नियात्राः जिसस क्राइष्ट जन्मिएको ठाउँ पुग्दा


  • भीम राई
  • २०७७ असोज १८

जिन्दगी एकदम छोटो तर पुग्नुपर्ने निक्कै धेरै छन् भन्दै जुलाई २०१४ मा हामी तेल अभिव पुगेका थियौ । भूमध्य सागरको दायाँ किनारमा अवस्थित तेल अभिव जेरुसेलम पछाडि इजरायलको दोश्रो ठूलो सहर थियो । तेल अभिवदेखि गुडेको एउटा ट्याक्सी मध्यपूर्वको पार्टी क्यापिटल भनेर चिनिने जेरुसेलमको एक चक्कर मारेर पश्चिमी पर्खालमा रोकिएको थियो । ट्याक्सी रोकिने साथ तारा र म पर्खालको सिधै अगाडि रहेको विशाल चोकमा पुगेका थियौं ।
यहुदीहरुको महापर्व ‘सुकोत’ को बेला लगभग ६० हजार मानिसले टन्न भरिने त्यो चोक त्यसदिन त्यति ब्यस्त देखिएका थिएनन् । हामी त्यहाँ पुग्दा मानिसहरू जति नै अग्लो फलामे पाताले बारेर चोकलाई दुई भागमा छुट्याइएका प्रष्टै देखिन्थे । तिनै पवित्र तिर्थस्थलको दाहिनेतिर महिलाहरूको लागि प्रार्थना गर्ने छुट्टै सानो ठाउँ थियो । र, देब्रेतिर पुरुषको लागि निक्कै धैरै ठाउँ छुट्याइएको थियो ।
हामी त्यहाँ पुगेर पहिले बायाँतर्फ मोडियौं किनभने त्यो कुनामा एक हुल तिर्थयात्रीहरू झुरुप्पै उभि रहेका देखिएका थिए । जब हामी उनीहरूको नजिक पुग्यौ, तब हामीलाई थाहा भयो कि त्यहाँ अलिखित कागजका टुक्राहरु लिन पाइने रहेछन् ।
मैले पनि त्यहाँ पुगेर थपक्कै कागजका दुई वटा टुक्राहरु टिपें । एउटा टुक्रा म सँगसँगै राखे र अर्को तारालाई दिए । कागज राखिएको नजिकै कुनामा केही सिसाकलमहरु पनि थिए । एउटा सिसाकलम टिपे र तिनै टुक्रा कागजमा मेरा मनमा लागेका अभिलाषाहरु साना तिना अक्षरहरुमा परिणत गरे ।
मैले त्यति लेखिसकेपछि –
‘तिमीलाई मनमा जे जे लागेका छन् त्यही कुरोहरु लेखेर छाड’, भन्दै त्यो सिसाकलम तारालाई दिए ।

कुना पट्टि घोप्टिएर उनले पनि केही लेख्न थालिन् तर कुन्निँ के के लेखिन् मैले केही जान्न खोजिनँ । उनले लेखिसकेपछि केही नबोली सरासर महिलाहरुले प्रार्थना गर्ने ठाउँतिर लागिन् ।
तारा महिलाहरुको भीडभित्र पसिन् र सुस्तरी मेरो दृष्टिबाट बिलीन हुँदै गइन् । उनी पूर्णरुपले विलुप्त भएपछि म पनि मेरो बाटो लागे । तर मेरो सिधै अगाडि एउटा टेबल देखा परयो । त्यस टेबलमाथि पुरुषहरुले तालु ढाक्दा प्रयोग गरिने किप्पाहरु राखिएका थिए ।
‘वेस्टर्न वाल’ पश्चिमी पर्खालमा पुग्ने हरेक पुरुषले टोपी लगाएर टाउकोलाई अनिवार्य ढाक्न पथ्र्यो । त्यसैले किप्पा देख्ने बितिक्कै एउटा टिपे र शिरमाथि लगाइहालें । तर कतै टाउको देखी खसिहाल्छन् कि भनेर एकचोटी निश्चित गरे । त्यसपछि लम्रङ लम्रङ हिँड्दै जाँदा केही अगाडि पुगेर मेरा कदमहरु अनायसै रोकिन पुगे ।
म जहाँ उभिएको थिए, त्यहाँबाट पश्चिमी पर्खालको पुरै भाग छ्याङ्गै देखिएका थिए । चुनढुङ्गाबाट निर्मित पर्खाल लगभग दुई सय फिट जति लामो थियो । जसलाई यहुदीहरुले छोटकरीमा ‘कोटेल’ भनेर चिन्दथे । पर्खालको मुनिको भागमा ज्यादै ठुल्ठुला ढुङ्गाहरु थिए । अनि जति जति उभो जान्थ्यो ढुङ्गाको आकार घट्दै घट्दै जाँदा करिब ६० फिटसम्मको उचाइँमा पुगेर पर्खाल सकिएको थियो ।
कोटेलको सिधै पछाडिपट्टि ‘डोम अफ द रक’ थियो । जसको छानो सुनौला रङ्गका तर अर्ध अण्डाकार देखिन्थे । मैले नियालेर हेरिरहदा त्यो गुम्बज कताकता मध्याह्नको सूर्यसँग लुकामारी खेलिरहेको जस्तो आभास हुन्थ्यो ।
म विश्वको अति कम विकसित राष्ट्रमा हुर्केको र फिरन्ते हुँदै पवित्रभूमि, ‘जेरुसेलम’ पुगेर सुनदेखि बनेका गुम्बजको ढाँचाकाँचा हेर्दा मेरा घोक्रोबाट एक मुठी लोभको थुक उब्जियो । एकछिन पछि त्यो अजिर्णको अमिलो थुकलाई घुटुक्क गर्दै निलेर बिदाइ गरी पठाइदिएँ । तर एउटै पर्खालको पारीपट्टि मुसलमानहरुको त्यति विशाल मस्जिद र पर्खालको वारीपट्टि यहुदीहरुको पवित्रस्थललाई सम्झँदा भने मेरो आङ सिरिङ्ग भइरह्यो ।
जिन्दगीमा एक पटक पुग्नैपर्ने त्यो पवित्र पर्खाललाई रोमन सम्राट ‘हेरेड द ग्रेट’ ले निर्माण गरेका थिए । इसापूर्व १९ अथवा लगभग दुई हजार वर्ष अगाडि बनेको पश्चिमी पर्खाल पुग्दा केहीबेर हर्षले आनन्दित बनिरहें । त्यसपछि पर्खालको नजिक पुगेर अल्पछिद्रमा मेरो आकाङ्क्षापत्रलाई कच्याककुचुक बनाएर जब्बरजस्ती अड्काइदिएँ ।

‘के तपाई पनि यहुदि धर्मको अनुयायी हो ?’
पर्खालबाट हात हटाएर फर्कदै गर्दा एकजना अपरिचित ब्यक्तिले मलाई अचानक त्यस्तो प्रश्न गरे । उसको प्रश्न सुनेर म झसङ्ग झस्कें ।
‘धर्म मानिसका लागि अफिम हुन्’ भन्ने विचार लिएर शेष जीवन नास्तिक बनाइसकेको थिएँ । तर अचानक यहुदिहरुको पवित्र तिर्थस्थल अगाडि आएको त्यस्तो प्रश्नको जवाफ अब के दिने होला भनेर एक छिन दुविधामा परिरहें ।
‘के तपाई पनि जापानिज हो ?’
उसले अङ्ग्रेजी भाषामा नै दोस्रोपटक मलाई सोधे । त्यसपछि मैले टाउको हल्लाएर ‘होइन, होइन’ भन्दै मेरो मौनतालाई भङ्ग गरिदिएँ ।
त्यसरी मलाई प्रश्न गर्ने मानिस जापानिजमूलका नागरिक थिए । र, उसको नाम ‘हारुकी मुराकामी’ भनेर मलाई बताए । त्यति मात्रै नभएर उनी यहुदी धर्मावलम्वी भएकोसम्म मलाई सुनाए । उनको भनाइले मलाई खासै असर त परेन तर उसले मलाई जापानिज जस्तो देखेका र यहुदीहरुको तिर्थस्थलमा भेट्दा यहुदी धर्मावलम्वी होलान कि भन्ठानेका थिएँ । बरु मैले उनलाई प्रतिउत्तर दिने क्रममा सामन्य झारपात हुँ भनेको सुनेर बिचरा मुराकामीधिर सोचाइमा परिरहेका थिएँ ।
मन भित्र लागेका आकाङ्क्षा पर्खालमा सेलाएर फर्कदै गर्दा भेटिएका जापानिजले मलाई तर्सेको मिर्ग झै बनाइदिए । त्यसपछि पुनः म एक धुनमा हिँड्न थालें ।
तारा केही समय अगाडिदेखि चोकको बीच भागमा मेरो प्रतिक्षा गरेर उभिरहेकी थिइन् । उनले मलाई देख्नेबित्तिकै हामीले पर्खालमा राखिछाडेका ‘विस’ हरु अब के हुन्छ भनेर सोधिन् । सबै कागजका टुक्राहरु बटुलेर वर्षको दुईचोटी जलाइन्छन् । नत्रभने यहुदीहरुको समाधिस्थल नजिकै गाड्ने चलन छ भनिदिएँ ।
त्यसपछि हामी क्रमशः हिड्दै ट्याक्सीको नजिक पुग्यौं । चालक बेन्जामिनले डेढ घण्टा अगाडिदेखि हामीलाई पर्खेर बसिरहेका थिए । ट्याक्सीभित्र पसेर सिटको पेटी बाँध्न नपाउँदै उसले ट्याक्सीको चक्का गुडाइहाले ।
हामीले हात हल्लाएर ‘जेरुसेलम’ बाइबाइ भन्दै ओल्ड सिटी जेरुसेलमलाई सधैको लागि बिदा गरयौं । लगभग आधा घण्टाको यात्रापछि संसारको सबैभन्दा जोखिमपूर्ण इजरायल र पेलेस्टाइन सिमाना ‘एरिया ए जोन’ पुगेका थियौं । तिनै सिमानामा भिमकाया कँक्रिटका अवरोधहरुले राष्ट्रको पहरेदार गरिरहेका थिए । बिबिसी टेलिभिजनको पर्दामा देखिने विवादित सीमाना आफ्नै अगाडि देख्दा हामी केहीबेर उदास बनिरह्यौं ।

अझै कंक्रिटबाट निर्मित बडेमाको त्यो पर्खाललाई इजरायलीहरुले ‘आतङ्ककारी छेक्ने पर्खाल’ भन्ने उपनाम दिएको सम्झँदा म झन् झन् भावुक बनिरहें । अनि पटक पटक आरपिजीको निशाना बन्नुपर्ने त्यो सीमानामा पुग्दा किन किन मेरो हृदय बिराजी भइरहेका थिए ।
सीमानाको ठिक अगाडि पुगेर अन्तिमचोटी ट्याक्सी रोकियो । बेन्जामिनलाई त्यहीँबाट बिदा गरेर तेल अभिव फर्काइदियौं । किनभने सीमानाको पारीपट्टि इजरायली गाडीहरु जान प्रतिबन्धित थिए । अनि तारासँग जोडी मलसाप्रो झै लुखुर लुखुर हिँडेर अध्यागमन भित्र छिर्न थालेका थियौं ।
केहीबेर हिँडेर विश्वको अति खतरापूर्ण सीमाना पार गर्दै गर्दा उच्च सतर्कता अपनाउनुपर्छ भनेर मैले तारालाई सुटुक्क सुनाउँदा, ‘त्यस्तो जाबो कट्टुमा पिसाव फेर्दै फेर्दै हिँड्नेले के संसार घुम्न रहर गर्नुपर्ने होला ?’ भन्ने नमिठो जवाफले मेरो कानको जालि नै फुटेझैं बोध भयो ।
त्यै पनि उनको भनाइलाई मैले ‘परालको आगो’ सँग तुलना गरे र मेरा कदमहरु क्रमशः अगाडि चालिरहें । त्यसरी हिँड्दै जाँदा समय समयमा आएको मन्दमन्द हावाको गतिले मेरो अनुहारमा हल्का छोइरहेको आभाष हुन्थ्यो । तर जेरुसेलमको त्यसदिन भयङ्कर गर्मीले गुज्रिरहेको थियो । पवित्र भूमिको प्रचण्ड गर्मी र जोखिमपूर्ण सीमानामा उत्पन्न भयले मेरो कमिज लुत्थुक्रै भिजेका थिए ।
एक हातमा पानीको बोतल र अर्को हातमा कुसुमे रुमाल लिएर बल्ल तल्ल इजरायली अध्यागमन कर्मचारी बैनीको अनुहार नजिक पुग्दा मैले थोरै शान्तिको सास फेरेका थिए ।
मेरो सम्पूर्ण शरीर पसिनै पसिना भएका थिए । तै पनि त्यहाँ पुगेर हल्का मुस्कानसहित मेरो राहदानी उनलाई थपक्कै टक्र्याइदिएँ । उनको हातमा राहदानी परेपछि मलाई एक झलक मज्जाले हेरिन् । अनि एक्कै शब्द नबोली पानाहरु फरर पल्टाइन् । त्यसपछि फिसिक्कै मुस्कानका साथमा राहदानी फर्काइदिइन् । उनलाई भारी कृतज्ञता प्रकट गर्दै फेरि भेटौला है ‘देबेर इटी’ भन्दै बिदा भए ।
अध्यागमनको सुनसान कोठाको भुईमा सिङ्गमरमर बिछ्याइएका थिए । हामी तिनैमाथि टक टक जुत्ताको आवाज निकाल्दै केहीबेर नबोली हिँडिरह्यौ । त्यसरी हिँड्दै गर्दा मेरो लिभरपुलको अनन्य मित्र जोन फिलिप्सको एउटा भनाइलाई त्यहाँ पुगेर झल्यास्स सम्झें ।
‘तपाईले जेरुसेलम छान्ने होइन, जेरुसेलमले तपाईलाई छान्ने छन् ।’
साँच्चै अनेकन ब्यावधानहरु पार गर्दै हामी जेरुसेलम पुगेका थियौं । उसको त्यो महानवाणी सम्झँदा मेरो हृदयको एउटा कुनामा यदाकदा घोचिरहेको अनुभूति भयो ।
हामी अध्यागमन पार गरेपछि विस्तारै बाहिर निस्क्यौं । त्यतिबेला हाम्रा कदमहरु वेस्ट बैंक, पेलेस्टाइनमा परि सकेका थिए । त्यहाँदेखि लगभग तीन सय मिटर जति अगाडि हिँडेर ट्याक्सी स्टेसनमा पुग्यौ । स्टेसन पुग्नेबितिक्कै एउटा ट्याक्सी समात्यौं र जेसस क्राइष्टको जन्मस्थल ‘चर्च अफ नाटीभिटी’ जानको लागि चालकलाई अनुरोध गरयौं ।

चालकले औंलामा गन्न सकिने अङ्ग्रेजी शब्दहरु मात्र बोल्न जान्दथे । तैपनि यात्रु पाउन अगावै ह्याण्ड ब्रेक खोलेर हिँड्नको लागि तयार थिए । जब हामी ट्याक्सीभित्र पस्यौं तब ट्याक्सी ओरालोमा आफै गुड्न थाल्यो । ट्याक्सी गुड्न थालेपछि पेलेस्टाइनका एकदम उजाड भूमि एवम् सुख्खा जमिनहरु क्रमशः देखा परिरहे । तिनै पूर्व रणभूमिको नरमाइला दृश्य देख्दा हाम्रा कोमल हृदयहरु वितृष्णासहित भौतारिन थाले ।
जति जति ट्याक्सी अगाडि गुड्दै जान्थ्यो । बाटोहरु ससाना धागाका डोरा जत्रा देखिन्थे । त्यति सानो बाटोमा फुच्चे ट्याक्सीले घरी उकाली र घरी ओराली गरिरह्यो । अझै अनगिन्ती घुम्तीहरुमा पिङ खेलाउँदै लाँदा ताराले बिहानै हसुरेका ‘इजरायली ब्रन्च’ लाई हुलुलु ओकली पठाइन् । फर्मूला वानका विश्व च्याम्पियन चालक लुविस ह्यामिल्टनको नक्कल गर्दै ट्याक्सी हाँक्ने पेलेस्टाइन चालक अबदुल्लाले तारालाई अर्धलाश बनाएर क्रिस्चियनहरुको पवित्र धार्मिकस्थल बेत्लेहेमको ‘नाटिभिटी’ मा मुश्किलले पुरयायो ।
हामी नाटिभिटी गिर्जाघर पुग्दा बेत्लेहेमको समय दिउँसोको दुई बजिसकेको थियो । चट्टानको बीच भागमा बनेका तिनै सुन्दर गुफाभित्र परम प्रभु जेसस क्राइष्टको जन्म भएको थियो । उहाँ जन्मनु भएको लगभग तीन सय वर्षपछि तत्कालीन रोमन साम्रज्य ‘कन्स्टान्टिन महान’ ले त्यो गिर्जाघरको निर्माण गरिदिएका थिए ।
गिर्जाघर निर्माण भएको लगभग दुई सय वर्षपछि समारिटान विद्रोहीले त्यहाँ हमला गरेका थिए । त्यो हमलाले गिर्जाघर भत्केर पूर्ण नष्ट भएको थियो । धैरै लामो समय पछि बाँकी रहेका देवल र ढुंगाहरुलाई जतन गरेर बैजान्टिन सम्राज्यले पुनः नाटिभिटीको पूर्णरुप दिएका थिए । जहाँ ‘रोमन क्याथोलिक’ र ‘ग्रिक अर्थोडक्स’ गिर्जाघरहरु समानन्तर रुपले खडा भएर रहेका थिए ।
हामी केहीबेर गिर्जाघर बाहिर प्राङ्गणमा आराम गरेर बस्यौ । थोरै आराम गरेपछि ताराको अनुहारमा हल्का सूर्यको लाली उदाउन थाल्यो । त्यसपछि शिर निहुँरयाए मुख्य द्वारबाट भित्र छिरयौं । गिर्जाघर भित्र पस्ने बितिक्कै देखिएको भक्त्तहरुको भिडले ताराको खुशी त्यति धेरै लामो समय थाम्न सकेनन् ।
गिर्जाघरभित्र लगभग पाँच सय जना जति मानिसहरु देखिएका थिए । त्यति धेरै भिड देखेर कटक्कै भाँचिएको ताराको मन जोड्न मैले पानीको बोतल खोलेर थपक्कै टक्र्याइदिएँ ।
हामी पवित्र भूमि (जेरुसेलमदेखि करिब पाँच हजार किलोमिटर टाढा लण्डनबाट आएका थियौं ।) जिसस क्राइष्टको जन्मस्थान हेर्न आतुर आतुर हाम्रा अनुहारहरु भीड देखेर कच्याक्ककुच्चुक भएका थिए । तर हामीसँग केही अन्य उपाय नभएपछि आफ्नो पालो पर्खेर पङ्क्तिबद्ध भएर उभिरह्यौं ।
अति पट्यारलाग्दो प्रतिक्षाको घडी लगभग दुई घण्टा पछि अन्त भयो । त्यसपछि हामी गिर्जाघरभित्रको सानो ढोका अगाडि पुगेका थियौं । जुन ढोकाबाट मुस्किलले एक जना मानिस मात्र भित्र पस्न मिल्दथे । हामी पनि पालै पालो ढोकादेखि भित्र पस्यौं अनि दुई चार सिँढी हिँडेर मुनि तलामा झरयौं । जहाँ कुमारी आमा म्यारीले जिसस क्राइष्टलाई जन्म दिएकी थिइन् ।
उहाँ जन्मेको भुईमा एउटा गोलाकार प्वाँल थियो । त्यो प्वाँलको वरिपरि चौध वटा चुच्चाहरु थिए । ताराका रुप लिएका चौध चुच्चाहरुले अब्राहमदेखि डेभिडसम्म चौध पुस्ताहरुको प्रतिनिधित्व गर्दथ्यो । कालान्तरमा डेभिड बेबिलोनमा निर्वासित जीवनयापन गर्न पुगेका थिए । अझै त्यो ताराले डेभिडदेखि चौधौ पुस्तामा जिसस क्राइस्ट जन्मेको पनि जनाउँदथ्यो ।
हामी जहाँबाट भित्र पसेका थियौं त्यसको बिपरीत दिशामा निस्कने अर्को दैलो पनि थियो । तिनै दैलोबाट बाहिर निस्किँदै गर्दा अचानक हाम्रो भेट पाब्लोसँग भयो । उनी ब्युनस आइरस, अर्जेन्टिनादेखि आएका रहेछन् । हाम्रो संक्षिप्त भेटमा उसले जिसस क्राइष्टको विषयमा केही सूचना प्रवाह गर्न थाल्यो ।
जिसस क्राइष्टको जन्म २५ डिसेम्बरमा यही भएको थियो । जुन कुरा बाइबलको नयाँ नियममा सत्यतत्य बताउने गोस्पल म्याथुले भनेका छन् । गोस्पल लुकका अनुसार चाहिँ उहाँ जन्मनुभएको खबर सबैभन्दा पहिले नजिकै भेडा चराइरहेका गोठालाहरुले पाएका थिए । देवदुतले त्यो खबर गोठालाहरुलाई भगवानका सन्देशवाहक जेससको जन्म भएका छन् भनेर बताएका थिए ।
देवदुतले दिएको शुभ खबर पाएपछि एक हुल भेडा गोठालाहरु यिनै गुफामा आएका थिए । उनीहरुले यहाँ गाइवस्तुलाई खाना खुवाउने काठका डुँडमा थाङ्नाले बेरेर सुतिरहेका एउटा बच्चालाई देखेका थिए । र, बच्चाको नजिकै उहाँको कुमारी आमा ‘भर्जिन म्यारी’ बसिरहेकी थिइन् ।
हामीलाई त्यति भनेर पाब्लो हाम्रो अगाडि अगाडि हिँड्यो । म अन्य कुरोहरु बुझ्नको लागि उनको पछि पछि लागिरहें । उ सरासर गिर्जाघरदेखि बाहिर निस्क्यो । म पनि बाहिर निस्केर पछ्याउदै फेरि उसको नजिकै पुगे । त्यसपछि उसले मलाई जिससको बारेमा पुनः बताउन थाले ।
जिसस जन्मेपछि यहुदीहरुले भगवानका सन्देशवाहक जेसस क्राइष्टलाई परम प्रभु येसु भनेर सम्बोधन गर्न थालेका थिए । जेससको जन्म डिसेम्बरमा भनिएको छ । तर ठ्याक्कै कहिले होला, भनेर किटन गर्न चाहिँ निक्कै मुस्किल नै पर्दछ । किनभने उहाँको जन्म भएको तीन सय वर्ष पछि मात्रै सबै कुरोहरु बाहिरी संसारमा आएका थिए ।
तर एउटा रोचक पक्ष चाहिँ के भयो भने प्रभु यशु यहुदीहरुको भविष्यका राजा हुन् भन्ने हल्ला इजरायल भरि फैलियो । जुन होहल्ला तत्कालीन शक्तिशाली रोमन सम्राट ‘हेरोड महान’ को कानसम्म पनि पुग्यो । त्यो हल्ला सुन्ने बितिक्कै सम्राट हेरोडले उहाँको दर्शनको लागि अनुरोध गर्नुभयो । परम प्रभुको दर्शन असफल भएपछि सम्राट हेरोडले त्यस क्षेत्र वरिपरिका दुई वर्ष भन्दा मुनिका सबै बच्चाहरुलाई मार्ने उद्घोष गर्नुभयो ।

त्यो निर्दोषहरुको हत्याकाण्ड ‘मसाकार अफ इन्नोसेन्ट’ चाहिँ इसा पूर्व ४ (बिसी) मा भएको थियो । यदि त्यसैलाई आधार मान्ने हो भने जिसस क्राइष्टको जन्म त्यस्तै इसापूर्व ४ (बिसी) देखि इसा पूर्व ६ (बिसी) भित्र भएको हुन सक्दथ्यो ।
पाब्लोले त्यति भनिसकेपछि उसको श्रीमती नजिकै आइपुगिन् । उनको अचानक उदय भएपछि सोफियासँग हाम्रो सानो परिचय भयो । उनी गिर्जाघरबाट बाहिर निस्कन केही ढिलो गर्नाले प्रभुको भक्त पाब्लोबाट मैले धरै ज्ञान आर्जन गर्न सके । त्यसपछि उनीहरु हामीबाट सधैको लागि बिदा भए ।
त्यसबेला गिर्जाघरको समय ठ्याक्कै साढे चार बजिसकेको थियो । हाम्रो नजरबाट पाब्लो र सोफिया बिलिन भएपछि तिनै गिर्जाघर लाई ब्रम्हाण्डको बीच ‘सेन्टर अफ युनिभर्स’ मानेर केहीबेर त्यहीँ उभिरह्यौं ।
त्यसपछि म थोरै अगाडि हिँडेर प्राङ्गणको छेउमा पुगे । अनि दाहिने हातले गिर्जाघरको पर्खाललाई छोएर केहीबेर गज्रक्क परेर घोत्लिरहें । मेरो सामुन्ने वेस्ट बैकंका उजाड हरहोमा गाउँको पातलो बस्ती देखा परिरहेको थियो । अझै डेविड पर्वतदेखि दमसाइलो हुँदै झरेका नमाइला फाँटहरुले त्यहाँ देखिएको जमिनको रङ्गजस्तै मेरो मन फुङ्ग उडिरहेका थिए ।
पवित्रभूमि – बेत्लेहेम माथिको आकाशमा मधूरो सूर्य पश्चिम दिशा ढल्किसकेका थिए । तर त्यति लोभलाग्दो सूर्यास्तले मलाई पटक्कै आकर्षित गर्न सकेका थिएनन् । त्यसको सट्टा उत्तर दिशामा पर्ने नाजरथ लाई मैले धेरैबेर नियालेर हेरे । किनभने प्रभु येसु बेत्लेहेममा जन्मेका भएता पनि नाजरथमा हुर्केका थिए ।
एक दिन प्रभुले आफ्ना १२ जना चेलाहरुसँग वसन्त ऋतुको पर्व ‘पासओभर’ मनाउँदै हुनु हुन्थ्यो । त्यो पर्व यहुदीहरुले विगत तीन हजार वर्ष देखि क्रमशः मनाउँदै आएका थिए । पर्वको अन्तिम भोज ‘द लास्ट सपर’ को बेला तिमीहरुमध्ये एकजनाले मलाई धोका दिनेछौ भनेर प्रभुले भविश्यवाणी गर्नु भएका थियो । नभन्दै जिसस खोज्दै हिँडेका रोमन प्रहरीहरुको सामुन्ने आफ्नै चेला जुडास इसकारियटले उहाँको गालामा ‘कलङ्कित चुम्वन’ गरेर प्रहरीहरुलाई चिनाइदिएका थिए ।
प्रहरीहरुले प्रभुलाई पक्रेपछि ‘प्रेक्टोरियम’ अदालतले मुद्दा छिनोफानो नगरिन्जेलसम्म कारागारमा राखे । उहाँलाई कारागारको पर्खालमा दुवै हातखुट्टा बाँधेर राखिएका थिए । जेरुसेलमको त्यो भूमिगत कारागार अहिलेसम्म पनि राम्ररी देख्न सकिन्थ्यो । अझै मलाई अचम्म त के लाग्यो भने त्यसबेला भगवानका सन्देशबाहकसँग दुई जना चोरहरु पनि सँगसँगै थुनिएर राखिएका थिए ।
प्रेक्टोरियम न्याय प्रणालीले प्रभुलाई हात गोडामा किला ठोकेर मृत्यदण्ड दिने घोषणा गरयो । त्यसपछि मृत्युदण्डको लागि उहाँलाई डोलोरोसाको पादपथ हुँदैहुँदै गोलगोथा लगिएका थियो । डोलोरोसाको मृत्युमार्गमा जाँदै गर्दा प्रभुले हातमा ‘क्रस’ बोकेर हिँडिरहनु भएको थियो ।
त्यो नरमाइलो क्षणलाई सम्झँदा मेरा नयनहरु भित्रभित्रै रसाएका मात्र थिएनन् । सुस्तरी सुस्तरी आँखाबाट आँशु बहन थालेका थिए । किनभने मेरो लागि ‘आँशु दुःखको मौन भाषा थियो ।’
‘छोरा मान्छे भएर रुनु हुँदैन’ ताराको तिखो स्वर अचानक मेरो कानमा बज्रँदा म झसङ्ग भएँ ।
प्रभु येशुलाई क्रसमा झुन्ड्याएर गोलगोथामा मृत्युदण्ड दिइएको त्यो ठाउँ कहाँ होला भनेर ठ्याक्कै पत्ता लगाउन अहिले निक्कै हम्मे हम्मे पर्दथ्यो । तर जुन बेला प्रभुलाई मृत्युदण्ड दिइएको थियो त्यतिबेला उहाँ ३३–३४ वर्षको हुनुहुन्थ्यो ।
प्रभुको मृत्यु पश्चात् आफ्नो चेला जोशेफले क्रसबाट उहाँको मृत शरीर निकालेका थिए । अनि चेलाहरुले नजिकै जमिन मुनि गाडिदिएका थिए । उहाँको शिष्यहरुले मृत शरीर चोर्छन् भनेर रोमन प्रहरीहरुले तीनदिनसम्म कडा सुरक्षा दिएका थिए । तर तीनदिनपछि परम प्रभु परमेश्वर त्यहाँबाट उठेर माथि माथि हावामा बिलिन भइसकेका थिए ।
बुइपा, खोटाङ, हालः अक्सफोर्ड, बेलायत, मेलमार्फत्

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप