गुन्द्रुकभन्दा सस्तो ब्रोइलरको मासु

धरानमा मासु सस्तिँदा उपभोक्तालाई हाइसन्चो, किसानलाई पिरलो


  • हाम्रो कोशी आवाज
  • २०७७ भदौ २७

धरानः धरानमा मासुको नयाँ मूल्य कायम भएको छ । आइतबारदेखि लागू हुने गरी समितिले नयाँ मासुको मूल्य निर्धारण गरेको जनाइएको छ । आइतबारदेखि सुँगुरको मासु प्रतिकिलो ३६०, खसीको मासु प्रतिकिलो ९ सय, राँगाको मासु प्रतिकिलो ३५० र ब्रोइलर कुखुराको मासु प्रतिकिलो २८० रुपैयाँमा पाइनेछ ।
विशेषतः ब्रोइलर कुखुराको मासुको मूल्य सस्तिँदा उपभोक्तालाई ‘हाइसन्चो’ भएको छ । अथवा कुखुराको मासुको मूल्य घट्दा उपभोक्ता भने खुशी भएका हुन् । आइतबारदेखि ब्रोइलरको मासु २८० मा पाइनेछ जबकी बजारमा गुन्द्रुकको मूल्य प्रतिकिलो ३०० बढी छ ।
लामो समयदेखि लकडाउन भएको कारणले गर्दा मानिसहरुको आम्दानी स्रोत घुम्चिन गएपछि बजारमा मासु खपत कम हुन थालेको कुखुरा व्यवसायीहरूले बताएका छन् । कुखुराको मूल्य सस्तो हुँदा खपत बढ्दै गरेको कारण मासु, पसल, बिचौलिया र उपभोक्तालाई फाइदा भएपनि किसानहरू भने मारमा परेको कुखुरापालक कृषकहरुको भनाइ छ ।
उता मूल्यमा निरन्तर ह्रास आउँदा कुखुरापालक किसान भने मर्कामा परेको बताउँदै आएका छन् । ‘१० वर्षअघि ब्रोइलर कुखुराको मासु ३०० रुपैयाँ केजी थियो, अहिले आएर २८० केजीमा बिक्री गर्नुपरिरहेको छ’, धरान ठिंगाबारीका कुखुरापालक कृषक बमबहादुर खड्का भन्छन्, ‘योभन्दा बिडम्वना अरु के हुन्छ ?’
उनले १० वर्षअघि नै सुँगुरको मासु १५०, खसीको मासु ४०० रूपैयाँ केजी रहेको बताउँदै भने, ‘अन्य सबैको बढ्ने, ब्रोइलरको चाहिँ नबढ्ने ?’ मासुको मूल्य घटेपछि कृषकहरु निराश भएको कृषक राजेन्द्र अधिकारी बताउँछन् ।
धरानमा अहिले दैनिकजसो मासु खाने बढेको उपभोक्ता बताउँछन् । ‘तरकारी छोइसक्नु छैन, मासु केही सस्तो भएपछि यतैतिर पो जोड गर्न थालियो’, धरान–९ सब्जी मण्डीमा कुखुराको मासु किन्न आएका उपभोक्ता रमेश राईले भने, ‘तरकारीको मूल्य प्रतिदिन बढ्दै गएकोले मासुको उपभोग बढी रहेको पाइएको छ ।’

किसानहरूले उत्पादन भएपनि सोही अनुसारको मूल्य नपाउँदा निराश बनेको बताएका छन् । ‘एकातिर दाना औषधी र चल्ला नगदमा किन्नुपरेको छ । किसानहरु कुखुरा सस्तो र उधारोमा बिक्री गर्नुपर्दा दोहोरो मारमा छौं ।’ धरानकै कृषक गोविन्द महत भन्छन् ।
‘आफ्नै उत्पादन लागत झण्डै प्रतिकेजी २२० पर्न आउँछ’, उनले भने, ‘प्रतिकेजी सस्तोमा बेच्नुपर्ने बाध्यता छ ।’
लकडाउन र निशेधाज्ञा खुकुलो भएसँँगै मूल्यमा केही सुधार हुने आशमा आफू पर्खिरहेको तर सस्तिँदा समस्या पर्ने हो कि भन्ने आफूहरू चिन्तामा डुबेको कृषक खड्का बताउँछन् । ‘खासमा किसानले नगरेका होइनन् गरेका छन्, तर डुब्ने अवस्था आएपछि खाडी मुलुक गएका हुन्, अहिले त्यस्तै भएको छ ।’ उनले भने ।
कुखुरापालक किसानले भने राज्यको नीति, ठूला व्यवसायी र बिचौलियाका कारण आफूहरू जहिल्यै मारमा परेको बताउँदै आएका छन् । राज्य सधै उदासीन हुँदा र बिचौलिया हाबी हुँदा कुखुराको मासु सस्तोमा बेच्नुपरेको उनको गुनासो छ । ‘अघिल्लो बर्षभन्दा ५० प्रतिशत भन्दा बढी उत्पादनमा ह्रास छ, खपतपनि उही अनुपातमा छ, मूल्य भने लागतभन्दा आधा कममा बेच्नु परेको छ’, उनले भने । उनले मासुको मूल्य ओरालो लागिरहँदा कुखुरा पाल्ने किसानको उत्पादन लागत समेत उठ्न छाडेको बताए ।
महामारी नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाले सम्पूर्ण होटल र रेष्टुरेन्ट तथा क्यान्टिन बन्द छन् । कुखुराको मासुको माग पनि घटेको छ । यसरी, दिनदिनै कुखुरापालक किसान घाटामा गइरहँदा अर्कोपटक खोरमा कुखुरा हाल्नै नसक्ने स्थितिमा पुगेको व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप