चाडपर्वले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव


  • गोपाल ढकाल, मनोविद्
  • २०७७ कार्तिक ९

विश्वब्यापीरुपमा फैलिएको कोरोना भाइरसको असर शारीरिक तथा मानसिक स्वास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, चाडपर्व, रहनसहनलगायतका प्रायः सबै क्षेत्रमा परेको छ । कोरोना संक्रमणका कारण यस वर्ष दशैंलाई खुलेर हर्षोल्लासका साथ मनाउने अवस्था छैनौं ।
तर जस्तोसुकै विषम अवस्थामा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परा भुल्नु हुँदैन । यसको संरक्षणमा जोड दिनुपर्छ । यो वर्ष भने कोरोनाको संक्रमणलाई ध्यान दिँदै भौतिक दुरी कायम गरेर सुरक्षाका उपायहरु अपनाउँदै जो जो जहाँ छन् त्यहीबाट दशैं मनाउनु नै उत्तम हुन्छ ।
दशैंको सबैभन्दा महत्वपूर्ण पक्ष आशिर्वाद लिने दिने र शुभकामनाको आदानप्रदान गर्ने कार्य भएकाले भौतिकरुपमा भेटघाट हुन नसकेपनि वैकल्पिकरुपमा फोन वा सोसियल मिडियाको प्रयोग गर्न सकिन्छ ।
चाडपर्वको धार्मिकरूपमा मात्र होइन, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा समेत ठूलो महत्व रहेको हुन्छ । दशैं– तिहारजस्ता महत्वका चाडपर्वहरुलाई कुनै जात, जाति र धर्म सम्प्रदायसँग मात्र सीमित नबनाई परम्परा र संस्कृतिका रूपमा विकसित गर्नुपर्दछ । यस्ता राष्ट्रिय चाडपर्वहरूले नेपालीहरुमा राष्ट्रिय एकता, शान्ति र सद्भाव कायम राख्न मद्दत गरिरहेको हुन्छ साथै नेपाली हुनुको गौरव र पहिचान गराउँछ ।
किम्वदन्तीअनुसार पनि विजयादशैं असत्य माथि सत्यको जितको उत्सवका रुपमा मनाइन्छ । विजयको उत्सवले आत्मबल, आत्मविश्वास, जोश–जाँगर, हौसला बढाउने तथा नैराश्यतालाई हटाउने गर्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ्य भनेको शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक चारै तवरबाट स्वस्थ हुनु हो । दशैंजस्ता चाडपर्वहरुले मानिसलाई यी चारै किसिमबाट स्वास्थ्य रहनका लागि मद्दत पुरयाइरहेको हुन्छन् ।
दशैं यस्तो मौसममा पर्छ जुनबेला खेती किसानी गर्ने व्यक्तिलाई कामको कुनै बोझ हुँदैन । कामको चपेटाबाट मुक्त भएर आराम गर्ने अवसर पनि हो दशैं । चाडपर्वमा प्रायः सबैले सधैंको भन्दा फरक मीठो मसिनो र पोषिलो खानेकुरा खाने गर्दछन् । दशैँमा विशेष रूपमा खाइने दही, चिउरा, घ्यु, फलफूल, मिठाइ, माछामासुजस्ता खानेकुराले शरीरमा शक्ति प्रदान गर्छ जसले शारीरिकरूपमा स्वस्थ्य रहन मद्दत पुरयाउँछ । दशैंमा पिङ खेल्दा शारीरिक व्यायम हुनुका साथै खाएको भोजन पचाउन मद्दत गर्छ । पिङ खेल्दा मनोरञ्जन पनि भइरहेको हुन्छ ।
दशैंको बेला ठूलाले सानालाई टिका लगाएर दिइने आर्शिवाद र एकअर्कामा गरिने शुभकामनाको आदान–प्रदानले व्यक्तिमा जोश, जाँगर र हौसला बढाउँछ । निराश मनमा पनि आत्मबलको सञ्चार हुन थाल्छ। आफन्त र साथीभाइसँगको भेटघाटले निराशा र एक्लोपन हटाउँछ । व्यक्तिलाई सही मार्गमा हिँड्ने प्रेरणा मिल्दछ र सकारात्मक सोंचको विकास हुन्छ । यसले व्यक्तिको मानसिक स्वास्थ्य प्रवद्र्धनमा मद्दत गर्दछ ।

कोरोनाले धेरैलाई निराश बनाएको अहिलेको अवस्थामा आत्मबल, प्रेरणा र सकारात्मक सोंचको सञ्चार हुनु अति आवश्यक छ । दशैंको रमझमले खुसीयाली र उमङ्ग लिएर आउँछ । अझ केटाकेटीहरू त दशैं कहिले आउला भनेर दुई चार महिना अगाडिदेखि नै औंला भाँच्न थाल्छन् । दशैंको अवसरमा आफन्त तथा साथीभाइहरूसँग गरिने भेटघाट र शुभकामनाको आदान–प्रदानबाट आत्मीयता, माया, प्रेम, सद्भाव, भाइचारा, मेलमिलाप र निकटता कायम राख्न मद्दत गर्दछ । यसले मानिसलाई सामाजिक रूपमा स्वस्थ्य बनाउँछ । घर छोडेर विदेशिएका वा टाढा परदेश गएका परिवारका सदस्यहरूलाई एकै ठाउँमा ल्याउने चाड हो दशैं । विदेशिएका धेरै नेपालीहरू दशैंको अवसरमा स्वदेश फर्किने समय कुरेर बसेका हुन्छन् ।
तर भलै यो पटक भने धेरै नेपालीहरु दशैंमा पनि घर फर्कन पाएनन् । नाति नातिनादेखि हजुरबुबा, हजुरआमा एकै ठाउँमा भेला भएर हर्षोल्लासका साथ मनाइने दशैंले बढ्दै गएको जेनेरेशन ग्यापलाई कम गर्न र सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्दछ । दशैंको बेला विभिन्न शक्तिपिठहरूमा गएर गरिने पूजापाठले व्यक्तिलाई आध्यात्मिक बनाउन मद्दत गर्दछ । आत्मिक शक्ति प्रदान गर्दछ । आत्मिक शक्तिले व्यक्तिलाई मानसिक रूपमा पनि सवल बनाउँछ ।
आध्यात्मिक स्वास्थ्यले व्यक्तिलाई अनुशासित, नैतिकवान र कर्तव्यनिष्ट बनाउँछ । मानसिक स्वास्थ्यका लागि चाडपर्वले थेरापीकै काम गरिरहेको हुन्छ । चाडपपर्वको मनोवैज्ञानिक पक्षलाई बुझी यसलाई धर्मको रुपमा नहेरी चाडपर्वको रूपमा स्वीकार गर्ने र मनाउने हो भने धेरै राम्रो हुन्छ ।
दशैंँ नेपालीहरूको मौलिक पर्व पनि हो । नेपालमा मगर, गुरुङ, राई, लिम्बू, थारु, नेवार, क्षेत्री, बाहुन आदि जातिमा जस्तो चामलको टिका र जमरा लगाउने चलन संसारका अन्य कुनैपनि जाति वा हिन्दूहरूमा पाइँदैन । दशैंमा चामलको टीका लगाएर अन्नको नाश भयो भन्ने गरेको पनि सुनिन्छ । तर चामलको टिका लगाउनु अन्नको सम्मान गर्नु हो । यसको महत्वलाई बुुझ्नु हो । यसले नेपाल कृषि प्रधान देश हो भन्ने कुरा पनि झल्किन्छ । दशैंमा लगाइने रातो रंग मिश्रित चामलको टिकाले मानिसमा उर्जा , जोश, जाँगर, उत्साह, साहस बढाउँछ । रातो रंग शक्ति, उत्साह, सौभाग्य र विजयको प्रतीक हो ।
दशैंमा टिकासँगै जमरा लगाउनुको पनि अर्थ छ । जमराको जुस जसलाई अमृतरस भनिन्छ । जमराको जुस दैनिक सेवनले धेरै किसिमका रोगहरू लाग्नबाट हामीलाई बचाउँछ र दीर्घजीवन दिन्छ । दशैंमा जमरा लगाउनुको अर्थ जमराको औषधि गुण र महत्वलाई झल्काउने प्रतीकको रूपमा लिनुपर्छ ।
दशैंमा टीका लगाएर दक्षिणा दिनु पनि आफैमा नराम्रो होइन । चाडपर्वको बेला किनमेल गर्दा पैसा खर्च हुने, ऋण समेत लाग्न सक्ने हुँदा सक्नेले गच्छेअनुसार टिका लगाएर पैसा दिँदा यसले थोरबहुत ऋणबाट मुक्त हुन र आर्थिक अवस्था सुधार गर्न मद्दत गर्दछ । यसवर्ष त कोरोनाको कारण अर्थतन्त्र नै तहसनहस भएको छ । धेरैको आर्थिक अवस्था कमजोर भएको छ ।
‘घाँटी हेरी हाड निल्नु’ पर्दछ भन्ने मान्यताअनुरुप आफ्नो गच्छेअनुसार बिनातडकभडक चाडपर्व मनाउनुपर्छ । ‘दशैँ आयो, खाउँला पिउँला के खाउँला, चोरी ल्याउँला’ अर्थात् जसरी पनि मिठोमसिना खानैपर्छ, जसरी पनि राम्रो लगाउनैपर्छ भन्ने सोंचले दशैंलाई बोझिलो र तनावपूर्ण बनाउनु हुँदैन । चाडपर्वलाई फजुल खर्च गर्ने बाहनाको रूपमा होइन, आफूलाई उत्साहित गर्ने, आपसी सम्बन्ध प्रगाढ बनाउने, माया प्रेम र सद्भाव बढाउने अवसरको रूपमा लिनु पर्दछ ।
साथै चाडपर्वको बेला जुवातास खेल्ने, होहल्ला गर्ने, रक्सी खाने, झैझगडा गर्ने जस्ता नकारात्मक पाटोलाई हटाउनुपर्छ । दशैंको बेला देवीदेवताको नाममा चढाइने बली भने एक किसिमको अन्धविश्वास नै हो । प्राणी हत्या महापाप हो । तर पेटको लागि मानिसहरु जस्तोसुकै पाप गर्न र बहाना बनाउन पछि पर्दैनन् । मान्छेले आफ्नो पापलाई छल्न देवीदेवतालाई बली चढाएको प्रसाद भन्दै खाने निहुँ र बहानाबाहेक अरु केही होइन बली प्रथा । यदि सबै प्राणी देवीदेवताको सृष्टि हुन् भने आफैले सृष्टि गरेको आफ्नै सन्तानलाई आफ्नै आमाले भोग कहिल्यै माग्दिनन् । बली प्रथाले स्वयम् व्यक्तिलाई हिंस्रक, मानसिकरूपमा कमजोर, चिटचिटाहाट, अस्थिर र रिसाहा बनाउने गर्दछ ।
शाकाहारी व्यक्तिहरूलाई दशैंको बेला हुने मारकाटले अत्यन्तै धेरै तनाव पुरयाउँछ । खसी–बोकाको क्रन्दन, रगत र काटमारको दृश्यले उनीहरूलाई दुखी र मानसिक रूपमा अस्थिर बनाउने गर्दछ । वास्तवमा बली चढाउनु भनेको आफ्ना कमिकमजोरी, खराब आचरण, असुरी र दुर्बल पक्षहरू, पासाविक मनोवृत्ति, काम, क्रोध, लोभ र मोहजस्ता कुरा छोड्ने संकल्प देवीदेवताका सामु राख्नु हो । आफ्नो गलत कार्यको प्रायश्चित गर्नु हो ।
दशैंमा विशेषगरी शक्तिपिठहरूमा दुर्गा भवानीको पूजा गरिन्छ । दुर्गा माता अर्थात् महिला वा स्त्रीलाई शक्तिको रूपमा पूजा गर्नु, शक्तिको प्रतीकको रूपमा लिनु हाम्रोजस्तो पुरुष प्रधान समाजका लागि अर्थपूर्ण र महत्वपूर्ण रहेको छ ।
मेलमार्फत्, (लेखकः ढकाल मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन् )

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप