धरानमा तीनपटक निर्वाचित आचार्य सिकिस्त

स्नात्तकोत्तर परीक्षा उत्तीर्ण गर्ने धरानकै पहिलो व्यक्ति उनले धरानमा बिजुली वितरण समेत गरेका थिए


  • हाम्रो कोशी आवाज
  • २०७७ असोज ६

धरानः धरानमा तीनपटक निर्वाचित भइसकेका यज्ञप्रसाद आचार्य गम्भीर रुपमा अस्वस्थ भएका छन् । उनी वि.सं. २०१६ देखि तत्कालीन धरान नगरपालिकाको तीनपटक प्रमुखमा निर्वाचित भए ।
पुराना राजनीतिज्ञ तथा कथाकार आचार्य स्नात्तकोत्तर परीक्षा उत्तीर्ण गर्ने धरानकै पहिलो व्यक्ति मानिन्छन् । उनकै अगुवाइमा नेपालमै पहिलोपटक सामुदायिक बिजुली उत्पादन गृह (पावर हाउ) स्थापना भई धरानमा बिजुली वितरण गरिएको थियो ।
धनकुटाको छथरस्थित तेलिया पिपलेमा विसं १९९० मा जन्मिएका उनी मुटु र मिर्गौलामा समस्या उत्पन्न भई तीन सातादेखि काठमाडौंको नर्भिक अस्पतालमा सघन उपचाररत थिए ।
८७ वर्षीय आचार्यलाई अहिले फोक्सोमा समस्या देखिएको पारिवारिक स्रोतले जनाएको छ । जहानियाँ राणाशासनविरुद्धको आन्दोलनमा तत्कालीन धनकुटा जिल्लाको तेहथुमका लागि सत्याग्रही कमाण्डर बनेर नेतृत्व गर्ने हालसम्म जीवित एकाध व्यक्तित्वमा आचार्य पनि एक हुन् ।
राजपरिषद् स्थायी समितिका सदस्य पनि रहेका आचार्यका नेपाली भाषा, पत्रकारिता, अध्यापन, सामाजिक सेवा र साहित्यिक गतिविधिमा पनि आचार्यको योगदान रहेको छ । कथाकार आचार्यका तीन कथासंग्रह र नेपालको परराष्ट्रनीतिबारे एक पुस्तक तथा आत्मवृत्तान्त ‘जे देखे, जे भोगे’ प्रकाशित छ ।
भदौ ११ गते मुटुमा रक्त सञ्चार अवरुद्ध (हार्ट ब्लक) भएपछि तत्कालै कार्डियोलजिष्ट डा. यादव भट्टले नर्भिक अस्पतालमा पेसमेकर प्रत्यारोपण गरेका थिए । स्वास्थ्यमा क्रमिक सुधार आइरहेकै बेला केही दिनपछि अकस्मात मृगौलामा समस्या बढेपछि मृगौला विज्ञ डा. आर. के. अग्रवालबाट डायलासिस गरिएको थियो । क्रमिक रुपमा स्वास्थ्यलाभ भएपछि भदौ ३१ गते सा‘झ उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । तर, पुनः स्वास्थ्यमा देखिएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
राजा वीरेन्द्रको शासनकालमा ‘गाउँफर्क राष्ट्रिय अभियान,’ नेपाल युवक संगठनका केन्द्रीय सभापति र राजसभा स्थायी समितिका सदस्य रहँदा दलविहीनता र राजाको सक्रिय नेतृत्वको भाष्यकारका रुपमा आचार्य चर्चित थिए । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी हुँदै दलविहीन पञ्चायती व्यवस्थामा समेत गरी करिब चार दशक सक्रिय राजनीतिमा आचार्य संलग्न रहेका थिए । उनको स्वास्थ्य खराब भएको र कोरोनाको महामारीका कारण सार्वजनिक गर्ने अनुकूलता नमिलेको उनका छोरा सुरेशले बताए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप