सुनको मूल्य दिनहुँ किन तलमाथि ?


  • सुमित्रा कार्की
  • २०७७ असोज २०

धरानः नेपाली बजारमा पछिल्लो समय सुनचाँदीको मूल्यमा घटबढ भइरहेको छ । दिनहुँजसो कि तल कि माथि भइरहेको छ ।
अहिलेको सुनचाँदीको राम्रो ब्यापार हुने समय हो । तर, कोरोना महामारीका कारण सुनको मूल्य इतिहासकै उच्च विन्दुमा पुगेपछि ब्यापार ठप्पप्रायः बनेको छ ।
२३ साउनमा सुनको मूल्य १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेर इतिहास रचेको थियो। पछिल्लो समय भने ९० हजारदेखि एक लाखबीचमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
असोज महिना सुरु भएदेखि १९ गतेसम्म आइपुग्दा सुनको मूल्य दुई हजार पाँच सय रुपैयाँले घटेको महासंघले जानकारी दिएको छ । गत वर्षहरुको तुलनामा यो वर्ष सुनचाँदीको व्यापार ५ प्रतिशत पनि नभएको मञ्चका अध्यक्ष गणेश प्रसाद लकान्त्री बताउँछन् ।
कोरोनाका कारण अहिले अति आवश्यकबाहेक सबैखाले ब्यापार ठप्पजस्तै बनेको उनको भनाइ छ । उनी भन्छन्, ‘सामान्य समयमा हो भने अहिले सुनचाँदीको खरिद–बिक्री सबैभन्दा धेरै हुने समय हो। तर, यो वर्ष मूल्य पनि बढेको छ । कोरोना महामारीका कारण मानिसहरु आर्थिक संकटमा परेका छन्। जसले गर्दा क्रेताभन्दा बिक्रेता धेरै आइरहेका छन् ।’
पछिल्लो समय बजारमा सुनको मूल्य अस्थिर हुनुका मुख्य कारण कोरोना भाइरसलाई नै मान्न सकिने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेज रत्न शाक्य बताउँछन् ।
यतिबेला अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा तल–माथि हुने क्रम चलिरहेको छ । जसका कारण नेपाली बजारमा पनि त्यसको असर परेको उनको भनाइ छ ।
अरु वर्ष पनि यो समयमा सुनको मूल्य तलमाथि हुने गथ्र्यो । तर यो वर्ष अन्य वर्षजस्तो सामान्य अवस्था नभएकाले त्यस्तो भएको उनको भनाइ छ । उनी भन्छन्, ‘अबको केही समयसम्म बजारमा सुनको मूल्य यही आधारमा घटबढ हुनेछ । कोरोनाको कारण मासनिसले आफ्ना लगानी सुरक्षित गर्न सुनमा लगानी गरिरहेका छन् ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम दम्पतीलाई कोरोना संक्रमण भएसँगै विश्वको अर्थतन्त्रमा हलचल आएको र अमेरिकी डलरको मूल्यमा पनि गिरावट आएकाले सुनको मूल्य घटबढ भएको उनको बुझाइ छ ।
यता सुनचाँदी व्यवसायी महासंघका अध्यक्षका अनुसार सुनको मूल्यमा घटबढ हुनुको कारण नेपाली पैसा मजबुत भएकाले हो । उनी भन्छन्, ‘अहिले डलरको भाउ ११८ रुपैयाँमा झरेको छ । जुन बेला सुनको मूल्य उच्च थियो, त्यो बेला डलरको भाउ पनि १२१ रुपैयाँसम्म पुगेको थियो। यसको असर सुनचाँदीको बजारमा देखिएको हो ।’

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप