अझैपनि ‘आलोक’ हुनबाट जोगाऔं


  • महेश श्रेष्ठ
  • २०७७ कार्तिक २५

‘अङ्कल, तपाईको छिमेकीको छोरा हाम्रो एकजना साथीले फेसबुकमा सुसाइड नोट लेखेको छ, उसको अवस्थाका सम्बन्धमा बुझिदिनुस् न !’ आज बिहानै पोषणविद् प्रविन भट्टराईले कल आयो । मैले गएर बाबुसँग बुझे अहिलेसम्म अप्रिय घटना भएको रहेनछ । फेसबुकमा सुसाइड नोट लेखेको कुराका सम्बन्धमा प्रविन र मैले सचेत गरायौं । साथीको अवस्थाप्रति गम्भीर र चिन्तित भएका उनलाई धन्यवाद दिएँ । यस घटनाले मलाई भने ६ वर्षअघि आत्माहत्या गरेका आलोक नेम्वाङको घटनाले झस्कायो र चिमोट्यो ।
‘पटक–पटक मर्नुभन्दा एकैपटक मर्नु जाति’ त्यसबेला आलोकको सुसाइड नोट सार्वजनिक भएको थियो, यो टिपोट अत्यन्तै गम्भीर थियो । आलोक नेम्वाङको आत्महत्याका चर्चा परिचर्चाले यतिखेर सञ्चार माध्यमका भित्ता भरिएका थिए । उनको आत्महत्या एउटा आम मानिसको नभएर मुलुकको गिनेचुनेका प्रतिभाशाली व्यक्तिहरूमध्ये एकको भएकाले यस घटनालाई कसैले सहजरुपमा लिन सकिरहेका थिएनन् र सहजरूपमा लिनुपर्ने अवस्था र घटना पनि होइन ।
आलोकजस्ता बहुप्रतिभाशाली र स्थापित व्यक्तित्वको आत्महत्याले थुप्रै प्रश्न र बहस जन्माएको थियो, म ती बहस र प्रश्नहरूतिर रुमलिन्न चाहन्नँ । त्यसबेला मलाई फेसबुकमा लेखिएका केही स्टाटस र कमेन्टले भने निक्कै ध्यानाकर्षित गरयो, जसमध्ये मैले पढ्न भ्याएको सगरमाथा आरोही महिला पत्रकार बहिनी देउराली चाम्लिङ राईको कमेण्ट र डायस्पोराका चर्चित श्रष्टा भगवती बस्नेतजीको स्टाटस रहे । बस्नेतजीले आफ्नो स्टाट्समा ‘संसारको सर्वश्रेष्ठ प्राणी मानिएको मान्छेले पनि आफ्नै जीवनप्रति गरेको अवमूल्यन देख्दा कता कता मन दुख्छ ! बहुप्रतिभाशाली आलोकलाई के दुःख परयो होला ? कति धेरै आश गरेर बसेका लाखौं दर्शकश्रोता आशाहरु निराशामा परिणत भए ! सबैलाई रुवाएर अल्पायुमै धर्तीबाट बिदा भयौ । परेली भिजाउँदै भएपनि भावपूर्ण श्रद्धाञ्जली !’


चाम्लिङ बहिनी जसले धेरैतिर एउटै कमेन्ट गरेकी छिन् ‘कायरहरु आत्महत्यादेखि डराउँछन्– ओशोको दर्शनले यसै भन्छ । हरेक मान्छेलाई आफ्नो जीवन आफ्नै तरिकाले जिउने अधिकार हुन्छ । आलोक नेम्वाङले आत्महत्या गरेको खबर सुन्दा कुनै ठूलो, नौलो र आश्चर्य लागेन । आत्महत्या गर्ने व्यक्ति उनी पहिलो या अन्तिम होइन । हरेक मान्छेको ‘नाम’ भित्र उस्को निजी जीवन हुन्छ । आलोक, तिम्रो साहसलाई सलाम । (आत्महत्या गर्नलाई ठूलो साहस चाहिन्छ त्यो साहस र हिम्मत म सँग छैन ।)


बस्नेतजीको कथनमा उठाइको प्रश्नप्रति म पनि सहमत छु संसारको सर्वश्रेष्ठ प्राणी मानिएको मान्छेले किन आफ्नै जीवनप्रति अवमूल्यन गर्छन् ? मानिसको यो जीवनलाई वास्तवमा भन्ने हो भने उ स्वयंले पनि नष्ट गर्न पाउने, ऊ आफैलाई पनि अधिकार छैन । यो प्रथमतः यो जीवन ऊ आफैको योगदानबाट निर्मित संरचना होइन । पिता र माताको योगदानबाट निर्मित यो जीवनलाई एक्लो निर्णयबाट नष्ट गर्ने अधिकार प्राकृतिक रुपमा पनि छैन किन कि भ्रुण उत्पादन प्रक्रियादेखि संसारिक जीवनमा आउँदासम्मका प्रक्रियामा योगदान उसको शुन्य रहन्छ । जब उ आफै आफ्नै खुट्टामा उभिन सक्ने क्षमता हासिल गर्दैन तबसम्म उसले दिने होइन लिने कार्य मात्रै गरिरहेको हुन्छ । जब उसले घरपरिवारलाई समाजलाई अनि राष्ट्रलाई योगदान दिने अवस्थासम्म आइपुग्छ र पनि उसले आफ्नो देहलाई स्वनिर्णयबाट त्याग गर्ने अधिकार राख्दैन किन कि यो जीवन ऊ आफैको योगदानबाट प्राप्त होइन ।
यो जीवन प्रदान गर्न योगदान दिनेप्रति त जीवन पर्यन्त पनि ऋणी रहनुपर्ने हुन्छ । त्यसअर्थमा जीवनदाताहरूको ऋणी भएकै अवस्थामा आत्माहत्या गर्नु जीवनदाताहरूप्रति विश्वासघात हो । प्रश्न के पनि हो भने आत्माहत्या गर्नेहरूले जीवनदाताहरुलाई उ जस्तै अर्को जीवन सट्टामा दिन सक्छन् र उनीहरूलाई अरुले दिएको जीवन नष्ट गर्ने अधिकार हुन्छ ? यदि सक्दैनन् भने अरुले दिएको जीवन नष्ट गर्ने सक्ने एकल क्षमता भएपनि अधिकार भने हुन्नँ ।
अर्को कुरो यो मानवजीवन पुनः पाइने जीवनपनि होइन, जसलाई नेपालमा देहत्याग गरेर अर्कोपटक कुनै इच्छित देशमा जन्मन पाइयोस् भनेर त्याग्नु । प्राणीहरुमध्येको सर्वोत्कृष्ट हाम्रो जीवनलाई यस्तो खेलाचीं गरेर धर्तीमा आसपास (लुकिमारी) खेल्न आएजस्तो देहत्याग गर्नु पनि उपयुक्त होइन । एकपटक पाइने मानव जीवनलाई मानवहीतमा समर्पण गरेर सार्थक तुल्याउनु पर्नेमा समस्या र अप्ठ्याराहरुसँग हार खाएर आत्महत्या गर्नुलाई संघर्ष गर्दै दुश्मनको गोली लागेर मृत्युवरण गर्नेहरुसँग तुलना योग्य हुन्नँ ।
कुनैपनि त्यागले घरपरिवार, समाज, राष्ट्र र मानवजातिलाई वा चराचरजगतलाई केही न केही सकारात्मक देन दिन्छ भने त्यो सह्रानीय हुन्छ तर नोक्सानी मात्रै दिन्छ भने त्यो त्याग त्याज्य हुन्छ स्तुतिय हुन्नँ । म यहीनिर चाम्लिङ बहिनीलाई जोड चाहान्छु माथि उल्लेख गरिए जस्तै नेम्वाङको आत्महत्या स्तुतीय हो त ? जीवनमा आइपरेका अप्ठेराहरुसँग संघर्ष नगरी वा थाकेर पलायन भइयो भने पुनः केही समयपछि ट्रयाकमा आउन सकिन्छ तर सधैंका लागि जीवनबाट पलायन हुनुले घरपरिवार, समाज र राष्ट्रलाई कति योगदान दिन्छ भावीपिढीलाई कस्तो उदाहरण स्थापित गर्छ ? सत्यता स्थापित गर्न सुकरातले हेम्लेक (विष) को कचौरा सिनित्तै पिएका थिएरे, त्यो साहस र वीरता थियो । बाटाहरु खुल्ला हुँदाहुँदै संघर्षको मैदानबाट पलायन हुनु सकारात्मक होइन ।
हो ओशोले भने आत्महत्या गर्नु साहस चाहिन्छ, तर त्यो आत्माहत्या कसका लागि ? के का लागि ? एकजनाको मृत्युले बहुसंख्यकको हीत हुन्छ भने त्यो सार्थक हो तर हुँदैन भने त्यो साहस होइन न त सार्थक नै हो । हो जीवन ज्युँने तरिका आआफ्नो हुन्छ तर मर्न पनि त निरपेक्ष हुँदैन र सबै आत्महत्या पनि साहस होइन ।
ओशोका सम्बन्धमा म एउटा कुरा स्पष्ट पार्न चाहान्छु– ओशोको दर्शन भोकाएका लागि होइन, त्यो त अघाएकाहरुका लागि हो । जो जीवनबाट वैराग्यता चाहन्छन् उनीहरुका लागि हो । जीवन ज्युँन चाहानेहरु लागि त ज्युँने कला पो चाहिन्छ त मर्ने कला होइन । वैराग्यतावादी चिन्तन र दर्शन भनेको मृत्युबोधी माध्यम हो जसले संसारमा इमान्दारितापूर्वक संघर्ष गरेर बाँच्न होइन मर्न मात्रै सिकाउँछ । ओशोले त्यही कुरा जीवनबाट अघाएकाहरुलाई वैराग्यतर्फ पुराएर संघर्षपूर्ण जीवन परित्याग गर्न प्रेरित गरेका छन् । हुन त संसारका सबैधर्मले मानिसलाई ज्युँने कला कम वैराग्य तर्फ डोराउँदै मर्ने कला मात्रै सिकाउँदै आएको छ । जुन कुरा उनीहरुले उनीहरुको धर्मानुसारको भेषभुषा पहिराएर प्रारम्भ गर्छन् ।


मलाई यतिखेर चर्चित हाँस्यव्यङ्ग्य लेखन विद्याका नेपाली सम्राट भैरव अर्यालको आत्महत्याको स्मरणः भइरहेको छ जसले २०३३ असोज १९ गते राति काठमाडौं गोकर्णको पुलबाट बागमतीमा हाम फालेर आत्महत्या गरेका थिए । ४० वर्षकै अल्पायुमा अर्यालले यो संसार त्यागेका थिए । त्यसबेला अर्यालको आत्महत्याले नेपाली साहित्य जगत र सचेत समुदायलाई अत्यन्तै मर्माहत पारेको थियो । अर्यालको आत्महत्याको लगभग ४ दशकपछि अर्का चर्चित युवा श्रष्टाको आत्माहत्याले राष्ट्रलाई नै अत्यन्तै मर्माहत तुल्याएको थियो ।
हुन त यसबीचमा आत्माहत्याका घटना यही मात्रै होइनन् पत्रकार, कलाकार, साहित्यकारलगायतका केही दर्जन श्रष्टाहरुले देहत्याग गरिसकेका छन् तर यो श्रृङ्खलाको पछिल्लो पात्र नेम्वाङ तहकाले समेत यो मार्ग चयन गरिदिँदा अन्य उनीभन्दा तलका र भावी पिढीँले कस्तो पाठ सिक्दै छन्, यसतर्फ गम्भीर हुनुपर्ने भएको छ । यदि गम्भीर नहुने हो भने आत्महत्या संस्कृतिको विकास हुने खतरा बढेको छ, त्यसै त सानातिना समस्यामा युवा पिढीँहरुले आत्महत्या गरेका घटना समाचार बनिरहेका छन् । ब्राजिलले खेल हार्दा नेपाली युवतीले आत्महत्या गरेका घटना जस्तो, एसएलसी परीक्षामा अनुत्तीर्ण हुँदा आत्महत्या गरेको, कोरोना लाग्दा आत्महत्या गरेको जस्तो सस्तो ज्यान दिने शिक्षा लिए भने भविष्य कहालीलाग्दो हुनेछ ।
हुन त यी सबै हामीले पाएका शिक्षा र परिवेशमा आधारित हुने कुरा हुन । यस्ता घटना हुनुका पछाडि थुप्रै कारण हुन सक्छ तर यस्ता घटना दोहोरिन नदिन हाम्रो घर परिवार, समाज र राष्ट्रकै महत्वपूर्ण भूमिका रहन्छ । त्यो महत्वपूर्ण भूमिका निर्वाह गर्न चुक्यौं भने ‘अझै पनि’ थुप्रै नेम्वाङहरुलाई गुमाएर राष्ट्रले मूल्य चुकचुकाइ रहनुपर्ने छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप