धरानका निजी स्कुलका शिक्षक आन्दोलित

धरान उपमहानगरपालिकामा डेलिगेशन


  • हाम्रो कोशी आवाज
  • २०७७ भदौ २२

धरानः धरानका निजीका शिक्षक हामी भोकै छौं, खान देऊ भन्दा पत्याएनन् भन्दै धरान उपमहानगरपालिकामा डेलिगेशन गएका छन् । निजी विद्यालयमा कार्यरत् शिक्षकले उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी (सुवेदी) लाई ज्ञापनपत्र पनि बुझाएका छन् ।
न्याय स्थापित गरिपाऊँ भन्दै पुगेका शिक्षकका ज्ञापनपत्र बुझ्दै उपमेयर भण्डारीले प्याब्सन, एनव्याब्सन, एसीसीलगायतलाई छलफलमा डाकिने बताइन् । ‘अधिकांश विद्यालयका सञ्चालकले त तलब दिइसकेका छौं भन्नुभएको छ तर खासै तलब उपलब्ध गराएजस्तो लागेन, हामी छलफल चलाउँछौं ।’ उनले भनिन् ।
संस्थागत विद्यालय शिक्षक, कर्मचारी युनियन (इष्टु) सुनसरीका सचिव शम्भु रेग्मी, निजी तथता संस्थागत विद्यालय शिक्षक, कर्मचारी युनियन (प्याब्सु) सुनसरीका सचिव रोमनाथ ढुंगेललगायत शिक्षकको समूहले ज्ञापनपत्र बुझाएका हुन् ।
केही महिनाअघि धरानलगायत देशभरका शिक्षक भोकभोकै छौं, खान देऊ भन्दै आन्दोलनमै उत्रिएको बताउँदै तर अहिलेसम्म खास मागको सम्बोधन हुन नसकेको सचिव रेग्मीले बताए । ‘हाम्रो खास माग के हो भने सञ्चालकले सबै महिनाको तलब दिनुपर्छ भन्ने होइन, जति सकिन्छ दिएर अभिभावकको भूमिका निर्वाह गरिदिनुपर्छ भन्ने हो ।’

‘हामी भोकभोकै छौं, खान देऊ भन्दा पनि कुरै सुनिएन’, प्याब्सुका सचिव रोमनाथले भने, ‘त्यही भएर डेलिगेशन जान बाध्य भयौं ।’
अधिकांश स्कुलले वैशाखदेखि एक पैसा पनि तलब नदिएको इष्टुका उपाध्यक्ष संगीत श्रेष्ठले बताए । ‘हामीले इटहरीलगायतका ठाउँमा पनि गएर आन्दोलन समेत गरयौं तर अझै समस्याको समाधान नहुँदा भोकै बस्नुपरिरहेको छ ।’ उनले भने ।
जिल्ला सदस्य आकाश भाटीले धरानका केही विद्यालयले तलब दिएपनि धेरैले नदिएको गुनासो गरे । निजी विद्यालयहरूले हाल शिक्षकहरूलाई तलब नदिएकै कारण युवा शिक्षकहरूमा निराशा छाएको उनले बताए ।
‘विद्यालयलाई पनि समस्या होला तर अभिभावकको भूमिका निर्वाह गरिदिनुपर्छ भन्ने हाम्रो माग हो’, सचिव रेग्मी भन्छन् । अहिलेसम्म निजी विद्यालयका शिक्षक, कर्मचारीका समस्याबारे सरकारकै चरम लापरवाही भएको उनले बताए । सचिव रेग्मीले शिक्षक, कर्मचारीले चैतअघि र चैतपछि तलब नपाएको गुनासो पोखे ।
‘निजी विद्यालयमा काम गर्ने शिक्षक तथा कर्मचारीहरूले विगत चार महिनायता पनि तलब नपाएको अवस्था छ, विभिन्न विद्यालयहरूले शिक्षक–कर्मचारीहरू धमाधम निकाल्न थालेको, राज्यले पनि यसतर्फ कुनै चासो नदेखाएकोले हामी आन्दोलित बनेका हौं’, उनले थपे, ‘बिनातलब भोकभोकै मर्ने अवस्थामा आइपुग्दा पनि विद्यालय सञ्चालकहरू चुप लाग्नु अर्को आश्चार्यको कुरा हो ।’
इष्टुका सन्तोष कोइरालाले शिक्षक र शिक्षकका परिवारमा समस्यै समस्या भएको बताउँछन् । ‘श्रीमती घर गृहस्थ सम्हाल्छिन्, मेरै तलबले घर चलेको छ । त्यो तलब पनि नपाउँदा बालबच्चाको लालनपालन गर्न निकै धौधौ परेको छ ।’ उनले भने ।
उता निजी विद्यालयका सञ्चालकहरूले भने आफूहरूले शूल्क उठाउन नपाएकोले शिक्षकहरूलाई तलब दिन नसकेको बताउँछन् । ‘स्कुलहरूले वर्षौदेखि कम्पनीमा दर्ता भएर नाफा कमाउँदै आएकै छन् । तर पनि कोरोना संक्रमणको तीन–चार महिना पनि धान्न नसक्ने सुन्दा दुःख लाग्छ,’ सचिव रेग्मीले यथार्थमा भने, ‘स्कुलसँग तलब माग्दा शुल्क उठाएको छैन । तलब दिन गाह्रो छ भन्ने जवाफ दिन्छन् ।’

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप