बेलबारीमा ‘ग्याङफाइट’: मुख्य योजनाकार समातिए


  • हाम्रो कोशी आवाज
  • २०७७ भदौ ३०

बेलबारीः मोरङको बेलबारी नगरपालिका ५ कसेनीमा १८ दिनअघि भएको ‘ग्याङ फाइट’ का मुख्य आरोपी पक्राउ परेका छन् ।
बेलबारीमा भएको ‘ग्याङ फाइट’ मा एक युवाले ज्यान गुमाएका थिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले दिएको जानकारी अनुसार ‘ग्याङ फाइट’ मा चन्द्रकुमार राईले ज्यान गुमाएका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार सोही घटनाका मुख्य आरोपी ३१ वर्षीय विनय सरदार १८ दिनपछि पक्राउ परेका हुन् ।
एक जना साथीको घरमा लुकेर बसेको अवस्थामा सरदारलाई पक्राउ गरिएको उनले जानकारी दिए । सरदारको नेतृत्वमा गत भदौ १२ गते भएको सामूहिक आक्रमणमा परेर ४० वर्षीय चन्द्रकुमारको मृत्यु र उनकै परिवारका तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
बन्चरो प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा त्यहीदिन बूढीगंगाको विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो । घटनामा ४३ वर्षीय सइकुमार, ३७ वर्षीय समुन्द्र र १६ वर्षीय गौरव राई घाइते भएका थिए । राईको मृत्युसँगै सरदार फरार रहेका थिए ।
बेलबारी–५ तेलकुडीका उनलाई मोरङ प्रहरीले भदौ २९ गते सोमबार सुनसरीको बराहक्षेत्र नगरपालिका ११ मधुवनबाट पक्राउ गरेको प्रहरी प्रमुख खड्काले जानकारी दिए । खोलामा रहेको बाँसको अस्थायी पुलको विषयमा विवाद हुँदा ४० वर्षीय राईको मृत्यु भएको थियो ।
घटनामा संलग्नमध्ये ग्रामथान गाउँपालिका–६ का ३४ वर्षीय जितेन्द्र चौधरी, ३१ वर्षीय दीपेन्द्र चौधरी, ३२ वर्षीय वीरेन्द्रकुमार खाँ, बेलबारी–६ का ३८ वर्षीय विशालकुमार खवास र ३१ वर्षीय राजेन भनिने राजिन्द्र थुलुङ यसअघि नै पक्राउ परिसकेका छन् । पक्राउ परेकाहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप