लागूऔषध कारोबारमा संलग्न एग्रोभेट सञ्चालकसहित ७ जना पक्राउ


  • हाम्रो कोशी आवाज
  • २०७७ भदौ २८

बिर्तामोडः प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एकै दिन ७ जनालाई पक्राउ गरेको छ ।
दमक नगरपालिकाबाट ४ केजी गाँजासहित शनिबार इलाम, माङ्सेबुङ–६ घर भई दमकमा डेरा गरी बस्ने २६ वर्षीय अर्पण राईलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीको विशेष टोलीले ४ केजी २५ ग्राम गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । त्यस्तै, बिर्तामोड नगरपालिकाबाट एग्रोभेट सञ्चालकलाई पनि लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार विर्तामोड–३ मा सञ्चालनमा रहेको गोपाल एग्रोभेटका सञ्चालक ३० वर्षीय गोपाल गौतमलाई २२ ग्राम लागूऔषध (ब्राउनसुगर)सहित नियन्त्रणमा लिएको हो ।
त्यस्तै, मेचीनगरपालिका–१३ स्थित इलाम रोडबाट ८.५ ग्राम ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–१० निवासी १८ वर्षीय विशाल लिम्बू र वडा नम्वर १२ निवासी २३ वर्षीय राजन श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । लागुऔषध कारोबारमा संलग्न उनीहरुले चलाएको मे ४ प ७७२६  नम्वरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
विर्तामोड नगरपालिका–१ अदुवा खोला छेउबाट लागूऔषधको कारोबार गरिरहेका ३ जनालाई शनिबार साँझ इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा प्रहरीले लागूऔषध (ब्राउनसुगर) बिक्री गर्दागर्दै ३ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रिजालले जानकारी दिए ।
पक्राउ पर्नेमा सन्दीप धिमाल, आकाश राई र आशिष राई रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।
पछिल्लो समय झापामा लागूऔषध कारोबार हुने गरेको सूचनाका आधारमा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ । सोही क्रममा प्रहरीले एकै दिन जिल्लाका विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप