धरानमा स्कुल चलाउनेबारे झ्याप्प निर्णय नहुने !

आज मात्रै बुझाइयो प्रतिवेदन, कक्षा-८, ९ र १० का विद्यार्थीलाई कक्षामै उपस्थिति गराउनेबारे छलफल


  • हाम्रो कोशी आवाज
  • २०७७ असोज ६

धरानः शैक्षिक गतिविधि शुरु गर्ने मोडालिटीबारे धरान उपमहानगरपालिकाद्वारा गठित कार्यदलले मङ्गलबार मात्रै प्रतिवेदन बुझाएको छ ।
‘हिजो (सोमबार) नै प्रतिवेदन बुझाउने भनिएको थियो तर बुझाउन सकिएन, हिजो ड्राफ्ट मात्रै बुझायौं,’ उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कट्वालले भने, ‘आज प्रतिवेदन बुझाइयो, कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल पनि भयो ।’ उनले हिजो नै प्रतिवेदन बुझाएर कार्यपालिकाको बैठकबारे छलफल हुने भनिएपनि विशेष कारणले रोकिएको र छलफलपछि मात्रै कार्यपालिकाले निर्णय गर्ने बताए ।
उनले आज धरानका सरकारी स्कुल र निजी विद्यालयका प्रधानाध्यापक र प्रित्सिपलसँग छलफल चलाइएको जानकारी दिए । छलफल प्रतिवेदनमै केन्द्रित रहेको थियो । प्रतिवेदनमा विशेषतः अहिले ८ देखि कक्षा–१० सम्म करिब तीनघण्टा मात्रै विद्यालय चलाउन सकिने उल्लेख छ । यस्तै, अन्य साना कक्षाका विद्यार्थीलाई अनलाइनका माध्यमबाट पठनपाठन गर्ने उपमहानगरपालिकाको तयारी छ । यस्तै, अनलाइनबाट पठनपाठन गर्न नसक्नेलाई अन्य वैकल्पिक व्यवस्था गर्न सकिनेछ । साथै प्लस टु अथवा कक्षा–११ र १२ मा पठनपाठन के गर्ने भन्नेबारेमा अन्यौलता कायमै छ ।
छलफलमा अधिकांश प्रधानाध्यापक, प्रिन्सिपलले समय, परिस्थित अप्ठयारो नै रहेको बताउँदै अप्ठयारो आइपरे मेयर र उपमेयरलाई मात्रै अब्जस थोपर्ने काम गर्न नहुने बताएका थिए । ‘दुई चारदिन विचार गरौं भन्ने सबैको राय छ’, शिक्षा महाशाखा प्रमुख कट्वालले भने, ‘अहिले नै झ्याप्प निर्णय नहुने अवस्था छ, हामी सबै पर्ख र हेरको नीतिमा छौं ।’
मेयर तिलक राईले सबै सरोकारवालाहरूसँग छलफल चलाएर मात्रै निर्णय गरिने बताए । ‘आज मात्रै सामुदायिक र निजीका प्रअसँग छलफलमा बस्यौं, उहाँहरूले अभिभावक भेला राखेर नै निर्णय गरौं भन्नुभयो,’ उनले भने, ‘त्यसपछि सबै विद्यालयले अब अभिभावकसँग बसेर छलफल चलाउने र त्यसपछि मात्रै कार्यपालिकाले निर्णय गर्छ ।’
कोभिड–१९ को महामारीको कारण अवरुद्ध शैक्षिक गतिविधिलाई कसरी सम्बोधन गर्न सकिन्छ ? भन्ने सम्बन्धमा उपमहानगरपालिकाद्वारा डा.राजेन्द्र शर्माको संयोजकत्वमा गठित सुझाव कार्यदलले प्रतिवेदन बुझाएको हो ।
महामारीकै बीचमा पनि वैकल्पिक माध्यम पठनपाठन गर्न सकिन्छ भनेर भदौ १९ गते विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी भएको छ । त्यो सर्कुलर अहिले स्थानीय तहसम्म आइपुगेको छ । वैकल्पिक माध्यम त्यति प्रभावकारी नभएको अवस्थामा कक्षा–८, ९ र १० का विद्यार्थीलाई कक्षामै विद्यार्थी उपस्थित गराएर ट्रायलका रुपमा हेर्ने रणनीतिमा धरान उपमहानगरपालिका छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप