धरानमा ४३ संक्रमित घरमै

निगरानीमा कडाइ, दिनमै तीनपटक फोन र सरसल्लाह, घरबाटै १५ जना डिस्चार्ज, हालसम्म २२१ जना डिस्चार्ज


  • हाम्रो कोशी आवाज
  • २०७७ भदौ २६

धरानः कोरोना संक्रमित बढिरहेको धरानमा शुक्रबारसम्ममा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये ४३ संक्रमित होम आइसोलेसनमा रहेको जनाइएको छ ।
धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार ४३ संक्रमित हाल घरमै (होम आइसोलेसन) रहेका छन् । प्रमुख उमेश मेहताले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५१ जना संक्रमित उपचारत रहेको जानकारी दिए ।
यस्तै, होम आइसोलेसनबाटै १५ जना डिस्चार्ज भइसकेको उनले जानकारी दिए । ‘खासमा हामीले लक्षण देखिएका बिरामीलाई बीपी लैजान्छौं तर लक्षण नदेखिएकालाई घरमै राख्दै आएका छौं, यीमध्ये १५ जना थप होम आइसोलेसनबाटै डिस्चार्ज भइसक्नुभएको छ भने १७५ जना अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।’
होम आइसोलेसनमा रहेकाहरु सरकारी निगरानीमै रहेको उनले जानकारी दिए । ‘बेलाबेलामा सरसल्लाह दिइरहने, अवस्थाबारे बुझिरहने काम भइरहेको छ’, उनले भने ।
नले होम आइसोलेसनमा बस्नेका लागि टिम खटाइएको बताए । ‘होम आइसोलेसनमा बस्नेको निगरानीका लागि टोली नै बनाएका छौं’ उनी भन्छन्, ‘टोलीले सबै संक्रमितलाई सम्पर्क गर्दै स्वास्थ्य अवस्था बुझ्छन् ।’
धरान मेडिकल स्टुडेन्ट टिम, हात्तिसारका विद्यार्थीको टिमले दिनमै तीनवपटक वफोन गर्ने गरेको उनले जानकारी दिए । ‘धरानमा त सुविधा छ, दिनमै तीनपटक त फोन हुन्छ । भनौं १४ दिनमा डिस्चार्ज हुँदासम्म ५० पटक बढी त फोन गइसकेको हुँदो रहेछ ।’ उनले भने ।
लक्षण देखिएकालाई नियमित सम्पर्क गर्ने र नदेखिएकालाई असहज भए सम्पर्क गर्न सम्पर्क नम्बर उपलब्ध गराउने उनले बताए ।
सरकारले होम आइसोलेसनमा बस्न चाहने कोरोना संक्रमितका लागि मापदण्ड पनि तोकेको थियो । कुनै संक्रमित व्यक्ति आफू घरमै आइसोलेसनमा बस्न चाहेमा उसले पालना गर्नुपर्ने मापदण्डहरू पालना गर्नैपर्ने उनले बताए ।
होम आइसोलेसनमा संक्रमितले पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने, उपचार अवधिभरी आवश्यक पर्ने सामानहरू परिवारका सदस्यहरुसँग मगाउने, पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुरा खानुपर्ने छ । यस्तै आफूले प्रयोग गरेका भाँडाहरु सुरक्षितरूपमा सफा गरेर राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयाग गर्नुपर्ने, स्नानघर वा शौचालयको छुट्टै व्यवस्था मिलाउनुपर्ने स्वास्थ्य मन्त्रालयको मापदण्डमा छ ।
संक्रमितको हेरचाहमा रहने व्यक्तिले अनिवार्य मेडिकल मास्क प्रयोग गर्नुपर्ने उल्लेख गर्दै उनले बढी जोखिममा रहने समूह (दीर्घरोगी, ६० वर्षमाथिको जेष्ठ नागरिक, गर्भवती र सुत्केरी महिला) लाई टाढा राख्नुपर्ने छ । हरेक स्थानीय तहले ५० जना संक्रमितका लागि १ जना स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने पनि भनिएको छ ।
धरानमा ६ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप