धरान-३ का १६ घर पहिरोको उच्च जोखिममा

पाल लगाएर पहिरो रोक्ने काम, धरान-४ को कालिमाटीमा तीन घरमा पहिरोको क्षति


  • हाम्रो कोशी आवाज
  • शनिबार, साउन १७, २०७७

धरानः धरान–३ का १६ घर पहिरोको उच्च जोखिममा रहेको छ ।
धरान–३ पिण्डेश्वरी जाने बाटो (केही तल) जल्पारोडका १६ घर पहिरोको जोखिममा परेका हुन् । अहिले १६ घरमध्ये दुई घर पहिरोले क्षति गरेर त्यहाँको परिवार विस्थापित नै छ । त्यहाँको परिवार अहिले कोठा भाडामा लिएर बस्न बाध्य बनेको नेकपा धरान–३ का अध्यक्ष मिङ्मा भोटेले जानकारी दिए ।
स्थानीय शेरबहादुर मगरको सानो कटेरोजस्तो भित्ताको ढिस्को झरेर घर भत्किएको छ भने ढिस्को झर्दा फिन्जिङ भोटेको घर भत्किने अवस्थामा छ । घर भत्किने अवस्थामा पुगेपछि भोटेको अहिले ७ जनाको परिवार भाडामा बस्दै आएका छन् । ‘फिन्जिङको घर भत्किने अवस्थामा छ, पहिरो नियन्त्रण नगरे वर्षातको पानीले यो घर भत्किन्छ, यो घर भत्किए अन्य १६ घर पनि पहिरोको उच्च जोखिममा पर्छन् ।’ उनले भने ।
धरान उपमहानगरपालिकाले विपद् व्यवस्थापन भन्दै महिनादिनअघि नै बजेट दिइने भनेपनि अहिलेसम्म यस विषयमा चासो नदिइएको उनले बताए । ‘भत्केर एक महिना भएको छ, स्थानीय सरकारको ध्यान जान सकेको छैन, न स्टिमेट बनेको छ न अवलोकनको काम नै भएको छ, कम्तीमा यो पहिरोको जोखिमलाई जोगाउन स्थानीय सरकार लाग्नुपर्ने बेला आएको छ ।’
अहिले सो क्षेत्रमा पहिरो गएर भत्किएको स्थानमा पालले ढाकिएको छ । ‘हावाहुरीले त्यो पाल उडाइदियो भनेपनि पानी त्यहाँ लगातार झर्छ र पहिरोको खतरा बढ्छ र त्यहाँ क्षति बढ्छ, यसतर्फ स्थानीय सरकारको बेलैमा ध्यान दिए रोकथाम गर्न सकिन्छ ।’
उनले यस विषयमा प्रदेश सांसद उमिता विश्वकर्मासँग पनि कुरा भइसकेको बताए । ‘सांसद विश्वकर्मासँग पनि कुरा भइसकेको छ, उहाँ सकारात्मक हुनुहुन्छ ।’ उनले भने ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य हरि लिम्बूले परी आए युवाहरू श्रमदान गर्न पनि तयार रहेको बताए । ‘वस्ती जोगाउन अब स्थानीय, प्रदेश सरकारसँग गुहार्छौं, त्यसपछि पनि भएन भने युवा साथीहरू मिलेर भएपनि श्रमदान गर्नुपर्ने बेला आएको छ, त्यसतर्फ पनि हामी लाग्छौं ।’
उता धरान–४ को कालीमाटीमा पनि तीन घर विस्थापित हुने अवस्थामा पुगेका छन् । पहिरोले खेतमा पनि क्षति गरेको छ । नेकपाका धरान नगर इन्चार्ज अइन्द्रविक्रम बेघालगायतको टोलीले सो ठाउँको अवलोकन पनि गरेको छ । ‘घरसहित खेतमा लेदो पसेर असर गरेको देखियो’, उनले भने ।

धरान–३ मा ढिस्को खसेर घर झर्ने अवस्थामा ।

धरान–४ मा पहिरो झरेको अवस्था ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप