धरानमा शिक्षाक्षेत्रः रनभुल्ल

न यसरी पढाऔं भनियो, न शुल्कबारे निर्णय आयो


  • हाम्रो कोशी आवाज डेस्क
  • २०७७ असोज १६

धरानः धरानमा पढ्ने बालबालिका अहिले कहाँ र कस्तो अवस्थामा छन् सबैलाई थाहा भएकै विषय हो । कोही मोबाइलमा झुन्डिएर दिन कटाउँदै छन् भने कोही आमाबाबुलाई पसलमा सघाउँदै, घरमा काम सघाउँदै । यस्तै, कोही गेम खेलेर, ल्यापटपमा रमाउँदै छन् भने कतिपय विद्यार्थी अनलाइन कक्षा पनि लिइरहेका छन् । निजीमा पढ्ने करिब तीस प्रतिशत बालबालिका अहिले पनि अनलाइन कक्षा लिइरहेको पाइएको छ । अन्य ७० प्रतिशत बालबालिकाको हालत माथि भने जस्तै हो । यस्तै, यहाँ अध्ययन गर्ने केही बालबालिका पहाड वा तराईका घर पनि पुगेका छन् ।
के स्कुल लाग्ला ?
धरानमा स्कुल खोल्ने कि नखोल्ने अहिलेसम्म धरान उपमहानगरपालिका निर्णयमा पुगिसकेको छैन । एकपल्ट हल्लामात्रै गरियो–कक्षा–८ देखि १० सम्म कक्षामै पढाउने । यसबारेमा कहाँ, किन, कसरी, कहिलेदेखि आदिको अहिलेसम्म उत्तर आएको छैन ।
कोभिड–१९ को महामारीको कारण अवरुद्ध शैक्षिक गतिविधिलाई कसरी सम्बोधन गर्न सकिन्छ , स्कुल खोल्ने नखोल्नेबारे बहस चलिरहँदा डा.राजेन्द्र शर्माको संयोजकत्वमा सुझाव कार्यदल बनायो । त्यो सुझाव कार्यदलले एउटा प्रतिवेदन बुझायो । त्यो हो– कक्षा–८ देखि कक्षा–१० सम्म विद्यार्थीलाई कक्षामै उपस्थित गराएर केहीघण्टा भएपनि पठनपाठन गराउने । त्यो प्रतिवेदनबारे अहिले पनि छलफलकै चरणमा रहेको छ ।
सो प्रतिवेदन विशेषतः अहिले ८ देखि कक्षा–१० सम्म करिब तीनघण्टा मात्रै विद्यालय खोल्ने मोडालिटीसहितको रहेको धरान उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख रत्नबहादुर कटुवालले जानकारी दिए । प्रतिवेदनमा अन्य साना कक्षाका विद्यार्थीलाई अनलाइन वा अन्य वैकल्पिक विधिद्वारा पठनपाठन भनिएको छ । यस्तै, अनलाइनबाट पठनपाठन गर्न नसक्नेलाई अन्य वैकल्पिक व्यवस्था गर्न सकिने पनि प्रतिवेदनमा जनाइएको छ । अहिले प्लस टु अथवा कक्षा–११ र १२ मा पठनपाठन के गर्ने भन्नेबारेमा अन्यौलता कायमै छ ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईले अहिले विद्यालय खोल्नेबारेमा छलफल नै चलिरहेको बताउँछन् । ‘अहिले धरानमा संक्रमण बढिरहेको अवस्था छ, अहिले पनि शिक्षाविद, प्रधानाध्यापकहरूसँग छलफल मात्रै चलिरहेको छ,’ उनले भने, ‘कतिले दशैं, तिहार, छठपछि विद्यालय सञ्चालन गरौं भनिरहेका छन् भने कतिपयले महामारीमा एक वर्ष बितेपनि केही हुँदैन भनिरहेका छन्, अर्कोथरीले घरमा केटाकेटी बिग्रिए स्कुल कहिलेदेखि लगाउनुहुन्छ पनि भनिरहनुभएको छ तर हामी भने छलफलकै क्रममा छौं ।’
धरान उपमहानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख कटुवालले अहिले नै झ्याप्पै निर्णय गरेर विद्यालय खोल्ने अवस्था नरहेको बताउँछन् । उनले स्कुल खोल्ने, नखोल्नेबारेमा स्कुललाई नै जिम्मा दिइएको बताए । ‘खासमा प्रधानाध्यापक र प्रिन्सिपलसँग भएको छलफलमा अभिभावकसँग राय, सुझाव माग्नुहोस् भनेका छौं, उहाँहरू (अभिभावक) बाट कस्तो प्रतिक्रिया आउँछ, सोहीअनुसार अघि बढ्छौं ।’ उनी भन्छन् ।
रनभुल्ल
उता धरानमा छलफल चलिरहँदा जिल्ला प्रशासन कार्यालय सुनसरीले भने नेपाल सरकारले विद्यालय, कलेज, तालिम केन्द्र, ट्युसन सेन्टरमा लगाएको प्रतिबन्ध कायमै रहेकाले जिल्ला प्रशासान सुनसरीले सबै स्थानीय तहमा लागू हुनेगरी त्यस्ता गतिविधि नगर्न भनेको छ ।
संघीय सरकार भन्छ– विद्यालय खोल्न पाइँदैन् । स्थानीय सरकार भन्छ– तत्काल स्कुल खोल । विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका भन्छ– विद्यालय खोल्न सकिन्छ । शिक्षामन्त्री– जोखिम कायम भएकोले विद्यालय नखोल्नुहोस् । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न छोडेको छैन्, खबरदार स्कुल खोल्न पाइदैन भन्न छोडेको छैन । विद्यालय खोलौं भन्ने ठीक कि नखोल्ने भन्ने ठीक सबै रनभुल्ल । लामो समयदेखि, लामो समयसम्म सबै अलमलमै रहँदा चर्को मूल्य नेपालको शिक्षा क्षेत्रले चुकाउन बाध्य हुनुपर्ने अवस्था नआउला भन्न सकिन्नँ ।
साँच्चै भन्ने हो भने अहिले न वैकल्पिक शिक्षा प्रभावकारी छ, न अन्य । कतिपय विद्यालयले शुरु गरेको अनलाइन कक्षा पनि खासै प्रभावकारी देखिएको छैन । धरान उपमहानगरपालिका अहिले पनि अलमलमै छ । अभिभावकहरू एकातर्फ आन्दोलित छन् । वैकल्पिक पठनपाठन थालेका विद्यालयले शुल्क लिन थालिसकेका छन् तर स्थानीय सरकार अर्थात् धरान उपमहानगरपालिका अलमलमा पर्दा अहिलेसम्म त्यो निर्णय समेत हुन सकेको छैन ।
के भन्छन् अभिभावक ?
हल्लै हल्लाको देशमा एकपल्ट हल्ला चल्यो– सरकारले राजश्व असुल्न लकडाउन खुलायो फेरि लकडाउन हुने रे आदि इत्यादि । त्यस्तै, धेरै अभिभावकले यो पनि सोच्दै र तर्क गर्दै आएका छन कि अब स्कुलले स्कुल खोलेर फि असुल्ने काइदा अपनाए भनेर ।
अभिभावक भने विद्यालय खुलेपनि बालबालिका स्कुल नपठाउने तर्क गर्छन् । ‘यसो हेर्दा उपमहानगरपालिकाको अलमलले स्कुल खोलेजस्तो गरेर यो फि उठाउने माध्यम पो हो कि लागिरहेको छ’, अभिभावक लीला श्रेष्ठ भन्छिन्, ‘नानीको पढाइ एक वर्ष पर धकेलियोस् तर विद्यालय खुलिहाले पनि हामी हाम्रा बालबालिका पठाउँदैनौं ।’
अर्की अभिभावक अनिता काफ्लेले अहिले छोरी पहाडमा पुरयाएकी छिन् । धरान पढ्दै गरेकी छोरी अहिले पहाडमा घाँस–दाउरा सघाउँदै आएको बताउँछिन् । ‘अहिले नानी पहाडतिरै छन्, अब जहिले कोरोना हल्ला चल्दैन, त्यतिबेला नै नानीलाई पठाउँछु’, उनले भनिन् ।
पढाइ छुट्दा डामाडोल
‘स्कुल खुलेपछि करिब एक करोड बालबालिकाहरू विद्यालय नफर्किन सक्छन्’ सेभ द चिल्ड्रेनले विश्वव्यापीरूपमा गरेको एउटा अध्ययनले निष्कर्ष निकालेको छ । अध्ययन अनुसार १२ देशका बालबालिका यतिबेला सधैंका लागि स्कुल छोड्ने उच्च जोखिममा छन् ।
अध्यापक डिवी श्रेष्ठ भन्छन्, ‘कोरोनापछि धेरै बालबालिका पहाडतिर अर्थात३ घरतिर अनि पुख्र्यौली घरतिर पुगेका छन् । त्यही भएर पनि विद्यार्थीको उपस्थिति भइहाले पनि थोरै हुन्छ ।’ उनले अहिले बालबालिकाले त्यहाँ पुगेर व्यवहारिक सीप भने सिकिरहेको बताए । ‘खासमा पहाड पुग्नेको हेर्ने हो भने त्यहाँ हलो, कोदालो गर्नेदेखि अन्य व्यवहारिक कुरा पनि सिकेकै छन् तर उनीहरूको वैकल्पिक विधि अथवा अन्य तरिकाले अध्यापन गराइए अर्थात् पढाइ छुट्दा भने भविष्य डामाडोल हुने देखिन्छ ।’
वैकल्पिक शिक्षा लागू भएपनि खासै प्रगति नहुने उनको तर्क छ । ‘अहिले व्यापार व्यवसाय पनि छैन, नियमित ज्यालादारी गरेर खाने अभिभावकको आम्दानी गुमेको छ, विद्यार्थी पढाउन सक्ने हैसियत पनि धेरैको छैन, कथंमकदाचित वैकल्पिक शिक्षा लागू भए घरमै पढाउन सक्ने अवस्था पनि रहँदैन किनभने उनीहरू आम्दानीका लागि भौतारिरहेका छन् ।’ उनी भन्छन् ।
कोरोना महामारीका कारण विश्व नै प्रभावित भइरहेको बेला शिक्षा क्षेत्रले पनि ठूलो क्षति व्यहारेको र यसको प्रभाव स्कुल खुलेपछि अझ देखिने शिक्षाविद्हरूको अनुमान छ ।
त्यसैले स्थानीय सरकार अलमलमा पर्नु हुँदैन । खोल्ने हो भने यो तरिकाले खोल्ने, नखोल्ने हो भने यो तरिकाले खोल्ने भन्नेबारेको निर्णय गर्न स्थानीय सरकार चुक्नु हुँदैन । धरुानमा अहिलेसम्मका क्रियाकलाप निराशाजनक नै छन् । उपलब्धिमूलक छैनन् । कुन ठाउँमा कुन माध्यमबाट सिकाइ क्रियाकलाप सञ्चालन गर्ने हो, चाँडोभन्दा चाँडो निक्र्यौल गरिनुपर्छ । सरकारको सोच, योजना र कार्यक्रम निष्प्रभावी बनाउनेतर्फ मात्रै ध्यान जाने हो भने शिक्षाक्षेत्रमा हितकर हुँदैन, विद्यार्थीको भविष्य अझै डामाडोल बन्छ । माथिबाटै पनि सरकारी निकायबाट परस्पर विरोधी धारणा आउनु हुँदैन । कम्तीमा सरकारी निकायहरूबीच सघन छलफल हुुनुपर्छ । समन्वय हुनुपर्छ । एकरूपता कायम हुनुपर्छ । कुनै निकायले विद्यालय खोल्न लगाउने र कुनै निकायले विद्यालय बन्द गर्न लगाउने कार्य रोकौं ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप