एसइईपछिको नयाँ गन्तव्य

धरान बाहिर पढ्न जाने घट्दै

धरानका कलेजले रोक्दै विद्यार्थी, धरानका कुन कलेजमा कुन विषय पढाइ ?


  • हाम्रो कोशी आवाज डेस्क
  • २०७७ भदौ २३

धरानः उच्च शिक्षा पढ्न धरान छाडेर जाने क्रम घट्दै गएको पाइएको छ । केही वर्षअघिसम्म एसइई उत्तीर्णसँगै राम्रो अङ्क ल्याउनेहरू अधिकांश राजधानी काठमाडौंसम्म पुग्ने गरेका थिए । यसको साथै विदेशसम्म पनि पुग्ने गरेको पाइएको थियो तर अहिले धरानमै राम्रा र गुणस्तरीय शिक्षा दिने कलेज सञ्चालनमा आएपछि धरान बाहिर जाने विद्यार्थी घटेका हुन् ।
पब्लिक हाइस्कुलका प्रधानाध्यापक इन्द्रमोहन झा एसइई उत्तीर्णपछि विद्यार्थी स्वतन्त्र हुन चाहन्थे त्यसैले पनि अभिभावकले त्यसैलाई मलजल गरेर मुख्यरूपमा काठमाडौं जाने प्रचलन भएपनि अहिले हटेर गएको बताउँछन् । उनले विज्ञान, व्यवस्थापनलगायत अन्य प्राविधिक विषय समेत पढ्ने विद्यार्थी ह्वात्तै बढेको बताउँछन् ।
धरानमा सबैले ‘क्वालिटी एजुकेशन’ प्रदान गरेको र पहिला प्रतिस्पर्धा थिएन, क्वालिटी पनि थिएन, अहिले फेरिएको यसअघि धरान आदर्श कलेजका साइन्स कोअर्डिनेटर (हाल एम्स एकेडेमी) नेत्र सुवेदी बताउँछन् । ‘क्वालिटीमा सुधार आएको छ । काठमाडौं जाने टे«न्ड अहिले धरानले रोकेको छ ।’
धरान एउटा रमाइलो शैक्षिक केन्द्र साथै शैक्षिक ‘हब’ पनि बन्दै गएको उनी बताउँछन् । ‘तर पनि धरानमा अझै शिक्षामा सुधार जरुरी छ ।’, उनले सुझाए, ‘सबैमा सद्भाव र सहयोगी भावनाको विकास हुन सकेको छैन । यही सद्भावको विकास हुन नसकेकोले पनि अझै धरान शैक्षिक केन्द्र बन्न सकेको छैन ।’

पुराना पुस्ताले नयाँ पुस्तालाई अभिभावकको भूमिका निर्वाह गरिदिए धरान शैक्षिक केन्द्र बन्न सक्ने उनको कथन छ । ‘यस्ता कुरालाई मनन गरेर अघि बढे अबको तीन वर्षमा हामीले सोचेंभन्दा सयौं गुणा राम्रो शैक्षिक हब बनाउन सकिन्छ । शिक्षा क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा भए समाज र राष्ट्रलाई नै फाइदा पुग्छ । सबैले यसतर्फ सोच्नु आजको आवश्यकता हो ।’ उनी थप्छन् ।
धरानस्थित नवोदय, युएन कलेजका प्रमुख डम्बरकुमार तुम्वापो यहाँको शिक्षा राम्रो भएसँगै विद्यार्थी बाहिर जान प्रचलन घटेको बताउँछन् । उनी अघिल्लो वर्षको प्रवेश परीक्षामा ए प्लस ग्रेडमा उत्तीर्ण ५ जना र ए ल्याउने १५० भन्दा बढी विद्यार्थी कलेज आइपुगेको बताउँछन् । ‘यसले के देखाउँछ भने काठमाडौं जाने विद्यार्थी घटेकै हुन्’, उनले थपे, ‘होटल म्यानेजमेण्टमा त यहाँ विद्यार्थी काठमाडौंका भन्दा राम्रा छन् ।’
पछिल्लो समय आफ्नै निगरानीमा राखेर पढाउनुपर्छ र बाहिर पठाउनु आवश्यक छैन भन्ने अभिभावकले बुझेको धरानस्थित विष्णु मेमोरियल माविका प्रिन्सिपल वेनिन्द्र कट्वाल बताउँछन् ।
धरान उच्च माविका साइन्स कोअर्डिनेटर सुनिल भगत भन्छन्, ‘पढाइमा प्रतिस्पर्धा र राम्रो नतिजा आउन थालेपछि विद्यार्थी बाहिर पढ्न जान छाडेको अनुभव गर्न थालेका छौं ।’

योभन्दा राम्रो शिक्षा नपाउने भएकाले बाहिर जाने विद्यार्थी न्यूनमा झरेको बताउँदै उनले धरान छाडेर होइन धरान आउने क्रम बढेको बताए । ‘यहाँका विद्यार्थी केही त जालान् तर धेरै जान्छन् भन्न सकिँदैन’, उनले भने, ‘बरू यहाँ पहाडी साथै तराईका जिल्लाका समेत विद्यार्थी आइपुग्छन् ।’
विष्णुका प्रिन्सिपल कट्वाल तीन–चार वर्षयता राम्रो अङ्क ल्याउने विद्यार्थी यहीँ पढ्ने गरेको बताउँछन् । ‘पहिले प्रथम श्रेणीमा प्रवेशीका उत्तीर्ण हुने धेरैजसो बाहिर जाने भए पनि अहिले जिपिए ४ ल्याउने अधिकांश विद्यार्थी यहीँ पढ्ने गरेका छन् ।’
‘राजधानीका ठूला कलेजको भन्दा आधा कम शुल्कमा घरकै खाना खाएर त्योभन्दा राम्रो शिक्षा यही पाउने भएपछि किन बाहिर पठाउने भन्ने अभिभावकमा छाप पर्न थालेको छ ।’ धरानस्थित समिट सेकेण्डरी स्कुलका प्राचार्य रमेश दाहाल बताउँछन् ।
एम्स एकेडेमीका प्रिन्सिपल मित्र तामाङ यहाँका उच्च माविहरूले गुणस्तर राम्रो दिएपछि प्राप्त भएको नतिजाका कारण विद्यार्थी बाहिर जान छाडेको बताउँछन् । ‘पहिलेको भन्दा बाहिर जाने विद्यार्थीको संख्या ८५ प्रतिशत कम भएको पाइएको छ ।’ उनले भने ।
धरानस्थित डिपोट माविका प्राचार्य राजकुमार राई अभिभावकको बुझाइ, विद्यार्थीको रोजाइका कलेज धरानमै हुनाले पनि विद्यार्थी धरान रोकिने गरेको बताउँछन् ।
गुणस्तरका लागि धरान छाड्नु नपर्ने सियोन स्कुलका डाइरेक्टर खड्गबहादुर थापा मगरको भनाइ छ । ‘यहाँका बाहिर जानेभन्दा बाहिरी जिल्लाबाट यहाँ आउने क्रम बढ्दो रहेको छ ।’ उनी भन्छन् । उनी मध्यम वर्गदेखि सबै क्षेत्रका व्यक्तित्वहरूलाई सुहाउने कलेज पनि धरानमै भएको बताउँछन् ।

‘धरानमा धेरै कलेज राम्रा छन् भनेर प्रचार गर्न सकियो भने धरान अवश्यक शैक्षिक हब बन्न सक्छ’, प्राध्यापक राजेन्द्र शर्मा भन्छन् । धरानमा शैक्षिक पूर्वाधार यथेष्ट छ, कृषि इन्जिनियरिङ पढाइ हुने एक मात्र सरकारी क्याम्पस यहीँ छ भने केन्द्रीय खाद्य प्रविधि क्याम्पस र संस्कृत क्याम्पसले धरानलाई पूर्वकै शैक्षिक केन्द्र बनाएको छ । धरानमा कृषि इन्जिनियरिङ, खाद्य प्रविधि, पोषण र आहार, चिकित्साशास्त्रको विषयमा उच्च तहसम्म अध्यययन गर्ने शैक्षिक संस्थाहरु भएकाले विद्यार्थीहरुको रोजाइमा धरान पर्दै आएको छ । यीबाहेक महेन्द्र बहुमुखी क्याम्पस र पिण्डेश्वर विद्यापीठ, चिकित्साशास्त्रमा पनि अरू मेडिकल कलेजहरूमा भन्दा तेब्बर बढी २८ विषयहरू धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन अध्यापन हुने गरेको छ ।
धरानमा निजीमध्ये कुन कलेजमा कुन सङ्काय अध्ययन अध्यापन ?
धरान शैक्षिक हबको रुपमा विकास हुने सम्भावना प्रशस्त देखिएको छ । यहाँका कलेजको लगातारको उत्कृष्ट नतिजाले पनि विद्यार्थी माझ परिचित गराएको हो । खासगरी साइन्स, म्यानेजमेण्ट, होटल म्यानेजमेण्ट, प्राविधिक विषयमा पढ्न विद्यार्थीको लर्को लाग्ने गरेको छ । यहाँ गुणस्तरसँगै हरेक तहलाई आवश्यक भौतिक संरचनामा गुणस्तरीयता थप्दै जाने क्रम चुलिँदो छ । धरान उच्च, युएन, नवोदय, समिट, विष्णु, नेशनल एकेडेमी, युरेका, विष्णु, विजयपुर, धरान आदर्श, डिपोट, एम्स, सियोन, सुनसरी टेक्निकल कलेज, नाष्ट कलेज जस्ता दर्जनौं कलेजले गुणस्तरीय शिक्षा दिँदै उत्कृष्ट नतिजा पनि निकाल्दै आएका छन् । यस्तै, सरकारी स्कुलमा पब्लिक, शिक्षा निकेतनजस्ता कलेजस्तरमा पढाइ हुने स्कुल पनि छन् ।
धरान उच्च, विजयपुर, विष्णु, धरान आदर्श, सियोन, एम्स, डिपोट, समिट, पब्लिक हाइस्कुललगायत अधिकांश स्कुल कलेजमा अन्य सङ्कायसँगै अहिले विज्ञान सङ्काय पनि अध्ययन अध्यापन हुन्छ । यस्तै, युएन, धरान आदर्श, समिटमा म्यानेजमेन्टसँगै होटल म्यानेजमेण्ट सङ्काय र अन्य सङ्काय पनि अध्ययन अध्यापन हुन्छ । अधिकांशले पूर्वमै उत्कृष्ट नतिजा पनि ल्याउँदै आएका छन् ।
गुणस्तरीय शिक्षासँगै उत्कृष्ट नतिजाले पनि धरानका कलेजले उच्च शिक्षा अध्ययन गर्न भारत साथै काठमाडौं जान रोकिरहेका छन् भन्दा फरक पर्दैन । सीमित शैक्षिक कार्यक्रम र शिक्षण संस्था सञ्चालन हुनाले दशकअघिसम्म डाक्टर, इन्जिनियरसहित उच्च शिक्षा अध्ययन गर्न पूर्वाञ्चलबाट हरेक वर्ष सयौं विद्यार्थी छिमेकी मुलुक भारत जान्थे कि त काठमाडौं । अहिले यो क्रम रोकिँदो छ ।

हेरौं धरानका केही कलेजमा अध्ययन हुने विषयः

धरान उच्चः साइन्स, म्यानेजमेण्ट, होटल म्यानेजमेण्ट, शिक्षा
धरान आदर्शः साइन्स, म्यानेजमेण्ट, होटल म्यानेजमेण्ट, कम्प्युटर साइन्स, ट्राभल एण्ड टुरिजम, शिक्षा
एम्सः साइन्स, म्यानेजमेण्ट, शिक्षा
युएन, नवोदयः म्यानेजमेण्ट, होटल म्यानेजमेण्ट
विष्णुः साइन्स, म्यानेजमेण्ट
समिटः म्यानेजमेण्ट, होटल म्यानेजमेण्ट, कम्प्युटर साइन्स, ट्राभल एण्ड टुरिजम
सियोनः साइन्स
डिपोटः साइन्स, म्यानेजमेण्ट
युरेकाः साइन्स, म्यानेजमेण्ट
विजयपुरः साइन्स, म्यानेजमेण्ट, शिक्षा
पब्लिकः साइन्स, म्यानेजमेण्ट, शिक्षा
नाष्टः साइन्स, डिप्लोमा इन फुड डेरी
नेशनल एकेडेमीः म्यानेजमेण्ट, शिक्षा
सुनसरी टेक्निकल कलेजः प्राविधिक धारका विभिन्न विषय

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप