‘धरानमा शुरूमा कोरोना लागेर भागेर आउने युवाको केस हेर्ने नै मै हुँ’

खासमा भन्ने हो चिउँडोमा मास्क नलगाइदिए पनि लकडाउन नै गर्नुपर्दैन, कस्तालाई संक्रमणको जोखिम ?


  • हाम्रो कोशी आवाज
  • २०७७ भदौ १३

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालको फ्रन्टलाइनमा खट्ने चिकित्सकमध्येका हुन्– प्रा.डा. निदेश सापकोटा । उनी बीपीका प्रवक्ता पनि हुन् । उनीसँग कोरोना कहरका बीचमा रहेर गरिएको कुराकानीः
अहिले प्रतिष्ठानमा संक्रमितको अवस्था कस्तो छ ?
–जति जना भर्ना भएका छन्, सबैको स्वास्थ्य अवस्था ठीक छ । जति पनि हुनुहुन्छ, लक्षण नभएका बढी हुनुहुन्छ ।
बीपीकै चिकित्सक, नर्समा पनि संक्रमण बढिरहेको छ नि ?
–हो अहिले संक्रमण बढिरहेको छ । फ्रन्टलाइनमा काम गर्ने चिकित्सक नर्स पनि संक्रमणको जोखिमभन्दा टाढा हुनुहुन्नँ जस्तो लाग्छ ।
हालसम्म प्रतिष्ठानमै संक्रमितले ज्यान गुमाइरहेका छन् नि ।
–प्रतिष्ठानमा भर्ना भएकामध्ये कोरोनाबाट मृत्यु हुनेको संख्या हाल १६ जना पुगेको छ । यसो छ नि, मृत्यु भएकामध्ये अधिकांश वृद्धवृद्धा र दीर्घरोगी छन् । तर यसो त भन्नु हुँदैन (दीर्घरोगी, वृद्धवृद्धा, लक्षण नभएका बिरामी) किनभने धरानलगायत देशभर नै वृद्धवृद्धा, दीर्घरोगी अनि कोरोनाले भेटेपनि लक्षण नहुँदो रहेछ आदि इत्यादि भन्दै हामीलाई के भेट्छ र ? भनेर युवापुस्तालगायत अन्य लखरलखर हिँडिदिन्छन् । हाम्रो मानसिकता नै फरक छ । भेट्न न सबैलाई भेटिरहेको छ नि । वृद्धवृद्धा, युवापुस्ता, बालबालिका पनि अछुतो छैनन् । युवापुस्ता र बालबालिकालाई कोरोनाले भेटेपछि निको भएर फर्किएका पनि छन् । भेटेपछि आइसोलेसनमा आइपुग्ने कि सतर्क रहने युवापुस्ताको जिम्मा ।
शुरूदेखि फ्रन्टलाइनमा खटिरहनुभएको छ ? कस्तो अनुभव गरिरहनुभएको छ ?
–देशका केही ठाउँमा त कोरोनाले भेट्न थालिसकेको थियो तर धरानमा भेटेको थिएन । लकडाउन शुरू हुँदा धेरै डराएका थिए । म पनि डराएको नै थिएँ । सुरूमा त अलि गाह्रो नै भयो, कोरोना संक्रमणबारे सबै अन्योलमा थियौं, संक्रमितको नजिक गयो भने सरिहाल्छ, सरिहाल्यो भने मरिहालिन्छ भन्ने त्रास, डर र भ्रम सबैमा थियो । कोरोनालाई हाउगुजी बनाएकै कारण संक्रमित र हामीलाई पनि मनोवैज्ञानिक त्रास भएको हो ।
तर शुरूमा टेकु अस्पतालबाट एकजना बिरामी भागेर धरान आएको खबर आयो । अनलाइन समाचारमा पनि भागेर आएको भन्ने समाचार आयो । उनलाई यहाँ उपचारका लागि ल्याइयो, प्रतिष्ठान ल्याएपछि धेरै डराए । शुरूमा आनाकानी हुँदै गयो उनको नजिक कोही जान मानेनन् डराए । कसले उनलाई हेर्ने भन्ने भयो । शुरूमा पिपिई लगाएर हेर्ने मानिस मै हुँ ।
मलाई पनि डर लाग्छ नि । अहिले भए डर लाग्दैन थियो कि । त्यतिबेला पहिलोमा चिकित्सक नै डराए, त्यसपछि सर्वसाधारण जस्तो लाग्छ । पछि डर कम हुँदै गयो । घरमा परिवारलाई पनि मैले कोरोना संक्रमित बिरामी हेरेको भनेर कसैलाई भनिनँ । खाना खाएपछि निकैबेरको बसाइपछि त्यसपछि कुरा खोलें, परिवार केहीबेर डराए तर बुझाउँदै गएपछि सबै आफै ठीक भयो ।
तपाई त मानसिक रोग विशेषज्ञ र मानसिक विभागमा पनि कार्यरत् हुनुहुन्छ, डरले नै तनाव बढाउने होइन र ?
–हो, डर बढ्दै गए तनाव बढ्छ । तर डराउनुपर्दैन । तनाव लिएर आत्तिनु भएन । कोभिड संक्रमण भएको व्यक्तिमा मानसिक तनावले झन् असर गरेको देखिएको छ । खासमा सहजरुपमा लिनुपर्छ । तर यसो छ डराउनुपर्छ हामी चिउँडोमा मास्क हुनेसँग । धेरै म देख्छु चिउँडोमा मास्क झुन्ड्याएर हिँडिदिने अधिकांश मानिस । हामीले चिउँडाको मास्क हटाउन सक्नुपर्छ । बाहिर हिँड्दा नलगाउनु लगाएपछि लगाइरहने नि । चिउँडोमा मास्क नलगाएर हिँड्दा कसलाई के समस्या ?
म पनि घरीघरी केही किनमेल अर्थात् स्वास्थ्यका लागि भएपनि हिँड्छु । हेर्छु–चिउँडोमै मास्क छ । म बाहिर निस्किँदा प्रायः धेरैलाई चिउँडोमा मास्क नलगाउन आग्रह गर्दै आएको छु । त्यतिबेला हत्त न पत्त लगाउँछन् । त्यो पनि खतरा हो । किनभने चिउँडामा लगाएको मास्कबाट पनि कोरोना सहजै सर्छ । हत्त न पत्त लगाउँदा त्यहाँ अघि नै कोरोनाले बास जमाइसकेको रहेछ भने के हालत होला ?
पसलमा सामान खरिदका लागि म पनि जान्छु । एकपल्ट सधैं पसलमा सामान किन्न जाने ठाउँमा पुगेको थिएँ । चिउँडोमै मास्क देखें, तपाईको त म अबदेखि सामान किन्दिनँ भनेर हिँडिदिएँ । नरिसाउनुहोस्–म जोखिममा पर्छु तपाई पनि पर्नुहुन्छ भनेपछि उनले अहिले २० दिनजति भयो । मास्क लगाइरहेका छन्, अहिले त्यहाँ पुग्न थालेको छु ।
म सिधै भन्छु विकसितमा जनचेतना छ, हामीमा छैन, जनचेतना नहुँदा नै जोखिम बढेको हो । खासमा भन्ने हो भने यहाँ लकडाउन नै गर्नुपर्दैन । लकडाउन गर्नुपर्ने कारण किन ? यही चिउँडोमा मास्क लगाइदिने गर्नाले पनि हो । मास्क समेत नलगाइदिने, समदुरी कायम नगर्ने, सेनिटाइजर नलगाउने हामी अटेरी भइदिँदा नै लकडाउन गर्नुपरेको हो । २० रुपैयाँको मास्क त सबैले लगाउन सक्छन् नि । हामीले के सोच्नुपरयो भने म मात्रै होइन परिवारै जोखिममा छन्, परिवार मात्रै होइन समाज नै जोखिममा छन् । कोरोनाको जोखिम कम गर्न अब चिकित्सक, पत्रकार, शिक्षक, समाजका अगुवाले सचेतना फैलाउनुपर्छ । अनि मात्रै कोरोनाको जोखिम कम हुन्छ र लकडाउन गर्नुपर्दैन ।

मास्कको कुरा गर्नुभयो, कसरी लगाउने मास्क यसबारे पनि प्रष्ट पारिदिनुहोस् न ।
–हामीले लगाएको मास्क केही खान, पिउन, अन्य केही गतिविधिको लागि वा बोल्दा मास्कलाई चिउँडोमा झाछौंँ र काम सकिसकेपछि माथि साछौँ । मास्क लगाउँदा चिउँडोभन्दा मुनिको भाग खुल्ला नै रहेको हुन्छ । चिउँडोभन्दा तल मास्क झार्दा सो खुला ठाउँमा भएका भाइरसहरू मास्कको भित्री भागमा टाँसिन्छन् । फेरि मास्क लगाउँदा सो भाइरस हाम्रो नाक वा मुखको माध्यमबाट शरीरमा प्रवेश गर्छन् । जसले गर्दा संक्रमणको जोखिम झनै बढाउँछ । नाकमुख र चिउँडो राम्रोसँग ढाक्नेगरी मास्क लगाउनुपर्छ ।
तपाई त बीपी प्रतिष्ठानको प्रवक्ता र अनि फ्रन्टलाइनमा पनि खटिरहनुभएको छ समय कसरी व्यथित गरिरहनुभएको छ ?
–व्यस्तता बढेको छ । फोन उठाउन पनि भ्याइ नभ्याइ हुन्छ । म काममा रहँदा धेरैले बुझिदिनुभएको छ, काममा हुनुहुँदोरहेछ र फोन उठेन भनेर । डिउटी पनि रोटेशनमा हुँदा अलि सहज छ । परिवारलाई पनि धेरै फोन आउँछ, झन्झट नमानिदिनू है भनिसकेको छु । फ्रन्टलाइन काम गर्नेलाई चिन्ता त हुन्छ नै तर पनि सहजरुपमा लिएर अघि बढेको छु । वैशाखको पहिलो हप्तादेखि टिभीमा न्यूज हेर्न पाएको छैन । अहिले घरीघरी एफएमसम्म सुन्न पाएको छु ।
पहिला र अहिलेमा के भिन्नता पाउनुभएको छ ?
–छ केही भिन्नता भने छ । अहिले हामी रुटिनमै चलिरहेका छौ । अहिले टिममै सल्लाह हुन्छ । छलफल हुन्छ । कोरोना आएपछि सिकाइ अझ बढेको छ । बिरामीलाई पनि अस्पताल आएपछि चाँडो निको भएर घर जाऔं हुनु स्वभाविक हो, हाम्रो चाहना पनि बिरामीलाई सकेसम्म चाँडो निको बनाएर घर पठाऔं भन्ने नै हो । त्यो चाहनाले नै हामी अडेका हुन्छौं । सञ्चो बनाएर घर पठाउँदाजस्तो खुशी हामीलाई अरुबेला जस्तो भएको छैन ।

त्यहाँ आउने बिरामीको अवस्था भनौं या मनोविज्ञान कस्तो पाउनु भएको छ ?
–खासमा शुरू शुरूमा आउने बिरामी निकै डराए पनि । अब संसार नै सक्कियो, अब नबाचिने भइयो समेत भन्ने पाइयो । तर, भर्ना भएर अस्पतालको उपचार प्रणाली, यहाँ पाउने सेवा सुविधा, अरू बिरामी देखेपछि सबै नर्मल हुँदै जानुभयो । अहिले खासै डराउने छैनन तर जिज्ञासु भने अझै छन, एकदमै खुशी हुने छन्, दुःखी हुने पनि । लामो समयदेखि यहाँ बसिरहनुपरेकोले पनि त्यस्तो हुन्छ, तर, इन्टरनेट चलाउने र आफन्तसँग कुरा गर्ने भएकाले पनि समय कटाउन पनि खासै समस्या भएको देख्दिनँ । त्यस्तै, पटक–पटक चिकित्सकले के भइरहेको छ भनेर सोधिरहनाले पनि यहाँ खासै दुःखी बनेको देखिएन ।
तपाईको विचारमा कस्ताले सावधानी अपनाउने ?
–प्रतिष्ठानमा मृत्यु हुनेहरुमध्ये अधिकांशमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको वा दीर्घ रोग रहेका छन् । मुटु, मिर्गाैला तथा फोक्सोमा समस्या, बाथ, दम, मिर्गौला, क्यान्सर, मधुमेह लगायतका दीर्घरोगीहरू कोरोनाबाट बढी प्रभावित छन् । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, ४० देखि ६० वर्षभन्दा माथि उमेर भएका, रोगको औषधि सेवन गरिरहेका, सुगर, प्रेसरका विरामीलाई कोरोना लाग्यो भने जोखिम बढेको देखिएको छ । कोभिडले साधारण रुघाखोकी मात्र पनि लाग्न सक्छ । कसैलाई त्यो बढेर निमोनिया भई फोक्सोमा समस्या हुनसक्छ । कसैलाई त्योभन्दा बढी भई मुटु, मिर्गौला, दिमागमा असर गर्छ । सबैलाई एउटै असर गर्छ भन्ने हुँदैन ।
उच्च जोखिममा रहेकाले के ख्याल गर्नुपर्छ त ?
–रोग सर्ने मुख्यतः संक्रमित व्यक्तिसँगको सम्पर्कबाट हो । त्यसैले दीर्घरोगीहरुले भीडमा जाँदा नाक र मुख राम्रोसँग छोपिने गरी मास्क लगाउनुपर्छ । यदि कोही सम्पर्कमै जानुपर्यो भने दूरी कायम राखेर र लामो समय एउटै व्यक्तिसँग कुरा गर्नु भएन । १५ मिनेटभन्दा बढी नजिकमा कुरा गर्नु भएन । त्योभन्दा बढी बिताउनेहरुसँग संक्रमण सर्ने खतरा बढी देखिएको अध्ययनले पनि देखाएको छ । हाम्रोमा एउटै कोठामा लामो समयसँग कुरा गरेर बस्ने बानी छ । झ्याल, ढोका खुल्ला नभएको, भेन्टिलेसन (हावा जाने ठाउँ) नभएको कोठामा, कक्षा कोठामा, बैठक स्थलमा रेस्टुरेन्ट आदिमा लामो समय बस्ने, खाने गर्नु भएन ।
अन्त्यमा, केही भन्नैपर्ने कुराहरु छन् कि ?
–अहिले सर्तकता जरुरी छ । महामारीको अवस्थामा नजानका लागि हामी जनता आफै सचेत हुनुको विकल्प नै छैन । डर सबैलाई भयो, अहिले पनि छ डरको सामना गर्नेदेखि अर्को उपाय छैन, डरलाई भयलाई सावधानीलाई अपनाउने गर्नुपर्छ । हामीलाई चीनले सिकाइसकेको छ । समदुरी कायम गर्ने, कम्तीमा तीन मिटर दुरी कायम गर्ने, बारम्बार हात धुने यी तीन वटा कुरालाई पालना गरे मात्रै हामीबाट कोरोना भाग्छ ।
म संक्रमित भएँ भने परिवार, समाज संक्रमित हुन्छ, मेरो कारणले लापरवाही गर्दा भयावह स्थिति पैदा हुन्छ, गरिब देशको राज्यले पनि धान्न सक्दैन भन्ने बुझिदिए पुग्छ । त्यसैले पहिलो दायित्व अनुशासनको पालना गर्नु नै हो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप