सुनसरीकी किशोरीलाई १२ लाखमा डिल !

किशोरी लैजान खोज्ने युवतीसहित युवा समातिए


  • हाम्रो कोशी आवाज
  • २०७७ असोज ६

सुनसरीः भारत लगिएकी एक किशोरीको आइतबार मोरङमा उद्धार भएको हो । रामधुनी नगरपालिका–५ कि १७ वर्षीय किशोरीलाई आइतबार विराटनगर हुँदै तीनजनाको समूहले भारत लगेको पञ्हरीले जनाएको छ । साना हातहरु नामक संस्थाको सहयोगमा प्रहरीले ती किशोरीलाई उद्धार गरेको हो ।
उनलाई भारततर्फ लैजाने मोरङको लेटाङ नगरपालिका–३ घर भई रामधुनी नगरपालिका–५ झुम्कामा तरकारी पसल सञ्चालन गर्ने २२ वर्षीया युवती मनिका ढकाल, सप्तरी विष्णुपुर गाउँपालिका–५ घर भएका सुमितकुमार मण्डल र सप्तरीकै तिलाठी कोइलाडी गाउँपालिका १ घर भई विराटनगर बस्दै आएका २० वर्षीय प्रदीपकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।
पछिल्लो केही दिनयता मनिकालाई सुमितले विवाह नभएकी युवती ल्याइदिए ४–५ लाख रुपैयाँ दिने आश्वासन दिएका थिए । किशोरी पाँच फिट २ इञ्च हुनुपर्ने, विवाह नभएको र महिनावारी नभएको हुनुपर्ने सर्त थियो । सुमितका नातामा भिनाजु पर्नेले पूजाका लागि भन्दै किशोरीको खोजी गरेका थिए ।
प्रहरी स्रोतका अनुसार सुमितका भिनाजु भारतको सुपौल जिल्लामा बस्छन् । उनले सुमितलाई पूजाका लागि किशोरी ल्याइदिए १२ लाख रुपैयाँ दिने आश्वासन दिएका थिए ।
उद्दारमा खटिएको साना हातहरुका विराटनगर प्रमुख विवश श्रेष्ठले बालिकालाई बली चढाउनका लागि लगिएको देखिएको बताए । तर संयोगले सो घटना हुन नपाएको बताए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बेचबिखनका उद्देश्यले किशोरीलाई भारततर्फ लगेको हुनसक्ने बताए । प्रहरीले तीनै जना विरुद्ध मानव बेचविखन मुद्धामा अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद लिएको छ । सीमा कटाएर भारतीय भूमिमा पुर्‍याएपछि किशोरीलाई एउटा गाडीमा हालेर भारतको फारवेशगञ्जतर्फ लगेको खुलेको छ। सीमा कटाएर जोगवनी हुँदै लगिएपछि किशोरीले आफू गाडीबाट हामफालेर भागेको प्रहरीलाई बताएकी छन्। बाटोमा लैजाने क्रममा युवाले शंकास्पद तवरबाट अरुसँग फोनमा कुरा गरेको थाहा पाएको किशोरीले बताएकी छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप