आहा ! धरानको त्यो मीठो खाना

धरानमा भोका मानिसहरूलाई घरमै पाकेको खाना !


  • हाम्रो कोशी आवाज
  • २०७७ असोज १४

धरानः हरेक दिन समय छुट्याइएको छ, खाना खुवाउने । खानामा हुन्छ दाल, भात, तरकारी हुन्छ । धरानको एक परिवार मनकारी प्रतिष्ठानले निःशुल्क खाना खुवाउन थालिसकेको छ । महिनादिनसम्मका लागि निःशुल्क खाना खुवाउने कार्यक्रम ल्याएको धरानस्थित ‘लोकलक्ष्मी स्मृति प्रतिष्ठान’ ले । समाजसेवी स्व. लक्ष्मीप्रसाद श्रेष्ठ र स्व. श्रमिती लोककुमारी श्रेष्ठको नाममा परिवारले स्थापना गरेको सो प्रतिष्ठानले अहिले दिनहुँ  छाक टार्दै आएको हो । उनीहरूले घरमै पाकेको जस्तो खाना खुवाइरहेका छन् । अहिले त्यहाँ बस्ने ८० सडक मानव भनिरहेका छन्– आहा ! धरानको त्यो मिठो खाना ।
मुलुकमा कोरोना महामारी ह्वात्तै बढ्यो, सरकारले बाहिर निस्किन दिएन । धरानमा अन्न नपाएका पेटहरु भोकभोकै बस्नुपर्ने बाध्यता बन्यो, त्यसपछि धरान उपमहानगरपालिकाले सडक मानवहरूलाई लाङ्घाली सामुदायिक वनमा लगेर व्यवस्थापन गरयो । उपमहानगरपालिका आफैंले लामो समयसम्म दाताहरूकै सहयोगमा उनीहरुका खानपान, आश्रयसँगै बीपीका स्वास्थ्यकर्मीहरूको सहयोगमा स्वास्थ्य चेकजाँच समेत गराएको थियो । तर लकडाउनको चार महिनापछि ती सडक मानवलाई कसले व्यवस्थापन गर्ने भन्ने चिन्ता सबैमा थियो–त्यतिबेलै जिम्मा लियो इटहरीस्थित माया घरले । माया घरले जिम्मा लिएपछि अहिले पनि सहयोगी हात अघि बढिरहेका छन् ।
असोज १ गतेदेखि ३० गतेसम्म एक महिनाको लागि ८० जनालाई खानाको जिम्मा लिएको प्रतिष्ठानका सदस्य राजीव श्रेष्ठले.बताए । ‘अन्यतिर पनि समाजसेवा गर्दा जुन सन्तुष्टि मिल्थ्यो तर यहाँ रहेका सडक मानवलाई खाना खुवाउँदा जतिको सन्तुष्टि कहीँ मिलेको छैन ।’ उनी भन्छन् ।

एक महिनाको खाना खुवाउने जिम्मा लिए पनि देश तथा विदेशबाट सहयोग प्राप्त भएकोले प्रतिष्ठानले अवधि बढाएर मङ्सिर मसान्तसम्म खाना खुवाउन लागिएको उनले जानकारी दिए । ‘हामीले महिनादिनसम्म जिम्मा लिएका थियौं तर अन्य मनकारी मनले पनि सहयोग देखाउन थाले, त्यसपछि हामीले मङ्सिरसम्म नै यसरी खाना खुवाउने तालिका बनाएका छौं ।’
उनले भने । यसले सामुदायिक भवनमा आश्रय लिएर बस्दै आएका सडक मानवहरू समेत बिहान–बेलुका कसरी छाक टार्ने भन्ने समस्याबाट मुक्त भएको उनले बताए । लकडाउनकै समयदेखि आश्रय लिएर बसेका राजन घिमिरे आश्रय पाएकोमा आफू सन्तुष्ट भएको बताउँछन् । ‘धरानेहरू मनकारी हुनुहुन्छ, अहिले हामीले भन्ने बेला आएको छ– आहा धरानको त्यो मीठो खाना ।’ उनले भने । उनले घरमै पाकेको जस्तो खाना खान पाउँदा सन्तुष्ट बनेको बताए ।
धरानका पूर्व प्रधानपञ्च, समाजसेवी प्रोफेसर इन्द्रप्रसाद श्रेष्ठले आफ्ना बुबाआमाको नाममा स्थापना गरेको प्रतिष्ठानले धरानका सम्पूर्ण सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेको छ भने धरानको धार्मिक मठमन्दिर, शैक्षिक भवन निर्माण, खेलकुद लगायतका क्षेत्रमा समेत सहयोग गर्दै आएको उनी बताउँछन् । यसमा हाल निःशुल्क खाना वितरणमा सहयोगी संस्था नेपाल रेडक्रस सोसाइटी सुनसरी रहेको छ भने धरान उपमहानगरपालिका व्यवस्थापनमा रहेको छ । तस्वीरः लक्ष्मण थापा

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप