विद्यालयलाई कोरोना संक्रमणको केन्द्र बन्न दिइन्नँः शिक्षामन्त्री


  • हाम्रो कोशी आवाज
  • २०७७ भदौ २३

धरान (रासस: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई कोरोना संक्रमणको केन्द्र बन्न नदिने बताएका छन् ।
मंगलबार नुवाकोटमा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित माध्यमिक तहको अन्तरपालिकास्तरीय नेपालय अनलाइन (भर्चुअल) वक्तृत्वकलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विद्यालयलाई कोरोना संक्रमणको केन्द्र बन्न नदिन वैकल्पिक शिक्षण पद्धतिलाई अघि बढाउने बताए ।
‘अहिले पनि संक्रमण कम भएका जिल्लाका विद्यालयका कक्षा सञ्चालन गराउन सकिन्छ तर संक्रमण विद्यालयस्तरमा फैलियो भने त्यसलाई नियन्त्रण गर्न सकिँदैन। हाम्रा स्वास्थ्य स्रोत साधन कम छ । त्यसैले वैकल्पिक रुपमा दूर शिक्षाको माध्यमबाट न्यूनतम सिकाइलाई अघि बढाउन आवश्यक छ’, मन्त्री पोखरेलले भने, ‘विद्यालयमा नै विद्यार्थीलाई सहभागी गराएर पठनपाठन गराउन सक्ने अवस्था छैन । आधुनिक प्रविधि र पद्धतिबाट शैक्षिक क्रियाकलाप अघि बढाउनुको विकल्प छैन ।’
मन्त्री पोखरेलले वैकल्पिक र दूर शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन तहको सरकारको भूमिका महत्वपूर्ण रहेकाले स्थानीय तहलाई कार्य योजना बनाएर अघि बढ्न आग्रह गरे । मन्त्री पोखरेलले वैकल्पिक बाटोबाट शिक्षण प्रदान गर्दा कोही पनि विद्यार्थीलाई नछुटाई हरेक विद्यार्थीलाई समेट्ने गरी योजना बनाउनुपर्ने बताए ।
‘कोरोनाकालमा परम्परागत रुपमा शिक्षा प्रदान गर्न सम्भव छैन भन्ने पाठ सिकाएको छ । विश्वस्वास्थ्य संगठनले यो महामारी साम्य हुन कम्तीमा दुई वर्ष लाग्छ भनिरहेको छ । स्कूल, कलेज बन्द भए पनि शिक्षण बन्द भएको छैन, शिक्षा बन्द गरिनु हुन्न । शैक्षिक क्षतिलाई कम गर्दै शैक्षिक सत्र सुनिश्चित गर्नु पर्छ’, उनले भने ।
मन्त्री पोखरेलले रेडियो, टेलिभिजन, अनलाइन र अस्थायी सिकाइ केन्द्रमा थोरै विद्यार्थी राखेर भए पनि शिक्षण कार्य अघि बढाइने बताए । ‘संकटको समयमा शिक्षाको अधिकार प्रत्याभूत गराउन सरकारले कदम चालिरहेको छ । पहिले रोगविरुद्ध आधारित भएको सरकार पछि भोकलाई आधार मानेर अघि बढेको र अहिले शिक्षामा केन्द्रित भएको छ’, मन्त्री पाखेरेलले भने, ‘भूकम्पको समयमा वैकल्पिक विधिबाट पठनपाठनको क्रियाकलापलाई अघि बढाउन सकेको भए अहिले सहज हुने रहेछ । अब वैकल्पिक प्रणाली बनाउँदै विद्यार्थीको सिकाइलाई प्राथमिकता दिइनेछ ।’
मन्त्री पोखरेलले पोष्टबहादुर बोगटी शिक्षालय नुवाकोटमा सञ्चालन गर्न लागिएको जानकारी दिँदै जागृत नुवाकोट र सचेत नुवाकोट बनाउनको लागि आफू लागि परिरहेको समेत बताए ।
‘वैकल्पिक शिक्षा सिकाइमा स्थानीय सरकारको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा १२ वटा स्थानीय तहका १२ जना छात्रछात्राको सहभागिता थियो । प्रतियोगिता रुम टु रिड र रुडेक नेपालको आयोजनामा भएको हो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप