युवायुवती किन पछाडि ?


  • सपना श्रेष्ठ
  • २०७७ कार्तिक २२

आम रूपमा नेपाली युवायुवतीहरूको चरित्र अव्यवहारिक, नीति विनाको नेतापन, नशालु पदार्थ अत्याधिक सेवन गर्ने, दासत्वमा रमाउन औधी रुचाउने, ज्ञानभित्रको अज्ञानता, काम ठग तथा घुस खान खप्पिस प्रवृत्ति, कहाँ जाने ? खाडी मुलुक जाने अधिक चाहना, वालापनमै विवाह गर्ने लत, गफाडीपनको बढवा, अनुशासनविहीन दिनचर्या मुख्य रूपमा देखापरेका तत्कालीन समस्याहरू हुन् । जसका कारणले नेपालका हामी युवायवतीहरू आज ताल न बेतालका बनेका छौं । झट्ट सुन्दा धेरैलाई तितो लागे पनि तितो सत्य यही हो । नेपालको उन्नति, प्रगति र समृद्धि जुन रफ्तारमा हुनुपर्ने हो, त्यो रफ्तारमा नहुनुको कारण यही हो ।
युवायुवतीको मुख्य समस्या अव्यवहारिकपन
हुन त अहिले हामी युवायुवतीहरू न्यूनतम आइए नपढेको कोही छैनौं । एउटा मात्रै उदाहरण दिऔं हाम्रा बुबाआमाहरू रतीभर पढ्नुभएको छैन तर उहाँहरूले आफूलाई चाहिने आधारभूत वस्तुहरू आफै तयार गर्न जान्नु भएको छ । हलो जोत्न, भारी बोक्न, पशुपालन गर्न, चोयाचेत्रो बुन्न, बच्चा बच्ची पढाउन, लेखाउन । हामी नेपालका युवायुवतीहरू एसएलसी पास गरेका भोलिपल्ट हामीलाई हलो जोत्न, भारी बोक्न, कृषि कर्म गर्न लाज लाग्ने गर्दछ ।
यस अर्थमा अव्यवहारिकपन भनिएको हो कि हलो बनाउन जान्नु पर्दछ, व्यवसायिक खेती, पशुपालन गर्नुपर्दछ, स्थानीय साधनस्रोतको उचित प्रयोग, प्रशोधन र उपभोग गर्नु पर्दछ, मदमदिरामा झुम्नु हुँदैन, जुवाको खालमा दिन बिताउनु हुँदैन, देश समृद्ध नभए हामी समृद्ध हुँदैनौ, नयाँ–नयाँ वस्तुहरूको आविस्कार गर्नुपर्दछ आदि इत्यादि कुराहरू मज्जाले पढेका छौं, जानेका छौं र चोक–चोकमा यसको व्याख्या पनि गर्ने गर्दछौं । तर व्यवहारमा हामीहरू पढेको घमण्डमा फुलेर यी कामहरू गरेको खण्डमा जात जान्छ, लाज हुन्छ भन्ने अति सङ्कीर्ण स्वभाव हामी सबैभित्र एकाएक छ । यस अर्थमा हामी नेपाली युवायुवतीहरू अव्यवहारिक छौं ।
समतामूलक देश त्यतिखेर बन्दछ, जतिबेला हामी ऊर्जाशील युवा जनशक्ति स्वदेशमै परिणाममुखी कर्म गर्दछौं, जे जानेका छौं, पढेका छौं र चौक–चौकमा भाषण गरेर अरुलाई सिकाउने गर्दछौं हो त्यही कुराको सुरुवात हामी आफैबाट गर्न थाल्ने हो भने देश अवश्य छोटो समयमा समतामूलक बन्नेछ । हामीले मुखले बोल्न जे जानेका छौं, हातले त्यही जानेको काम गर्ने हो भने हामी व्यवहारिक युवा जनशक्ति बन्नेछौं । देशलाई आधुनिक, समृद्ध, आत्मनिर्भर बनाउनेछौं । अहिले हामी सबै मगन्ते नागरिक जस्तै बन्नुको कारण हामी नेपालका युवायुवतीहरू अव्यवहारिक बनेर नै हो । यस विषयमा एक पटक सबै कर्मशील जनशक्तिले सोच्ने पो हो कि ?
नीतिविनाको नेतापन
यो हाम्रो अर्को विडम्बनाको विषय हो । नेपालमा राजनीतिक दलहरू च्याउ उम्रे झैं छन् । नेपालमा सप्रिएको खेतीका रूपमा राजनीति बनेको छ । अध्ययन गर्दैनौं, दर्शनका विषयमा जानकार छैनौं तर हामी नेता नबनेको कोही छैनौं । के राजनीतिको परिभाषा र नेतापनको अर्थ यही हो त ? हामीले यति संक्रिण र स्वार्थीपूर्ण मनसायबाट राजनीतिक यात्रा सुरु गर्ने गरेका छौं । बिहानीले दिनको संकेत गर्दछ भने झैं अनि हामी कालान्तरमा नेता बनिहाल्यौं भने कस्तो प्रकारको नेता बनौंला ? यो प्रश्न आफैले आफैलाई गर्नुपर्ने बेला आएको छ ।
सबै नीतिको नेता नीति राजनीति भएकाले पनि हामी जस्ता सचेत युवाहरूले राजनीतिमा समावेश हुने, राजनीति बुझ्ने र राजनीति गर्नै पर्दछ । तर यसका केही आधारभूत शर्तहरू छन् । अब हामी युवायुवतीहरूले नीतिविनाको नेतापन प्रदर्शन होइन, नीतिसहितको नेतापनमा आफूलाई बदल्नुपर्दछ । युवा नेता भनेर पदीय जिम्मेवारी पाए पनि संक्रिण, कुलतमा विलुप्त र नीतिविनाको युवा नेता बनेको कुनै अर्थ छैन । हामी समाजका वृद्धवृद्धालाई धक्काउन, ढाँट्न, छलछाम गर्नका लागि नेता बन्ने होइन, समाज परिर्वतनका लागि नेता बन्ने हो भन्ने सोच बदल्नु पर्दछ । अर्को शब्दमा भन्ने हो भने नीतिसहितको नेता बन्नु पर्दछ । समाज परिवर्तन होइन, आमुल परिवर्तन गर्ने दर्शन बोकेको राजनीतिक दलको नेता बन्नु पर्दछ र दर्शन अध्ययन गरेर दर्शनमा विश्वास गरेर मात्र नेता बन्ने प्रयास हामी सबैले गर्नु पर्दछ ।
नशालु पदार्थ अत्याधिक सेवन गर्ने चरित्र
हाम्रो समाजमा नशालु पदार्थ अत्याधिक सेवन गर्ने प्रचलन हावी भएका कारण राजनीतिक दलका नेताहरूले तिनै युवाहरूलाई योजनाहरूको उपभोक्ता समितिमा बसालिदिने, ती कार्यकर्ताहरूलाई टिकाइराख्न एक काम तीन कमाई गर्न सिकाउने प्रचलन पनि रहेको छ । बिग्रेको युवा जनशक्तिलाई सुधार्ने प्रयासभन्दा पनि बिग्रेकोलाई झन् बिगार्ने जिम्मेवार व्यक्तिहरू राजनीति दलका प्रायः नेताहरू, व्यापारी, डोजरवालाहरू, कालोधन्दा गर्नेहरू, भ्रष्ट कर्मचारी यन्त्र आदि हुन् । नेपालमा जति धेरै पानी छ, त्यति धेरै मदिरा पिउने जवानी छ, त्यति धेरै समयको दुरूपयोग र आर्थिक हानी नोक्सानी पनि छ । नेपालमा अलि अलि बचेका युवायुवतीहरूको दिनचर्या मदिराको नशामा नै बितेपछि कसरी देशको प्रगति हुने ? अब यस्तो जनशक्तिलाई स्वच्छ र कामकाजी जनशक्ति कसरी बनाउने ?
दासत्वमा रमाउन औधी रुचाउने प्रवृत्ति
यो नेपालीहरूको आम चरित्र हो । यस विषयमा केही उदाहरण पेश गर्न चाहन्छु, कर्मचारी हुनका लागि आफ्नो नैतिकता नबेच्ने कमै युवायुवतीहरू छौं नेपालमा, म योग्य छु, मेरो योग्यताका आधारमा जागिर खान्छु र यदि मलाई कसैले कुटिलचाल चलेर हुन दिन्न भने त्यस्ता तत्वहरूको पर्दाफास गर्छु भन्ने हिम्मत बोकेका नेपाली युवाहरू अपवादको रूपमा पनि छैनन् । डिग्री पास गरेको हुन्छ, डक्टरी उपाधि पाएको हुन्छ तर जागिर खानका लागि सामान्य गाउँको राजनीतिक कार्यकर्ताको गुलामी गरेको हुन्छ । यो भन्दा लज्जाको विषय अरु के हुन सक्दछ ? यो भन्दा दासत्व स्वभाव अरु के हुन सक्दछ ? अझ प्रष्ट रूपमा भन्नु पर्दा नेपालको बौद्धिक जनशक्तिका रूपमा चिनिने युवायुवतीहरू कतिसम्म दास मनोवृत्तिबाट अघि बढेका छन् भन्ने कुरा थाहा पाउन चुनावमा हेर्न सकिन्छ । कुन पार्टीले जित्ने हल्ला चल्दछ, इमान, इज्जत, प्रतिष्ठा, योग्यता, क्षमता सबै खाल्डोमा फालेर राजनीतिक दलको अदलिबदली गर्न हतार–हतार गर्ने गर्दछौं ।
ज्ञानभित्रको अज्ञानता
जुन देशका युवाहरू सचेत हुन्छन्, त्यो देश समतामूलक हुन्छ भन्ने कुराको ज्ञान जो कोहीलाई पनि छ । तर ज्ञान हाँसिल गरेका हामीहरूले नै समाजलाई सबै प्रकारले दुर्गन्धित बनाउने, अराजक बनाउने, विधिको शासन उल्लंघन गर्न सिकाउने आदि कार्यमा जोडिएका छन् । जसका कारणले हाम्रो समाज पिछडिएको समाज बन्न पुगेको छ । यो हाम्रो ज्ञानभित्रको अज्ञानता हो ।
काम ठग तथा घुस (भ्रष्टाचार) खान खप्पिस प्रवृत्ति
मानव जाती सचेत प्राणी हो । उ सामाजिक गतिका आधारमा अघि बढ्दछ तर नेपालको युवा जनशक्ति जो, जुन कार्यालय, संस्थामा कार्यरत रहेको छ, त्यो शक्तिको अधिकांश सोच र चिन्तन दुई प्रकारको छ । पहिलो काम ठग प्रवृत्ति । यो खतरनाक प्रवृत्ति हो । केवल जागिरलाई कमारोको रूपमा रूपान्तरण गर्ने, काम ठगी गर्ने, गैह्र जिम्मेवारीपन धेरै पाल्ने, रचनात्मक, निष्पक्षपूर्ण कार्य सम्पादन कम गर्ने, सरुवा, बढुवा हुनका लागि को नेताको गुलामी गर्दा आफ्नो स्वार्थ पूरा हुन्छ भन्ने मानसिकता पाल्ने, नयाँ सोच विचारको प्रतिपादन नगर्ने, कार्यशैलीमा निखारता ल्याउने, कर्मचारीभित्रको विद्वता बढाउने काम नगर्ने नेपालको कर्मचारीतन्त्रमा युवाहरूको देखिएको व्यक्तिवादी सोच र काम ठग प्रवृत्ति हावी भएको छ । जसका कारणले हुनु पर्ने काम हुँदैनन् र नहुनु पर्ने काम हुने गर्दछन् । दोस्रो कुरा, जागिर खानुको अर्थ जसरी पनि व्यक्तिगत रूपमा धन कमाउनु हो । मान प्रतिष्ठा, इज्जत गुमे गुम्छ तर जसरी पनि धन कमाउनु पर्दछ भन्ने सोच युवा कर्मचारीतन्त्रमा देखा परेको छ । त्यसको दुष्परिणाम स्वरूप कार्य सम्पादन गुणस्तरीय बन्न सकेको छैन भने निर्धारित लक्ष्य अपाङ्गतामा सम्पन्न भएका छन् । नेपाल घुस, भ्रष्टाचार प्रकरणमा अघि देखिएको छ । मैले काम गरेर, आफ्नो कामको योग्यता बढाएर, देशलाई केही दिएर आफूले पनि केही लिन्छु । देश बनेन भने म मात्र बनेर केही हुन्न भन्ने सोचको अभाव देखा परेको छ । तसर्थ युवा कर्मचारीहरूमा कार्य सम्पादन शैली सामाजिक गतिमा देखा पर्नु पर्दछ भने योग्यता बढाएर दाम कमाउने सोच आउनु पर्दछ ।
खाडीमुलुक जाने अधिक चाहना
देश युवा विहिन झैं बनेको छ । गाउँमा लास फाल्ने समेत मानिस भेटिन छोडेका छन् । उर्वरभूमि बाँझा छन् । उद्यमशीलता ह्रास भएको छ । परनिर्भरता बढेको छ । सामाजिक संस्कार, परम्परामा विकृति धेरै बढेको छ । प्रायः सबैका घरबार बिग्रिएका छन्, किन ? यसको एउटै कारण हो, नेपालको युवा जनशक्ति सबै खाडीमुलुकमा ओइरो लाग्नु । बाध्यता छ त्यो एउटा सामान्य विषय भयो तर नेपालमा सबै चिज पनि त छ । अनपढदेखि पढे लेखेका सबै युवाहरू आफूलाई बेचेर खाडीमुलुकमा जानु उपयुक्त होइन, किन जाने ? यसका केही कारणहरू रहेका छन् । पहिलो कुरा बाध्यता भन्दा रहर र फेसन बढेको छ । दोस्रो कुरा धन कमाएर विलासिता जीवन जिउन । तर असम्भव छ । खाडी मुलुकमा सोह्र घण्टा कमारो शैलीमा काम गरेर जति कमाई हुन्छ, स्वदेशमा त्यो भन्दा धेरै हुन्छ । केवल व्यवसायिक कृषि, पशुपालन जे गरे पनि । अर्को कुरा घर पूरै बिग्रिन्छ । अब युवा रहुञ्जेल विदेशा खुन पसिना बगाउने, बुढो काम नलाग्ने रोगी शरीर नेपाल भिœयाउने होइन, यही मुलुक बनाउन र आफू बन्न यही कर्म गर्नु पर्दछ । घर बिगारेर, उर्वर भूमि बाँझो बनाएर विदेशबाट ल्याएको रकमले देशको उन्नति हुनेवाला छैन । खाडी मुलुक जाने कुरा मान, सम्मान र प्रतिष्ठाको विषय बनाइयो भने देश बुढो स्याल बन्नेछ । भूत बस्ने मुलुक नेपाल बन्नेछ ।
बालविवाह गर्ने लत
पढाइ–लेखाइ गर्ने कलिलो उमेरमा, दक्षता हासिल गर्ने उमेरमा अन्जान मै विवाह गर्ने प्रचलन अहिले पनि कायम नै छ । यस प्रकारको कार्यले दक्ष जनशक्ति उत्पादनमा ह्रास आएको छ, कालन्तरमा वैमनश्यता उत्पन्न भइ सम्बन्ध विच्छेद हुने, केटाले अर्की विहे गर्ने र केटीले पनि कि आत्महत्या गर्ने, कि अवैध धन्दा सुरु गर्ने प्रचलन बढेको छ ।
गफाडीपनको बढवा
ग्रामीण भेगमा स्थानीय भट्टी पसलमा वरीपरी गाउँका युवाहरू जम्मा हुने, दिनभरी तास खेल्ने र साँझपख मदिरा पिएर गफ उडाउने, सकभर काटाकाट र मारामारको स्थिति श्रृजना गर्ने चलन अति चलेको छ । यति मात्र होइन, धारा, पँधेर, विवाह, उल्जामैला, वन जंगल, विद्यालय, अफिसहरू जहाँ पनि कामभन्दा गफ बढी गर्ने प्रचलन धेरै छ । त्यस्तै शहरी क्षेत्रमा आफूहरू अब्बल दर्जाको बनेर अरुहरूलाई होच्याउनका लागि गफ गर्दै दिन बिताउने, विभिन्न नानाभातीका गफ गरेर पूरै समय खेर फाल्ने, चौक–चौकमा अनेक प्रकार र विचार भएका व्यक्तिहरू जम्मा भएर होहल्ला गर्ने, अर्काको खिल्ली उडाउने आदि कार्यले आजभोलि फेसनको रूप धारण गरेको छ । यो कार्य बढी युवाहरूमा देखा परेको छ ।
अनुशासनविहीन दिनचर्या
भट्टी पसलमा छोरा भेटिन्छ, बाबुआमाको डर मान्दैन, तासको खालमा भेटिन्छ, गुरु, बुढापाकाको लाज मान्दैन, केटी साथीसित हाक्काहाक्की अश्लिल बोल्छ, लाज मान्दैन । बाबा म मेरो केटा साथीलाई भेट्न जान्छु है भन्दै छोरी कुलेलम ठोक्छन्, लाज मान्दैनन् । यी कुराहरू सामान्य कुरा हुन । अनुशासनको कुरा गर्ने हो भने अनुशासनको उल्लंघन अहिलेको युवा जमातले अति धेरै गरेको छ । अनुशासन विहिन मानिस समाजमा काम लाग्दैन । साथै समाजलाई पनि धमिलो बनाउँदछ यस्ता कार्यहरूले । अनुशासन समाजको खम्बा हो । हामी जुन स्थानमा भए पनि, जे कार्य गरे पनि अनुशासित हुनै पर्दछ । अनुशासित व्यक्ति, समाजले मात्र समाज परिवर्तन र समृद्ध बनाउन सक्दछ ।
तसर्थ देश त्यसै समृद्ध बन्दैन । देश समृद्ध, उन्नतशील बनाउन सबैको भूमिका अहम हुन्छ, त्यो भन्दा बढी देशका युवाहरूको हुन्छ । यदि नेपाललाई साँच्चै समृद्ध बनाउने हो भने वर्तमान सत्ताको संरचना बदल्नु पर्दछ । युवाहरूले सही नीति, सिद्धान्त, दृष्टिकोण बोकेको राजनीतिक दलको एउटै झण्डामुनी गोलबन्द हुनु पर्दछ । पुराना सम्बन्ध, सोच, कार्यशैली पूरै रूपान्तरण गर्ने दिशामा लाग्नु पर्दछ । हामी युवायुवतीहरू उद्यमशील सोचका साथ, स्थानीय स्रोत साधनको प्रयोग गरी उद्यमहरू स्थापना गरी अघि बढ्नु पर्दछ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप