नियात्राः माओको जन्मघर पुग्दा

नेपाली माओवादीहरूलाई मैले माओको जन्मघरमा पुगेर झल्यास्स सम्झें


  • भीम राई
  • २०७७ भदौ २२

माओको जन्मघरलाई मैले एउटा तीर्थस्थल नै सम्झें । त्यसैले जीवनमा एकचोटी त्यहाँ पुग्ने अभिलाषा थियो, जुन भर्खरै पूरा हुँदै थियो
पुलम्यान होटल जाङ्जाच्चेदेखि एउटा ट्याक्सी समातेर स्थानीय बस स्टेशन पुगेका थियौं । हामी त्यहाँ पुग्दा बिहानको ७ बजिसकेको थियो । ‘अभाटार पर्वत’ जाङजाच्चेले बनाएको वुलिङ्गयुन उपत्यकाको जमिनमा सूर्यको किरण भर्खर भर्खरै झर्दै गरेका थिए । बस स्टेशन बाहिर ट्याक्सीले ओरालेपश्चात् चालक एकैछिनमा विलुप्त भइहाले । चालकले छाडेपछि बसको टिकट कता पाउने होला भनेर दायाँ र बायाँ हेर्न थाल्यौं । वरिपरिका सबै परिचय पाटीहरू चाइनिज अक्षरमा भएको हुनाले हामीलाई बुझ्न निक्कै कठिनाइ भइरहेको थियो ।
बस स्टेशनबाहिर रहेका खुद्रा पसलहरू त्यसबेला भर्खर भर्खरै खुल्दै गरेका थिए । तर बसमा यात्रा गर्ने यात्रुहरूको भीड चाहिँ निक्कै बाक्लो थियो । कुन यात्रुहरू कहाँ जाने होला भनेर छुट्याउन हामीलाई हम्मेहम्मे परिरहेका थियो । उनीहरूको चालामाला हेर्दा वुलिङ्गयुन उपत्यकाका मानिसहरू अरुबेलासम्म सुतेर भर्खर भर्खरै ब्युँझिएका जस्ता देखिन्थे ।
प्रायःजसो यात्रुहरूले हातहातमा थर्मस जत्रा जत्रा चियाका कपहरू बोकेर ओहोरदोहोर गरिरहेका बिरमाइलो दृश्य त्यहाँ देख्न सकिन्थ्यो । हामीले पनि उनीहरु जस्तै सुक्खा चिया राखेको थर्मसमा सितैमा उपलब्ध हुने तातो पानी भर्यौ र तिनै तितर बितर भएका मानिसका भीडभित्र मिसिएर केहीबेर हिँडिरह्यौं ।

मानिसहरूको भीड सँगसँगै हिँडदै जाँदा बसको टिकट काट्ने काउन्टरको नजिककै पुग्यौं । चिनियाँ रेनमिबि दुई सय तिरेर छाङ्सा जाने बसको दुई वटा टिकटहरू किनेर सरासर घरभित्र छिरयौं ।
बस स्टेसनदेखि टाइसान, छेङ्गदु र छाङ्सा लगायात चीनका विभिन्न सहरहरूमा जाने बसहरू लहरै पार्क गरिएर त्यहाँ राखिएका थिए । हामी चाँहि कुन बस चढेर छाङ्सा पुग्ने होला भनेर केहीबेर दुविधामा परिरह्यौं । हुन त विगत दुई हप्तादेखि बेइजिङ, संघाई, हुबेई र हुनान प्रान्तहरूको यात्रामा त्यस्तो नियति प्रशस्त भोग्न परिरहेको हामीसँग अनुभव थियो । त्यसैले केही उपाय फुरिहाल्ला कि भन्ने आशावादीको साथ एउटा कुनामा उभिरह्यौं ।
यतिकैमा निलो झोला बोकेर एकसुरमा हिँडिरहेको एउटा फुच्चे हाम्रो सामु देखापरयो । फुच्चेले कतै अंग्रेजी बोलिहाल्छ कि भनेर पहिले ‘नि हाउ’ भने । उसले प्रति उत्तरमा नि हाउ भनेको हुनाले ‘नि सोउ इङयोन मा ?’ भनेर प्रश्न गर्दा थोरै मुस्कान छाडेर उत्तर दियो ।
हाम्रो टिकट मागेर उसले एक सर्को हेरयो र अलिक पर कुनामा पार्क गरेर राखेको बसलाई संकेत गर्दै त्यहाँ जानोस् भन्यो । मैले धन्यवाद ‘सिसे’ भनिदिए, उसले सुर्ता गर्नुपर्दैन ‘मेई वेन्ती’ भन्दै उसको बाटो लाग्यो । हामी सुटकेस गुडाउँदै गुडाउँदै बस चढ्ने ठाउँतर्फ लाग्यौं ।
‘तपाईलाई थाहा भई नभै के संसार घुमिरहनुपर्ने होला ? अब…कुन्निँ, त्यो बस पनि सही हो कि होइन ? मुख तन्काएर कानसम्म पुरयाउँदै अशोभनीय तरिकाले ताराले म सँग तत्कालै रिस ओकलिन् ।
‘सबै कुरो जन्मँदै कसलाई थाहा हुन्छ र..? अनुभव गरेर नै चाल पाउने हो,’ मैले छोटो उत्तर फर्काइदिएँ ।
हामी तिनै चिनियाँ युवकले भनेको बसको ठीक अगाडि पुग्यौं । त्यहाँ पुगेपछि बस चालकलाई थोरै मुस्कानसहित ‘छाङ्सा’ मात्रै भने । नभन्दै उनले पनि टाउको हल्लाएर ‘हो’ भन्ने जवाफ फर्कायो । उनको नजिकै पुगेर बसको टिकटहरू देखाइदिएँ । टिकट हेरिसकेपश्चात् सुटकेसहरू मुनि स्टोरमा राख्न भनेर देब्रे हातले इशारा गरे । उसले भने बमोजिम सुटकेसहरू मुनि राखेर हामी बसभित्र पस्यौ ।
त्यो दिन २० अक्टोबर २०१७ को थियो । वुलिङ्गानमा त्यस दिनको मौसम अति सफा थियो । आकाशमा बादलका एउटा टुक्रा पनि देखिएको थिएनन् । सदावहर रुन्चे झरीसँग बाझिरहने बेलायती मौसमबाट भागेर त्यति सफा मौसममा पुग्दा मनभित्र आनन्दका अनुभूति भइरहेको थियो ।

घडीको सुईले बिहानीको आठ बजाउँदा बसले बिस्तारै टायर गुडाउन थाल्यो । मैले झ्यालको शिशालाई सरर धकेलेर अभाटार पर्वतको अन्तिम नजर लगाउन थालें । तर तिनै पर्वत श्रृंखलाबाट बहँदै बहँदै आएको मन्दमन्द बतासले मेरो गालालाई छुँदै गरेको मलाई हल्का आभाष हुन थाल्यो । हुनान प्रान्तको ‘अभाटार पर्वत, जाङजाच्चे’ सम्भवतः संसारको सबैभन्दा सुन्दर ठाउँ होला भनेर हिजो राति नै होटलको कोठामा तारासँग निक्र्यौल गरिसकेका थियौं ।
बस मुख्य सडकमा निस्कने बितिक्कै लगभग साठी माइल प्रति घण्टाको गतिमा गुड्न सुरु गरयो । त्यति फराकिलो चिनियाँ बाटोमा जर्मनीमा बनेको बसले झन् झन् बेग मार्न थाल्यो । बसको गतिसँगसँगै अभाटार पर्वत सुस्तरी सुस्तरी टाढा क्षितिजमा विलय हुन थाल्यो । त्यति बिहानै तर त्यति नरमाइलो दृश्य देखेर मेरो मुटु च्वास्स च्वास्स घोचिरहेको आभास भइरहेको थियो ।
लिसुई नदीको किनारै किनार त्यति ठूलो सडकमा बस एक रफ्तारले दगुरिरहँदा म किमकर्तव्यविमुढ भइरहेको थिएँ । त्यति रमणीयस्थल सधैं सधैंको लागि छाडेर जानु गर्दा अचानक ताराको मधूरो स्वर मेरो कानमा बज्रन आइपुग्यो ।
‘बुढो, जाङजाच्चे त फेरि पनि आउनुपर्छ है ?’
हृदयस्पर्सी उनको त्यो आवाजले पहिले म खन्द्रङ्गै झस्के किनभने प्रकृतिको मनोरम दृश्यप्रति भावविह्वल बनिरहेको थिएँ । त्यसैले मेरो मुखबाट एक्कै शब्द फुत्केको थिएन । तर उनको सुकोमल मुहार हेरे र फिस्स मुस्कान छाडेर हल्का स्वीकारोक्ति जनाए । तर उनले अभाटार पर्वत पनि दोहोरयाएर आउने सूचीमा राख्दा मलाई धेरै खुशीका अनुभूति मिल्यो ।
छाङ्दे सहर पुगेपछि बसले लिसुई नदीको किनारलाई सधै सधैको लागि बिदा गरी पठायो अनि मध्याह्नको चिनियाँ भोजनको लागि बसले एकघण्टा थकाई मारयो । हुनान प्रान्तमा पाईने विभिन्न प्रकारको किरा फट्याङ्ग्रा हसुरेपछि हाम्रो यात्राले पुनः निरन्तरता लिन सुरु गरयो । छाङ्साको मेट्रो स्टेसन अगाडि पुगेर बस रोकिँदा समय दिउँसोको ठिक ३ बजिसकेको थियो ।

‘कोर्टयार्ड बाई मेरिवट’ छाङ्सामा रात कटाएपश्चात् भोलि बिहान तिनै मेट्रो स्टेसनको अगाडि फेरि हाजिर भएका थियौं । त्यो स्टेशनको सिधै अगाडि बैकं अफ चाइना देखा पर्दा मलाई चिलाएको ठाउँमा कन्याउन पाएको जस्तो भयो किनभने लण्डनदेखि लिएर आएको चिनियाँ युवान सकिनै लागेको थियो । बैंक देख्ने वित्तिकै केही अमेरिकन डलरलाई युवानमा साट्नका लागि हामी सरासर बैंकभित्र छिरयौं ।
हामी बैंकभित्र पस्दा केही मानिसहरू पङ्क्तिवद्ध भएर उभिरहेका थिए । ताराले थपक्कै एउटा कुर्सी ओगटिहालिन् र म चाहिँ तिनै पङ्क्तिको पछाडि उभिन थाले । केहीवेरपछि काउन्टरमा पुग्दा अमेरिकन डलरलाई सटही गर्न सहरको मुख्य बैंक जानुपर्छ भन्ने कर्मचारीले भन्दा म खङ्ग्रङ्गै भए । अब चानचुन ७० लाख जनसंख्या भएको सहर छाङ्साको मुख्य बैंक कहाँ पर्ने होला भनेर नुन खाएको कुखुराझै झोक्राउँदै झोक्राउँदै काउन्टर छाडेर निस्के ।
मेरो नजिकै एक जना चिनियाँ युवती उभिरहेकी थिइन् । उनले मलाई केही सहयोग गर्ने अपेक्षा गर्दै मसँग बोल्न आइन् । त्यसपछि उनले, ‘के तपाईसँग क्रेडिट कार्ड छ ?’ भनेर मलाई प्रश्न गरिन । मैले ‘छ’ भनेर छोटो उत्तर फर्काइदिएँ । उनले ‘यता आउनोस्’ भन्दै मेसिनबाट पैसा निकाल्ने ठाउँमा लगिन् । मैले मेसिनमा कार्ड छिराएपछि त्यहाँ देखिने चिनियाँ अक्षरहरु पढेर उनैले युवान निकाल्न मद्दत गरिन् । उनलाई धेरै धेरै धन्यवाद दिँदै हामी त्यहाँबाट विदा भयौं ।
‘सिटी अफ इन्टरट्रेनमेन्ट’ मनोरन्जनको सहर भनेर विख्यात उपनामले चिनिने ‘छाङसा’ सियाङ नदीको दायाँबायाँ किनारमा फैलिएर रहेको थियो । सियाङ नदी कुनै कुनै बेला जोडिएर र कुनै कुनैबेला विशाल भङ्गालाहरूमा विभाजित भएर दुईतर्फ हानिँदा नदीले ससाना दीपहरुको निर्माण गरेका थिए । हामी तिनै दीपहरुमध्येका एउटा सुन्तला दीप ‘ओरेन्ज आइल’ जाँदै थियौं ।
बैंकबाट निस्केर हामी छाङ्सा मेट्रोको ‘लाइन दुई’ समातेर जुजिजौ स्टेशन सुन्तला दीपमा पुग्यौं । स्टेशनदेखि बाहिर निस्कने ठाउँमा सानो खेलौना रेल हाम्रो प्रतिक्षा गरेर बसिरहेको थियो । थोरै युवान तिरेर चढेको त्यो रेलले एक्कै क्षणमा अध्यक्ष माओको टाउकोको प्रतिमास्थलमा पुरयाइदियो । दुई वर्ष लगाएर सन् २००९ मा सम्पन्न गरिएको त्यो माओको टाउकोको शालिक फुजियन प्रान्तदेखि ल्याइएको ग्रेनाइट चट्टानबाट निर्माण गरिएको थियो । ३२ मिटर अग्लो र ८ सय टन चट्टानबाट बनेका तिनै शालिक छाङ्साको मुख्य पर्यटकीयस्थल थियो ।

भोलि बिहानको १० बजे हामी ‘छाङसा दक्षिण रेल स्टेशन’ पुगिसकेका थियौं । जुन स्टेसनदेखि उच्च गतिको ट्रेन समातेर अध्यक्ष माओ त्से तुङ्को जन्मघर ‘साओसान’ जाँदै थियौ । स्टेशनको माथिल्लो तलामा रेलको टिकट र सुरक्षा जाँच गरेपछि हिँड्दै प्लेटफर्ममा झरेर हामी चढ्नै लागेको डिब्बा रोकिने स्थान नजिक गएर रेलको प्रतिक्षा गर्न थाल्यौं ।
केही समयपछि रेल आयो । र, दुवै जनाले रेलको आरामदायि सिटमा बसेपछिः
‘तारा, एउटा जिन्दगी जिउनुपर्छ यदि यसैलाई राम्रो बनाउने हो भने यो नै काफी हुन्छ, हगि ?’
मेरो भनाइलाई उनले राम्ररी सुनिनन् तर केही प्रतिक्रिया दिन चाहिनन् । बरु एकै शब्द नबोली अर्कोतिर फर्केर सर्लक्कै आँखा चिम्लेर निदाउने प्रयत्न गरिन् । उनले निदाउने प्रयत्न गरेपछि मेरो लोभी नजरलाई यता उता डुलाउन थालें ।
रेल गुड्न थाल्यो र विस्तारै उच्च गति लियो । उच्च गतिमा गुडेको रेलभन्दा पनि विमानमा उडmेैं मलाई महसुस भयो । रेलको हरेक डिब्बा छुट्याउने मुख्यद्वारको सिधै माथि सानो विद्युतीय सूचना दिने ठाउँ थियो । त्यस स्थानमा समय समयमा अंग्रेजी र चाइनिज अक्षरमा सूचनाहरु क्रमैसँग झुल्कन्थे र केहीछिनमा मेटिन्थे । रेलले केही मिनेटमा नै प्रतिघन्टाको गति ३१० किलोमिटर लिएको सूचना त्यहाँ देखा पर्दा मैले पुर्पुरोमा हात राखेर आश्चर्य प्रकट गरिरहें ।
समथर भूमिमा लटरम्म पाकेका सुन्तला, कागती र निभुवाका फलफूल हेर्दैहेर्दै हाम्रो समय अविरल बहने नदीझैं बहिरह्यो । रेलले लिएको उच्च गति सँगसँगै चिनिया परिचारिकाहरूले पेय पदार्थहरू लिएर हाम्रोसामु खडा हुन थाले । कुनै कुनै यात्रुहरूले वियर र वाइन किनेर पिउन थाले तर कोहीकोहीचाहिँ त्यतिकै बसिरहे । मैले पनि एक बोतल फुच्चे ‘सिङ्ताओ बियर’ दिनुहोस् भनेर मागे र टेक्क आवाज निकालेर फुटाए । मैले वियर फुटाएको वियरको आवाज ताराको कानसम्म पुग्यो ।
‘यति बिहानै पनि के बियर रुचेको हो ?’ मस्तसँग सुतेकी जस्तो लागेको थियो तर अमिलो आवाज निकाल्दै बोलिन् ।
‘जाबो वियर पिउन पनि कस्ले साइत जुराइरहन्छ र…?’ रुखो जवाफ हावातिर छाडी पठाइदिएँ ।
रातो ज्याकेट र रातै स्कर्ट लगाएकी मोडल जस्ता देखिने परिचारिकाहरूले टकटक हिल पड्काउदै विभिन्न प्रकारका बास्नादार चाइनिज खानाका परिकारहरू धमाधम ट्रलीमा गुडाउन थाले । उनीहरू गइसकेपछि ‘लाशि–लाशि’ भन्दै फोहोर उठाउने युवतीहरू देखा पर्न थाले । लाशि युवतीहरू रेलको अगाडि भागबाट पूर्णिमाको चन्द्रमाझैं झुल्केका थिए र केही क्षणपछि डिब्बाको पछाडितिर अस्ताई हाले ।
युवतीहरूको चहलपहल सकिनेवित्तिकै डिब्बामा एकाध शुन्यताले छाइरह्यो । धेरै यात्रुहरू वियर र वाईनको चुस्की सँगसँगै पत्रिका पढिरहेका थिए । तर मैले चाहिँ मन भुलाउन लोभी नजरलाई झ्यालबाट सिधै बाहिरतिर डुलाउन थाले । मलाई यस्तो लाग्यो । रेल कतै घरहरूको धुरीधुरी भएर त दगुरिरहेको छैन, किनभने त्यहाँबाट मुनि जमिनमा मानिसका आकृतिहरू कमिला जत्राजत्रा मात्र देखिएका थिए । मलाई त्यो दृश्यले आफ्नो देश सम्झेर थोरै वितृष्णा उत्पन्न गरायो किनभने एउटा असल छिमेकी राष्ट्रले मानवीय कल्पना भन्दा धेरै टाढा पुगेर हामीलाई थाहै नदिई विकासको फ्डको त्यति धेरै मारिसकेका रहेछन् ।
म घनिभूत भावनामा डुवुल्की मारिरहेको थिएँ । अचानक रेलको सिलङमा भएको ध्वनि प्रशारक यन्त्रबाट टिङरिङ…गरेको आवाज आयो । आवाज सँगसँगै चालकले रेल साओसान पुग्नै आटेको उद्घोषण गरे । उद्घोषणले तारालाई मस्त निन्द्राबाट सर्लक्कै ब्युझाइदियो । उनले ब्युझँने क्रममा भर्खरै प्वाख पलाउँदै गरेको जुरेली चरीको सानो बचेराझैं विस्तारै आँखा खोलिन् र मलाई तिनै चिम्रो आँखाले छड्के नजर हानिन् । तिनै निर्दयी चर्मचक्षुहरू म देखि लोप हुनै लाग्दा मैले वियरको अन्तिम घुट्की पिएँ र बोतललाई बिदाइ गरी पठाएँ ।
बिना आवाज रेलले विश्राम लियो । हामी आआफ्नो हाते झोलाहरू च्यापेर रेलबाट बाहिर निस्कन थाल्यौं । तर मैले जमिनमा राम्रोसँग खुट्टा टेक्न नपाउँदै
‘खै माओको घर कहाँ हो ?’
एकझप्को सुतेर उठेपछि ताराले अमिलो प्रश्न गरिन् । रेलदेखि झर्नेवित्तिकै आएको उनको त्यो प्रश्नले म केहीबेर नाजवाफ बने । माओको गाउँमा आएर श्रीमतीसँग झगडा गरेर के ‘युद्ध कौशल’ देखाइहाल्ने भन्दै म केही नबोली लुरुलुरु हिँडे । बरु बराबरी उत्तरदायित्व बहन गर्नुपर्छ किनभने ‘आधा आकाश नारीको पनि हो’ भन्ने माओको महानवाणीलाई त्यतिबेला नरमाइलो मान्दै सम्झिरहें ।
हाम्रो कदमहरू स्टेशनबाट बाहिर पर्नेबित्तिकै दुरीबाट ‘माओ जी दुङ, माओ जी दुङ’ भन्ने युवतीहरूको सुरिलो आवाज हामीतर्फ आउन थाल्यो । तिनै आवाजले डोरयाउँदै डोरयाउँदै हामीलाई बस पार्कसम्म पुरयाइदियो । तिनै युवतीहरूको बीचबाट एउटी सिन्का जस्ती पातली युवती मेरो नजिक आइन् र थुतुनो बङ्ग्याउँदै बोल्न थालिन् ।
‘ट्याक्सी वा कोचबाट जानुहुन्छ ?’
उनले बोलेको कुरो मैले शंकाको भरमा बुझ्न खोजे । चोर औंला उठाएर नजिकैको कोचमा जाने संकेत गरिदिए । उनले पनि हात उठाएर ठीकै छ भनेर स्वीकार गरिन् । हामी कोचमा पसेको एक्कै छिनमा ह्वारह्वार्ती चिनियाँहरू पस्न थाले र मेण्डरिन भाषामा काङ्ल्याङ कुङ्लुङ गर्दै कोच भरी भइहाले । चिनियाँहरू होहल्ला गर्न र उछिना उछिन गर्न चाहिँ माहिर हुने रहेछ भन्ने कुरो उनीहरूले त्यहाँ देखाएको ब्यवहारबाट प्रष्ट भएको थियो ।
केहीवेरमा दुई वटी स्वर्गको परीहरू कोचभित्र छिरे र पालैपालो मेण्डरिन भाषामा लामो भाषण गरिरहे । उनीहरूले त्यति लामो समयसम्म बोल्दा पनि अंग्रेजीमा एउटै शब्द उच्चारण नगर्दा मेरो मनभित्र एकदम खल्लो खल्लो भयो । अब के हुने होला भनेर ताराले मलाई चिमोटिरहँदा म भित्रको सागरमा त्रासको छाल उर्लन थाल्यो ।
‘माओको घर आउनुभयो कि…? अहिलेसम्म कुनै नेपालीलाई यति टाढा आउन रहर लागेको थिएन । तपाईलाई नै नानाथरी ?’ उनको त्यस्तो अपूर्ण तर नमिठो वचन मेरो दाहिने छातीमा तीर झैं सिधै आएर बज्रन पुग्यो ।
‘आ… कोचभित्र छौ, सबै त्यतैतिर त जाने होला ?’ मनभित्र थोरै त्रास उत्पन्न भइरहेको थियो तर बाहिर ढुक्क भएको नक्कल पार्दै जवाफ फर्काइदिएँ ।
युवतीहरूले भाषण सक्नेवित्तिकै कोचभित्र टिकट बेच्न शुरु गरे । हामीले चाहिँ उनीहरूको फिटिक्कै कुरो बुझेका थिएनौं । त्यसैले कुन टिकट किनेर कहाँ जाने होला भनेर दुविधामा परि रहेका थियौं । फेरि त्यति धेरै प्रकारका टिकटहरू के के का लागि होला भनेर झन् पीरको भारी माथि सुफाडी थपिन पुग्यो । तैपनि मैले एउटा टिकट मागेर कतै अंग्रेजी अक्षरमा केही लेखिएका छन् कि भनेर ओल्टाइपल्टाइ हेरे । एउटै फिट्टो अंग्रेजी अक्षर नभेटिएपछि हाम्रो यात्रामा झन नयाँ चुनौती थपिन पुग्यो ।
‘श्रीमान् ज्यू के माओको जन्मघर निल्नु न ओकल्नु भयो हो ?’ जिब्रो लटपटिदै लटपटिदै फेरि अर्को झटारो आइहाल्यो ।
‘केही भएको छैन । एकछिन धैर्यताको औषधि खाउ न,’ थोरै सान्त्वना दिने प्रयत्न गरे ।
उनलाई त्यति भनि सकेर कोचको झ्यालबाट एकछिन बाहिर तिर हेरें । मध्याह्नको टन्टलापुर घामले साओसान गाउँ मुस्कुराई रहेको देखिन्थ्यो । आँखाले देखेसम्म कोचहरू लमटन्न पार्क गरेर राखिएको सुन्दर दृश्य मेरो मस्तिष्कमा कैद गरे । कोचहरूको रमितापछि लामो लामो सास तानेर एकछिन शान्तसँग बसें । त्यसपछि कोचमा यात्रा गर्ने टिकट मात्रै किनेर माओको घरसम्म जाने निधो गरे । र, बाँकी निर्णय उतै तिर पुगेर गरौला भन्ने मनस्थितिमा पुगे ।

त्यति राम्री राम्री युवतीहरूको टिकट बेच्ने आकांक्षालाई खिन्न पार्दै हामीले कोचबाट यात्रा गर्ने दुई वटा टिकटहरू मात्रै खरिद गरयौं र, सबै यात्रुहरूको हात हातमा टिकट परेपश्चात् कोचले विस्तारै बाटो तताउन थाल्यो । मुख्य सडकमा पुगेपछि सडकका चौडाइहरू असाध्यै फराकिला देखेर ताराले आश्चर्य मान्दै–
होइन यो बाटो हो कि, एअरपोर्ट हो ?’
नभन्दै त्यहाँका सडकहरू त्रिभुवन विमानस्थलको धावन मार्गभन्दा अति ठूलो देखिएका थिए । कोचले मुख्य सडकमा केहीबेर हिँड्यो र मुख्य सडक छाड्नेबितिक्कै ‘माओ त्से तुङ स्क्वायर’ पुगेर रोकियो । कोच रोकिने वित्तिकै चिनियाँहरू होहल्लाको साथ ओर्लन थाले । बसिरहेको ठाउँबाट हामी पनि जरयाकजुरुक उठ्यौं र उनीहरूलाई पछ्याउदै कोचबाट झरयौं ।
जमिनमा हाम्रो पाइताला पर्ने बितिक्कै सिधै अगाडि बडेमाको महल देखियो । सबै तिर्थालुहरू एकासुरमा त्यतैतर्फ हानिएर गए । हामी पनि उनीहरूको पछिपछि लागेर महलको ठीक अगाडि पुग्यौ । महलको सिधै अगाडी मस्की रहेकी आकर्षक युवतीहरूले हामीलाई उनीहरूकै भाषामा स्वागत गरे । त्यहाँ भएका कुनै पनि युवतीहरूले अंग्रेजी नबोलेपछि खिया परिसकेको मेरो मेण्डरीनले पनि केही माखा मार्न सकेनन् ।
केही अन्य उपाय नफुरेपश्चात् समूहको एकजना युवती दगुर्दै घरभित्र पसिन् । एकैछिनमा उनीभन्दा झन् सुन्दरी युवती लिएर हाम्रोसामु उपस्थित जनाइन् । ती युवतीले केही अंग्रेजी पर्चाहरू बोकिरहेकी थिइन् र, मलाई देख्नेबित्तिकै उनले कम्बर मर्काउँदै एउटा पर्चा दिइहालिन् । मैले पर्चा लिएर एक झलक पढी हेरें । पर्चामा अध्यक्ष माओको जीवनीदेखि साओसान गाउँको विस्तृत परिचय लेखिएको थियो ।
पर्चालाई राम्ररी हेरे पश्चात् माओको जन्मघर र मेमोरियल स्क्वायर जाने टिकट किन्न उनीसँग मन्जुर गरे । उनले टिकट किन्ने स्थानमा हामीलाई लगिन् । टिकट किनिसकेपछि सँगसँगै महलभित्र पस्यौं । महलको सिधै पिछाडि एउटा ठूलो बसपार्क थियो । हामीलाई केहीबेर त्यहीँ बसी राख्नोस् भन्दै उनी विलुप्त भइन् ।
बस चालकहरूको हुलबाट एकजना चालक बोलाएर ल्याइन् र एउटा सिंगै बस हाम्रो लागि ब्यवस्था गरिदिइन् । त्यसको साथ साथै चालकलाई हाम्रो भ्रमणको बारेमा संक्षिप्त जानकारी पनि गराइन् । मैले जिन्दगीमा कुनै कुनैबेला, ‘नारीको हृदयमा ईश्वरले बास गरेका हुन्छन्,’ भन्ने सुनेको थिएँ । आफूसँग सँगै यात्रामा निस्केकी नेपाली नारीले त्यस्तो ब्यवहार नदेखाएपनि ती चिनियाँ नारीको त्यस्तो ब्यवहार देख्दाचाहिँ केही हदसम्म त्यो भनाइ सत्य लाग्यो ।
केहीबेरमा हामी दुईजनालाई लिएर कोचले बाटो ततायो । र, माओको जन्मघरको केही अगाडि झारिदियो अनि उसले हिँड्दै जाने बाटो पनि हामीलाई देखाइदियो ।
हामी हिँड्दै जाने सानो गोरेटो बाटो थियो । र, बाटैभरि चिनियाँ पर्यटकहरू बग्रेल्ती थिए । धेरैजसो पर्यटकहरू विभिन्न गाउँ, स्कुल, कलेज र प्रदेशबाट आएका थिए किनभने उनीहरूले सोही प्रकारका झण्डाहरु बोकिरहेका थिए । कतिपय पर्यटकहरूले खाकी रङ्गका पहिरनमा रातो तारा अङ्कित टोपी लगाएका थिए ।
पर्यटकहरूले रातो तारे टोपी लगाएको देख्दा नेपाली नक्कली माओवादीहरूलाई मैले माओको जन्मघरमा पुगेर झल्यास्स सम्झें । कमरेड माओत्सेतुङ्को जन्मघरमा भेटिएका माओवादीहरूचाहिँ सायद राष्ट्रघाती एवम् महाभ्रष्टाचारी हुन्नन कि जस्तो लाग्यो नत्रभने नेपाली माओवादीहरूले चाहिँ चन्दा आतङ्क मच्चाउने, सुतिरहेको जिउँदो फिला ताछ्ने, तास खान लगाउने वा खाना खान नदिएमा गालामा झापड हान्ने गरेको तितो अनुभव सम्झेर मेरो आङ जिरिङ्ग भयो ।
नेपाली माओवादीले दिएको अमिलो अनुभव सम्झँदै माओको घर अगाडिको गोरेटोमा हिँडिरह्यौं । गोरेटोलाई छाडेपछि भर्खरै पाकेर थन्क्याइएको धान खेतको आली आली हिँड्यौ । कोही कोही पर्यटकहरू पानी नभएको खहरे खोल्साको किनारै किनार पनि हिँड्दै गरेका देखिन्थे ।
कट्टर हिन्दु धर्मावलम्वीहरूले जीवनको उत्तर्राधमा काँशी जानुपर्ने रहर गरे झै चिनियाहरू पनि माओको जन्मघरलाई जिन्दगीमा एकचोटी पुग्नैपर्ने तिर्थयात्राको रूपमा सम्झने रहेछन् । म नास्तिक थिएँ, त्यसैले चारधाम जाने रहर कहिल्यै गरिनँ । बरु आफ्नो प्यारो देश नेपाल पनि कम्युनिष्टमय भइसकेको हुनाले माओको जन्मघरलाई मैले एउटा तीर्थस्थल नै सम्झें । त्यसैले जीवनमा एकचोटी त्यहाँ पुग्ने अभिलाषा थियो । जुन भर्खरै पूरा हुँदै थियो ।
हिँड्दै धान खेत पार गरेपश्चात् भर्खरै पाकेका खर्बुजा घारी छिचोल्यौं । साम्यवादी शासन ब्यवस्था भएको मुलुक चीनमा सामाजिक सञ्जाललाई पूर्णरूपले निषेध गरिएतापनि जथाभावी हिँडन पाउँदा चाहिँ आफूलाई केही हदसम्म प्रजातान्त्रिक अभ्यास भएको अनुभूति भयो । माओको जन्मघर अगाडि मानिसहरूको भीडको बयान गरेर साध्य थिएन । त्यति धैरै मानिसहरूको भीड त मैले ‘जेसस क्राइस्ट’ को जन्मघर बेत्लाहम, जेरुसेलम पुग्दा पनि देखेको थिइनँ ।
हामी तिनै भीडबाट जोगिएर अलिकति सास मात्र बाँकी राखेर माओको जन्मघरको ठेक्कै आँगनमा पुग्यौं । अनि ताराले आँगनमा पहिलो पाइला टेक्ने बितिक्कै –
‘मरेर मरेर आइपुगियो । हुन त म यहाँ आएर पनि मैले के नै पो पाउँछु र केवल तपाईको रहरको साथी मात्रै त हुँ ।’
त्यहाँ पुगेर प्रफुल्ल मुद्रा पार्नुको सट्टा नरमाइलो मान्दै ताराले पहिलो वाक्य छोडिन् । मैले उनको भनाइलाई केवल सुनिमात्रै रहें । घरको मूलढोका अगाडि उभिएर करिब तीन करोड जनसंख्याको बध गर्ने अध्यक्ष कमरेडलाई पश्चिमेलीहरूले कुख्यात तानाशाह भनेर उपनाम दिएका केहीबेर सम्झिरहें । कस्तो वातावरणमा माओ हुर्केका थिए ? जसले गर्दा त्यति धेरै मानिसहरूको हत्या गर्ने उन्माद उहाँ माथि चढ्न गयो होला भनेर एकछिन सोचिरहे । तर त्यति धेरै मानिसको हत्यारालाई पनि चिनियाँहरूले भगवानको अर्को रुप मान्दै आएको देख्दा म केहीबेर भावुक बनिरहें ।
हुनत माओले, ‘इतिहास हाम्रो रोगको लक्षण हो,’ भनेका थिए तैपनि हामी उहाँको घर आँगन पुगेको थोरै इतिहास होस् भनेर सम्झनाका लागि केही तस्वीरहरू लिन थाल्यौं । ठीक त्यही बेला नानजिंङ्की एउटी कमरेड युवतीसँग हाम्रो अचानक भेट भयो । उनले नै हाम्रो तस्वीरहरू लिनको लागि मद्दत गरिन् । लिभरपुल युनिभर्सिटीमा अंग्रेजी भाषा अध्ययन गरेकी लिना जियाङले माओको विषयमा हामीलाई संक्षिप्त इतिहास पनि सुनाइन् ।
माओको जन्म २६ डिसेम्बर १८९३ मा त्यही घरमा भएको थियो । १७ वर्षको उमेरमा अध्ययनको लागि छाङ्सा गएर १९१२ मा त्यही घरमा फर्केका थिए । १९२९ मा यस घरलाई कोमिन्ताङ सरकारले जलाई दिएपछि १९५० मा कम्युनिष्ट सरकारले हुबहु निर्माण गरिदिएका थिए । त्यो घरलाई सङ्ग्रहालयमा परिणत गरेपछि माओले १९५९ मा अन्तिमचोटी त्यहाँ भ्रमण गरेका थिए ।
अन्तमा, ‘बन्दुकको नाल बाट राजनीति शक्ति निस्कन्छ,’ माओको भनाई राख्दै लिनाले दाहिने हात मुठ्ठी बनाएर आकाशतिर उठाउँदै हामीबाट सधै सधैको लागि बिदा भइन् । उनी बिदा भएपछि हामी घरभित्र पस्ने जमर्को गर्न थाल्यौं । ४७२ वर्ग मिटरको चार धुरे खैरो घर बाहिर मानिसहरूको भीड बाक्लै थियो । केही समयसम्म पङ्क्तिमा उभिएर हामी पनि घरभित्र पस्यौं ।
घरभित्र सानो स्मारिकाको दोकान थियो । जहाँ माओको मूर्तिहरू, बन्दुकका गोलीहरू, लालबुकदेखि विभिन्न पुस्तकहरू बेच्नका लागि राखिएका थिए । हामीलाई सबैभन्दा आश्चर्यचाहिँ त्यतिबेला भयो जतिबेला प्रसन्न मुद्रामा रहेका माओको शालिकसँग तस्वीर लिन मान्छेहरू एकअर्कामा माहुरीझैं खप्टिरहेका देखिन्थे । हामीले क्रमसः विस्तारा, भान्साकोठा, खाना खाने ठाउँ र उनका कार्यालयको नजर लगाएर बाहिर निस्क्यौं ।
घर पछाडिको करेसाबारी र वरिपरीको वातावरण अति स्वच्छ थियो । घरको सिधै अगाडी एउटा आकर्षक तलाउ देखिन्थे । तलाउका छेऊ छेऊमा हिँडने गोरेटोहरू सफा थिए । तिनै गोरेटोको किनारै किनारमा माओको सम्झनाको लागि लहरै रोपिएका रूख विरुवाहरू अति शोभनिय देखिन्थे ।
त्यस्तो ऐतिहासिकस्थललाई बिटो मार्दै हामी त्यहाँ बाट ‘पहिलो र अन्तिम’ यात्रा भन्दै कोच रोकेको स्थानमा गयौं ।
कोच पक्रेर हामी माओको मेमोरियल स्क्वायरतर्फ लाग्यौं । जहाँ ठूलो सैनिक परेड मैदान र उत्तरी भागमा अध्यक्ष माओको ३६ मिटर अग्लो तामाको शालिक खडा गरेर राखिएका थिए । जुन शालिकमा ‘अद्वितीय कर्णधार’ लेखिएका छन् । हामी त्यहाँ पुग्दा हरेक तीर्थालुहरूले फूल चढाएर तीनचोटी शिर निहुरिरहेका नरमाइलो दृश्य देखिएका थिए । तारा र मैले पनि नजिकै रहेको फूल दोकानबाट फूलको बुके किनेर चढायौं र शिर झुकाएर तीनचोटी अन्तिम सन्मान ‘लाष्ट रेस्पेक्ट’ गरयौं ।
सम्भवतः माओले जिन्दगीमा चाहेको जति सबै कुरो परा गरेता पनि आफ्नो मृत्युपछिको इच्छा चाहिँ पूरा गर्न पाएका थिएनन् । आफ्नो मृत्युपछि उहाँको पार्थिक शरीरलाई जन्मघर नजिकको तिनै साओशान डाँडामा राखिओस् भन्ने अन्तिम इच्छा थियो । तर उनका कम्युनिष्ट उताराधिकारीहरूले त्यसलाई ठाडै अस्वीकार गरिदिएका थिए ।
९ सेप्टेम्बर १९७६ को दिन माओको दुखद् निधन भयो । उहाँको निधन भएपछि कम्युनिष्ट पार्टीले सगरमाथालगायत चीनको सबै प्रदेशहरूबाट एक एक वटा ढुंगा जम्मा गरेर टिनानमेन चौक, बेइजिङमा माओ त्से तुङ मेमोरियल हलको निर्माण गरेर तिनै हलमा २४ मे १९७७ देखि अहिलेसम्म राखिदिएका छन् ।
हामीले माओत्सेतुङ्को जन्मघर साओसान, अध्ययन गरेको युनिभर्सिटी छाङ्सा र समाधिस्थल टिनानमेन स्क्वायर बेइजिङलाई विपरीत दिशाबाट भ्रमण गरेर पूरा गरेका थियौं ।
हालः अक्सफोर्ड, बेलायत, मेलमार्फत्

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप