शुरुमा धरानको हस्पिटल नै पो भर्ना हुनुपर्ने हो कि झैं भयो, अहिले आत्मबलले जित्दैछु कोरोना


  • हाम्रो कोशी आवाज
  • २०७७ कार्तिक ८

धरानः विश्व मानव समाज नै कोभिड–१९ को महामारीले आक्रान्त छ । बिरामी र मृतकको संख्या पनि बढिरहेको छ भने निको हुनेको संख्या पनि उत्तिकै बढिरहेको छ । धरानमा अहिलेसम्म संक्रमितको संख्या २३ सय ७० पुगेको छ भने ४० जनाको मृत्यु नै भइसकेको छ । यस्तै, धरानै निको हुनेको संख्या पनि बढ्दो छ । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले दिएको जानकारी अनुसार धरानमा अहिले १३ सय जना निको समेत भइसकेका छन् । पछिल्लो समयमा नेपालमा कोभिड संक्रमितको संख्या बढेसँगै धरानमा पनि समुदायस्तरमा संक्रमण फैलिँदो छ ।
नेता, व्यापारी, पत्रकारदेखि लिएर आम सर्वसाधारण सम्म सयौंको संख्यामा संक्रमित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य तथा धरान उपमहानगरका इञ्चार्ज अइन्द्रविक्रम बेघालाई स्वास्थ्यमा समस्या आएपछि असोज २७ गतेदेखि नै घरमा बस्दै आउनुभएको थियोे । राजनीति र सामाजिक कार्यमा सक्रियता देखाउँदा देखाउँदै रहँदा उनी आफैं संक्रमित बन्न पुग्नुभएको छ । अहिले पनि उनी होम आइसोलेसनमै रहनुभएको छ । बेघाले हाम्रो कोशी आवाज डटकमसँग कोरोना अनुभवबारे यसरी साट्नुभएको छ ।
म अहिले होम आइसोलेसनमै छु । एक्कासी स्वास्थ्यमा समस्या आएपछि असोज २७ गतेदेखि नै म घरमा बस्दै आएको छु । कार्तिक ३० गते शुक्रबार धरान–१७ को एन्फा क्वारेन्टाइनमा परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आयो । असोज २७ गतेदेखि अहिलेसम्म म होम आइसोलेसनमै छु । शुरुमा रुघाखोकी लागे जस्तो भयो । त्यसपछि घाँटी च्यापे जस्तो गर्ने, ज्वरो आउने, खाना खान मन नलाग्ने, मुख तितो हुने, जिउ गलेर आउने र हल्का खोकी लागेजस्तो भएको थियो । शुरुआतमा निकै समस्या भयो, हस्पिटल नै पो भर्ना हुनुपर्ने हो कि भनेर तर २–३ दिनपछि सुधार भयो र अहिले पुरै तन्दुरुस्त छु ।
अहिले पनि म चिकित्सकको सल्लाहमा घरमै छु । तर घरमा आफ्ना कारणले बालबालिकालाई समस्या नपरोस् भन्नेमा म सचेत छु । एउटा छुट्टै कोठामा बसिरहेको छु । आफ्नै दैनिक तालिका बनाएको छु । खासै आत्तिएको छैन । प्रत्येक दिन बिहान सामान्य व्यायाम योगालगायत क्रियाकलाप गर्दै आएको छु । खानपिन नियमित नै भयो । शारीरिक अभ्यास गरेर पसिना बगाउँछु । तातोपानीको बाफ नियमित लिइरहन्छु ।
त्यस्तै, चिकित्सकसँगको परामर्शमा बिहान उठेर शारीरिक व्यायाम, तातोपानीको बाफ लिने, तातोपानीमा मह र कागती लगाएर पिउने गरेको छु । त्यस्तै, गेडागुडीको तातो सुप र उसिनेको अण्डा खाने, समाचार हेर्ने, किताबहरू पढ्ने, तातो दूध , बेसार पानी र अरु आयुर्वेदिक ओखतीहरु लिइरहेको छु । बेलुकी पनि व्यायाम गर्ने, तातोपानीको बाफ लिँदै कोरोनाको सशक्त प्रतिरोध गरिरहेको छु ।
केही मान्छेहरू कोरोनाबाट धेरै आतंकित हुने घृणा गर्ने र केही यो केही होइन भन्ने समेत गरेका छन् । कोरोना केही होइन पनि केही हो पनि । त्यसैले गर्दा सबैले स्वास्थ्य सुरक्षा अपनाउन जरुरी छ किनभने केहीलाई यसले संक्रमित गर्दा लक्षण नदेखाउने र केही नहुने त केहीलाई भने लक्षण देखाउने र पीडा दिने हुँदो रहेछ । यो सर्न सक्छ त्यसको निम्ति सचेतता र सुरक्षा अपनाउने हो घृणा गर्ने होइन । अब परीक्षण गरेर मात्रै घर बाहिर निस्किने सोंचमा छु ।

हिम्मत गरौं
कोरोना भाइरसलाई सामान्य नठान्नौं । कोरोना संक्रमण भएपछि निकै गाह्रो हुँदोरहेछ । शुरुमा निकै गाह्रो भयो, अहिले ठीक छु । समयमै चिकित्सकीय उपचार पाएकाले र साथीभाइ, आफन्त र शुभचिन्तकको माया र शुभेच्छाले ठीक हुँदै गएको छु । सकेसम्म कोरोना संक्रमणबाट बच्नु नै बुद्धिमानी हुने र संक्रमण भइहाले आत्मबलले जितिन्छ भन्ने पाठ सिक्दैछु । बाहिर प्रचारमा आएकाजस्ता लक्षणहरु मलाई पनि देखियो । यो रोगलाई मैले त मेरो आफ्नो हिम्मतले हराउने मन छ । सबैभन्दा महत्वपूर्ण कुरा हिम्मत हो । यो रोगलाई सरसफाइमा ध्यान दिएर पनि हराउन सकिन्छ भन्ने मलाई लाग्छ । हिम्मत गरेर मैले कोरोना हराउँछु भन्ने लागेको छ । म भन्छु, हिम्मत गर्नुस्, कोरोना जितिन्छ जस्तो लाग्छ ।
संक्रमित भइसकेपछि पनि व्यायाम, खानपिनको सन्तुलन मिलाएर सकारात्मक मानसिकता कायम गर्ने हो भने कोरोनाविरुद्धको लडाइँ जित्न सकिन्छ । तर सानो लापरबाहीले घर परिवार र स्वयं आफू संकटमा परिन्छ भन्ने सबैले बुझ्न जरुरी छ । अहिले सबैतिर संक्रमण फैलिँदो क्रममा छ । त्यसैले हामी सबै सचेत हुन जरुरी छ । सरकारले तोकेका मापदण्ड, आग्रहलाई सकारात्मक रुपमा लिएर अगाडि बढ्न जरुरी छ । शंका लागे जाँच गराइहालौं । राज्य र समाजप्रतिको जिम्मेवारी हामी सबैले आ–आफ्नो ठाउँमा पूरा गरौं ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप