खाजा खर्च र ८-८ घन्टाको समय बचत !


  • आरम्भ आचार्य
  • शनिबार, साउन १७, २०७७

म अहिले कक्षा ९ मा अध्ययनरत छु । मेरो विद्यालय कोभिड–१९ का कारण बन्दाबन्दीमा परेको छ । मलाई अहिलेसम्म अनलाइन कक्षाको केही अनुभव थिएन । यो अनुभव हासिल गर्ने अवसर कोभिड–१९ अर्थात् विश्वव्यापी कोरोना महामारीले दिलायो । भनिन्छ नि, ‘हरेक समस्याले समाधान पनि आफैँ लिएर आएको हुन्छ ।’
एक्कासी देशैभरि कोभिड–१९ को महामारी सुनामीझैँ फैलियो । पत्रपत्रिकाले लेखेअनुसार जुन रोग सन् २०१९ को डिसेम्बरमा चीनको वुहान सहरबाट फैलिएको रहेछ । जसले गर्दा देशैभरि २०७६ चैत ६ गतेदेखि हुने भनिएको एसइई परीक्षा अघिल्लो दिन ५ गतेको निर्णयबाट एक्कासि सरकारले रोक्यो ।
हामीभन्दा दुई ब्याच अघिल्ला दाजुदिदीहरू खिस्रिक्क परे बिचरा । तर पनि उनीहरूले आफ्नो परीक्षा हुने आशामा आफूलाई तयारी हालतमै राखेका थिए । उनीहरूको एसइई रद्द भएको निर्णय सरकारले सुनायो । अब ती दाजु दिदीहरू प्रिएसइईकै अंकका आधारमा ग्रेडसिट पाउने भएका छन् । यसपालि मात्र हो वा सधैंका लागि एसइई रोकिएको हो त्यो अहिले नै केही थाहा हुन सकेको छैन ।
हामीचाहिँ २०७६ चैत ११ गतेदेखि लकडाउनको फन्दामा प¥यौं । हामीले घरमै बसेर पढ्ने, लेख्ने र अनलाइनमा धेरै कुरा सिक्ने अवसर पायौं ।
कक्षाको स्तरमा पहिलाका कक्षा भन्दा अहिलेका कक्षाहरू धेरै सुधारिएका छन् । विषय शिक्षक सरहरूले आफ्नै घरबाटै भए पनि धेरै पूर्वतयारी गरी हामीलाई विषयवस्तुले मागेका कुराहरू र सिकाइ उपलब्धिको ख्याल गर्दै सिकाउनुभएको छ । यो देख्दा विकसित देशमा पनि यसरी नै सिकाइ हुन्छ होला भनेर हामी कल्पना गर्न थालेका छौं ।
कक्षामै गएर पढिने तरिका (अफलाइन) र घरमै बसेर पढिने तरिका (अनलाइन) मध्ये हामीलाई पहिलो तरिकामा बानी परिसकेका हुनाले केही दिन अनलाइन कक्षामा बस्न र सिक्न झन्झट लाग्यो तर केही दिनपछि सो झन्झट मेटिँदै गयो । अहिले हामी रुटिन अनुसार दिनका तीनवटा कक्षाहरू नियमित रूपमा लिइरहेका छौं । हाम्रो विद्यालयले दुईजना प्राविधिक जनशक्तिलाई विद्यालयको मास्टर कन्ट्रोल रूममा राखेर हाम्रा विद्यालयका कोअर्डिनेटर सरले कक्षा शिक्षकलाई दिएको रूटिन अनुसार हामीलाई दैनिक तीनवटा कक्षाहरू पढाउन लगाउनुहुन्छ । उहाँले हामीले पढे–नपढेको, हाजिर गरे–नगरेको र होम असाइनमेन्ट गरे–नगरेको कक्षा रेकर्डबाट सबै थाहा पाउनुहुन्छ । यसरी हामी विद्यालय नगए पनि घरै बसीबसी आफ्नो कक्षा ९ का कक्षालाई अघि बढाइरहेका छौं । अब केही दिनमै हामी पहिलो त्रैमासिक परीक्षा पनि अनलाइन माध्यमबाटै दिँदैछौं ।
कक्षामा बस्दा हामी माइक म्युट गरेर सुन्छौं र प्रश्न सोध्दामाइक अन म्युट गर्छौं । सिकाइमा रहँदा भने भिडिओ अन गरिरहेका हुन्छौं । कक्षामा बस्ने हाम्रो आफ्नै आचारसंहिता बनाइएको छ । हाम्रो स्कुलले हामी सबै विद्यार्थीको अकाउन्ट खोलेर हाम्रा अभिभावकज्यूहरूलाई एक–एकवटा आइडी उपलब्ध गराएको छ । जसका माध्यमबाट हाम्रा बुवाआमाहरूले हाम्रो सिकाइको पफर्मेन्स र स्कुलका अन्य शैक्षिक गतिविधि सबै सोही अकाउन्टबाट हेर्न सक्नुहुनेछ ।
यसरी हामी बन्दाबन्दीका बीच पनि देशैभरि छरिएर रहेका हाम्रा कक्षाका साथीभाइहरूसँग प्रविधिका माध्यमले जोडिएर सिकिरहेका छौं । जति टाढा भए पनि यो प्रविधिले टाढा नजिकको भेदभाव केही राख्दो रहेनछ । यो कोभिड–१९ ले हामीलाई अनलाइन कक्षाको अवधारणा मात्र दिलाएन त्यसको व्यावहारिक पक्ष समेत सिकाएर गयो । अबका पुस्ताले अनलाइनबाट सिक्नुपर्ने सबै कुरा सिकाएर गयो ।
महाकवि देवकोटा भन्ने गर्थे, ‘जमानाले रङ बदल्छ ।’ अहिले भयो पनि त्यस्तै । समय जहिले नि नदीझैँ बगिरहेको हुन्छ । हामी समयसँग हिँड्न सक्ने हुनुपर्दछ । नत्र हामी आउट डेटेड हुनेछौं ।
अझै यो महामारी रहिरहेमा हामी दसैँ अघिसम्म यसैगरी कक्षा लिइरहने छौं । विद्यालयले पनि हाम्रा बुवाआमाहरूसँगको भर्चुअल मिटिङमा सोही कुरा बताएको छ । रोग आफैँमा नराम्रो कुरा हुँदै हो तर यसले केही अवसर र सिकाइका नयाँ कुरा दिएर गएको छ । हामीले सो कुरालाई जीवनपर्यन्त राखिरहन सकेका खण्डमा सिकाइदिगो र भरपर्दो हुन जान्छ भन्ने मेरो बुझाइरहेको छ ।
अनलाइनकक्षामा बस्दा हामीलाई धेरै कुरा घर बसीबसी थाहा हुँदो रहेछ । बिहानैबिहानै हतारहतार गरेर नरुच्दानरुच्दै खाना खाएर स्कुल ड्रेस लगाई हस्याङ र फस्याङ गर्दै स्कुल बस चढ्नुपर्ने झन्झट अचेल स्वाट्टै घटेको छ । खाजा खर्च र हामीले स्कुलमा पढाइका लागिदिने ८–८ घन्टाको समय सबै बचत भएको छ । यो एक प्रकारले खुसीको कुरा समेत हो नि । तर यो शैलीको कक्षामा बस्न र सिक्नका लागि हामी आफैं चनाखो र पूर्व तयारी हुनुपर्ने रहेछ भन्ने कुरा पनि हामीले सिकेका छौं । यति हुँदाहुँदै पनि हामी यो महामारी चाँडै अन्त्य भएर हामी फेरि कक्षामा सकुशल बस्न सक्नेछौं र साथीभाइका बीचमा बसेर रमाइलो गरेर स्कुल जान सक्ने हुनेछौं भन्ने मैले सोचेको छु ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप