‘छलफल र संवाद छैन’

धरानमा लाहुरेकी श्रीमती मृत फेला प्रकरण: प्रारम्भिक रिपोर्ट आइसकेको छ: प्रहरी


  • हाम्रो कोशी आवाज
  • २०७७ असोज ४

धरानः धरान-११ की सिङ्गापुरे लाहुरेसँग विवाह गरेकी सोनिहाङ्मा लिम्बू मृत फेला परेपछि प्रहरी अनुसन्धान गरिरहेको छ ।
यसैबीच सोनिहाङ्माका माइती पक्षका आफन्तले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् । रहस्यमय तरिकाले मृत्यु भएको भन्दै आफन्तले बताउँदै आएका छन् । न्याय दिलाउनको लागि ‘स्व. सुनिहाङ्मा लिम्बूको न्यायको लागि अभियान समिति’ गठन भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । स्व. सुनिहाङ्मालाई न्याय दिलाउन ५०१ सदस्यीय समिति गठन गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ । अभियान समितिका संयोजक छथरे समाजका अध्यक्ष मोहनप्रसाद तिगेला रहेका छन् । समितिले मुद्दाको अनुसन्धान तथा कार्वाहीको माग गर्दै, क्षतिपूर्तिसहितको न्याय पाउने अवस्था सिर्जना गर्न अभियान चालिने संयोजक तिगेलाले जानकारी दिए । मृतकका काका अरुण तिगेलाले स्व. सोनिहाङ्माका श्रीमानलाई सिंगापुरबाट झिकाएर अनुसन्धानको दायरामा ल्याउन माग समेत गरेका छन् ।
‘घटना घटिसकेपछि केटापक्षका आफन्तसँग छलफल र संवाद छैन’
पत्रकार सम्मेलनमा केटापक्षका आफन्तले छलफल, संवाद आदिबारे चासो नदिएको उनीहरूको गुनासो छ । ‘खासमा घटना भइसकेपछि आइत माबो र उनका आफन्त कोही पनि सम्पर्कमा आएका छैनन्, कुनै छलफल र संवाद हुन सकेको छैन’, आफन्तमध्येका छथर गाउँपालिकाका अध्यक्ष समेत रहेका सन्तोष लिम्बूले भने, ‘लाहुरे आइतले एकपल्टचाहिँ मिसकलसम्म गरेको थाहा भयो तर अन्य कोही सम्पर्कमा आएका छैनन्, त्यही भएर पनि घटना थप शंकास्पद बन्दै गएको हामीले महसुस गरेका छौं ।’
उता केटापक्षका आफन्तले भने पटक–पटक संवाद गर्दै आएको र दुवै पक्ष मिलेर पोष्टमार्टमपछि शवको अन्त्येष्टी समेत गरिएको बताएका छन् । ‘प्रहरीबाट अनुसन्धान भइरहेको छ, घटना घटिसकेपछि पटक–पटक संवाद भएको छ, छलफलमा बसौं, मिडियाबाजी पनि नगरौं, दुवैतर्फ बसेर घटनाका दोषी पत्ता लगाउन प्रहरीलाई सघाऔं भनेर भनिरहेका छौं तर उहाँहरू हामीलाई केसबारे प्रमाणित नै नभई हत्यारा नै सावित गर्दै एकतर्फी ढङ्गले गइरहनुभएको छ, यो दुःखद् पक्ष हो,’ केटापक्षका माइला भेना जगत राना मगरले भने ।
गत सोमबार अर्थात् साउन २२ गते धरान–११ स्थित घरको कोठामा सोनीहाङ्मा मृत फेला परिन् । उनको पोष्टमार्टम भइसकेको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट आइसकेको बताए । ‘प्रारम्भिक रिपोर्ट आइसकेको छ, अनुसन्धानमा असर पर्ने हुनाले पनि प्रारम्भिक रिपोर्ट भन्दैनौं,’ उनले भने, ‘मिहीन ढङ्गले अनुसन्धान भइरहेको छ, फाइनल रिपोर्ट आउन बाँकी छ ।’
के थियो केटी पक्षको दावी ?
सोनीको माइती पक्षले आत्महत्या नभई सोनीको हत्या भएको दावी गरेपछि घटनाले नयाँ मोड लिएको हो । माइती पक्षले सोनी मृत्युबारे सत्यतथ्य छानबिन गर्न माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी नै दिएका थिए । त्यतिबेला उनीहरूले सत्यतथ्य छानविन नगरे र किटानी जाहेरी दिएकालाई पक्राउ नगरेसम्म पोष्टमार्टम पनि गर्न नदिने भनेका थिए । किटानी जाहेरी दिएपछि प्रहरीले जसका नाममा किटानी जाहेरी परेको थियो ती व्यक्तिहरूलाई पक्राउ गरेपछि पोष्टमार्टम भएको थियो ।
के थियो केटा पक्षको दावी ?
केटापक्षका आफन्तले सोनीले आत्महत्या नै गरेको बताउँदै आएका छन् । माइती पक्षले लगाएको आरोप गलत रहेको उनीहरूको भनाइ छ । उनीहरूले एकोहोरो मारिएको आरोप मात्रै आफूहरूले खेपिरहेको बताउँदै घटना दुःखद् भएको जनाएका छन् । उनीहरूले घटनाबारे अन्य कुराको पनि सत्यतथ्य छानविन हुनुपर्ने माग गरेका थिए ।
केटापक्षका माइला भेना जगतले घटनाबारे छिटोभन्दा छिटो घटनाबारे सत्यतथ्य बाहिर आउनुपर्ने बताएका थिए । उनले घटनाबारे दुवैपक्ष बसेर कसको गल्ती कसरी भएको हो, कसरी यो घटना घटेको हो भन्नेबारेमा निचोडमा पुग्नुपर्ने र घटनाबारे अन्य कुरा पनि खुलेकोले त्यसबारेमा प्रहरीलाई समेत सहयोग गर्नुपर्ने बताएका थिए ।
केटीपक्षका आफन्तले मृत्यु शंकास्पद भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले केटापक्षका केही व्यक्ति पक्राउ गरेर म्याद थप्दै अनुसन्धान थालिसकेको छ । घटना घटिसकेपछि सिंगापुरे लाहुरे आइतले पनि उनले पत्र लेख्दै ठोस प्रमाण जुटाएर सख्त कारवाहीको माग समेत गरिसकेका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप