कोरोना रोक्ने दायित्व


  • सिर्जना सापकोटा
  • २०७७ असोज २१

कोरोना भाइरस संक्रमणको प्रभाव विश्वको हरेक क्षेत्रमा परेको छ । जसका कारण पूरै संसार नै त्रसित बनेको छ । विश्व प्रभावित भइरहेको बेला नेपालका सातवटै प्रदेश समेत संक्रमणबाट अछुतो रहन सकेको छैन । महामारीबाट लड्नका लागि सरकारी तवरबाट र अग्रपंक्तिका कार्यकर्ता सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत सबैको तहबाट अनेकन प्रयत्न गर्दा पनि न्यूनीकरण र व्यवस्थापन गर्न निकै हम्मेहम्मे परिरहेको अवस्था छ ।
विश्वका शक्तिशाली राष्ट्रदेखि विकासोन्मुख समेत विश्वका सबैजसो मुलुकहरु कोभिड–१९ को संक्रमणका कारण राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, औद्योगिक लगायत समग्र क्षेत्रमै कल्पना गरेको भन्दा धेरै संकटको अवस्थामा पुगिरहेको छन् । विश्वका हरेक देशमा यसले हुने खानेदेखि श्रमिक तथा निम्न वर्गीय नागरिकसम्म प्रत्यक्ष रुपमा र आम जनमानसमा दीर्घकालीन रुपमा मानसिक र मनोसामाजिक असर हुने गरी ठूलो असर पुरयाइरहेको छ ।
विश्वका सबै राष्ट्रमा स्वाथ्यको क्षेत्रमा प्रत्यक्ष रुपमा असर पुरयाउँदै ठूलो मानवीय क्षति भइरहेको अवस्था विद्यमान छ । नेपाल समेत यसको प्रभावबाट अलग हुन सकिरहेको छैन । नेपालको अवस्थालाई गहिरिएर कोभिडका बारेमा अध्ययन गर्ने हो भने संक्रमणको दर एकबाट शुरु भएर हजारौं नाघिसकेको छ । मृत्यु पनि दैनिक क्रमिक रुपमा बढ्दै गएको अवस्था छ । यो क्रम दैनिक बढ्दो रुपमा छ ।
नेपालको बारेमा कोरोनालाई अझ गहिरिएर अध्ययन गर्दै गर्दा यसले थुप्रै चुनौतिहरु देखा पर्न सक्छ । कोरोना महामारी नियन्त्रणका लागि धेरै समस्या उल्झनहरु रहेता पनि मुख्यतया नेपालमा तीन मुख्य चुनौती रहेको देखिन्छ । सरकारको संघीय संरचना, स्वास्थ्य सेवा र मानव व्यवहारका कारण कोरोना महामारी नियन्त्रणमा चुनौती र केही अवसर समेत रहेको पाइन्छ । नेपालमा अहिले संघीयता लागू भई सुरुवाती कार्यान्वयनमा छ । यहाँ तीन तहका सरकार छन्, यी सरकारबीच तादम्यता हुँदै उचित सहकार्य र समन्वय एकदमै महत्त्वपूर्ण हुन्छ । महामारीमा केन्द्रीय सरकारले मात्र सबै भूमिका खेल्न सक्दैन । प्रदेश सरकार र मातहतका निकायमार्फत् स्थानीय गाउँपालिका र नगरपालिकाको सहयोगमा स्वास्थ्यकर्मीहरुले संक्रमितको पहिचान तथा उनीहरुको सम्बन्ध गहिरो ढंगले केलाएर केस इन्भेस्टिगेसन् र कन्टयाक्ट ट्रेसिङको काम प्रभावकारी रुपमा गर्नुपर्छ ।
तीनै तहका सरकारबीच कामको बाँडफाँड र नजिकको समन्वय हुनु जरुरी छ । प्रभावकारी समन्वय र सहकार्य गर्न सकिएमा महामारी नियन्त्रणमा महत्वपूर्ण टेवा पुग्नेछ । र समन्वयमा आ–आफ्नो तवरको दायित्व बहन, जिम्मेवारी निर्वाह र तदारुकता हुन नसक्दा सङ्क्रमणको समस्या पनि थपिन सक्छ ।
दोस्रो महत्वपूर्ण कुरा स्वास्थ्य सेवासँग सम्बन्धित छ । संविधान प्रदत्त स्वास्थ्य अधिकार सुनिश्चित गर्दै पहुँचयोग्य, सर्वसुलभ, उच्च गुणस्तरसेवा वर्षभरि नै उपलब्ध गरिनुपर्छ । नेपालको हाल उपलब्ध स्वास्थ्य सेवा थप सर्वसुलभ बनाउनुपर्छ भने विद्यमान सेवाको गुणस्तर अझ सुधार हुनुपर्छ । कोरोना महामारी नियन्त्रणका लागि हरेक तह र स्थानमा पर्याप्त स्वास्थ्यकर्मीको व्यवस्थापन, सुविधा र अस्पताल छन् कि छैनन् त्यो महत्त्वपूर्ण हुन्छ ।
यसको तयारी सरकारी, निजी र गैरसरकारी क्षेत्रबाट समेत सहयोगात्मक सबै मिलेर तत्कालै थप बढावा हुने गरी गर्नुपर्दछ । सरकारले अहिले कोरोना महामारी नियन्त्रण र व्यवस्थापनमा उल्लेख्य लगानी गरिरहेको छ । ७७ जिल्लामा रहेको स्वास्थ्य कार्यालयलाई अझ बढी जिम्मेवार बनाई थप सशक्त र अग्रसर गराइ नेतृत्वदायी कृयाकलापमा सहभागी हुने अवसर दिलाई जिल्ला भरका स्थानिय तहसँगको एकिकृत समन्वय र सहकार्य स्थापित गरी दिगो रुपमा प्राविधिक सहजिकरण दिन सके अझ सहज रुपमा महामारी व्यवस्थापन गर्न सकिन्छ ।
महामारीको बेलामा गर्भवती सेवा, सुत्केरी सेवा, खोप, दीर्घ रोग सेवा, उमेर अवस्था पुगेका पाको उमेरका मानिसलाई दिने स्वास्थ्य सेवा लगायतका अन्य जनस्वास्थ्यका प्राथमिकता प्राप्त सेवा तथा कार्यक्रमहरु सेवा प्रभावित हुन हुँदैन । यी सबैलाई नियमितता, सर्वसुलभ र पहुँचयोग्य बनाइरहनु जरुरी छ ।
कोरोना रोकथामका लागि सरकारले मात्र काम गरेर, अग्रपंक्तिमा कार्यरत सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको मात्रपुर्ण भर परेर यस्लाई रोकथाम र न्यूनीकरण गर्न सकिँदैन । यसका लागि स्वयं व्यक्ति व्यक्तिको व्यवहार आनिबानी समेत परिवर्तन हुनु पर्छ । विश्व स्वास्थ्य संगठन र नेपालसरकारले आह्वान गरेका विषयलाई जनस्तरबाट समेत पुर्णरुपमा लागू समेत गरिनुपर्छ । विभिन्न स्थानमा वा कार्यकक्षमा स्वास्थ्यकर्मी लाई दुव्र्यवहारर अबहेलना गरेर कोरोनालाई रोकथाम गर्न सकिदैन । कुनै पनि स्वास्थ्यकर्मीले बिरामीलाई उपचार नगरौं र मर्न दिनुपर्छ भन्ने विश्व मै कहिकतै हुँदैन र हालसम्म गरेका पनि छैनन् । अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई पूर्णरुपमा साथ र समर्थन गरी उच्च मनोबलका साथमा काम गर्ने वातावरण समेत सृजना गरिनुपर्छ ।
नागरिकको तर्फदेखि कोरोनाबाट बच्नका लागि अनिवार्य मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, पटक पटक साबुन पानीले हात धुने जस्ता जनस्वास्थ्यका मापदण्ड र व्यवहार दिगो रुपमा पालना गर्दै जाने बानीको विकास गरिनुपर्दछ । दैनिकजसो स्वास्थ्य मन्त्रालयले जारी गर्ने सन्देश र निर्देशनको पूर्ण पालना गर्नु पर्दछ । अनावश्यक समाचार र अफवाहको पछि नलागी सत्य तथ्य समाचार र विषयवस्तुमा मात्र ध्यान केन्दित गरिनुपर्दछ । सामाजिक सञ्जालमा प्रवाह हुने र भइरहेका अनाधिकारिक विषयमा ध्यान नलैजाने, दिनमा एक पटक मात्र कोभिड संक्रमणको अपडेट सुन्ने वा हेर्ने गरौं, आफू र आफ्नो परिवारको मानसिक स्वास्थ्यमा विशेष ध्यान दिने । कोभिड–१९ जाँचका लागि नमूना संकलन गरेको छ भने नतिजा सार्वजनिक नहुन्जेल अन्य बाहिरी व्यक्तिहरुसँग सम्पर्कमा नआउने, अनावश्यक बाहेक भिडभाड नगर्ने, नजाने र संयमित भै घरमै बस्ने बानीको विकास गर्दै जाऔं, आफू बचौ र समुदाय, राष्ट्र र विश्वकै लागि हरेक नागरिकले आफ्नो कर्तव्य सम्झी सहयोग गरौं । सरकारले के गरयो भन्दा पनि मैले के गरे भन्ने सोच गरौं । आफू बचौ र अरुलाई पनि बचाऔं ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप