चैत यता ३१९ बालबालिका र ८७६ महिलाले गरे आत्महत्या


  • हाम्रो कोशी आवाज
  • २०७७ भदौ २८

धरानः नेपालमा पहिलेदेखि नै आत्महत्याको दर निकै बढी भएकोमा कोभिड–१९ को महामारीले अवस्थालाई अझ खराब बनाएको छ । गत चैतदेखि हालसम्म अनिश्चितताको कारण भावनात्मक तथा मानसिक अस्वस्थता एवं आघात र विविध क्षतिहरूका कारणले गर्दा ३१९ जना बालबालिका र ८७६ जना महिलासहित एक हजार ३५० जनाले आत्महत्या गरेको युनिसेफले जनाएको छ ।
नेपाल प्रहरीका अनुसार गत वर्षको तुलनामा यस वर्षको चार महिना लामो बन्दाबन्दीको समयमा आत्महत्या गर्ने किशोरीहरूको सङ्ख्या अघिल्ला महिनाहरूको तुलनामा ४० प्रतिशतले वृद्वि भएको छ भने आत्महत्या गर्ने किशोरहरूको संख्यामा पनि केही वृद्वि भएको छ । यी संख्यामा प्रहरीको अभिलेखमा रहेका आत्महत्याहरू मात्रै समावेश छन् । यसमा अभिलेखमा नरहेका घटना, आत्महत्याका प्रयास वा आत्महत्या गर्ने सोच बनाएका मानिसलाई समेटिएका छैनन् । हरेक आत्महत्याले उनीहरूको नजिकका मानिसहरूमा गहिरो शोक छोड्ने गर्दछ ।
युनिसेफले बालबालिका तथा परिवारको सम्बन्धमा जुलाइमा गरेको एक सर्वेक्षणका अनुसार ४९ प्रतिशत परिवारहरूले विशेष गरी बन्दाबन्दीको बेलामा आफ्ना बालबालिकाका आवश्यकता पूरा गर्न सकिन्छ या सकिन्न भन्ने विषयमा तनाव बढेको बनाएका थिए । युवामा आत्महत्याको संख्या बढिरहँदा कल सेन्टरहरूमा आत्महत्याका विषयमा सहयोगको माग गर्ने व्यक्तिहरू थोरै थिए । युवाका लागि सहायता सेवाहरू विस्तार गर्नुका साथै मानसिक स्वास्थ्यको विषयमा रहेका सामाजिक दोषारोपण र लान्छनाको सम्बोधन गर्नु पनि महत्वपूर्ण छ ।
कोभिड–१९ को महामारीका कारण लागु गरिएको कडाइले बालबालिकाको पठनपाठन, मनोरन्जनात्मक क्रियाकलापलगायतमा अवरोध आउनुले उनीहरूको साथी, सहपाठी, शिक्षक तथा परिवारसँगको सम्पर्क पनि पातलिएको छ र यसले उनीहरूलाइ निकै असर गरेको छ । अरूहरूका लागि यो कडाइले परिवार र समुदायमा हिंसा र शोषणको जोखिम बढाएको छ । सबैजनाको दैनिक जीवन, सम्बन्धहरू, स्रोत साधन तथा सेवासम्मको पहुँचमा पनि यसले महत्वपूर्ण परिवर्तन ल्याइदिएको छ ।
‘मानसिक अस्वस्थताका धेरै लक्षणह १४ वर्षको उमेरभन्दा अगाडिदेखि नै सुरू हुन्छ र अहिले आत्महत्या नेपाली युवाको मृत्युको प्रमुख कारणमध्ये पर्दछ’ नेपालका लागि युनिसेफ प्रतिनिधि एल्के विसले भने ।
‘हामी कोभिड–१९सँग जुध्ने क्रममा, बालबालिकाको जीवन सुरक्षित बनाउन र परिवारहरूलाई यो जटिल परिस्थितिको सामना गर्नका लागि चाहिने स्वास्थ्य सेवा र सामाजिक तथा आर्थिक सहयोग उपलब्ध गराउने विषयमा विशेष ख्याल गर्नुपर्दछ । सामाजिक चेतना र मनोसामाजिक तनावको बारेमा बुझाइमा सुधार गर्दै एकीकृत मानसिक तथा मनोसामाजिक स्वास्थ्य सेवाहरू उपलब्ध गराउनको लागि हामीले सामूहिकरूपमा काम गर्नुपर्दछ । कमजोर मानसिक स्वास्थ्य भएका थुप्रै बालबालिका र उनीहरूका परिवारहरूको लागि हामीले समयमै सहायता गर्न सकेनौं भने देशले नै यसको मूल्य चुकाउनुपर्ने देखिन्छ’ उनले थपे ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप