नियात्राः बेलायतको जाडो छल्दै दुबई पुग्दा…

माओवादी जनयुद्धपछि दुबई पुगेर ट्याक्सी चलाउने ती भाइको कुरा !


  • भीम राई
  • २०७७ कार्तिक २४

अंग्रेजी वर्षको पहिलो महिनाभरि बेलायतमा हिउँ परिरहेको थियो । हिउँले छपक्कै ढाकेका सडकका पेटीहरुमा बुढो ज्यानसँग निस्कदा तिख्खर जाडोले गालामा चिलिरहेको आभाष हुने गर्दथ्यो । अझै कुनै कुनै दिन अक्सफोर्डको तापक्रम घट्दै गएर शून्य डिग्री भन्दामुनी झरिरहेका हुन्थे ।
हिउँपर्न रोकिएपछि, जमिनमा जताततै जमेका पानीका बरफहरु शिशाझै टलक्कै टल्किरहेका देख्न सकिन्थे । हामीले तिनै जाडो देखि भाग्नको लागि फेब्रुअरीको दोश्रो साता दुबई जाने योजना बनाएका थियौं । त्यसैले इमराटस एअरको एअरबस ‘ए ३८०’ बिमान चढेर १३ फेब्रुअरी २०२० को बेलुकी हिथ्रो विमानस्थलदेखि दुबईतर्फ लाग्यौं ।
इमराटसको एअरबस ३४ हजार फिटको उचाईमा पुगेपछि, रातो वाइनसँग हामीले स्वदिष्ट भोजन खायौं । त्यसबेलासम्म बिमानले अति आरामदायी यात्रा भरिरहेको थियो । जब हामी कृष्णसागर माथिको आकाशमा उडिरहेको थियौं, तब अचानक बिमानमा आएको उथलपुथलले केटाकेटीहरु चिहिलबिहील भए । ताराको काँधलाई सिरानी मानेर म त्यसबेला निन्द्रादेवीको शरण लिइरहेको थिएँ । तर, एक्कासी बिमानमा भएको असन्तुलन र होहल्लाले मेरो निन्द्रालाई भताभुङ्गै बनाइदियो ।
त्यसबेला बिमान कृष्ण सागरको बोसफोरसजल संयोजनको सिधै माथि उडिरहेको थियो । हामी इस्तानबुल भ्रमणमा जाँदा त्यस स्थानमा पहिले नै पुगिसकेका थियौं । बोसफोरस जलसंयोजनमा उत्पन्न हुने पानीको कडाधारले पानीजहाज हल्लाउँदा पहिलोचोटी तर्सिसकेका हामीलाई राम्रै अनुभव थियो । तिनै तितो अनुभवलाई त्यसबेला दोश्रोपटक स्मंरण गरयौं । तर, त्यति धेरै असुन्तलित बिमान देखि डराएर ताराले, ‘जिन्दगी यतिसम्म मात्र रहेछ, कि के हो ?’ सुटुक्कै मेरो कानको नजिक आएर भनिन् ।
केही समयको असल्तुलनपछि, बिमानले साधारण गतिमा उडान भर्न थाल्यो । मैले त्यसबेला एउटा अंग्रेजी चलचित्र ‘क्रेजि रिच एशियन्स’ लाई हेरेर बाँकी यात्रालाई सहज गराउन थालें । तर, चलचित्रमा धनाढ्य मानिसहरुले बिताएको सुखभोगी जिन्दगी देखेपछि जाबो मेरो जिन्दगी तिनै कृष्णसागरमा डुबेको भएपनि कुनै पश्चाताप नहुने रहेछ, भन्ने मेरो मनमा केहिबेर लागिरह्यो ।
लगातार सात घण्टाको उडानपछि, भिमकाया दुईतले बिमानले गड्याङ्गै आवाज निकाल्दै दुबई बिमानस्थलमा अवतरण गरयो । म त्यतिबेला अर्धनिन्द्रामा भएतापनि थोरै प्रसन्न मुद्रामा थिएँ किनभने, हामी त्यसै दिउँसो प्रणय दिवश मनाउनको लागि एटलान्टिस होटल, दुबाईमा जाँदै थियौं ।

बिमान पूर्णरुपले रोकिएपछि, हामी सुस्तसुस्त गतिमा दुबाई अध्यागमनमा पुग्यौं । तर, त्यहाँ पुग्ने बितिक्कै देखिएका मानिसहरुको त्यति ठूलो भिडले हाम्रो सात्तोपुत्लो उडेको थियो । किनभने, हाम्रो बिमानसँगसँगै म्यानचेस्टर, पेरिस, आम्सटर्डम, फ्र्याङ्कफर्ट र रोमबाट आएका अन्य बिमानहरु पनि अवतरण भएका थिएँ ।
अध्यागमनदेखि केहीबेर हिँडेर बिमानस्थलको आगमन कक्षमा पुग्यौं । र, बेलायतबाट अग्रिम आरक्षण गरिएको गाडीका चालक कता होला भनेर खोज्न थाल्यौं । तर, आगमन कक्षमा प्रतिक्षार्थीहरुको भिड देखेर म फेरि अतासिएको थिएँ । किनभने, गतरातको निन्द्राले आकुल ब्याकुल भइरहेको थिएँ र जतिसक्दो चाँडो होटलमा पुगेर आराम गर्न चाहिरहेको थिएँ ।
चालकलाई खोज्ने निक्कै लामो कसरत गरेपछि, हाम्रो नाम लेखेर एकाछेऊमा उभिएर हाम्रो प्रतिक्षा गरिरहेका चालकलाई भेट्यौं । अनि तिनै चालकसँग साङग्रीला होटल, दुबाईतर्फ लाग्यौं । साङग्रीलामा एकहप्ता बस्ने र अर्को हप्ता खाडी क्षेत्रको राष्ट्रहरुमा पानीजहाजद्वारा क्रुजिङ गर्ने हाम्रो पूर्वयोजना बनेका थिए ।
उत्तर भारतीय चालकले होटलको मुख्य द्वारमा हामीलाई पुरयाउँदा समय बिहानीको नौ बजिसकेको थियो । होटलमा त्यति बिहानै पुग्दा चेकइन हुनको लागि कुनै कोठाहरु खाली भएका थिएनन् । त्यसैले स्वागतिकाले ‘केही समय लाग्छ । कृपया, कोठा खाली नभइन्जेलसम्म यतै कतै बसिरहनुहोला ?’ भनेर आग्रह गरिन् । त्यसपछि, उनले हामी नजिकै उभिरहेकी बेयरालाई दुई गिलास जुस ल्याइदिनुहोस् भनेर हुकुम वर्साइन् ।
म होटलको लब्बीमा अर्धनिन्द्रामा उभिरहेको थिएँ । मेरो नजिकै अति लोभलाग्दा र आरामदायी सोफाहरु देखा परिरहेका थिएँ । जब बेयरा जुस ल्याएर हाजिर भइन्, मैले जुसलाई एक्कै सासमा स्वाट्टै पारिदिएँ । अनि थपक्कै सोफामा बसेर दुवै आँखाका ढकनिहरु बन्द गरिहालें ।
मेरो आँखा बन्द हुने बितिक्कै बिमानमा भेटिएकी सुन्दरी युक्रेनियन परिचारिकाको अति आकर्षक मुहार झलझली देखापर्न थालें । हातमा सेतो वाइन बोकेर उनी टकटक हिल पड्काउँदै मेरो नजिक आइरहेकी थिइन् । तर, मैले वाइन लिन नपाउँदै होटलको स्वागतिकाले मेरो कान नजिक आएर ‘हेल्लो ! महाशय’ भन्दा म झसङ्ग हुँदै ब्युँझिएँ । सपनीमा त्यति राम्री युक्रेनियन युवती देखेर अति हर्षित भएको थिएँ, अचानक बिपनिमा थोपडा बिग्रिएकी फिलिपिनो युवती मेरोसामु खडा भइरहेकी देख्दा ठूलो छाङ्गादेखी खसें । तर, उनी त्यहाँ आउँदा हाम्रो कोठाको साँचो पनि लिएर आएकी रहेछिन् । मैले पूर्णरुपमा आँखा खोलेपछि,उनले हाम्रो कोठाको साँचो मेरो हातैमा थमाइदिइन् ।
कोठाको साँचो हातमा परेपछि, हामी सरासर तेश्रोतलामा अवस्थित हाम्रो कोठामा पुग्यौं । अनि गतरातको अनिदोंलाई बिदाइ दिन मज्जाले आराम गर्न थाल्यौं । चार–पाँच घण्टा जतिआराम गरेपछि स्फुर्तको साथ फेरि रिसेप्सनमा झरयौं । र, तिनै फिलिपिनो स्वागतिकालाई एउटा ट्याक्सी मगाइदिनको लागि अनुरोध गरयौं । उनले हत्तपत्त ट्याक्सी कम्पनीमा फोन गरेर एउटा ट्याक्सी मगाइदिइन् । होटल बाहिर ट्याक्सी देखापर्ने बितिक्कै हामी एटलान्टिस होटलतर्फ लागि हाल्यौं ।

त्यसदिन दुबाईको मौसम ज्यादै सफा थियो । फेब्रुअरी महिनाको बेलायती जाडोदेखि भागेर दुबाई पुग्दा हामीले थोरै भाग्यमानी महसुस गरिरहेका थियौं । त्यहाँका गगनचुम्बी महलहरु र फराकिला सडकहरुले झिलिमिली बनाएका सहरको नजर लगाएपछि, ‘दुबाई त फेरिपनि आउनुपर्छ है ?’ भन्दै ताराले सुस्तरी मुख खोलिन् । म त्यहाँका चिल्ला बाटाहरु हेर्न ब्यस्त भइरहेका हुनाले उनको भनाइलाई खासै वास्ता गरिरहेको थिइनँ ।
शेख महम्मद बिन जायद सडकमा ट्याक्सी आफ्नै रफ्तारमा गुडिरहेको थियो । दाहिने खुट्टामा राईफलको ७.६२ एमएम गोली लागेर खुट्टा बङ्ग्याउँदै बङ््ग्याउँदै दुबई पुगेका पूर्व माओवादी छापामारले हाम्रो ट्याक्सीलाई हाँकिरहेका थिए । मैले जिन्दगीमा प्रथमचोटी माओवादी छापामारसँग प्रत्यक्ष भेटेको हुनाले थोरै हर्षित मुद्रामा थिएँ । तर, उनीहरु ज्यादै निर्दयी हुन्छन् भन्ने धेरै पटक सुनेको हुनाले थोरै सशङ्कित पनि भएको थिएँ । र, तिनै चालकको निर्मम अनुहारलाई हेरेर मैले गाँउमा घटेको एउटा सानो घटनालाई झल्यास्स सम्झना गरें ।
रिमझिम पानी परिरहेको असार महिनाको एकदिन थियो । छिमेकी दाजुको घर नजिकै बाँसघारीमा चराचुरुङ्गीहरु बाँस बसिसकेका थिएँ । लगभग १५ घण्टा खेतमा काम गरेर थकित मुद्रामा दाजु बेलुकीपख घर फर्किनु भएको थियो । तर, घरमा आइपुग्दा माओवादीहरुले तामझामको साथमा खाना पकाइरहेको देख्दा उनी रिसले अगुल्ठोझै भएँ । दिनभरि खेतमा काम गरेरलखतरन भएका थिएँ । त्यसैको झोकमा, ‘कमरेडहरु ! मेहनतको कमाइ खानुपर्छ, जनताको पसिना होइन,’ ठूल्ठुलो स्वरमा उनीहरुलाई भनिदिएँ ।
उहाँको भनाई राम्ररी हावामा बिलिन हुन नपाउँदै एकजना छापामारले भुइँमा लडिरहेको राइफललाई सर्लक्कै उचाल्यो र राइफलको बटले दाजुको एउटा कानको जाली फुट्ने गरी हान्यो । बिना दोष सजाय पाएका ती दाजुले अहिलेसम्म पनि कान सुन्न सकेका थिएनन् ।
दुबईमा त्यो कुरा स्मरण गरेर छापामार चालकको अनुहार हेर्दा मलाई हल्का असहज भइरहेको थियो । तैपनि भोजपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु युद्धमा लडेका तिनै पूर्वयोद्धाले ‘के सोचे पहिले, के भयो अहिले’ भन्दा मेरो हृदयमा हल्का चोट लाग्यो । त्यसपछि, चालकले उसको जिन्दगीमा घटेका युद्धका अप्रिय घटनाहरु विस्तारै ओकल्दै गएँ । ऊ सँगसँगै उनको प्रेमिका पनि राष्ट्रको मुहार परिवर्तन गर्न माओवादी युद्धमा होमिएका थिएँ । अझै एउटै सेक्सनमा ऊ ‘फाएर टिम चार्ली’ र प्रेमिका ‘फाएर टिम डेल्टा’ मा कार्यरत रहेका थिएँ ।
औंसीको मेचक अँध्यारो रातमा माओवादीले सोलुको प्रहरी शिविरमा भीषण आक्रमण गरिरहेको थियो । दुवैतर्फबाट निस्केका गोलीका आवाजहरु सोलुको आकाशभरि ताराझै चम्किरहेका थिएँ । मध्यरात भएपछि युद्ध मैदान झनझन निसबन्द अँध्यारोमा परिवर्तन हुँदै गयो । एक्कासी अँध्यारो बारिको डिलदेखि, ‘ऐथ्या कुमार,’ भन्ने बिरमाइलो आवाज हावासँग सँगै मिसिएर उसको नजिक आयो ।
ऊ हत्तार हत्तार आवाज आएको ठाउँतिर दगुर्दै गयो । प्रहरीले हानेको गोली सरिताको देब्रे छातीमा बज्रपात भएको थियो । उसले टर्च बालेर हेरयो । र, शरीर पछाडिको भागबाट भलभल रगत बहिरहेको देख्यो । उसले सरितालाई हत्तपत्त उचालेर आफ्नो काखमा राख्यो । अनि आफैले लगाइरहेको सर्टलाई च्यातेर रगत रोक्नको लागि केही प्रयत्न गरयो । तर, अफसोच उसले प्राथमिक उपचार भन्दा बढी केही गर्न सकिरहेको थिएन ।

सरिताले लामो लामो सास फेर्दै, ‘म मरेपनि हाम्रो अमर प्रेम जीवित रहिरहनेछ,‘थरथरि मुख कमाउँदै उनी बोलेकी थिइन् र अन्तिमचोटी सँधै सँधैको लागि आँखा चिम्लिन् । कुमारले युद्धमैदानमा भएको उसको प्रेमिकाको मृत्युको दुखान्त कथा सुनाएपछि, आजीवन विवाह नगर्ने कसमखाएका पनि तारा र मलाई बिरमाइलो मान्दै भन्यो ।
त्यस्तो बिकराल रातमा भएको भिषण आक्रमणको भयानक दर्दनाक कथा सुनेर ताराले तुरुक्कै आँशु झारिन् । भोजपुरको एउटा सानो गाँउमा जन्मेका गरिव किरातीको छोरोको युद्धकथाले मेरो मनलाई बिक्षिप्त बनाइरह्यो ।
केहीबेरमा कुमार राईले एटलान्टिस होटलको मुख्य द्वार अगाडि ट्याक्सीलाई रोक्यो । ट्याक्सी रोकिएपछि–‘भाई ! कति पैसा भयो होला ?’ भन्दै उसलाई सानो स्वरमा मैले सोधें ।
‘सत्तरी दिराम दिनुहोला ?’ थोरै मुस्कानसहित कुमार बोल्यो ।
माओबादी युद्धका कुशल नायकलाई धेरै धेरै धन्यवाद छ है भनें । तर, उसले परिवर्तन गर्न खोजेको राष्ट्रको वर्तमान अवस्था सम्झेर एकचोटि खुइत गरें । तैपनि अबोध किरातीको उच्च सन्मान गर्दै दुईसय डिराम उसको हातैमा टक्रयाइदिएँ । ताराले सानो स्वरमा, ‘कति दिनु भयो कुन्नि ? अलिक दिन ुभए हुन्थ्यो कि ? किनभने, उसले पाएका दुःखका कथाहरुले मेरो मन भरङ्गै भइरहेका छन्, मुख लरबराउँदै उनी बोलिन् ।
ताराको कुरो सुनेपछि, ‘आ….कुमारलाई त्यति भए आज दिनभरि कामै गर्न पर्दैन,’ मैले प्रतिउत्तरमा फर्काइदिए ।
मेरो कुरो सुनेर कुमारले दोश्रोचोटि मुस्कान छाड्यो । तर, एक्कै शब्द नबोली मलाई केहीबेर क्वारक्वार्ति हेरिरह्यो । जब म उसको नजिकै पुगेर अन्तिम चोटि, ‘भाइ ! तपाईलाई भेटेर ज्यादै खुशी लाग्यो । भविश्यमा पनि भेट्ने आशा गर्दै बिदा हौ, है ?’ भन्दै ऊ सँग हात मिलाउन मेरा हात अगाडि बढाए । उसले एक्कासी, ‘सर ! तपाईहरु कहाँ बाट आउनु भएको होला ?’ ट्याक्सीको पछाडि उभिरहेको सुरक्षा अधिकारितर्फ हेर्दै मधूरो स्वरमा मलाई प्रश्न गरयो ।
ट्याक्सीदेखि झरेर त्यसबेला म होटल अगाडिको सडकपेटिमा उभिरहेको थिएँ । र, उसले सोधेको प्रश्नको उत्तर दिन नपाउँदै होटलको सुरक्षा अधिकारीले ट्याक्सीलाई तुरुन्तै अगाडि बढाउन आदेश दियो । कुमारले सुरक्षा अधिकारितर्फ फर्केर उसलाई फेरि एकझलक हेरयो । अनि एक्कै शब्द नबोली ह्याण्डब्रेक खोलेर उसले बाटो ततायो ।
त्यसदिन १४ फेब्रुवरीको दिन थियो ।
हामी एटलान्टिस होटलमा प्रणय दिवस मनाउन पुगेका थियौं । अचानक विदेशी भूमीमा भेटिएका कुमारले उसको प्रेमिकाको दर्दनाक कथा सुनाउँदा मेरो हृदय छियाँ छियाँ भइसकेको थियो । तैपनि मसँग केही अन्य उपायहरु थिएनन् । भाग्यबश मेरी प्रेमिका मेरो साथैमा भएपनि बेचैन हृदय लिएर सरासर होटलभित्र पस्यौं ।
पर्शियन खाडीमा मानवद्वारा निर्मित दीप ‘पाल्म दीप’ र क्यारेबियन दीप बहामसमा गरेर जम्मा दुईवटा एटलान्टिस होटलहरु बनेका थिए । अति सुविधा सम्पन्न एटलान्टिस दुबईको निर्माण प्रख्यात बेलायती निजी कम्पनीलाङ्गओरोकले गरेका थिएँ । त्यस कम्पनिको मुख्यालय डार्टफोर्ड, इङ्ल्याण्डमा रहेका छन् । र, कम्पनिका मालिक रेयमण्ड ओरोकसँग मैले लण्डनमा छोटो भेटने अवसर पाएको थिएँ ।
एटलान्टिस होटललाई निर्माण गर्न १.५ बिलियन डलरर दुई वर्ष समय लागेको थियो । २४ सेप्टेम्बर २००८ मा होटलको उदघाटन हुँदा त्यसको दुईमहिना अगाडि भएको बेइजिङ ओलम्पिक खेलको उदघाटन भन्दा सात गुना बढी आतसबाजी पडकाइएको इतिहास थियो । हामी होटलभित्र पसेपछि सिधै ‘प्लेटो रेष्टुराँ’ तर्फ लाग्यौं ।

ग्रिसको प्राचिनकालीन मिथकअनुसार काल्पनिक टापु एटलान्टिस आन्ध्र महासागरमा डुबेका थियो भन्ने मानिन्थ्यो । त्यस टापुलाई जसले पत्ता लगायो, उसको शरीरलाई प्लेटोले ‘आँधा भगवान र आँधा मानव’ भनेका थिएँ । तिनै दार्शनिक प्लेटोको नाम बाट बनेको रेष्टुँरामा हामीले अपरान्ह चिया (आफ्टरनुन टि) को ब्यवस्था मिलाएका थियौं ।
विश्वमा परम्परागत अपराह्नको चिया बेलायतबाट सुरु भएको थियो ? गृष्मकालीन मौसमको बेला बेलायतमा रात एकदम छोटो र दिन ज्यादै लामो हुने गर्दछ । बेलायती राजदरवारमा दिन लामो भएको समयमा बेलुकीको डिनर नौ बजे मात्रै खाने चलन रहिआएको थियो । दिउँसोको खाना खाएर बेलुकीको खाना नौबजे सम्म पर्खदा तत्कालिन हजुर महारानी भिक्टोरिया भोकले सार्है ब्याकुल परिसकेकी हुन्थिन् ।
त्यसरी भोकले आकुलब्याकुल बनेकी महारानीले दरवारमा काम गर्ने आन्नालाई दिउँसोको ३ देखि ५ बजेभित्र केही रोटि, जाम, क्रिम र चियाको बन्दोवस्त गर्न आग्रह गर्न थालिन् । हजुर महारानीले सन् १८४० देखि शुरु गरेकी त्यो परम्परालाई अपराह्नको चिया भनेर मान्न थालिएको थियो । तैपनि त्यसरी शुरु भएको मध्यान्हको चियाको मुख्य श्रेय चाहिँ तिनै आन्ना रस्सेललाई जाने गर्दथ्यो ।
प्लेटो रेष्टुँरामा हामी पुग्नेबितिकै अग्रिम आरक्षण गरेको सिटमा बस्नको लागि बेयराहरुले ठाउँ देखाइदिएँ । रेष्टुराँको वातावरण एकदम शान्त थियो । संसारका अन्य कतिपय शानदार होटलहरुको जस्तो उन्मत्तत्ता त्यहाँ पटक्कै देखिएका थिएनन् । अझै त्यहाँदेखि ढुङ्गा फाल्दा पुग्ने दुरीमा रहेको बर्ज अल अरबको सताइसौ तलामा अवस्थित ‘अल मुन्ताह रेष्टुँरा’को तडकभडकले मलाई ज्यादै आकर्षण गरेको मैले त्यतिबेला स्मरण गरे ।
तारासँग रेष्टुँराको कुर्सीमा थपक्कै बस्यौं र हाम्रो अगाडिको रुमाललाई एकसरो पट्याएर आ–आफ्नो काखमाराख्यौं । त्यसरी रुमाल राखेपछि, भारतीय मूलका एकजना बेयरा हाम्रो सामु आइपुगें ।
‘महाशय ! कुन कुन चिया पिउनुहुन्छ ?’ नम्र स्वभावले उसले पहिलो प्रश्न गरयो ।
‘कृपया ! एउटा कालो र अर्को हरियो चिया ल्याइदिनु होला ? बरु हरियो चियाचाहिँ कुन कुन होला ?’मैले उसलाई प्रतिप्रश्न गरें ।
दक्षिण भारतबाट आएको बेयराले मेनु नहेरी सेन्चा, मोच्चा, लङ जिङ, जसमिन पर्ल, माओ जियन, दार्जिलिङ, असाम र सिलोन छन् भनेर उसले भट्टभट्यायो । जापानिज, चाइनिज, भारतीय चियाहरुको नाम उसले पहिले बतायो र अन्तमा श्रीलंकाली चियाको नाम भनेर वाक्यशंलाई पूर्णबिराम गरयो । त्यहाँ उपलब्ध हुने सबै चियाको नाम सुनेपछि, ए त्यसोभए भइहाल्यो नि एउटा ‘जसमिन पर्ल’ ल्याइदिनुहोला भनेर उहाँलाई अनुरोध गरें । चियाको अर्डर पाउने बितिक्कै बेयराले उसको बाटो तताइहाल्यो ।
वास्तवमा भन्ने नै हो भने, ‘आफ्टरनुन टी’ भन्दा चियाको इतिहास निक्कै धेरै पुरानो भइसकेको थियो । जुनकुरो हामीले ‘टि टेस्टिङ सेरेमनी’ बेङजिङमा भाग लिँदा चियाको इतिहास करिब पाँचहजार वर्ष पुरानो भएको चाल पाएका थियौं । हामीले त्यहाँ राजकीय चिया ओलाङदेखि सुरु गरेर पियुर चियासम्म पुग्दा १२ प्रकारका चिनियाँ चियाहरुको स्वादचाखेका त्यसबेला सम्झना गरिरह्यौं ।
चिनियाँहरुले साधरणतय चियालाई तीन भागमा विभाजन गरेका थिएँ । पुरै सडाएर वा फर्मेन्टर गरेर बनाएको चियालाई कालो चिया भन्दथे । जुनकुरो मैले त्यसदिन भन्दा अगाडि कहिले पनि चाल पाएको थिइनँ । अनि कुनै कुनै चियाहरु अलिकति फर्मेन्टर गरेर बनाइएका हुनेरहेछन् । जस्तै ओलाङ्ग चिया र अन्तमा नसडाइ बनाइएकाहरु चियाहरु चाहिँ हरियो चियाहरु हुनेरहेछन् ।
अ बरु, बेङजिङमा हामीलाई चियाको विषयमा शिक्षा दिने गुरुआमा त्यतिमा मात्रै रोकिएकी थिइनन् । उनले चियाको थोरै इतिहास पनि कोट्याएकी थिइन् । जुनकुरो हामीले प्लेटो रेष्टुँरा दुबईमा बसेर त्यतिबेला मज्जाले स्मरण गरिरहेका थियौं ।
उनको कथा यसरी सुरु भएको थियो । इसापूर्व २७३७ को एकदिन मध्यान्हको समय थियो । तत्कालीन चिनियाँ सम्राट सन नुङ दरबारको बगैंचामा तातो पानी पिउँदै बसिरहेका थिएँ । अचानक क्यामेलिय वनस्पतिका केही पातहरु खसेर उसको पानीको गिलासमा पस्यो । अदम्य साहसी सम्राटले तिनै पातको रस पिएर चियाको श्रीगणेश गरेका हुन् भनेर चिनियाँ गुरुआमाले हामीलाई सुनाएकी थिइन् ।
तर,बेलायतकै कुरो गर्ने हो भने चियाको इतिहास त्यति लामो भएको छैनन् । राजा चाल्र्स दोश्रोले सन् १६६० देखि मात्रै चियाँ बेलायतमा भित्रयाएका थिएँ ।
केहीबेरमा बेयराले दुईवटा चियाको भाँडाहरुमा छुट्टाछुट्टै चिया ल्याएर हाम्रोसामु हाजिर जनायो । चियाको साथमा उसले सेतो र खैरो दुई प्रकारको चिनीका केही टुक्राहरु, चिसो दुध र दुई–चार टुक्रा कागती पनि ल्याएका थिएँ । पहिले पहिले चिनियाँ माटो (पोर्सलिन) बाट बनेका चियाका कपहरु ज्यादै कमजोरी हुने गर्दथे । जस्ले गर्दा चिया कपमा सार्दा कप नफुटोस भन्नको खातिर सर्वप्रथम चिसो दूध अनि चिया हाल्ने चलन थियो । तर, आधुनिक जमानाका पोर्सलिन बाट बनेका कपहरु ज्यादै मजबुत हुने भएकोले पहिले चिया अनि दूध हाल्नुपर्ने चलन रहिआएका थिएँ ।

बेयराले टेबलमा चिया राखेर गएपछि, मैले चिया छान्ने प्रयोग गरेर तारालाई एउटा कपमा चिया भरिदिएँ । साधरणतयः मध्यान्हको चियामा जस्ले पाहुनाहरु बोलाएका हुन्छन्, उसैले मात्रै चिया भर्नुपर्ने नियम हुन्थ्यो । तर, टेबलमा तारा र म मात्रै थियौं । त्यसैले मैलेनै उनलाई चियाँ भरिदिएँ । मैले चिया भर्दै गर्दा अलिकति निचोरेर कागतीको झोल पनि राखिदिनुहोस् है भनेर मलाई उनले अनुरोध गरिन् ।
तर, बिचरी तारालाई रसायन शास्त्रको नियम थाहा थिएन रहेछ । रशायनशास्त्रको नियमअनुसार पहिले चियामा चिनी घोलेर मात्रै कागती लगाउनुपर्ने हुन्छ । नत्रभने कागतीबाट उत्पन्न हुने अम्लले चिनीलाई राम्ररी पगाल्न सक्तैन भन्ने उनलाई राम्रो ज्ञान थिएन । अनि मैले चिया सारिसकेपछि, मेरो कर्तब्य पूरा भइसकेको थियो । चिनी हालेर घोल्ने जिम्मेवारी उनैको हुन्थ्यो । त्यसकारण उनले त्यसबेला गरेकी प्रश्न मलाई अलिक बेमौसमी बाजाको संगीत जस्तो लागिरह्यो ।
अँ…ताराले चिया पाइन्, त्यसपछि एकटुक्रा खैरो चिनी हालेर जतापायो त्यता घोल्न थालिन् । एटलान्टिसमा मध्यान्हको चियामा बसेर उनले जे पायो त्यही गर्नाले मलाई हल्का अफ्ठ्यारो महसुस भयो । मैले दायाँबायाँ हेरें तर भाग्यले साथ दिएर कसैले हाम्रो वास्ता गरिरहेको थिएनन् । किनभने, चियामा चिनी राखेपछि सानो चम्चिले ६ देखि १२ बजेको लाइनमा मात्रै चलाउनुपर्ने नियम थियो । त्यसरी चिया चलाइयो भने दुई प्रकारको फाइदाहरु हुने गर्दथ्यो । पहिलो, चिया कपदेखि पोखिएर बाहिर जाने सम्भावना ज्यादै न्यून हुन्थ्यो र दोश्रो टेबलमा थोरै पनि आवाज निस्किँदैन थियो ।
मैले सानो स्वर गरेर उनको त्यस्तो हर्कतलाई बन्द गर्न लगाएँ । तर, मेरो भनाइ सुनेर, ‘आ….जसरी चलाए पनि भइहाल्छ नि ?’ भन्दै झन् उनले जिद्दि गर्न थालिन् ।
‘हुँदैन ! किनभने तिमीले मानिसलाई प्रभाव पार्ने अवसर घरिघरी पाउनेछैनौं ? त्यसैले पहिलो प्रभावनै अन्तिम हुन्छ ।’ त्यस्तै भनिदिएँ ।
मैले त्यसो भन्दा उनको मन थोरै खिन्नभएको थियो । नभनौ भनेपनि कसरि? किनभने, मैले भनेका नियमहरु सबै बेलायती स्तरका थिएँ । र, ‘बेलायती स्तरनै आधुनिक जमानामा बिश्वब्यापि आदर्श भएका छन्,’ त्यँही भएर मैले उनलाई दोश्रोचोटि त्यसरि सुनाएको थिएँ । तर, मेरो भनाइ सुनेर आत्मग्लानि हुदै धेरैबेरसम्म भुईमा बिछ्याइएका गलैंचाको रङ्गलाई उनले हेरिरहिन् ।
केहीबेरमा हाम्रो अगाडि सान्डविच, स्कोन र मिष्ठान्नका आकर्षक भोजनहरु आइपुग्यो । खासगरेर मध्यान्हको चियाका प्रकारहरु चार भागमा विभाजन गरिएका हुन्थे । अपरान्ह (आफ्टरनुन) चिया, नौनि (क्रिम) चिया, उच्च (हाई) चिया र राजकिय (रोयल) चिया । तैपनि प्रायःजसो खानेकुरोहरु तिनै सान्डविच, स्कोन र मिष्ठान्न नै हुन्छन् । तर तिनीहरुको बीच फरक पर्ने भनेका नौनी, मासु र सेम्पेन मात्रैहुने गर्दथ्यो ।
चिया पूर्णरुपमा तयार भएपछि, ताराले चिया पिउने कप र रिकापी सँगसँगै उचालेर पिउन खोजिन् । उनको त्यो अभ्यासलाई मैले त्यँही रोक्न पठाएँ । किनभने, रोयल एस्कटमा हुने घोडा दौडर पोलो खेलहेर्दा बाहेक कहिले पनि रिकापीलाई टेबलदेखी माथि उठाउन पाइन्न भनेर विस्तारै सम्झाइ बुझाइ गरें । तर, उनी पनि के कमि थिइन । आ… के मैले सबै नियमहरु मानिरहनु पर्छ र ? आखिर म सिपाही पनि त होइन, भनेरझन जिद्दिकुरो गर्न खजिन् ।
कहाँ त्यसो भनेर हुन्छ ? आखिर नियम नियम नै हुन् । तर, नियम सबैको लागि एउटै हुनुपर्छ । अनि सबैले मान्नैपर्छ भन्ने मेरो दर्शन उनलाई सुनाइ हालें । तिमीलाई थाहा भएकै कुरो हो । टेबलमा बसेर चम्ची, काँटा, छुरी, कप र गिलासको उचित प्रयोग गर्न नजानेर बेइज्जत भएको नेपाली नेताहरु मैले आफ्नै आँखाले देखेको छु भन्दा उनी थोरै लज्जित हुदै अनुहार खुम्च्याइरहिन् । कुरो त्यति मात्रै होइन, सबैभन्दा राम्रो कुरो त जान्नु भनेको सभ्य हुनुपनि हो । अनि सुनन, ‘सभ्य हुनुनै सबैभन्दा असल शिक्षा पनि हो । शिक्षा जस्तो असल कुरो संसारमा अन्य केही छैन ।’ भन्दा उनी अवाक भएर बसिरहिन् ।
त्यति भनिसकेपछि, हामीले खानातर्फ हाम्रो ध्यान खिच्यौं । बिश्वब्यापी प्रचलनअनुसार त्यी सबै खानेकुरोहरु तीनतले किस्तिमा ल्याइनुपर्दथ्यो । तर,एटलान्टिसको प्लेटो रेष्टुँरामा त्यसरि ल्याइएका देखिएनन् ।
मध्यान्हको चियाको नियमअनुसार तीनतले किस्तीको सबैभन्दा मुनिको तलामा सान्डवीच त्यसपछि बीचको तलामा स्कोन अनि सिरानको तलामा डेजर्ट राखेर खानाहरु सजाइएका हुनुपर्दथ्यो । तर, हामीले मध्यान्ह चियाको लागि संसारको सबैभन्दा सुबिख्यात होटलहरु जस्तैः डोरचेस्टर, रिट्ज, सेभोयइ, बर्ज अल अरब र पेनेन्सुलामा पुगेर गरेको अनुभव अनुसार सबै होटलहरुले फाल्टै फाल्टै तरिकाले भोजनहरु सजाइएको पाएका थियौं । यहाँ झन फरक तरिकाको देखेर एकछिन छक्क परयौं ।
यदि खानाहरु नियमअनुसार सजाइएको छैनन् भने नियम अनुसार ज्युनार गर्न एकदमै अफ्ठ्यारो हुने हामीले पहिले नै महसुस गरिसकेका थियौं । किनभने, मध्यान्हको चियाको नियम अनुसार सबैभन्दा पहिले सान्डविच खानुपर्ने हुन्थ्यो । त्यसैले किस्तिको सबैभन्दा मुनिको तलामा सान्डविचहरु सजाइनु पर्दथ्यो । साधारणतय सान्डविचमा सालमान, नौनी, टुना, हाम, अण्डा मायो र मासु च्यापेर बनाइएका हुन्थे । जसलाई खानको लागि हातका औलाहरुको प्रयोग गर्नु पर्दथ्यो, त्यसैले त्यसको नाम ‘फिङ्गर सान्डविच’ भनेर संसार भरि प्रख्यात थियो ।
सान्डविच विश्वमा एउटा पुरानो इतिहास बोकेको खानेकुरोको परिकार मानिन्थ्यो । किनभने, जिसस क्राइष्ट जन्मनु भन्दा अगाडि देखि यहुदीहरुले ‘पासओभर पर्व’ मनाउने क्रममा रोटिको बीच भागमा मासु च्यापेर खान सुरु गर्दा सान्डविचको जन्म भएको थियो । जुनकुरो हामीले जेरुसेलम पुगेर मात्रै चाल पाएका थियौं । तर, बेलायतमा चाँहि ‘चौथो अर्ल अफ सान्डविच’जोन मन्टागुले सन् १७६२ देखि मात्रै सान्डविचलाई आधुनिक प्रचलनमा ल्याएका थिएँ ।
सबै खाना आएपछि, सान्डविच खान सुरु गर्नै आँटेको थिएँ । त्यतिबेला मलाई सानो समश्य उत्पन्न भयो । किनभने, ताराले सान्डविच खान कहिले पनि मन पराइनन् । त्यसको सट्टामा दोश्रोतलामा सजिएको स–साना रोटिका टुक्रा (स्कोन) लाई उनले सिधै आक्रमण गर्न खोजिन् ।
मध्यान्ह चियाको नियमअनुसार किस्तीको भएको सान्डवीच सकिएपछि मात्रै दोश्रो तलाको खाना खानुपर्ने हुन्थ्यो । तर, त्यसबेला म एक्लैले सान्डवीच खाने र उनी मेरो रमिता हेरेर बसिरहने हो भने हामी दुवैलाई अफ्ठ्यारो पर्दथ्यो । त्यसको बिकल्पमा मैले मुनिको तलाको सान्डवीच खाने र उनले माथिलो तलाको स्कोन खाँदै गरेको छिमेकी टेबलले देख्यो भने हाम्रो पाखेपनसँग हामी आफै लज्जित हुनुपर्दथ्यो । किनभने, विश्वको शानदार होटलहरुको ‘आफ्टरनुन टि’ मा आउने ग्राहकहरु प्रायःजसो अन्तराष्ट्रिय लब्ध प्रतिष्ठित ब्यक्तिहरु मात्रै हुने गर्दथे । गतवर्ष मात्रै हामीले डोरचेष्टरमा मध्यान्ह चिया खाँदै गर्दा चेल्सि फुटबल क्लबको म्यानेजरको नजिक टेबल पाएका थियौं । र, हाम्रो टेबलको दाहिनेतिर मध्यपूर्वका शेखका परिवारहरु थिए ।
जेहोस्, प्लेटोमा मैले मज्जाले केही सान्डविचहरु खाएँ । त्यसपछि, केही सान्डविचका टुक्राहरुलाई मेरो प्लेटमा सारेर राखिदिएँ । त्यसपछि किस्तीको मुनितला खालि भयो र तारालाई स्कोन खानको लागि सहज अवस्था सिर्जना भयो । सान्डविच जस्तै स्कोन पनि हातैले खानुपर्दथ्यो । र, त्यसको लागि त्यति धेरै कडा नियमहरु पनि थिएनन् । किस्तीको दोश्रोतलामा सजिएका स्कोनलाई टपक्कै टिप्ने र प्लेटमा राखेर हातैले दुई फप्लेटा बनाउने अनि छुरिले नौनी र जाम दलेर खाने गर्नु पर्दथ्यो ।
ताराले स्कोन खाँदा अहिलेसम्म केही गल्ती गरेकी थिइनन् । किनभने, स्कोनमा पहिले नौनि दलेर पछि जाम थपियो भने ‘डेभन स्कोन’ हुन्थ्यो । तर, पहिले जाम दलेर पछि नौनि थपियो भने ‘कोर्नवेल’ तरिकाको स्कोन हुन्थ्यो । तैपनि बेलायतमा धेरै मानिसहरुको पहिले नौनि थपेर स्कोन खाने गर्दथें । तर, बेलायती हजुर महारानी एलिजाबेथ दोश्रोले चाँही ‘बालमोरल जाम’ पहिले प्रयोग गर्ने गर्दथिन् ।
स्कोनको सुरुवात कहिलेदेखि भयो, भनेर ठेक्कै कसैले भन्न सकेका छैनन् । तैपनि त्यसको जन्मभूमी चाँही ‘स्कटल्याण्ड’ नै हो भन्ने कुरोमा कसैको दुईमत चाहिँ थिएन ।
डोम पेरिनन सेम्पेनसँग एटलान्टिसको मध्यान्ह चियामा हामीले राम्ररी मनोरन्जन लिनसके पनि तातो तातो चियाले हुने गर्मीमा पनिज्याकेट खोल्न नपाइने रिट्ज लण्डनर टेबलको अग्रिम आरक्षण गर्न नपाइने पेनन्सुला हङकङमा नियमहरुचाहिँ आवश्यक्ता भन्दा अलिक बढी नै भयो कि जस्तो मेरो हृदयभित्र लागिरहेको थियो ।
खोटाङ बुइपा, हालः अक्सफोर्ड, बेलायत

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप