किशोरकिशोरीमाथि कोरोनाको प्रभाव


  • अप्सरा खत्री
  • २०७७ असोज २४

हाल विश्वव्यापी रुपमा तीब्ररुपले पैmलिरहेको कोरोना (कोभिड १९) ले विश्वमा हरेका कुनामा बसेका मानिसहरूको जीवनलाई आच्छु आच्छु बनाएको छ । कोरोनाले सामान्य जीवन बिताइरहेका जनसाधारण एवं हुने खानेजस्ता हरेक तहतप्काका मानिसहरूको जीवनशैलीमा समेत खलबली मच्चाइरहेको छ । यसले हरेक क्षेत्रमा प्रभाव पारिरहेको छ । विशेषगरी किशोरकिशोरीहरूको पनि यसबाट अछुतो छैनन् ।
शिक्षा, स्वास्थ्य, मनोरञ्जन, सहभागिताजस्ता आधारभूत क्षेत्रमा कोभिड–१९ ले अन्यन्तै प्रभाव पारेको छ । हरेक बालबालिका किशोरकिशारीहरूभित्र लुकेर रहेका प्रतिभाहरु हुन्छन् । आज कोरोनाले गर्दा त्यस्ता किशोरकिशारीहरूभित्र लुकेर रहेका प्रतिभा प्रष्फुटन हुनुको साटो भित्रभित्रै गुम्सिएर हराउँदै गएको छ भन्न सकिन्छ ।
भविश्यका लागि फक्रदै गरेका आजका कोपिलाहरू पिँजडाभित्रको सुगासरह कैद हुनुपरेको अवस्था छ । हालको अवस्थामा सामान्यतयाः रोग लागेका मानिसहरूलाई अस्पतालले भर्ना नलिने, रुघाखोकी लागेमा कोरोनाको शंका गर्ने हुनाले कयौं किशोरकिशोरीहरूले उपचार हुन नपाएकोले अकालमै ज्यान गुमाएको खबर धेरै सुन्नमा आइरहेको छ । अस्पतालले भर्ना नलिनु, बिरामीको स्वास्थ्य हेरचाहमा ध्यान नदिनु बिरामीलाई छुन देखि डराउनु मुख्य कमजोरी रहेको छ ।
सोही कारणले गर्दा किशोरकिशोरीहरुको आत्मबल, मनोवल घट्नुका साथै मानसिक सन्तुलनमा समेत प्रभाव र हानी गर्छ र कतिपय किशोरकिशोरीहरू डिप्रेसनमा गई आत्महत्या गरेका उदाहरणहरु हामीले देखेकै छौं ।
अझै यस समयमा सडक पेटीलाई ओछ्यान र आकाशलाई ओढ्ने सम्झेर सडकको पेटी पेटीमा, गल्ली गल्लीमा रात गुजारिरहेका सडक बालबालिका तथा किशोरकिशोरीको अवस्था कस्तो छ होला त ? त्यसैपनि अरु बेला अरुसमक्ष सहयोगका हात फिँजाएर छाक टार्ने किशोरकिशोरीहरूले आज कसरी पेट पालिरहेका होलान्, छाक टारिरहेका होलान् ? यो गम्भीर विषय हो ।
भर्खरै सार्वजनिक तथ्याङ्क भन्छ– १६ वर्ष उमेरका किशोरकिशोरी मानसिक समस्यामा रहेका छन् । सार्वजनिक गरिएको एक अध्ययनमा १६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको जनाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण केही हप्ताअघि सार्वजनिक गर्दै १६ वर्ष उमेरका ७.७ प्रतिशत किशोरकिशोरी बढी मानसिक समस्यामा पर्ने गरेको देखिएको परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले जानकारी दिएका छन । तीमध्ये किशोरीमा ५.३ प्रतिशत र किशोरमा पाँच प्रतिशत मानसिक समस्या देखिएको छ । परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा प्रदेश नंं १ का किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको छ । त्यहाँका ११.४ प्रतिशत किशोरकिशोरीमा समस्या देखिएको उनले बताए ।
यस्तै ५.२ प्रतिशत किशोरकिशोरीमा मानसिक समस्या, ०.६ प्रतिशतमा उदासिनता, ३.९ प्रतिशतमा आत्महत्याको सोच र ०.७ प्रतिशतमा आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेका पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै ०.६ प्रतिशतमा मादक पदार्थलगायत अन्य कुनै प्रकारको नसालु पदार्थको सेवनका कारण मानसिक समस्या आउने गरिएको उल्लेख गरिएको छ । परिषद्ले २०१९ जनवरीदेखि २०२० जनवरीसम्म नेपालका सात प्रदेशका १५ हजार ८८ व्यक्तिको सर्वेक्षण गरेको थियो। जसमा ९ हजार २ सय जना १८ वर्षभन्दा माथिका वयस्क र ५ हजार ८ सय ८८ जना १३ देखि १७ वर्षसम्मका किशोरकिशोरी सहभागी थिए ।

अन्य समूहका व्यक्तिमा स्वास्थ्यका बारेमा चर्चा भएपनि किशोरावस्थाका व्यक्तिहरूका विषयमा कमै चासो भएको देखिन्छ । टिनएजर्स भनिने किशोरकिशोरीको समूह कोरोना भाइरस संक्रमणको कम जोखिममा रहेको, उमेरगत कारण घर परिवारमा पनि एक्लिएर बस्न रुचाउने भएकाले पनि त्यो उमेर समूहको समस्याका विषयमा कम चर्चा भएको हुन सक्छ । तर जीवनको एउटा अप्ठेरो मानसिक, शारीरिक र भावनात्मक उथलपुथल लिएर आउने समय भनेकै किशोरावस्था हो । अझ यो बन्दाबन्दीको अवस्थामा ती भावनात्मक उथलपुथल र एक्लोपनको मनोभावनाले उनीहरूको मानसिक अवस्थालाई अझ जटिल बनाइरहेको हुन्छ ।
यसबेला किशोरावस्थामा छोराछोरी मोबाइल वा टिभीमा झन् धेरै समय बिताउने, पहिलेभन्दा कम बोल्ने, एकोहोरो हुने, झर्कीफर्की बढी गर्ने र चाँडै रिसाउने समस्या देखिने गरेको मनोविद्हरुको भनाइ छ । किशोरावस्थामा उत्पन्न मानसिक समस्याले जीवनभर पिरोल्ने सम्भावना धेरै हुन्छ । त्यसैले पनि यो प्रतिकूल परिस्थितिमा उनीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर उचित वातावरण बनाउने र त्यसैअनुरूप व्यवहार गरियो भने उनीहरू भविष्यका लागि थप सबल हुनेछन्, गुणस्तरीय जीवन बिताउन सक्षम हुनेछन् ।
किशोरावस्थामा प्राकृतिकरूपमै मानिस आफ्नै उमेर समूहमा साथीहरूसँग बढी हिमचिम गर्ने, विपरीत लिंगीप्रति आकर्षित हुने, विचार र भावना साट्ने, जीवनका विभिन्न कुरालाई अथ्र्याउन खोजेर आफ्नो पहिचान खोज्ने कोसिस गरिरहेका हुन्छन् । बन्दाबन्दीको अवस्थाले उनीहरूको दैनिकी फेरिएको छ । विद्यालय वा कलेज जान पाएका छैनन् जसले गर्दा साथीहरूसँग समय बिताउन पनि पाएका छैनन् । परीक्षाको नतिजाको घोषणासँगै विद्यालय र कलेजमा हुने बिदाइ, स्वागत, अभिभावक दिवस वा त्यस्तै अन्य कार्यक्रम उनहिरूका लागि साथीहरूबीच आफ्नो क्षमता वा कला देखाउने र मनोबल उच्च राख्ने कोशेढुंगा हुन् जुन अनुभवलाई धेरैले आत्मसात नै गर्न पाएका छैनन् । बन्दाबन्दीका कारण सिर्जित तनावमा उनीहरूले उचित मार्गनिर्देशन खोजिरहेका हुन्छन् । अभिभावकहरूले यो पक्षमा ध्यान दिन आवश्यक छ ।

त्यसो त कतिपय किशोररकिशोरीले बन्दाबन्दीको समयमा परिवारसँगको आत्मीयता बढेको सकारात्मक अनुभव गरेका छन् । घरमै परिवारसँग मिलेर विभिन्न परिकार बनाउँदा खाना पकाउने रुचि बढेको, फूलबारीको काम गर्न थालेको, सिर्जनात्मक क्षमता सिकेको र सङ्गीत, गायन एवं नृत्यतर्फ समय दिएको कुरा सामाजिक सञ्जालमा राख्ने किशोरकिशोरीको संख्या पनि उल्लेख्य छ ।
समग्रमा भन्ने हो भने किशोरकिशोरीहरूको विशेष क्षमताका कारण अहिलेको प्रतिकूल परिस्थितिमा पनि आत्तिइहाल्नुपर्ने अवस्था कमै मात्रामा देखिएको छ । तर उनीहरूलाई भविष्यमा मानसिक समस्याहरू नआओस् भनेर सतर्कता अपनाउन भने जरुरी छ । यो बन्दाबन्दी कति लम्बिने हो, हाम्रो देशमा कोरोना भाइरसको संक्रमण अवस्था कस्तो हुने हो र बन्दाबन्दी खुकुलो भए पनि विद्यालयहरू कहिले खुल्ने भन्ने अन्योल कायमै छ । त्यसैले यतातर्फ पनि ध्यान दिनु आजको आवश्यकता हो ।
(‘विश्व किशोरी दिवस’को अवसरमा शुक्रबार हाम्रो कोशी आवाज डटकम र प्लान इन्टरनेशनल नेपालले आयोजना गरेको ‘गल्स टेक ओभर’ अनलाइन कार्यक्रममा अप्सरा खत्रीले एक्टिङ इडिटरको जिम्मेवारी निर्वाह गर्दै प्रकाशित लेख)

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप