धरानको बीपीका उपकुलपति डा. ज्ञानेन्द्रको ‘मनपरी गोटी’: अख्तियारले देखायो चासो


  • हाम्रो कोशी आवाज
  • २०७७ असोज १४

धरानः धरानस्थित बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान आन्तरिक किचलोमै रुमलिँदै गएको छ । यसै क्रममा कोरोना संक्रमित उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आइसोलेसनबाट अवैध काम गर्न थालेको भन्दै अख्तियारले चासो देखाएको छ ।
क्वारेन्टाइनबाटै मनपरी ढङ्गले ‘गोटी चाल्दै’ विना टेण्डर उपकरण खरिद, कर्मचारी नियुक्ति, सरुवालगायतको काम गरेको भन्दै अख्तियारले प्रतिष्ठानमा छानविन प्रक्रिया अघि बढाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले छानविन प्रक्रिया अगाडि बढाएको हो ।
सरकारी पदमा बहाल भएको कोरोना संक्रमित व्यक्तिले संक्रमण निको नभइन्जेलसम्म कुनै पनि काम कार्वाही गर्न नपाउने नियमको उनले अवज्ञा गर्दै आएका छन् । प्रतिष्ठानको नियमावलीविपरीत काम गर्न थालेपछि अख्तियारमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा छानविन प्रक्रिया अगाडि बढाइएको आयोगका इटहरीका प्रमुख प्रकाश पौडेलले बताएका छन् ।
उपकुलपति गिरीले आर्थिक रुपमा धरासायी बनेको बीपी प्रतिष्ठानमा चिकित्सक र कर्मचारीलाई भदौ महिनाको तलव खुवाउन नसकिरहेको अवस्थामा आफू निकटका व्यक्तिलाई कर्मचारीमा भर्ती गरी थप आर्थिक भार पारेको भन्दै पतिष्ठानकै चिकित्सक र अन्य कर्मचारीले विरोध जनाएका छन् । प्रतिष्ठानको कर्मचारी समन्वय समितिका संयोजक महेश्वर राईले नियम विपरीत उपकुलपति गिरीले कर्मचारीको सरुवा गरेको भन्दै आपत्ति जनाएका छन् । उनले प्रतिष्ठानमा भएका अवैध क्रियाकलाप बन्द गर्न रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीलाई भेटेर ध्यानाकर्षण गराएको बताए । ६ दिनदेखि प्रतिष्ठानका सिनियर चिकित्सक पनि प्रतिष्ठान सुधार्न भन्दै आन्दोलिन छन् ।
प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीका सल्लाहकार दिलीप भट्टराईको र शिक्षाध्यक्ष डा. गुरु खनालले आफूअनुकुल काम नगर्ने कर्मचारीहरुलाई उपकुलपतिको पछाडि बसेर धमाधम सरुवा गर्ने गरेको पाइएको छ । केही साताअघि खरिद शाखामा आएको चार महिना नपुग्दै शाखा प्रमुख विष्णु चापागाईंलाई व्यापारीहरुसँगको साँठगाँठमा उपकुलपति र उनका सल्लाहकार दिलिप भट्टराईले सरुवा गरेकोमा व्यापक विरोध भइरहेको थियो । त्यस्तै, सिभिल इन्जिनियरीङ शाखाका प्रमुख इ.मदन शाहलाई क्वारेन्टाइनमा रहेका उपकुलपतिले हटाएका छन् । उनको स्थानमा सोही शाखाका ओभरसियर विकास बस्याललाई विभागीय प्रमुखको जिम्मेवारी दिएका छन् । केहीदिन यता उपकुलपति डा. गिरी कोरोना पोजेटिभका कारण सेल्फ क्वारेन्टाइनमा रहेकै बेला प्रतिष्ठानमा मनपरी ढंगले कर्मचारी सरुवा गर्ने गरिएको हो ।
‘हरेक निर्णयमा उपकुलपति कार्यालय हावी भइरहेको छ । विभागीय प्रमुख आफूअनुकूल ल्याएर व्यापारी र ठेकेदारको इशारामा प्रतिष्ठान चलाउने खेल भइरहेको छ । यसमा सबैभन्दा ठूलो खेल सल्लाहकार दिलिपको छ ।’ कर्मचारी प्रशासनका एक अधिकृत स्तरका कर्मचारीले भने ।
प्रतिष्ठानमा कर्मचारी सरुवा बढुवा, औषधी उपकरण खरिद तथा टेण्डरमा निक्कै चलखेल हुने गरेको छ । यसअघि पूर्व उपकुलपति डा.राजकुमार रौनियारले प्रतिष्ठानका केही कर्मचारीहरुलाई बदनियत रुपमा सरुवा गरेका थिए । विषयगत विज्ञ कर्मचारीलाई नियतबस फरक विभागमा सरुवा गर्दा उनीहरु पुनरावेदन आयोग गएर सरुवा बदर गराएका थिए । प्रतिष्ठान विगत लामो समयदेखि आन्तरिक विकृति विसंगतिमा रुमलिएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप