणित भएको छ कुनै महिनामा जेष्ठ महिना पर्न गएको अवस्था हुन्छ ।
दिल्ला
आजकाल दिल्ला भनिन्छ । यो देशभरी रोपाई गर्ने, मुख्य महिना आर्थिक दृष्टिकोणले अत्यन्त महत्वपुर्ण महिना भएकोले देला (दे भनेको देश हो) । भनिएको हो ।
गुँला
गुँला भनेको सुनसान ठाउँ जहाँ पुर्खाहरु बसोबास गर्दछन् भन्ने कथन छ । त्यसैले पुर्खाहरुको सम्झनामा गाई जात्रा, जनैपूर्णिमा जुठो घर पवित्र गर्नेको रुपमा लिइन्छ ।
ञला
ञासी थनिगु अर्थात लिंग ठड्याउने,ञा इन्द्रको चिन्ह, यो महिनामा इन्द्रजात्रा पर्दछ ।
कौला
कौला भनेको केही खाने अथवा भोज खाने महिना याने यो महिनामा दशैं पर्दछ ।
लुनार क्यालेण्डर हाम्रो संस्कृति, समाजलाई नभई नहुने हो । यो समाजमा चलिराखेको थियो, चलिराख्ने छ । यो बिग्रार्न सकिँदैन । अहिले पृथ्वीले सूर्यलाई एक चक्का घुम्ने समयलाई एक वर्ष मानिन्छ । विक्रम सम्वत अनुसार ३६५ । इस्वी सम्वत अनुसार एक वर्षको ३६५ । विक्रम सम्ततमा सूर्य एक राशी बस्ने दिनहरुलाई एक राशि बस्ने दिनहरुलाई एक महिना मान्दछ । तर हरेक वर्ष त्यही महिनाको दिनहरु २९, ३०, ३१ र ३२ मा बदल्न सक्दछ । तर इस्वी सम्वतमा महिनाको दिनहरु तेकिएको छ, सो सूर्य, चन्द्रमामा भर पर्दैन । यो तोकिएको दिन महिना अति सजिलो र व्यबहारिक देखिन्छ । यसले प्राविधिक, वैज्ञानिक काममा एकदम फाइदा छ ।
विशेषगरेर स्तरीय तथ्यांक, अचल तथ्यांक भएको पाइन्छ । जसले हरेक घडी, मोबाइल, कम्प्युटरहरुमा स्वचालित तारिख बदल्ने गरी मिलाइन्छ, तर यो विक्रम सम्बतमा सम्भव छैन, त्यसकारण तोकिएको महिना हुनु अति आवश्यक हुन आउँछ । वर्तमानमा विक्रम सम्बतमा परेको तारिख अर्को वर्ष नपरेको अवस्था हुन्छ ।
नेपाल सम्वत् नेपालको आफ्नै मौलिक सम्वत हो । जुन सम्वत विश्वमा अरु कुनै देशसँग सम्बन्धित छैन, यस सम्वत नेपालको आफ्नै देशको नामबाट चलाईएको हुनाले यो ऐतिहासिक र नेपाली मौलिकता बोकेको राष्ट्रिय सम्वत हो । नेपालको इतिहासलाई केलाउँदा नेपालमा शक सम्वत, नेपाल सम्वत, मानदेव सम्वत, इस्वी सम्वत, कलीगत सम्वत, विक्रम सम्वत आदि चलेको पाइन्छ ।
नेपालमा प्रचलनमा रहकेो धार्मिक कार्य, जन्म मृत्यु, श्राद्ध, चाडपर्व, माता तिर्थ औंसी, पितृ औंसी, एकादशी व्रत, सरस्वती पूजा, श्री स्वस्थानी व्रत कथा, शिवरात्री, सतविज छर्ने, बालाचर्तुदशी, लक्ष्मीपूजा, दशैं तिहार, राम नवमी, विवाह पञ्चमी, छठ आदि नेपालका सबै जाति सम्प्रदायले अझ मुस्लीम सम्प्रदायको इद, मोहरम, बकरिद आदि समेत नेपाल सम्वतबाट प्रचलनमा आएको तिथिका आधारमा हाल पनि मानी आइएको तथा चलि आएको हाम्रो परम्पराले पनि नेपाल सम्वतको महत्वलाई झल्काइ रहेको छ ।
नेपाल सम्वतको प्रयोग नेपाली पञ्चांग र पात्रोहरुमा परापूर्वकालदेखि निरन्तर लागू हुँदै छापामा समेत प्रयोग हुँदै आइरहेको पाइन्छ । हाल नेपालका सञ्चार माध्यम, पत्रपत्रिका, रेडियो, टेलिभिजन सबैमा नेपाल सम्वतको प्रयोग हुँदै आइरहेको सर्वविदित्तै छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप