६ महिनापछि यसरी उड्यो नेपालमा हवाइजहाज


  • हाम्रो कोशी आवाज
  • २०७७ असोज ५

धरानः कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान शुरु भएको छ । बन्दाबन्दी शुरु भएको गत चैत ११ देखि साउन ६ गतेसम्म तथा त्यसयता जारी भएको निषेधाज्ञाका कारण झण्डै छ महिना आन्तरिक उडान ठप्प भयो ।
सामान्य अवस्थाको २५ प्रतिशत मात्रै उडान गर्नेगरी सरकारले आन्तरिक उडान सञ्चालन गरेको हो । एक सातापछि क्रमशः उडान संख्या थपिने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । वायु सेवा प्रदायक कम्पनीले पनि पहिलो साता २५ प्रतिशत उडान हुने र क्रमशः यात्रुको माग र बजारको आवश्यकतालाई मध्यनजर गर्दै उडान सङ्ख्या बढाइने बताएका छन् ।
उडान खुलेसँगै ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सको मुख्य गन्तव्यमा ७० देखि ७५ प्रतिशत टिकट बुकिङ भइसकेको छ । सीमित संख्यामा उडान गर्ने भए पनि एयरलाइन्सले हवाई भाडा वृद्धि गर्न पाउने छैनन् । उनीहरुले सामान्य अवस्थाको भाडादरमै उडान गर्नेछन् । कतिपय गन्तव्यमा न्यूनतम भाडादरमा नै सेवा सञ्चालन गरिने एयरलाइन्सले उल्लेख गरेका छन् ।

यसअघि भदौ १ देखिनै आन्तरिक उडान खोल्ने सरकारले निर्णय गरेको थियो । राजधानी काठमाडौँसहित देशभर कोरोना सङ्क्रमण बढेपछि आन्तरिक उडान पुनः स्थागन गरिएको थियो । पछिल्लो पटक भदौ मसान्तदेखि देशका विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा पनि खुला भइसकेको छ । पर्यटन क्षेत्रका होटल, रेस्टुराँलगायत व्यवसाय पनि स्वास्थ्य सावधानी अपनाएर सञ्चालमा आएका छन् ।
आन्तरिक उडान शुरु भएसँगै विमानस्थलमा चहल पहल बाक्लिएको छ । बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा सीमित सङ्ख्यामा चार्टर्ड र कार्गो उडान मात्र भएको आन्तरिक उडानमा नियमित उडान सेवा शुरु भएपछि आम सर्वसाधरणलाई गन्तव्य पुग्न सहज हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले विमानस्थलमा उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरी सुरक्षित हवाई उडानका लागि सबैखाले प्रयत्न गरिएको बताए । उनका अनुसार अहिले सबै वायुसेवा प्रदायक कम्पनीले स्वास्थ्य प्रोटोकल अपनाएर सुरक्षित हवाईयात्राको प्रक्रिया पूरा गरेका छन् ।
आन्तरिक उडान शुरु भएसँगै सबैजसो एयरलाइन्सको पहिलो रोजाइ पर्यटकीय क्षेत्र पोखरा, चितवनलगायत गन्तव्य छन् । बुद्ध एयरले पहिलो उडान पोखरामा गरेको छ । बिहान ८ः०० बजे बुद्धको एटिआर ७२ जहाजले ५६ यात्रु लिएर पोखरा उडेको कम्पनीले जनाएको छ । यो उडानमा प्राधिकरणका उच्च अधिकारी, वायुसेवा सञ्चालक सङ्घका पदाधिकारीलगायत पनि पोखरा गएका छन् । बुद्धले काठमाडौँबाट विभिन्न गन्तव्यमा १८ उडान गर्दैछ । कम्पनीले राजविराजवाहेक सबै गन्तव्यमा उडान भर्ने जनाएको छ ।
यती एयरलाइन्सले पनि पहिलो उडान पोखरा गर्दैछ । यतीले आज तीन उडान पोखरा, भरतपुर र विराटनगर उडान गर्नेछ । यता नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले असोज ५ गतेदेखि सञ्चालन हुने आन्तरिक उडानको तालिका सार्वजनिक गरेको छ । निगमले काठमाडौँदेखि देशका विभिन्न १० गन्तव्यमा हुने उडान तालिका बनाएको हो ।

विमानस्थल, जहाजका कर्मचारी र यात्रुले पालना गर्नुपर्नेछ यी नियम

नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना महामारीको बीचमा हुने उडानको लागि निर्देशिका बनाएको छ, विभिन्न जहाज कम्पनीले पनि मापदण्ड बनाएका छन । उनीहरुले पूर्ण सतर्कताका साथ उडान हुने दाबी गरेका छन् ।
चैत ९ गतेदेखि बन्द रहेका आन्तरिक उडान सुरु गर्न विमानस्थल र हवाई कम्पनी तम्तयार अवस्थामा छन् । कोरोनाबाट बच्दै र बचाउँदै उडान सुरु गरेको उनीहरुको दाबी छ ।

अहिले पनि विदेशीहरु नेपालबाट गइरहेको र उद्धार उडानमार्फत नेपाली आइरहेकाले विमानस्थलमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नै भएका छन् । आजदेखि थप कडाइ भएको छ । मास्क नलगाएका व्यक्तिलाई विमानस्थलको मूल गेटबाट नै प्रवेशमा रोक लगाइने छ । एक सय चार डिग्री फरेनहाइट ज्वरो भएका, रुखाखोकी र स्वाद र सुँघ्ने क्षमता कम भएका व्यक्तिलाई विमानस्थलभित्र प्रवेशमा रोक लगाइएको छ ।

७० वर्ष माथिका व्यक्ति, गम्भीर रोग लागेका र गर्भवतीलाई सकभर जहाज नचढ्न प्राधिकरणले आग्रह गरेको छ । हरेक यात्रुले आफुमा कोरोना नभएको स्वघोषणासहित सबै विवरणसहितको फारम भर्नु पर्नेछ । विमानस्थल परिसरमा एक मिटरको दूरी अनिवार्य कायम गर्नु पर्नेछ ।

विमानस्थलभित्रका एअरलाइन्सका काउन्टरमा सिसा लगाइएको छ । यात्रु उभिनको लागि रेखा कोरिएको छ । आगमन र प्रस्थान कक्षको बस्ने ठाउँमा एउटा कुर्सी खाली राखेर मात्रै बस्नुपर्नेछ । विमानस्थल र हवाई कम्पनीका कर्मचारीले मास्कको साथमा पञ्जा, भाइजर र पीपीई अनिवार्य रुपमा लगाउने छन् । ठाउँ–ठाउँमा स्यानिटाइजर राखिएको छ । प्रस्थान कक्षबाट जहाजसम्म यात्रु लैजाने बसलाई हरेक पल्ट नि–सङ्क्रमण गर्नुपर्नेछ । जहाजलाई पनि उडान पिच्छे नि–सङ्क्रमण गराउनुपर्नेछ । जहाजमा पाइलट र बिमान परिचालिकाले मास्क, भाइजर र पीपीई लगाउनेछन् ।

आन्तरिक जहाजभित्र खाना र खाजा निषेध गरिएको छ । जहाजको शौचालय पनि बन्द हुनेछ । कुकुर र बिरालो बोक्न पाइने छैन । समाचारपत्र पनि बोक्न पाइने छैन । स्वास्थ्य सुरक्षा सतर्कता नअपनाउने र जहाजका कर्मचारीसँग विवाद गरेमा यात्रुलाई तत्कालै कारबाही हुनेछ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप