महिलाले दुई लाख झिकेको थाहा पाएपछि १४ वर्षीया बालिका अपहरण


  • हाम्रो कोशी आवाज
  • २०७७ भदौ २१

विराटनगरः पथरीमा नाटकीय ढंगले १४ वर्षीया बालिका अपहरणमा परेकी छिन् ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले नातामा दाई पर्ने २१ वर्षीय सुजन रणपहेलीले बालिकालाई २ लाख रुपैयाँ हात पार्न अपहरण गरेको खुलेको जानकारी दिए ।
घटनामा उनीसँगै सुनवर्षी नगरपालिका–६ का ३७ वर्षीय पूर्ण तामाङ र पथरीशनिश्चरे–६ का २२ वर्षीय रोमन आचार्य संलग्न रहेको उनले जानकारी दिए । उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको छ ।
अपहरणमा परेकी बालिकालाई जिल्ला प्रहरी कार्यालय काभ्रेको सहयोगमा साँगा भञ्ज्याङबाट भदौ १७ गते उद्धार गर्दै घटनामा संलग्नलाई पक्राउ गरिएको उनले बताए । यसक्रममा प्रहरीले अपहरणमा प्रयोग गरिएका को२च २८८२ र को२च ३१२१ नम्बरका दुईवटा एम्बुलेन्स पनि नियन्त्रणमा लिएको जनाएको छ । साँगा भञ्ज्यांङबाट उद्धार र पक्राउ गरिएका तीनै जनालाई १८ गते बिहीबार पथरीशनिश्चरे ल्याएर प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
प्रहरीका अनुसार भदौ १६ गते मंगलबार बिहान बालिका घरबाट बेपत्ता भएकी थिइन् । अभिभावकले दिउँसो प्रहरीमा हुलियासहितको निवेदन दिएपछि खोजी गर्ने क्रममा अपहरण गरेर काभ्रेको साँगा पुरयाएपछि फेला पारिएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सोमबार १५ गते पथरी बजारकै एक वित्तीय संस्थाबाट आमाले दुई लाख रुपैयाँ निकालेर बालिकालाई राख्न दिएको खुलेको छ । सो विषय बारे अपहरणकर्ता रणपहेली जानकार रहेका थिए ।
सोही क्रममा उनले अन्य दुई साथीसंग मिलेर बालिकाको अपहरण गरेको प्रहरीले जनाएको छ । सुजन किशोरीको ठूलोबुबाको छोरा हुन् । प्रहरीका अनुसार आमाले माइक्रो फाइनान्सबाट दुई लाख रुपैयाँ निकालेर छोरीलाई राख्न दिएकी थिइन् । सुजनले रकम राख्न दिएको थाहा पाएका थिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप