रुसमा भ्याक्सिन लगाउन थालियो, भारतमा परीक्षण, नेपालको भ्याक्सिन कहिले ?


  • हाम्रो कोशी आवाज
  • २०७७ भदौ २३

धरानः रुसी भ्याक्सिन ‘स्पुतनिक पाँचौ’ को पहिलो सेटको सार्वजनिक वितरण सुरु भइसकेको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन् । ११ अगस्टमा रुसले यस भ्याक्सिनलाई दर्ता गरेको थियो ।
मस्कोस्थित गामालिया रिसर्च इन्स्टिच्युुट अफ इपिडेमियोलोजी एन्ड माइक्रोबायोलोजीले विकास गरेको यस भ्याक्सिनको आवश्यक गुणस्तर जाँच भइसकेको र सर्वसाधारणमाझ वितरणको चरणमा रहेको मन्त्रालयले जारी गरेको छोटो विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयका अनुसार रुसभर वितरणका लागि भ्याक्सिनका अन्य सेटहरु पनि तयार अवस्थामा छन् ।
पहिलो र दोस्रो चरणको परीक्षण पास गरेको यस भ्याक्सिनलाई तेस्रो चरणमा परीक्षण हुन अगावै रुसले स्वीकृति दिएको हो । रुस सरकारले तेस्रो चरणको परीक्षण र सर्वसाधारणमा भ्याक्सिन लगाउने काम एकसाथ अघि बढ्ने घोषणा यसअघि नै गरेको थियो, पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी र शिक्षकहरु रहने पनि बताइएको थियो । स्वास्थ मन्त्रालयका अनुसार अब तेस्रो चरणको परीक्षणसँगै रुसका विभिन्न क्षेत्रमा विस्तारित रुपमा भ्याक्सिन वितरण हुनेछ । तेस्रो चरणमा ४० हजार जनामा भ्याक्सिन परीक्षण गर्ने रुसको योजना छ ।
रुसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्डका सिईओ किरिल डिमिट्रिभले यसै महिना भारतसहितका देशमा भ्याक्सिनको परीक्षण सुरु हुने बताएका छन् । रुसले यसअघि नै युुएई, साउदी अरेबिया, इन्डोनेशिया, फिलिपिन्स, मेक्सिको, ब्राजिल, भारतसहितका कम्तिमा २० देशले परीक्षणका लागि इच्छा देखाएको जनाएको थियो । भ्याक्सिन लिइसकेका रुसका रक्षामन्त्री सर्जेइ सोइगुले आफुले कुनै साइड इफेक्ट महसुस नगरेको प्रतिक्रिया दिएका थिए । ‘मैले सबै सहज महसुस गरेको छ ।कुनै साइड इफेक्ट वा उच्च तापक्रम महसुस भएन । म सबैलाई भ्याक्सिन लगाउन सल्लाह दिन्छु,’ शनिबार उनले रुसी टेलिभिजनमार्फत भने ।
यता कोरोना भाइरसको संक्रमणले विश्वलाई आक्रान्त बनाइरहेको समयमा यसविरुद्धको खोपको विकास भइरहेका खबर पनि आइरहेका छन् । चीन, रुस र बेलायतमा भ्याक्सिन विकासको काम भइरहेको छ । ती भ्याक्सिनको परीक्षण नेपालमा पनि हुने भएको छ । ती खोप कुन चरणमा छन ? कहिले खोप लगाएर कोरोना भाइरस सर्नबाट ढुक्क हुन सकिन्छ ? आम चासोको विषय बनेको छ ।
यसैबीच नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतिमा चीन, रुस र बेलायतमा विकासका क्रममा रहेका भ्याक्सिनको क्लिनिकल ट्रायल अगाडि बढाउन लागेको हो । परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीका अनुसार चीन, रूस र युके अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेको भ्याक्सिन नेपालमा पनि तेस्रो चरणको क्लिनिकल ट्रायल हुनेछ। यसका लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति पाइसकेको उनी बताउँछन् । ‘भ्याक्सिनको नेपालमा पनि तेस्रो चरणको परीक्षण गर्न कम्पनीहरू इच्छुक भएकाले यसको प्रक्रिया अगाडि बढाइसकेका छौं,’ डा ज्ञवालीले भने ।
पछिल्लो चरण नेपालमा परीक्षणका लागि अनुमति पाएका खोप परीक्षणका लागि मात्र तयार भएका हुन् । प्रयोगका लागि होइनन् । सबैभन्दा अघि बढेको भनिएको अक्सफोर्ड भ्याक्सिन ग्रुपले विकास गर्दै गरेको भ्याक्सिन पनि सन् २०२१ अक्टोबरसम्म परीक्षण नै हुने बताएको जनाइएको छ ।-एजेन्सी

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप