कथाः अदृश्य मर्दको खोजी


  • भीम राई
  • २०७७ असोज २७

भारतीय विज्ञान संस्थान, बैङ्लोरबाट ४ वर्षे अध्ययन पूरा गरेर म काठमाण्डौं फर्कदै थिएँ । दिउँसोको ठीक ४ बजे जेट एअरले त्रिभुवन विमानस्थलमा अवतरण गर्दैगर्दा म अति हर्षित मुद्रामा थिएँ । मेरो स्वागतको लागि बाबु विमानस्थलमा आउनु भएको थियो । त्यसैले हतारहतार विमानबाट निस्केर उहाँसँग भेट गरें । तर हाम्रो रमाइलो भेटघाटले उहाँको मुहारमा त्यति धेरै खुशीका लहरहरू देखापरेका थिएनन् ।
बाबुको मुख्य पेशा राजनीति थियो । त्यसैले उहाँ पटकपटक मन्त्री बन्नुभएको थियो । वर्णाश्रम ब्यवस्था भएको मुलुकमा साम्यवादको चुचुरो पुग्न सकिन्नँ भन्ने उहाँलाई राम्रै हेक्का थियो । तैपनि झुटको खेती गरेर ‘लाटो देशको गाँडो तन्नेरी’ बन्दै घरिघरी शक्तिशाली मन्त्री भइरहनु भएको नेपाली इतिहास थियो ।
उहाँले राजनैतिक अनुभव मात्र बटुल्न भएको थिएन । पुतली सडक, बानेश्वर, महाराजगन्ज र भैंसे पार्टीमा गरेर चार–चार वटा घरहरु पनि खरिद गर्नुभएको थियो । अझै मोरङ, सुनसरी र झापामा प्रसस्तै जग्घा जमिन पनि किन्नुभएको थियो । तर शावक चरीको बच्चा जस्तो तरल नेपाली राजनीतिले भविश्यमा पर्नसक्ने असम्भाब्यतालाई मध्यनजर गर्दै काठमाण्डुको सबैघरहरु आमा, दाजु र मेरो नाममा दर्ता गरिदिनुभएको थियो ।
हाम्रो पुख्र्यौली घर पूर्वी पहाडको खार्पा भन्ने ठाउमा पर्दथ्यो । म खार्पा कहिल्यै पुगेको थिइनँ, यद्यपि आफ्नो पुख्र्यौली घरको विषयमा प्रशस्त सुनेकी थिएँ । तत्कालीन समयमा हामी बिर्तामा मालिक र वरिपरिका वस्तीहरू बिर्ताका रैती थिएँ । बिर्ताको मालिक भएकोले भारत, बेलायत वा अमेरिकामा पढ्नुपर्छ भन्ने ज्ञान जीजु बराज्यूबाट बाबुले चाल पाउनु भएको थियो । त्यही भएर बाबुले मलाई भारत र दाजुलाई बेलायत पढ्न पठाउनु भएको थियो ।
दाजुले सबैभन्दा पहिले इटन कलेजमा अध्ययन गर्नुभएको थियो । जहाँ बेलायतलगायत संसारभरिका राजपरिवारका सदस्यहरू र कुलिन वर्गका सन्ततीहरूले मात्रै पढ्ने अवसर पाउँदथे । त्यहाँ पढेका २० जना विद्यार्थीहरूले बेलायती प्रधानमन्त्रीको जागिर खाइसकेका इतिहास साक्षी थियो । बाबुले पनि निकट भविश्यमा नेपालको प्रधानमन्त्री बनाउने उद्देश्यले दाजुलाई इटन कलेजमा पढाउनुभएको थियो ।
इटनको दुई वर्षपछि दाजु अक्सफोर्ड युनिभर्सिटीमा जानुभयो । र, ‘बेलअल कलेज’ अक्सफोर्डमा राजनीतिशास्त्र, दर्शनशास्त्र र अर्थशास्त्र ‘पिपिई’ पढनु थाल्नुभयो ।
दाजु पहिलो वर्षको विद्यार्थी ‘फ्रेसर’ हुँदा हाम्रो परिवारमा ठूलो घटना घट्यो । नौबिसेको ओरालोमा बेगले झरेको ट्रकले किचेर मम्मीले यात्रा गरिरहनु भएको नयाँ मर्सिडिजलाई कच्याककुच्चुक एकपोका बनाइदियो । मेरी ममतामयी माता र चालकको घटनास्थलमा नै मृत्यु भयो ।
त्यस दुर्घटनालाई नेपाली छापाहरूले ‘पाप धुरीबाट करायो’ भन्ने समाचारका हेडलाइन बनाइदिए । त्यस्तो विसम परिस्थितिमा नेपाली अखबरहरुले बाबुलाई भ्रष्टाचारीको मुख्य नाइकेको बिल्ला भिराइदिएको थियो । जुन घटनाले पारेको मानसिक घात प्रतिघातले दाजुले परिवारसँग सधैको लागि सम्पर्क विच्छेद गर्नुभयो ।
म बैङ्लोरबाट फिरेको एकहप्ता भइसकेको थियो । बाबु हरेकदिनजसो राजनीतिक भेटघाटमा ब्यस्त हुनुहुन्थ्यो । घरमा मम्मी नभएपछि मलाई घर घर जस्तो नभएर मसानघाट जस्तो लाग्न थालेको थियो । अझै बिहान–बेलुका फोनमा बोलिरहने दाजुले सम्पर्क विच्छेद गर्नुभएपछि झन् घरको बयान गरेर साध्यै थिएन ।
फोहर, धूलो र धुवाको कोलाहलमय वानेश्वरको एक बेलुकी बाबुले मलाई बैठक कोठामा बोलाउनुभयो ।
‘छोरी, तिम्रो जिन्दगीको सबै काम थाँती राखेर दाजुको खोजी गर्न बेलायत जाऊ ?’
अचानक बाबुको त्यस्तो कुरो सुनेपछि म किंकर्तब्यविमुढ बनें । जुन काम मेरा लागि त्यति सहज थिएन, किनभने म पहिले बेलायत पुगेकी थिइनँ । लण्डन, बर्मिङघाम, म्यानचेस्टर र लिभरपुल जस्तो त्यति ठूलो सहरहरुमा मेरो दाजुलाई कहाँ र कसरी खोज्ने होला भनेर मनभित्र अनेकौं शङ्का उपशङ्का उब्जिरह्यो । तर श्रीमती र छोरोको न्यानो मायाबाट बञ्चित हुनुभएको बाबुको विचारलाई मैले सहजै नकार्न चाहिँ सक्दैनथें । त्यसैले ‘बाबु, हस, म बेलायत जानको लागि तयार छु,’ भन्दै बैठक कोठाबाट बाहिर निस्कें ।
१७ जुलाई २०१५ को दिन म त्रिभुवन विमानस्थलतर्फ लागें । राष्ट्रको उपप्रधानमन्त्रीकी छोरी भएकी नाताले विमानस्थलको विशिष्ट कक्षाको सुविधा प्रयोगगर्न शौभाग्य पाएकी थिएँ । त्यसदिन पनि सदाझैं वरिष्ठ भिआइपी बनेर अध्यागमनको कर्मचारीहरूलाई छिचोल्दै सरासर माथिल्लो तलामा पुगेकी थिएँ । बाबु शक्तिमा आउनु भएदेखि मैले विमानमा ‘मितब्ययी कक्षा’ पनि चलाउन छाडिसकेकी थिएँ । त्यसैले त्यसदिन पनि ‘इमराटस एअर’ को फस्ट क्लासबाट दुबई हुँदै लण्डन जाँदै थिएँ ।
हृदयभरि पीरको बोझ बोकेकी भएपनि बिस्तारै हिँड्दै गएँ र बिमानभित्र पसें अनि बिमानमा बसिन्जेल ‘डबल एस’ अथवा सुशी र सेम्पेन पिइरहें किनभने केही वर्ष यता ‘मोयट एण्ड चण्डन’ सँग मैले अगाढ प्रेम गाँसेको थिएँ । दुबईबाट करिब सात घण्टाको यात्रापछि विमान हिथ्रो विमानस्थलमा अवतरण भयो । विमान अवतरण हुने बित्तिकै परिचारिकाले स्थानीय समय बिहानको ७ बजेको ध्वनी प्रशारक यन्त्रबाट जानकारी गराइन् ।
अध्यागमनबाट बाहिर निस्केपछि एउटा ट्याक्सी समातेर सिधै डोरचेस्टरतर्फ लागे । ब्रुनाइका राजा सुल्तानको प्रतिष्ठित ‘होटल डोरचेस्टर’ मा बस्ने सपना धेरै अगाडिदेखि बुनेकी थिएँ । जुन सपना त्यसदिन विपनामा परिणत भयो । डोरचेस्टर, लण्डनको दुईदिन बसाइपछि मार्लिबर्न, रेल स्टेसन बाट अक्सफोर्डतर्फ लागे ।
‘द वल्र्ड बैंक होटल’ अक्सफोर्ड केहीदिनको लागि मेरो घर भयो ।
सोमबार बिहानको १० बजे युनिभर्सिटिको बेलअल कलेजमा पुगेकी थिएँ । आगन्तुक कक्षामा पुगेर त्यहाँ अध्ययनरत् मेरो दाजु दुई वर्षयता पारिवारिक सम्पर्कमा रहेका छैनन् भनेर सूचना दिएँ । रिसेप्सनमा कार्यरत् मार्था डेभिस मेरो कुरो सुनेर एकछिन छक्क परिन् । दाजुको अवस्था ठीकै त होला भनेर उनले ‘जिसस क्राइष्ट’ भन्दै भगवानसँग प्रार्थना गरिन् । यदि अहिलेसम्म ठीक नभएको भए नराम्रो समाचार सुनिसकिन्थ्यो होला भन्दा मेरा आँखाहरु धमिला धमिला भए । रुमाल निकालेर एकछिन आँखालाई छोपे । केहीबेरपछि दाजुलाई पढाउने प्राध्यापक सर जुलियन मर्फीसँग भोलि बिहानको १० बजे भेटघाट गर्ने समयको उनैले बन्दोबस्त मिलाइदिइन् ।
मार्थासँग बिदा भएपछि सिधै कलेजबाट निस्केर ‘अक्सफोर्ड इनभेस्टिगेटर्स’ को कार्यालय हाइस्ट्रिटतर्फ लागें । मैले दाजुको एउटा तस्वीर साथैमा बोकिरहेकी थिएँ । तिनै तस्वीर देखाएर अक्सफोर्ड इनभेस्टिगेटर्सका निजी जासुस रबर्ट कुपरसँग केही कुरो बुझ्न थाले । तर रबर्टले मेरो पुरै अन्तर्वार्ता लिन शुरु गरे ।
नामः शरदकुमार
पेशाः विद्यार्थी
उमेरः २४ वर्ष
उचाईः १७० सेन्टिमिटर
वर्णः गहुँगोरो
भाषाः नेपाली र अङ्ग्रेजी
रबर्टले मेरो व्यक्तिगत जिन्दगी र परिवारिक पृष्ठभुमिको विषयमा पनि खुबै चासो लियो र मेरो पूर्ण विवरण माग्यो । मैले भारतीय विज्ञान संस्थान, बैङ्लोरबाट स्नातक गरेको हुँ । मेरो बाबु पटकपटक नेपालमा मन्त्री भएर राष्ट्रका सेवा गरेका छन्, भनें । बाबु मन्त्री भनेको सुनेपछि उसको मुहार मेरो नयनबाट विस्तारै हटायो र केहीबेर कोठाको पर्खालतिर क्वारक्वार्ती हेरिरह्यो । जसले गर्दा ऊ प्रति मेरो हल्का शंका उत्पन्न भयो ।
‘रबर्ट, के तपाईले मेरो दाजु कहाँ छन् भनेर पत्ता लगाउन सक्नुहुन्छ ?’ मैले विनम्रतापूर्वक सोधें ।
‘मलाई थाहा छैन, तैपनि म शतप्रतिशत कोसिस गर्नेछु ।’ अनुहार विस्तारै म तर्फ फर्कायो । त्यति बोलिसकेर केहीबेर चुपचाप बसिरह्यो । अनि लामोलामो सास तान्यो र फेरि बोल्न थाल्यो ।
‘के तिम्रो बाबुले जलस्रोतमन्त्री पनि गर्नुभएको थियो ?’
‘हो हो, तर किन ?’ आश्चर्य चकित हुँदै प्रतिप्रश्न गरें ।
‘किनभने जलस्रोत मन्त्रालयमा असाध्यै भ्रष्टाचार हुने कुरो मैले नेपाल पुग्दा सुनेको थिएँ ।’
हुन त दुई दशकयता मेलम्चीको पानी काठमाण्डौमा ल्याउने प्रयत्न जारी थियो । मेलम्चीको नाममा हुने भ्रष्टाचारको विषयमा रबर्टलाई पनि राम्रो ज्ञान रहेछ । त्यसैले म केहीबेर चुपचाप बसें । त्यसपछि राष्ट्रको बाँकी बेइज्जत सुन्न मलाई त्यति उचित लागेन । उसलाई फेरि भेटने बाचा गर्दै म त्यहाँबाट बिदा मागेर हिँडे । तर नेपालमा हुने भ्रष्टाचारको विषयमा बेलायती जनतालाई सम्म थाहा हुने रहेछ भनेर मेरो मनभित्र हल्का त्रास उत्पन्न भइरह्यो ।
भोलि बिहानको १० बजे प्राध्यापक सर जुलियन मर्फीसँग मेरो भेट भयो । उहाँले कुमार राम्रो विद्यार्थी भएतापनि ‘पिपिई’ उसको लागि अलिक गार्हो विषय परयो । जसले गर्दा बीचैमा युनिभर्सिटी छाडेर हिँडेको कुरो उहाँले मलाई बताउनुभयो । तर दाजुले अक्सफोर्ड छाड्नुअगाडिको अन्तिम भेटमा लिभरपुलतिर जान्छु भनेको पनि उहाँले सुनाउनुभयो ।
प्राध्यापक मर्फीलाई भेटेको भोलिपल्ट मैले अक्सफोर्ड छाडे । बिहानको ११ बजे लिभरपुलको लाइम स्ट्रिट रेल स्टेशन पुगें । त्यति ठूलो सहरमा दाजुलाई कसरी फेला पार्ने होला भनेर मनभित्र अनेकौ कौतुहलता र प्रश्नहरू वर्सिरहेका हुन्थे । यदि दाजुसँग भेट हुन सकेन भने बाबुलाई के भन्ने होला ? त्यो प्रश्नले मेरो हृदयमा पारेको गाँठो घरिघरी बल्झँदा सास फेर्न गाह्रो पर्दथ्यो ।
स्टेशनबाट निस्केर केहीबेर यताउता हिँडे । नजिकै रहेको हिलटन लिभरपुलमा दुईदिनको लागि एउटा कोठाको आरक्षण गरें अनि दिनभरि सहरको अति नयाँ एवम् प्रतिष्ठित ब्यापारिक क्षेत्र ‘एल वान’ को राम्रो नजर लगाए । बेलुकीपख बिटल्सका ‘नर्वेजियन वुड’ गीत गाउने पर्यटकहरू सँगसँगै म्याथु स्ट्रिटको भट्टी पसल चाहारिरहें । अन्तमा ‘यु नेभर वाक एलोन’ गीत गाउने लिभरपुल फुटबल क्लबका अन्धोभक्तहरूसँग केहिबेर मिसिएर जाड पिएर समय खर्च गरे ।
अर्कोदिन होटलमा ब्रेकफास्ट खाँदै थिएँ । अध्ययन गर्न आउनुभएको तर अहिले हराउनुभएको दाजुको खोजी गर्न हिँडेको वेदना बेयरालाई सुनाएँ । उनले नजिकै रहेको ‘सेन्ट जोन मार्केट’ जाने सल्लाह दिइन् । उनको सल्लाहबमोजिम त्यहाँ पुगे र केहीबेर मार्केटको परिक्रमा गरें । माथिल्लो तलामा रहेको शौचालय प्रयोग गर्न जाँदा शौचालय सफा गर्ने मानिससँग मेरो हल्का परिचय भयो । उसको नाम मान्योल र उनी बार्सिलोना, स्पेनबाट आएका रहेछन् । मैले झोलाबाट दाजुको फोटो निकालेर ‘यो मानिसलाई कतै देख्नुभयो कि ?’ भनेर उसलाई एकपटक सोधिहेरें ।
उसले फोटोलाई एकझलक हेरयो, ‘ए… कुमार रहेछ, ऊ पहिले यहाँ नजिकै फिलिप्स फलफूल पसलमा काम गर्दथ्यो ।’
उसको भनाइ सुनेर म तरङ्गीत भएँ । अचानक मेरो टाउको फुलिएर आयो । केहीबेर टोलाएर उसको मुहार राम्ररी पढ्न थालें । ‘मेरो पछिपछि आउनोस्,’ उसको भनाइ राम्ररी हावामा मिसिन नपाउँदै म उसको झन् नजिक पुगें । ऊ मेरो अघिअघि र म उसको पछिपछि फलफूल पसलको मालिक एलेक्स फिलिप्सको दोकानमा पुग्यौं । त्यहाँ पुगेर मान्योलले एलेक्ससँग एकछिन घानघुन कुरो गरयो ।
मान्योलको कुरो सुनेपछि एलेक्स मसँग बोल्न थाल्यो । कुमारले हाम्रोमा दुई महिना जति काम गरयो । तर एउटी स्कटिस केटी साथी बनाएर उतै स्कटल्याण्डतर्फ ऊ लाग्यो । एडिनवर्गको एउटा नेपाली रेस्टुरेन्टमा काम गर्छ भन्ने सुनेको थिएँ । त्यो पनि एक डेढ वर्ष जति भइसक्यो ।
भोलिपल्ट लाइम स्ट्रिट स्टेशनबाट रेल समातेर दिउँसोको ४ बजे वेभर्ली ट्रेन स्टेसन, एडिनवर्ग पुगे । रेलबाट झरेर स्टेशनको नजिकै रहेको ‘बालमोरल होटल’ मा एउटा कोठाको बन्दोबस्त मिलाएँ ।
होटलमा बेलुकी खाना खाने क्रममा नेपाली रेस्टुरेन्ट कहाँ पर्छ भनेर पुलिस बेयरासँग सोधे । खै त्यति धेरै मलाई पनि थाहा छैन तर ‘११० मर्निङ साइड रोड’ मा एउटा छ भनेर मैले सुनेकी थिएँ ।
खाना खाइसकेपछि समय कटाउन बालमोरलको बारभित्र छिरें । बार ज्यादै सुनसान थियो । आरामदायी सोफामा बसेर थोरै स्कटिस सिङ्गल माल्ट मगाए । अनि त्यति आनन्ददायक कोठामा बसेर सिङ्गल माल्टको चुस्कीले मेरा सारा दुःखहरू भुल्ने प्रयत्न गर्न थाले । अचानक भित्ताको पर्खालबाट एउटा हृदयस्पर्शी अंग्रेजी गीत बज्न शुरू गरयो ।
बाटो लामो छ, असंख्य घुम्तीहरू छन् ।
त्यसले कहाँ पुरयाउँदछ, कस्लाई थाहा होला ?
तर म शक्तिशाली छु, उहाँलाई बोक्न सक्छु ।
उहाँ त्यति गर्हौ छैन, किनभने उहाँ मेरो दाजु हो ।
उहाँ मेरो दाजु हो । ‘द हुलिज’ को त्यो कर्णप्रिय तर अति दुखित गीतले सिङ्गल माल्ट समातिरहेका मेरा हातहरू थरर काँपे । गीत सुनेर मेरो हृदय अनायसै छियाछिया बन्न पुग्यो । मेरा रसिला रसिला आँखाका ढकनीहरू केहीबेर बन्द हुँदै, खोलिँदै गरे ।
हातमा भएको घडीलाई एक झलक नियालेर हेर । समय बेलुकीको ९ बज्नै लागेको थियो । त्यसरी हाते घडीलाई हेर्दा मलाई दाजुको यादले झन् धेरै सतायो, किनभने बाबा र मम्मीको विवाह भएको २५ औं वार्षिकोत्सवको अवसरमा दाजुलाई ‘सबमरिनर’ र मलाई ‘डेटजस्ट’ दुईवटा रोलेक्स घडीहरु मम्मीले स्वीटजरल्याण्डबाट ल्याइदिनुभएको थियो । तर विधिको विडम्वना मम्मीलाई पहिले नै यस धर्तीबाट सँधै सँधैको लागि विदा गरिसकेकी थिएँ र दाजुलाई खोज्दै खोज्दै स्कटिस माटोमा भौतारिँदै हिँडिरहेकी थिएँ ।
मध्य जुलाइको सूर्यास्त एडिनवर्ग डाँडोको पुरानो दरबारबाट विस्तारै विस्तारै विलिन हुँदै गइरहेको थियो । झ्याल बाहिर प्रिन्सेस स्ट्रिटमा स्कटिस पहिरन ‘किल्ट’ लगाएर पाइप बजाउँदै नाच्दै गरेको एकजना फूर्तिलो स्कटिसलाई देख्दा ऊ कति सुखी जिन्दगी गुजारिरहेका छन् भन्ने मलाई यदाकदा भान पर्दथ्यो । मैले निक्कै लामो समयसम्म उसलाई नियालेर हेरिरहें । जति जति उसको पाइपले संगीत फेर्दै जान्थ्यो, एडिनवर्गको समयले मलाई उजाडउजाड बनाउँदै लान्थ्यो । सन् ११०३ मा निर्माण भएको एडिनवर्गको दरवार भ्रमण गरेर ओरालै ओरालो झरेका हरेक पर्यटकहरूको आँखा तिनै पाइप वादककोमा परेका मेरा निरस नयनहरूले निक्कैबेरसम्म हेरिरह्यो ।
भोलि दिउँसो एउटा ट्याक्सी समातेर मर्निङ साइड रोडतिर लागे । यदि दाजुसँग भेट भइहाल्यो भने पहिलो भेटमा मलाई के भन्ने हुन भनेर मनभित्र थोरै त्रास उत्पन्न भइरहह्यो । दिउँसोको ठीक साढे १२ बजे म रेस्टुरेन्टको ढोका अगाडि पुगिसकेकी थिएँ । ढोकाबाट भित्र छिरेपछि केहिबेर त्यँही उभिरहे । मेरो सिधै अगाडिको टेबलमा चार जना मानिसहरुले खाना खाइरहेका थिएँ । म ढोका छेऊमा उभिरहेकी देखेर टकटक हिल पट्काउँदै एकजना स्कटिस युवती मेरो नजिकै आइन् ।
‘हेल्लो, कतिजना हुनुहुन्छ ?’ थोरै मुस्कानसहित बेयराले मलाई सोधिन् ।
‘म मात्र एक जना हो ।’ छोटो उत्तर फर्काए ।
‘यतै बस्नुहोला ?’ एउटा हातले कुर्सी तानेर तिनै कुर्सीमा बस्ने मलाई सङ्केत गरिन् ।
उनको एउटा हातमा मेनु थियो । म कुर्सीमा बस्ने बित्तिकै थपक्कै मलाई मेनु दिइन् । मैले मेनु नहेरी, ‘कृपया, मलाई एक गिलास घरेलु सेतो वाइन ल्याइदिनुहोला ?’ मध्याह्नको प्रचण्ड गर्मी थियो, त्यसैले सेतो वाइन मगाए ।
वाइन हल्लाउँदै हल्लाउँदै उनी मिलिक्कै आइपुगिन् । ठीक त्यहीबेला मुख्य ढोकाबाट टिङटङ आवाज आयो । एकजोडी स्कटिस बुढाबुढी रेस्टुरेन्ट भित्र छिर्दै गरेको त्यहाँ दृश्य देखियो । उनी हतारहतार त्यतै ढोकातिर लागिन् । म सुस्तरी वाइनको चुस्की लिन थाले । र, भित्तामा सजिएका बडेमाको भिक्टोरिया क्रस बिजेता गोर्खाली सिपाहीहरूको तस्वीर गौरवताको साथ नियालिरहें ।
केहीक्षणमा खानाको अर्डर लिन उनी मेरो सामु आइपुगिन् । मैले सिक केबाब, चिकन जलफ्रेजि, बासमति राइस र गार्लिक नान मगाए । खानाको अर्डर गरेपछि थोरै मौकाको फाइदा लिन खोजें । झोलाबाट दाजुको फोटो निकालेर उनलाई देखाउँदै, ‘के उहाँलाई कतै देख्नु भएकोछ कि…?’ सुस्तरि सोधें । फोटो हेरेपछि उनी थोरै झस्किइन्, त्यसपछि मधूरो स्वरमा बोल्न शुरु गरिन् ।
‘कुमार, ऊ मेरो श्रीमान हो । अनि तपाई को हो ?’
‘म उसको बैनी हुँ ।’
‘तर उसले मेरी बैनी पनि यहाँ छिन् भनेर मलाई अहिलेसम्म केही भनेका थिएन ।’
ए… हो । अनि खै दाजु कता हुनुहुन्छ ?’
‘एकहप्ता छुट्टी मनाउनको लागि मार्लोक्का, स्पेन जानुभएको छ ।’
मैले धेरै धेरै धन्यवाद भने । त्यसपछि उनी विस्तारै हिँड्दै बारतिर गइन् । दाजु खोज्दै हिँडेकी थिएँ, अचानक मेरो विदेशी भाउजुसँग भेट भयो । त्यसैले दिलमा थोरै भएपनि खुसीका लहरहरु पलाएर आए । तर भाउजुले मलाई किन किन थोरै शँकालु दृष्टिले हेरिरहनुभएको जस्तो लाग्यो । केहीबेरमा भाउजुले खाना ल्याइदिनुभयो । खानाखाई सकेपछि अर्को हप्ता दाजुसँग भेट्न आउने बाचा गर्दै म त्यहाँबाट बिदा भएर निस्कें ।
मेरो स्कटल्याण्ड बसाइँ एकहप्ता लम्बियो । त्यसैले एडिनवर्गबाट ग्लास्को, एबरडिन, स्टर्लिङ, लक नेस, फोर्ट विलियम र सेन्ट एन्डुसम्म पुगेर फेरि अर्कोहप्ता बालमोरल फर्किएँ ।
सोमबारको दिन स्कटल्याण्डको आकाश रोइरहेको थियो । दिउँसोको १२ बज्नेबित्तिकै म रेस्टुरेन्टको ढोकाभित्र छिरें । तर त्यहाँ दाजु वा भाउजु दुवैलाई नदेख्दा म झसङ्ग झस्कें । ढोकाभित्र छिरेर म केहीबेर त्यहीँ उभिरहें । अर्की एकजना पातली बेयरा मेरो नजिक आइपुगिन् । मैले मौकाको फाइदा उठाउदै, ‘खै, कुमार हुनुहुन्न ?’ भनेर प्रश्न गरे । मैले सोधेको प्रश्न सुन्ने बित्तिकै उनी ‘कुमार’ भन्दै भान्सा कोठाभित्र छिरिन् ।
गर्लम्मै ओढेको मैला सेतो ज्याकेट, कागजे ठूलो टोपी र मरन्च्यासे अनुहारमा धेरैदिन सम्म नकाटेर जताततै फर्केका दार्हीजुङ्गासहितको दाजुको दरिद्र हालत देखेर मेरा आँखाबाट सरर आँसु बहन थाल्यो । सुँक्क सुँक्क गर्दै त्यसरी म रोएको देखेपछि ‘बैनी, यहाँ रुन हुँदैन’, भन्दै उहाँले मेरो हातमा तानेर हतारहतार किचनभित्र लानुभयो । किचनभित्र पसेपछि म केहीबेर उहाँको तातो अङ्गालोमा बाँधिरहें ।
‘दाई, तपाईले यो के गर्नु भएको हो ?
‘बैनी, जीवनमा कसैले नपढेका धेरै धेरै लामो कथाहरु छन् ।’
त्यति बोल्नुभयो । मैले उहाँको हात समातिरहेको थिएँ । मलाई त्यतिबेला उहाँसँग बचपनमा खेलेको याद आइरहेको थियो । हातका हस्तरेखाहरू बेसार पोतिएर पुरै पहेंलापहेंला देखिन्थे । अझै नान पोल्दा डढेका हत्केलाका छाला र नङहरू देखेर मेरा आँसु झन रोकिनसकेका थिएनन् । दाजुको त्यस्तो करुणामय र निरस मुहार हुन्छ होला भनेर मैले जिन्दगीमा सोचेको पनि थिइनँ । तै पनि बेखुशी साथ सानो स्वर निकालेर बोल्न शुरु गरें ।
‘राष्ट्रको प्रधानमन्त्री बनाउने बाबुको सपनालाई स्कटल्याण्डको किचनमा तुहाउँदै हुनुहुन्छ । तपाईलाई धन दौलत, मान सन्मान, इज्जत र प्रतिष्ठा कुन चिजको कमी थियो ? किन बाबु र मलाई यसरि सजाय दिनुहुन्छ ?’
मेरो कुरो सुनेर दाजु केहीबेर भावुक बन्न भयो । त्यसपछि विस्तारै मुख खोल्नुभयो ।
‘मैले बाबुको रहर बमोजिम पढ्न सकिनँ । मम्मीको मृत्युपछि मेरो मन सम्यम हुन सकेन । तर भाग्यले साथ दिएर जेनीसँग मेरो भेट भयो । उनैले मलाई जिउन बाध्य गराइदिइनँ । त्यसपछि हाम्रो एउटा छोरो पनि भयो । बैनी, अब म आफ्नो जिन्दगीसँग एकदम सन्तोष छु । र, म जहाँ छु त्यँही रहन देऊ ।’
दाजुको कुरो सुनेर म केहीबेर अवाक बनें । ‘तपाईलाई समस्या भएपछि नेपाल आउनुभए भइहाल्थ्यो नि…?’
मैले त्यो निर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्णय पनि गर्न सकिनँ । मलाई आमाको मृत्यु दुर्घटनाले भएको होइन हत्या भएको हो भन्ने लाग्यो । त्यसको मुख्य कारक बाबु नै हुनुहुन्छ भन्ने पनि सोंचे, किनभने देशका सबै जनताले उहाँलाई कुख्यात भ्रष्टाचारीको नाइके मानेका छन् । र, म भ्रष्टाचारीको छोरो भएर नेपालमा एक सेकेण्ड पनि बाँच्न सक्दैन थिएँ । त्यसको सट्टामा स्वावलम्वी बनेर जे कमाउँछु त्यो खान्छु भन्ने सोंचतिर लागें । अब तिमी पनि मलाई भुलिदेऊ र नेपाल फर्केर जाऊ । बाबुलाई म यस धर्तीमा छैन भनेर सुनाइदेऊ । मलाई थाहा छ, त्यो एकदम कठिन छ । तर त्यसैमा हामी सबैको भलो हुन्छ ।’
दाजुको भनाइले म केहीबेर धर्म संकटमा परें । तिहारमा फूलमाला लगाइदिने दुःखी चेलीलाई त्यति सजिलो कसरी भुल्न सक्नुभयो होला भनेर मेरो मुटु छियाँछियाँ भयो । बाबुको सुन्दर सपना चकनाचुर भइसकेको उहाँको अनुहारबाट स्पष्ट हुन्थ्यो । त्यसपछि मैले एक्कैशब्द निकाल्ने प्रयत्न पनि गरिनँ । उहाँले हामी सबैलाई माया मारिसक्नुभएको रहेछ । त्यसैले उनीहरुको सन्तान देखाउने रहरसम्म मलाई गर्नुभएन । उहाँसँगको भेटले केहीबेर अगाडिसम्म धेरै खुशी थिएँ । तर मेरो खुशी त्यति धेरै लामो समयसम्म टिक्न सकेनन् । अत्यन्त दुःखी बनेर रुमालले आँखा छोप्दैछोप्दै त्यहाँबाट निस्केर हिँडें ।
मर्निङ साइड रोड, एडिनवर्गमा त्यतिबेलासम्म झरि परिरहेको थियो । एकाध मनस्थिति बनाएर सडक किनारमा उभिएर एउटा ट्याक्सीलाई पर्खिरहेकी थिएँ । एकरफ्तारले दगुरिरहेका कारको चक्काहरुले छेपेका पानीले मेरो सेतोजामा रङ्ग्याइरहेका थिएँ । तै पनि म हलचल नगरी एकल पागली झै उभिरहें । चार हजार पाँचसय माइल टाढा नेपालबाट आएर एउटा ‘अदृश्य मर्दको खोजी’ ले तनावमा थिएँ, झन तिनै मर्दको फरक विचारले झन् ठूलो तनाव मात्रै मलाई थपिदियो ।
भोलि बिहान सुटकेस गुडाउँदै गुडाउँदै एडिनवर्ग विमानस्थल पुगें । कतार एयरको ड्रिमलाइनरबाट सपनाको सहर दोहा जाँदै थिएँ । धावनमार्गमा विमानले ‘भिक्टर वान’ भन्ने संकेत दिँदै गर्दा कप्तान सुलेमान महम्मदले ‘रोटेड’ भन्ने बेलामा मैले तीस मिटरमाथि आकाशबाट दाजुको मनपर्ने सहर एडिनवर्गलाई जिन्दगीको अन्तिम पटक अविरल आँशुको धाराले बिदाइ गरिरहे । विमानले केहीवेरमा सुस्तरी अंग्रेजी जलपथ पार गर्न थाल्यो । युक्रेनियन मुलकी परिचारिकाले एकगिलास बोलिन्जर र एकप्लेट म्याकाडेमिया लिएर मेरीसामु हाजिर जनाइन् ।
‘कुमार महल’ बानेश्वर हाइट पुगेर बाबुलाई के भन्ने होला भनेर ठूलो पिरमा थिएँ । विमानले ३३ हजार फिट माथिको उचाइँ लिइसकेको थियो । बेल्जियमको आकाशीय क्षेत्र पुग्दानपुग्दै मैले दुईवटा सेम्पेनका गिलासहरु रित्याइसकेकी थिएँ ।
आमा र छोराको नाममा भएको घर बेचेर ‘मिना ट्रस्ट’ मा राखिदिनु । अनि तिनै ट्रष्टको नामबाट काठमाण्डौमा भएका असहाय बुढाबुढी र बेसहारा बच्चाहरुलाई खानाखान दिनु । ताकि बाबुले प्रक्रिया मिलाएर भ्रष्टाचार गरेर कमाएको पैसा अन्ततः जनताले नै उपभोग गर्न पाएका छन् भन्ने समाचार साधारण मानिससम्म जान सकोस् भन्ने दाजुको तिनै महान भनाईलाई सोच्दैसोच्दै म निन्द्रादेवीको शरणमा परिरहें ।
बुइपा, खोटाङ, हालः अक्सफोर्ड, बेलायत

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप