किशोरकिशोरी किन फँस्छन् कुलतमा ?


  • रविना बस्नेत
  • २०७७ भदौ ३०

फेसनको रूपमा मादक पदार्थ र सुर्तीजन्य पदार्थको अत्याधिक सेवन हुन थालेको छ । अहिलेको युवापुस्ता आफ्नो अरिपक्वताको दलदलमा आफै फँस्दै गइरहेका छन् । युवापुस्तालाई समाजको ऐना मानिदै आएको छ । आगामी समाज विकासका खाकाहरू युवा मैत्री बनाउनुपर्छ र युवाहरूलाई अबको जिम्मेवारी हस्तान्तरण गरिनुपर्छ भन्ने चौतर्फी आवाज उठिरहेका बेला युवाहरू लागू पदार्थको दलदलमा फँस्दै जानुले युवाहरूप्रतिको विश्वसनीयतामा प्रश्न चिह्न खडा हुँदै गइरहेको छ । दिन प्रतिदिन युवाहरू विभिन्न बहानामा प्रहरी कष्टडीमा जानुले अबको युवापुस्ता अधोगतितिर लम्किरहेको प्रष्ट हुन्छ । विभिन्न बहाना, कुलतप्रतिको मोह साथै साथीहरूको सङ्ंगतको फलस्वरुप युवापुस्ता दिनानुदिन कुलतमा लाग्दै गइरहेको देख्न सकिन्छ । विशेषगरी कलेज समूहका युवा युवतीहरूको आकर्षण लागूऔषध दुव्यसनी उन्मुख भएको कारणले गर्दा यसको जोखिम बढ्दै गएको छ ।
विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारहरूका अनुसार किशोर–किशोरीहरू लागूपदार्थसहित पक्राउ पर्नुले अबको यो पुस्ताको लागि कित्ता क्लियर भएको देखिन्छ । देशका विभिन्न ठाउँहरूबाट किशोर–किशोरीहरू लागूपदार्थ ओसारपसारमा सामेल हुँदै आइरहेको भन्ने खबरले अबको समाज र सामाजिक जनजीवनमा ठूलै असर पर्ने कुरा निश्चित प्रायः छ । यस्ता क्रियाकलापहरूमा बालबालिका देखाउने दाँतमात्रै हुन सक्ने कुरा पनि एकथरीको विश्लेषण रहेको छ भने यसले समाजमा आपराधिक मानसिकता भएका मान्छेहरूको संख्या बढ्दै गएको अनुमान सहजै लगाउन सकिन्छ । समाजमा दिनप्रतिदिन बढ्दै गइरहेका भिन्न खाले अपराधहरू यसका सुक्ष्म उपज हुन् भन्ने कुरामा दुई मत छैन तर यस्ता अपराधहरू दिन प्रतिदिन बृहत आकारमा बढ्दै गइरहेको छ । प्रायः हप्तैपिच्छेजसो अनलाइन पत्रिकामा हेडलाइन बनिरहने देशका किशोरकिशोरीहरूको यस्तो भयावह स्थितिलाई नै बढ्दो आपराधिक क्रियाकलापको नमूना मान्न सकिन्छ ।
साथीभाइको बाध्यतात्मक आग्रहका कारण शुरुशुरुमा जबरजस्ती यस्ता क्रियाकलापहरूमा संलग्न हुन्छन् पछि लतको रुपमा लिनुपर्ने स्थिति आउँछ । साथीभाइहरूको सङ्गतमा पर्ने र आफ्नो निर्णय गर्न नसक्ने टिनएज समूहका किशोर–किशोरीहरू यस्ता समस्याहरूको दलदलमा फँसिरहेका छन् । साथीभाइहरूसँगको ग्यादरिङ, गेट टुगेदर जस्ता विशेष मानिने समयलाई शुरु शुरुमा अवसरका रुपमा लिने र पछि त्यही लत बस्ने भएकोले यस्ता समस्याहरु दिन प्रतिदिन बढ्दै गैरहेका छन् ।
पढ्ने, लेख्ने र सिक्ने उमेरमा अभिभावकको स्वार्थ र लापरवाही साथै साथीप्रतिको मोहको कारण सबै खाले बालबालिका र युवापुस्ता आपराधिक क्रियाकलापमा संलग्न हुँदै आइरहेका छन् । यो समस्या गरिब तथा कमजोर आर्थिक स्थितिको बालबालिकामा मात्रै नभएर धनाढ्य परिवारको बालबालिका र युवापुस्ता पनि उत्तिकै देखिएको छ ।
सर्वेक्षणले प्रयोगकर्तामध्ये पुरुषको संख्या बढी रहेको देखाएको छ । बेरोजगारी समस्या बढ्दै जाँदा प्रयोगकर्ताको संख्यासमेत बढेको अध्ययनले देखाएको हो । गृह मन्त्रालयले औसत वृद्धिदर घटेको पाइएपनि प्रयोगकर्ता भने बढेको देखिएका कारण प्रयोग घटाउन नयाँ रणनीति र योजनाका साथ अघि बढ्ने प्रतिबद्धता जनाउँदै आएको छ । मन्त्रालयले लागूऔषध प्रयोग र ओसारपसार कोरोना जस्तै भयावह रूपमा विश्वभर फैलँदै गएको भन्दै विश्वकै लागि यसको प्रयोग घटाउनु चुनौती रहेको बताउँदै आएको छ ।
अध्ययनले २० वर्षभन्दा कम उमेरमै पहिलोपटक लागूऔषधको प्रयोग गरिने गरेको पाइएको र सबैभन्दा बढी गाँजाको प्रयोग हुने गरेको देखाएको छ अध्ययनअनुसार सबैभन्दा बढी लागूऔषध प्रयोग ३४ दशमलव ९ प्रतिशत धुँवाबाट हुने गरेको देखिन्छ । यस्तै, मुखबाट ३३ दशमलव ७ प्रतिशत, सुईबाट २९ दशमलव ३ प्रतिशत र सुँघेर २ दशमलव १ प्रतिशत लागूऔषध प्रयोग हुने गरेको अध्ययनले देखाउँछ ।
समयमै यी र यस्ता कुराहरुमा अबको अभिभावक र समाज सजक हुन सकेन भने हामी सबैका सपना, लगानी र भरोसाहरू धुँवा भएर उड्ने कुरा निश्चित प्रायः छ । त्यसैले यसतर्फ सबै सचेत भएर सोच्नुको विकल्प छैन । विशेषगरी युवावस्थामा मानिसहरू गलत बाटो समाउने गर्दछन् । कलिलो उमेरमै लागू पदार्थ सेवन गर्न थालेपछि उनीहरूले बुझ्दैनन् आफ्ना बाबुआमाको जीवनसंघर्ष, पीडा र आफूप्रतिको ममत्वलाई । बाबुआमाले छोराछोरीलाई आवश्यक ध्यान नदिई पारिवारिक वातावरण बिग्रँदा, साथीभाइको लहलहै, निराशा, असफलता र यस्ता वस्तु बेच्ने गिरोहको करकापका कारण लागुपदार्थको प्रयोग गर्ने गरेको भेटिएको छ । धेरैजसो युवाहरू डिप्रेसन, खराब संगत र परिवारको साथ नपाएर लागूपदार्थ सेवनतिर आकर्षित भएको पाइएको छ । त्यसैले अभिभावकले आफ्नो बच्चाका हरेक क्रियाकलापमा ध्यान पुरयाउनु जरुरी छ । लागूपदार्थमा लागेका युवाहरूलाई सुधार केन्द्रले नयाँ जीवन दिने गरेका छन् । त्यहाँ यसबाट मुक्त हुनका लागि उचित परामर्श दिने गरिन्छ । कतिपय अभिभावकहरूले सुधार केन्द्रबाट आएका आफ्ना सन्तानलाई विश्वास नगर्ने र घृणाभावले हेर्ने गरेका कारण युवाहरू फेरि लागूपदार्थ सेवनतिर फर्किने गरेको पाइएको छ । त्यसैले यतातर्फ पनि ध्यान दिने कि ?

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप