मुख कुल्ला गरौं, कोरोना मारौंः वैज्ञानिक


  • हाम्रो कोशी आवाज
  • २०७७ कार्तिक ७

धरानः मुख सफा गर्ने औषधि अर्थात् ‘ओरल एन्टिसेप्टिक’ र ‘माउथवास’ ले कोरोना नियन्त्रणमा भूमिका खेल्ने अमेरिकाका वैज्ञानिकले दाबी गरेका छन् ।
उनीहरूका अनुसार कोरोना संक्रमण हुँदा यस्ता औषधिले मुख कुल्ला गर्ने हो भने भाइरस फैलिन पाउँदैन । प्रयोगशालामा गरिएको परीक्षणले यो पुष्टि भएको वैज्ञानिकको दाबी छ ।
उनीहरूका अनुसार नाक र मुखको सफाइले पनि कोरोना भाइरसको संख्या घटाउन सकिन्छ ।
पेनसिलवेनिया विश्वविद्यालयका वैज्ञानिकका अनुसार प्रयोगशालामा ओरल एन्टिसेप्टिक, माउथवास र बेबी स्याम्पु मानिसमा पाइने कोरोना भाइरसमा प्रयोग गरिएको थियो । यी चिजको असर भाइरसमा अलग–अलग देखिए । हरेक ३० सेकेन्ड, १ मिनेट र ३२ मिनेटपछि असरको जाँच गर्दा केही हदसम्म कोरोना भाइरस नष्ट भएको पाइयो। त्यसपछि त्यसमा मानव कोषिका हालियो। कतिपय कोषिका जीवित रहेको पाइयो ।
जर्नल अफ मेडिकल भाइरोलजीमा प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार बेबी स्याम्पुको एक प्रतिशत अंशले २ मिनेटमा ९९.९ प्रतिशतसम्म कोरोना भाइरस निष्क्रिय पार्न सक्छ। अझ माउथवासले एक मिनेटसम्म गरगर गर्ने हो भने ९९.९९ प्रतिशतसम्म कोरोना निष्क्रिय बनाउन सकिन्छ ।
कोरोना संक्रमित एवं क्वारेन्टिनमा रहेका व्यक्तिले यो प्रयोग गरेका खण्डमा निकै प्रभावकारी हुने अनुसन्धानले देखाएको छ ।
पेनसिलवेनिया विश्वविद्यालयको माइक्रोबायोलजिस्ट क्रेग मेयर्सका अनुसार जबसम्म खोप तयार हुँदैन, तबसम्म कोरोना संक्रमण रोक्ने यस्तै नयाँ–नयाँ तरिका खोज्न आवश्यक छ ।
उनी भन्छन्, ‘हामीले कोरोना भाइरसको संख्या घटाउन ओरल एन्टिसेप्टिक र माउथवास प्रयोग गर्ने गरेका छौं। यी सजिलै पाइने वस्तु हुन् । जसलाई मानिसले दैनिक प्रयोग पनि गरिरहेका छन् ।’
अहिलेसम्मका अनुसन्धानअनुसार नाक र मुख नै शरीरमा कोरोना भाइर प्रवेश गर्ने मुख्य द्वार हुन् । -दैनिक भास्कर

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप