सचेत बन्दै मनाऔं दशैंः शुभकामना


  • हाम्रो कोशी आवाज टिम
  • २०७७ कार्तिक ८

अहिले नेपाली चाडबाडको याम हो । असार १५ मा दही चिउरा खाएदेखि नै चाडबाड शुरु भइसकेको हुन्छ । तीजसँगै शुरूवात भएको चाड अहिले दशैंसम्म आइपुगेको छ अनि विस्तारै तिहार आउँदैछ । १६ श्राद्धले छोपेसँगै दशैं शुरु भइसकेको हो । तिहारसँगै नेपाल सम्वत् फेरिन्छ, नेवार समुदायको नयाँ वर्षलाई पनि म्हः पूजा गरेर चाडकै रूपमा मनाइन्छ । अनि छठ आउ“छ । हामी चाडवाड, पर्व र उत्सवहरूमा रमाउने गर्दछौं । हाम्रा प्रत्येक चाडवाड कुनै न कुनै खानेकुरासित जोडिएका हुन्छन्, अर्थात् चाडवाडहरू मुख फेर्ने अवसर हुन् ।
वास्तवमा यसअघि सम्भवतः चाडबाडको सन्देश पनि यही थियो कि– मुख फेरौं, लुगा फाटो फेरौं, मनका फेर्नुपर्ने पत्रहरू पनि फेर्ने प्रयास गरौं । हुन पनि हो, चाडवाडले सम्बन्धलाई प्रगाढ बढाउँदै लैजाने गरेको थियो, भत्के–चर्केका सम्बन्धहरूलाई पनि टाल्न सघाउँथ्यो र नयाँपन दिन्थ्यो । तर यसपटक कोरोना महामारीका कारण चाडबाड खल्लो हुने निश्चित छ । अझ दशैंले त गाउँ–शहरलाई जोड्ने पुलको काम पनि गर्दथ्यो तर यसपटक धेरैजसो जन्मथलो अर्थात् गाउँ जान पाएका छैनन् । भनौं यसपटक यात्रा र भौतिक सम्पर्कबाट जोगिनुपर्ने बेला आएको छ ।
दशैंलाई सद्भावको मात्र नभएर असत्यमाथि सत्यको विजयको प्रतीका रुपमा समेत मनाइने गरेको छ । धर्मसँगै दशैंजस्ता पर्वलाई वर्षभरी कामको थकानबाट मुक्ति पाउन केही दिन रमाइलो गर्ने पर्वका रुपमा पनि व्याख्या गरेको पाइन्छ । जसले जसरी व्याख्या गरेपनि परापूर्वकदेखि मनाइँदै आएको यो पर्वलाई राज्यले समेत महत्व दिएको देखिन्छ । नयाँ कपडा फेर्ने, मिठा खानेकुरा खाने मात्र होइन आफन्तसँगको भलाकुसारी र भेटघाट दशैंको सवैभन्दा आकर्षक पाटो हो । यसले आत्मियता बढाउन मद्दत गरेको छ ।
सरकारले यसपटकको दशैं घरमै मात्र बनाउन आग्रह गरेको छ । सरकारले भीडभाडयुक्त यात्रा भएमा वा अन्य आफन्तकहाँ पुगेमा कोरोना संक्रमण फैलिनसक्नेतर्फ सचेत गराएको छ । हुन पनि हो, अहिले महामारी तीब्ररुपमा फैलिँदै गएको छ । दशैंमा हुने भीडभाडले अझै कोरोना संक्रमणको सम्भावना बढ्छ । त्यसैले इतिहासमै नआएको यस्तो महामारीलाई परास्त गर्न सचेत भने बन्नैपर्छ । अहिलेको दशैं विगतको जस्तो छैन, त्यसैले विगत जस्तो गर्नुहुँदैन । संयमता अपनाऔं, जसले हामीलाई महामारीबाट बचाओस् र कोरोनालाई चाँडै मत्थर बनाउन सकौं ।
अहिले आफ्नो कारणले आफन्तलाई कोरोना संक्रमण नहोस् भनेर सचेत बन्नुपर्ने बेला हो । दशैंमा हामी जहाँ जसरी पुगिन्छ, त्यसरी नै कोरोनाको संक्रमण पनि बढ्दै जान्छ । अहिले दशैंपछि कोरोना संक्रमण तीब्ररुपमा फैलिने आंकलन पनि गरिँदै आएको छ । यसलाई घटाउन वा न्युनीकरणका लागि पनि हामी सबै सचेत बन्नैपर्छ । त्यसैले यसपटकको दशैंलाई संयमताको चाड भनेर बुझौं । हामीलाई चाडवाडले यस्तै नवीनता देऊन् । हाम्रो उल्लास र उत्साह भने दिगो बनोस् । सचेत बन्दै दशैं मनाउनेहरूको लागि यो अवसर शुभ रहोस्, शुभकामना । साथै हाम्रा विज्ञापनदाता, पाठक तथा शुभचिन्तकहरूको पनि दशैं शुभ रहोस् । दशैंको हार्दिक मङ्गलमय शुभकामना ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप