अमेरिकी महाशक्तिको अवसान हो ?


  • वसन्त गौतम
  • २०७७ कार्तिक २०

सुविख्यात निबन्धकार स्व. भैरव अर्यालले “चन्द्रलोक कसको?” शीर्षकको आफ्नो एक ब्यङ्ग्य निबन्धमा एक्काइसौंद शताब्दीको उत्तरार्धका बारेमा केहि भविष्यवाणी गर्नुभएको छ । ती मध्ये एक चाहिँ चीन र बेलायत त्यतिखेरको विश्वका दुई महाशक्ति राष्ट्र हुनेछन् भन्ने छ । उहाँले त्यो निबन्ध लेख्दा विश्वमा संयुक्त राज्य अमेरिका र सोभियत संघ (आम बोलीचालीमा रुस) दुई महाशक्ति राष्ट्रका रुपमा रहेका थिए, तर उहाँले भविष्यको महाशक्तिका रुपमा भने किन चीन र बेलायतलाई छान्नुभयो, त्यसको जवाफ दिन उहाँ हामीसँग हुनहुन्न तर उहाँको भविष्यवाणीको आधा भाग भने चाँडैनै सत्य हुने छाँटकाँट देखिन्छ । चीन छिट्टै विश्वको महाशक्ति बन्ने बाटोमा छ ।
महाशक्ति राष्ट्रका रुपमा अमेरिका र सोभियत संघले दोश्रो विश्वयुद्धले स्थापना गरेको राजनीतिक व्यवस्थाका दुई फरक ध्रुबको नेतृत्व गरेका थिए । यो विश्व राजनीतिक व्यवस्था सन् १९९१ मा सोभियत संघको विघटन नहुञ्जेल कायम रह्यो र त्यसपछिका दिनमा अमेरिका लगभग एकल महाशक्तिका रुपमा रह्यो । सोभियत संघको विरासत मूलतः रुसले धानेको छ । अमेरिकाकै हाराहारी सामरिक शक्ति छ रुससँग तर बिभिन्न कारणवश यसले आफूलाई अमेरिकाजत्तिकै प्रभुत्वशाली महाशक्ति राष्ट्रका रुपमा उभ्याउन भने सकेको छैन । र अब महाशक्ति राष्ट्रको आसनबाट च्यूत हुने पालो अमेरिकाको हो भनेर चर्चा हुन थालेको छ ।
धेरै इतिहासकारहरु र अध्येताहरु त सन् २००८ को आर्थिक मन्दीबाटै अमेरिकाको शक्ति ओरालो लाग्न थालेको हो र अब यो ओरालो लाग्ने क्रम अझ द्रूत हुनेमात्रै हो भन्न थालेका छन् । महाशक्ति राष्ट्रको हैसियतबाट अमेरिकालाई द्रूत गतिमा ओरालो झार्ने कामचाहिँ ट्रम्पको राष्ट्रपतिकाल र कोरोना महामारीको संयोगबाट सम्पन्न हुँदै गरेको देखिन्छ । यसरी हेर्दा कोरोना महामारीले विश्व जनस्वास्थ्य र सामाजिक—आर्थिक गतिविधिमा पारेको असर अन्ततः दोश्रो विश्वयुद्धले स्थापना गरेको विश्व राजनीतिकव्यवस्थाको अन्त्य र नयाँ व्यवश्थाको शुरुवातमा परिणत हुने देखिन्छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले केही समय पहिला एक कार्यक्रममा बोल्दा ‘अबका महाशक्ति भनेका चीन र जर्मनी हुन्’, भनेर भनेका छन् । उनका अनुसार उन्नाइसौं शताब्दी र बिसौं शताब्दीको शुरुवाती दशकका महाशक्ति राष्ट्रहरु बेलायत र फ्रान्सको प्रभाव अझ घट्दै जाने छ भने उनको आफ्नै देश रुस एक प्रमुख विश्वशक्तिका रुपमा रहेपनि तत्काल महाशक्तिका रुपमा स्थापित हुन भने सक्नेछैन् ।
के विश्व त्यहि दिशामा गइरहेको हो त ? के अबका दिनमा खुल्ला समाज, वैचारिक स्वतन्त्रता र प्रतिष्पर्धी राजनीतिक प्रणालीसहितका मूल्यमान्यताको नेतृत्व जर्मनीले गर्ने र त्यसको विपरीत धारको नेतृत्व चीनले गर्ने हुन् त ?
कुनै पनि देश महाशक्ति यसै बन्दैन । बिभिन्न ऐतिहासिक संयोगहरुले कुनै पनि देशलाई सर्वशक्तिमान र प्रभुत्वशाली बनाउँछन् । भूगोल वा जनसंख्यामात्रैले कुनै देश महाशक्ति बन्ने होइन, त्यसो हुँदो हो त रुस, क्यानडा, चीन आदि सधैं महाशक्तिका रुपमा रहिरहन्थे । सानो भूगोलको बेलायत कुनै समय कहिल्यै सूर्य नअस्ताउने साम्राज्यको मालिक बनेको थियो । नेपालको क्षेत्रफलको दुई तिहाइ मात्र क्षेत्रफल भएको पोर्चुगल समेत कुनै समय सर्वशक्तिमान राष्ट्रको रुपमा रहेको थियो । र कुनै पनि देश सधैंभरी महाशक्ति रहिरहन पनि सक्दैन । ग्रीक, रोमन, मङ्गोल, पोर्चुगल, स्पेन, बेलायत, फ्रान्स आदि गरेर इतिहासले अनेक देशहरुको महाशक्तिका रुपमा उत्थान र पतन देखिसकेको छ । अमेरिका अपवाद निश्चय पनि होइन ।
कुनै पनि देश महाशक्ति बन्न उसको आर्थिक समृद्धि अपरिहार्य छ । आर्थिक समृद्धि नहुँदा हरेक देश आफ्नै घरेलु मामिलामै अल्झेर बस्न बाध्य हुन्छन् । महाशक्ति राष्ट्र विश्वका अरु देशलाई सहयोग र ऋण दिनसक्ने गरी मात्र होइन थुप्रै अन्तर्राष्ट्रिय मञ्चहरुलाई पाल्न समेत सक्ने गरी समृद्ध हुनु आवश्यक छ । आर्थिक समृद्धिसंगै सामरिक क्षमता अर्को अपरिहार्यता हो भने ती दुबै अपरिहार्यतालाई साकार बनाउने भनेको वैज्ञानिक र प्राविधिक क्षमताले हो । र महाशक्ति राष्ट्र जहिले पनि विश्वको वैचारिक—साँस्कृतिक नेता हुन्छ । कला, साहित्य, दर्शन र नविन चिन्तनको प्रवर्धनमा पनि अग्रणी नहुञ्जेल आर्थिक र सामरिक शक्तिले मात्रै महाशक्तिको दर्जा दिगो हुन सक्दैन ।
विश्व मञ्चहरुको गठन र तिनमा सकृय सहभागिता महाशक्ति राष्ट्रको अर्को विशेषता हो । विश्वका बिभिन्न भागमा जारी द्वन्द्वहरुको समाधानमा आफैं वा कुनै मञ्चका माध्यमबाट सबैभन्दा धेरै सकृय हुन्छ महाशक्ति राष्ट्र । संयुक्त राष्ट्र संघजस्ता निकायहरुको खर्चको सबैभन्दा ठूलो हिस्सा अहिलेपनि अमेरिकाले ब्यहोर्दै आएको छ । विश्वमा महाशक्तिका रुपमा सम्मानित हुन यस्ता धेरै मञ्चहरुमा गरिने लगानी पनि ठूलो हुनुपर्ने देखाउँछ यसले । विश्वका सामु, मानव जातिको अस्तित्वका सामु आइपरेका समस्याहरुका समाधानका लागि नेतृत्वदायी भूमिका पनि महाशक्ति राष्ट्रको हुन्छ । वर्तमान विश्वको सबैभन्दा चुनौतीपूर्ण समस्या विश्व तापक्रम वृद्धि हो । यो मानव अस्तित्वमाथिकै चुनौती हो । यसलाई नियन्त्रण गर्न प्रदूषण कम गर्ने नवीकरणीय उर्जाको प्रयोगलाई व्यापक बनाउनु आवश्यक छ । आफूलाई महाशक्ति ठान्ने राष्ट्रले अब यो दिशामा वैचारिक, प्राविधिक र आर्थिक नेतृत्व लिनु अनिवार्य छ ।
केही समय यता र विशेष गरी ट्रम्पको राष्ट्रपतित्वमा अमेरिका यी सबै कुराबाट पन्छिँदै गइरहेको देख्न सकिन्छ । विभिन्न अन्तर्राष्ट्रिय मञ्च, सन्धि—सम्झौता र गठबन्धनहरुमा भएका कमजोरीलाई हटाउँदै तिनलाई अझ प्रभावकारी बनाउनुको सट्टा ट्रम्प निरन्तर तिनीहरुमाथि भद्दा अपमानजनक टिप्पणी गर्ने र तिनबाट अमेरिकालाई अलग पार्दै लाने अभियानमा छन् । विश्व तापक्रम वृद्धि र नविकरणीय उर्जाका बारेमा त ट्रम्प अत्यन्त अनुदार छन्, उनले अमेरिकालाई यससम्बन्धी पेरिस सम्झौताबाट अलग गरीसकेका छन् । बहुसाँस्कृतिक, सहिष्णु र खुल्ला अमेरिकी समाज बिस्तारै रंगभेदी गोरा क्रिश्चियन अतिवादीहरुको कब्जामा जान थालेजस्तो देखिन्छ र ट्रम्प यो प्रकृयालाई मलजल गरीरहेछन् ।
अर्कोतिर, आफ्नो तिब्र आर्थिक विकास दरका साथ चीन छिट्टैनै सर्वसमृद्ध बन्ने दिशामा अग्रसर छ । उसले आफ्नो सामरिक क्षमताको पनि व्यापक विस्तार गरेको छ । माथि भनिएजस्तै, आर्थिक समृद्धि र सामरिक क्षमताका लागि आवश्यक वैज्ञानिक—प्राविधिक क्षमता पनि बढाउँदै लगिरहेको छ । विश्व राजनीतिमा आफ्नो उपस्थितिलाई प्रभावशाली बनाउनका लागि धेरै अन्तर्राष्ट्रिय मञ्चहरु र सन्धि—सम्झौतामा पनि सकृयतापूर्वक सहभागी हुँदै र तिनमा आफ्नो लगानी बढाउँदै छ चीन ।
यस्ता अन्तर्राष्ट्रिय मञ्चहरुमा अमेरिकाको निष्कृयता वा उसको बहिर्गमनले खडा गर्ने खाली ठाउँ भर्ने चीनलेनै हो भन्ने आम जनमत बन्दैछ संसारभरिनै । अफ्रिका र दक्षिण अमेरिकामा आर्थिक सहयोग दिने र लगानी गर्ने कुरामा चीनले सबैलाई उछिनिसकेको छ । वर्तमान चिनियाँ राष्ट्रपति सि चिनफिङले शुरु गरेको महत्वाकांक्षी बिआरआइ परियोजना सम्पन्न हुँदै जाँदा उसको प्रभाव अझ ठूलो गतिमा बढ्दै जाने निश्चित छ ।
एकदलीय शाशन प्रणाली, वैचारिक स्वतन्त्रतामा बन्देज र झण्डै पूर्णतः एकल जातीय समाजका कारण विश्वको वैचारिक—साँस्कृतिक नेतृत्व लिने कुरामा भने चीनलाई सजिलो नहुन सक्छ । यस्ता कुरामा जर्मनीको पल्ला भने भारी हुने देखिन्छ । जर्मनी धेरै पहिलेदेखि विश्वको एक प्रमुख बौद्धिक, वैज्ञानिक र साँस्कृतिक केन्द्र रहँदै आएको छ । पहिलेदेखिकै समृद्ध र हर तरहले सक्षम जर्मनीले परिपक्व कूटनीतिका साथ विश्व रङ्गमञ्चमा आफ्नो प्रभाव बढाइरहेको छ । अमेरिका र रुसको दाँजोमा उ संग प्रत्यक्ष सामरिक शक्ति धेरै देखिन्न तर जर्मनीजस्तो समृद्ध र प्राविधिक रुपले सक्षम देशले चाहेमा आफ्नो सामरिक शक्तिलाई धेरै छिटो वृद्धि गर्न नसक्ने होइन ।
जर्मनी विश्व तापमान वृद्धिको समस्यालाई समाधान गर्नका लागि बनेका अन्तर्राष्ट्रिय मञ्चहरुको नेतृत्वदायी देश हो र यो संग जोडिएर आउने नविकरणीय उर्जासम्बन्धी प्रविधिमा सबैभन्दा अब्बल देश पनि हो ।
अमेरिकामा आज सम्पन्न हुँदै गरेको राष्ट्रपति चुनावको परिणाम यसै कारण सारा संसारले उत्सुकतापूर्वक कुरिरहेछ । यो चुनावमा ट्रम्प फेरि विजयी भएर आए भने बाँकी विश्वशक्तिहरुले अमेरिकाबाट खासै आशा नगर्ने बरु उसलाई छाडेर अघि बढ्ने देखिन्छ । अर्को चार वर्षको कार्यकाल पाएमा ट्रम्पले उनको अमेरिकी अलगाववादको पूरा कार्यान्वयन गर्नेछन् । अर्कोतिर, डेमोक्र्याट प्रतिद्वन्दी जो बाइडेन निर्वाचित भएमा भने बाँकी विश्व र अमेरिकाको सहकार्य फेरि पूर्ण जीवित हुनसक्छ । ट्रम्पले बिगारेका वैदेशिक र कूटनीतिक सम्बन्धहरुलाई आफूले पुनर्स्थापित गर्ने घोषणा गरीसकेका छन् बाइडेनले ।
अमेरिकी राजनीति जसरी गएपनि विश्व अब बहुध्रुवीय बनिसकेको छ र केही समयपछि महाशक्ति राष्ट्रका रुपमा अमेरिकाको ठाउँमा अर्को कुनै देश पुग्ने निश्चित छ। के हामी महाशक्तिको दर्जाबाट अमेरिकाको अवसान भइरहेको समयका साक्षी हौं त ?

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप