‘बलिराजा’ आखिर कसका राजा ?


  • महेश श्रेष्ठ
  • २०७७ कार्तिक २२

तिहारमा देउसी–भैलो खेल्दै आउने हरेक समूहले आफूहरूलाई ‘बलि राजा’ ले पठाएको भन्ने गर्छन् । बलि राजालाई मान्ने प्रचलन उनको दानवीरतालाई आम जनताले सम्मान गर्नलाई भएको मानिन्छ । पौराणिक कथावस्तु विष्णुको वामन अवतार र बलिको दानसँग सम्बन्धित छ । यसै पौराणिक मान्यतामा रहेर मलायालमीहरुले ‘ओणम’ पर्वकारुपमा १३ दिनसम्म मनाउँछन् । उनीहरुको नयाँ सालको पहिलो महिना सिङ्घममा यो पर्व पर्दोरहेछ । जसअनुसार अगष्ट र सेप्टेम्बरमा ‘ओणम’ पर्व पर्दछ ।
यस साल २२ अगस्ट २ सेप्टेम्बरमा परेको थियोे । उनीहरु यस समयावधिमा बलि राजा आफ्ना जनतालाई भेट्न आउने मान्यता राख्छन् र स्वागत गर्न ‘ओणम’ पर्व भव्यताका साथ मनाउछन् । यता ‘बलि राजा’ ५३ दिनपछि यस साल नोभेम्बर १३ बाट नेपाल भित्रिएका छन् । उनलाई स्वागत गर्न र पुनर्वास गराउन तिहारमा ‘देही श्री’ भन्दै धन मागिएको र अपभ्रंश भएर ‘देउसी रे’ भएको मानिन्छ ।
बलि राजाका सम्बन्धमा नेपालका आदिवासी जनजातिहरुले आफ्नो राजासँग पनि जोडेका छन् । उनीहरुको बलि राजा पनि न्यायप्रेमी, दानवीर, प्रजापालक भएको प्रसङ्ग जोडेर ल्याउँछन् । मगरहरु ‘बलि हाङ राना मगर’ भनेर जोड्छन् । उनीहरुको पौराणिक कथाअनुसार उनलाई यमदूतहरुबाट जोगाउन ‘फाइलो र देउस्यैरा’ भन्दै औंसीका रातभरि बत्ती बालेर जाग्राम बस्ने परम्परागत प्रचलन हो ।

यसै समयमा लिम्बूहरु ‘बलिहाङ तङनाम’ मनाउँछन् । उनीहरुको पनि पौराणिक कथामा पनि लोकप्रिय राजा ‘बलि राजा’कै चर्चा छ । उनीहरुले आफ्ना राजालाई यमदूतबाट बचाउन सकेको खुशी व्यक्त गर्न उत्सव मनाएको मान्छन् । उत्सव मनाउन उनीहरु राति लारिङ्गेःक र दिनमा नाम्लिङ्गेःक भन्छन् ।
यहाँ जसले जसरी बलि राजालाई आफ्नो बनाएपनि दक्षिण भारतबाट पहाडी मुलुक नेपालसम्म उनको महिमा पौराणिककालदेखि नै चर्चामा रहेको पाइन्छ । यद्यपि कालान्तरमा यमपञ्चकका परिभाषाहरुमा विकसित गरिएको हो कि भन्ने अनुमान गर्न सकिन्छ ।
यति धेरै लोकप्रिय बलि राजाका सम्बन्धमा आजसम्म हिन्दूवादी दृष्टिकोणबाट मात्रै चर्चा परिचर्चा गर्ने गरिएको छ । अब आदिवासी जनजातिहरुको थुतुरी वेद र मुन्धुमहरुबाट पनि अनुसन्धान गर्नुपर्ने आवश्यकता छ । तपाई हामी भने ‘देउसी रे’ अनि ‘भैलेनी’ मा रमाउँदै गरौं देउसी रे !
सबैलाई तिहारको शुभकामना !

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप