धरानमा तिहारको चहलपहल (१८ तस्वीर)

‘भाइमसला’ को बासना चल्न थाल्यो, उपहार खोज्दै उपभोक्ता


  • हाम्रो कोशी आवाज
  • २०७७ कार्तिक २७

धरानः नेपालीहरूको दोस्रो ठूलो चाड तिहार शुरु हुन अब केहीदिन छ । तर धरानमा चहलपहल शुरु भइसकेको छ । तिहार रङ्गीचङ्गी बत्ती, सयपत्री, मखमली र झिलिमिलीको चाड हो ।
तिहार नजिकिएसँगै धरानका सब्जीमण्डी, देशलाइन, बराह डिपार्टमेण्टल स्टोर, देशीलाइन, पुतलीलाइन, नयाँ बजारमा चहलपहल शुरु भएको छ । ती ठाउँमा तिहारका लागि चाहिने नक्कली मखमली फूल, अण्डा, टिका तथा पूजाका सामान बिक्री तथा किनमेल हुन थालिसकेको छ ।
तिहारमा नेपालीहरुले लक्ष्मीपूजा, गोवद्र्धन पूजा तथा भाइटिका मनाउँछन् भने नेवार समुदायले म्हःपूजा विशेष उत्सवका साथ मनाउने गर्छन् । धरान–१६ की सम्झना ढकाल भन्छिन् ‘तिहारको चहलपहल शुरु भएको छ । पछि भीडभाड बढी हुने हुँदा बेलैमा सामग्री भेला पारयो झन्झटै साफ ।’
तिहारमा लागि प्रयोग हुने अधिकांश मसला, पिस्ता, बदाम, ल्वाङ खरिद गर्ने पनि बढेका छन् । यस्तै, दैनिक उपभोग्य सामग्रीहरू चामल, घिउ, तेल, मैदा, भेली, टीकाको सामग्री, चिनीलगायतका उपभोग्य वस्तुहरूको खरिद बिक्री बढेको व्यवसायी बताउँछन् । यस्तै, तिहारमा उपाहार दिनका लागि उपहारका सामग्री, ढाकाका कपडा, फेन्सीहरूमा समेत ग्राहकको चहलपहल छ ।
तिहारमा फेन्सी, कस्मेटिक, बराह डिपार्टमेन्टल स्टोरसमेत अहिले ग्राहकले भरिभराउ र निकै नै चहलपहल बढेको सम्बन्धित व्यवसायीहरूले हाम्रो कोशी आवाज डटकमलाई बताए । तिहारको समयमा आफ्ना दाजुुभाइलाई उपहार दिने प्रमुख माध्यमको रूपमा परम्परादेखि नै टोपी प्रयोग हुने गरेको छ । ढाकाको टोपी, स्टाकोट, पछ्यौरी, लत्ताकपडालगायतका वस्तुहरू तिहारमा उपाहरको रुपमा दिने गरिन्छ ।
तिहारको आगमनसँगै भाइ टीकाका लागि प्रयोग हुने भाइमसला खरिद गर्नेको चहलपहल बढेको छ । काजु, बदाम, किसमिस ओखर, नरिवल आदिको मिश्रणलाई चलनचल्तीमा भाई मसला भन्ने गरिन्छ । प्रायः सबैजसो सामग्री आयातीत हुन् ।

धरानका अधिकांश गल्ली अर्थात् मुख्य रोड छिरे भाइ मसलाको बासना चल्न थालिसकेको छ । पाइलैपिच्छेका पसलहरूमा राखिएको काजु, बदाम, किसमिस ओखर, नरिवल आदि सजाइएको दृश्य पनि आकर्षक देखिन्छन् । यो बजार ‘भाइ मसला’ कै थोक तथा खुद्रा बिक्रीका लागि चर्चित पनि छ ।
‘यतिबेला सडकमै राखेपनि बिक्छ’, धरानको भानुचोक छेउ सडकमा मसला बेचिरहेका दीर्घ राईले भने, ‘अन्य समय अरू सामानको व्यापार गर्नेहरूले पनि तिहारमा मसला नै बेच्ने गरेको यो वर्ष मात्र होइन, अघिल्ला वर्षहरूमा पनि त्यस्तो प्रचलन थियो ।’ भाइटीकाका लागि खपत हुने यी मसलाहरू एक किलो, आधा किलो, एक पाउको पोको बनाएर प्याकिङ गरिएका छन् । ‘बेच्नभन्दा गाह्रो प्याकिङ गर्दा हुन्छ’ उनले भने । धरान बजारमा मसलासँगै तिहार विशेष अन्य सामग्रीको चाङ पनि देखिन्छन् । पाला, दियो, बिजुली बत्तीहरू, टोपी, रङ, नक्कली फूलहरू राखिएका छन् ।
तिहारको बेला सयपत्री, मखमली फूलको मालाको माग अत्याधिक हुने गर्दछ तर यसपटक कोरोना कहरले भने मूल्य आकाशिने हो कि भन्ने चिन्तामा उपभोक्ताहरु रहेका छन् । एकातिर कृषकले कम फूल रोप्नु र थोरै मात्रै भित्रिने हुँदा मूल्य आकासिन्छ र उपभोक्ताहरू महङ्गीको मारमा पर्छन् । ‘यसपटक छाँट हेर्दा मखमली, सयपत्री महङ्गीने सम्भावना बढेर गएको छ’, व्यवसायी राईले भने ।
तस्वीरः हाम्रो कोशी आवाज
अघिल्लो वर्षको तिहारनजिक खिचिएको भिडियोः

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप